Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

अनावश्यक चुम्बनका दृश्य छन् भने म सिधै अस्वीकार गर्छु : केकी

दुई सय म्युजिक भिडियो र १४ वटा नेपाली फिल्ममा आफ्नो अभिनय पस्किसकेकी अभिनेत्री हुनुहुन्छ केकी अधिकारी । निर्देशक बाबा बद्री अधिकारीको पदचापलाई पछ्याउँदै नेपाली रंगमञ्चमा आफ्नो बेग्लै छाप छोड्न सफल नायिका केकी काममा विश्वास गर्नुहुन्छ ।

आफ्नो अब्बल अभिनय नै सफलताको कडी रहेको विश्वास छ केकीमा । व्यवस्थापन संकायमा स्नातकोत्तर समेत उत्तीर्ण गरिसकेकी सुन्दरी नायिका अध्ययनशील पनि हुनुहुन्छ ।

नेपाली चलचित्रमा केकीको उपस्थितिले सात वर्ष टेकिसकेको छ । यो अवधिमा उहाँले चर्चित चलचित्र मसान, पुनर्जन्म, हाउ फन्नी आदिमा आफ्नो अभिनय पस्किनुभएको छ । सरल तर गम्भीर प्रकृतिकी केकीलाई उहाँको अभिनयकै कारण दर्शकले रुचाएको विश्वास छ । सानो बजार रहेको नेपाली फिल्म उद्योगमा केही नौलो दिने उद्देश्यले केकी अभिनयको यात्रामा होमिनुभएको हो । घरपरिवारले सहयोग र मार्गदर्शन गरेको कारण आफूलाई काम गर्न सजिलो भएको बताउनुहुन्छ केकी ।

नक्सालको तमाशलय रेष्टुरेन्टमा लोकान्तर टिम पुग्दा केकी हामीलाई पर्खिरहनु भएको थियो । उहाँले आफ्नो लागि खर्बुजाको जुस माग गर्नुभयो । हामीले लस्सी माग्यौँ र शुरु भयो कुराकानी । लोकान्तरले केकीसँग गरेको कुराकानीको सम्पादित अंश :

फिल्म यात्राका संघर्षका कथा

कसैलाई प्रेरणा दिनेखालको नयाँ कथा त छैन मेरो । मैले यो क्षेत्रमा प्रवेश गर्दा कुनै संघर्ष गर्नुपरेन । मैले शुरुवात गरेपछि भने संघर्ष गर्नुप-यो । दर्शक र निर्माताहरूले विश्वास गर्न थालेपछि मेरो काँधमा जिम्मेवारी थपियो जुन मेरो लागि चुनौतीको विषय थियो । नेपाल टेलिभिजनको एउटा नृत्य प्रतियोगिताको कार्यक्रममा मैले भाग लिएँ । त्यसमा मेरो प्रस्तुतिलाई नजिकैबाट नियालिरहनुभएका प्रसन्न पौडेलले मलाई लगत्तै एउटा गीतमा अभिनय गर्न आग्रह गर्नुभयो । मैले आमासँग अनुमति मागेँ । उहाँले अनुमति दिनुभयो । मेरो यो यात्रा त्यहीँबाट शुरु भयो ।

म अभिनय गर्नको लागि तयार थिइनँ । डाक्टर पढ्नको लागि तयार गर्दैथिएँ । सबैले पढाइलाई अघि बढाउनुपर्छ भन्नुहुन्थ्यो । कक्षा १२ को पढाइ सकेर खालि बसिरहेकोले म अभिनयको लागि तयार भएँ । मिग्मा शेर्पाको ‘कसरी’ भन्ने गीत मेरो यो यात्राको पहिलो खुड्किलो हो । यो गीत बजारमा नआउँदै अर्को विज्ञापनमा पनि गरेँ । एक वर्षको अन्तरालमा अर्काे गीत गरेँ ‘आहा वनमा फुल्यो फूलैफूल’ । शुरुमै गरेका गीत र विज्ञापनहरूबाट राम्रो प्रतिक्रिया आएपछि मेरो काँधमा जिम्मेवारी बढ्दै गयो । त्यतिनैखेर मलाई फिल्मबाट पनि अफर आयो । ‘स्वर’ मेरो पहिलो फिल्म हो ।

बाबा बद्री अधिकारीको हात

अँ….बाबाको नामलाई भिन्न राखेर मैले यो क्षेत्रमा काम गर्नसक्ने कुरै भएन किनकि उहाँ आफैँ पनि यो क्षेत्रको स्थापित नाम हो । र मलाई फाइदा के पनि भयो भने बद्री अधिकारीजस्तो नामसँग मेरो नाम जोडिँदा मलाई आउने परियोजनाहरू पनि कमजोर किसिमका आउँदैनथे । घरमै जानेको मान्छे छ, बुझेको मान्छे छ भन्ने भएपछि मलाई आउने प्रस्तावहरू पनि अलि रामै्र खालका आउँथे । मलाई गुरुको रूपमा मार्गदर्शन गर्न घरमै मेरो बाबा हुनुहुन्थ्यो । मलाई कुनै अप्ठेरो पर्दा सिकाउने मान्छेको रूपमा बाबा हुनुहुन्थ्यो ।

बाबाले उहाँको नामको फाइदा उठाओस् भनेर कहिल्यै सोच्नुभएन । आफ्नो संघर्षले नै आफू स्थापित हुनुपर्छ भन्ने उहाँको धारणा थियो । मैले उहाँको यो कुरालाई इन्कार गरिनँ । ‘मसान’ भन्ने फिल्ममा काम गर्नुभन्दा पहिले मलाई बाबाले नै पात्रको बारेमा जानकारी गराउनुभएको थियो । हेलेन जस्तो ठूलो भूमिका कसरी निर्वाह गर्ने भन्ने मलाई कठिनाइ थियो । बाबाले ‘मसान’ भन्ने नाटक पहिले नै गरिसक्नुभएको थियो । यस हिसाबले बाबाको हात छ मेरो करियर विकासमा । 

काम नै तालिम

मैले औपचारिक तालिम लिएको छैन केही पनि किनभने १२ कक्षा सक्ने बित्तिकै अभिनयमा आइहालेँ । पढ्ने बेलामा पढाइमा ध्यान भयो । पछि यो यात्रा शुरु भइहाल्यो । काम नै मेरो तालिम भयो । काम गर्दागर्दै सिक्दै गएँ । शुरुमा त म पनि अहिलेको जस्तो थिइनँ । काम गर्दै जाँदा काममा परिपक्वता पनि बढ्दै गयो । कामैपिच्छे सिक्दै गइयो भनाँै न । मलाई दर्शकले मन पराइदिनुभयो । निर्देशक र निर्माताले पत्याएर काम पाइरहेको हुँ ।

केकीको खुबी र नेपाली फिल्म बजार

दर्शकको मागलाई सम्बोधन गर्ने न हो निर्देशक र अभिनयकर्ताले । मेरो चञ्चलता र निर्दोष अनुहारलाई सबैले मन पराउनुभएको छ । कहिलेकाहीँ मलाई पनि नकारात्मक भूमिका खेलौँ भन्ने लाग्छ तर मेरो अनुहारले नै दिँदैन । हुनत अनुहारले कसैलाई पनि बाँध्नुहुँदैन । तर मेरो अनुहारले एउटा मात्र भूमिका गर्न दिन्छ । हुन चाहिँ बहुआयामिक खालको चरित्र हुनुपर्छ सबैमा ।

अहिले प्रयोगात्मक मुभीहरू बनिरहेका छन् । प्रविधिको हिसाबले पनि धेरै सरल भएको छ यो क्षेत्रमा । पहिलाको दर्शक केही गुमाइरहेका छौँ । नयाँ दर्शक कमाइरहेका पनि छौँ । गुणस्तरको हिसाबले अलि कमजोर फिल्महरू पनि बनेका छन् । निर्माताहरू प्रयोग गर्न डराउनुहुन्न । लगानी डुब्दा पनि उहाँहरूले प्रयोग गर्न छोड्नुभएको छैन । एकचोटि प्रयास गरौँ न त भन्ने चाहिँ छ । नेपालमा राम्रा फिल्म पनि बनेका छन् । जीवनलाई प्रतिनिधित्व गरेर पनि चलचित्र बनेका छन् । 

कथाले मागेजति

फिल्म खेल्नुअघि स्क्रिप्ट हेरेर मात्रै काम गर्ने मेरो बानी छ । मलाई असहज हुने खालको कथा छ भने म पहिले नै इन्कार गरिदिन्छु । चरित्रलाई न्याय दिन सक्छु जस्तो लाग्छ भने मात्र काम गर्ने हो । बेड सिनहरू पनि हुनसक्छ तर आफूलाई असजिलो नलाग्दा दिँदा पनि भयो । निर्देशकले कसरी प्रस्तुत गराउँछ भन्नेमा पनि भर पर्छ ।

म वेश्याको भूमिकामा छु भने उसले गर्ने कामहरू पनि गर्नुपर्छ । कथालाई बुझाउने ढंगबाट मैले प्रस्तुत हुनुपर्छ । मैले गरेको चरित्रलाई न्याय पनि हुन्छ र म आफैँ पनि सन्तुष्ट छु भने कथाले मागेको दिने हो । यो व्यक्तिगत रोजाइको कुरा पनि हो । अनावश्यक चुम्बनका दृश्य छन् भने म सिधै अस्वीकार गर्छु । राख्नैपर्ने छ भने सौम्य तरिकाले राख्नुपर्छ । म सहज छैन भनेपछि उहाँहरूले पनि स्विकार्नुहुन्छ । तर फिल्ममा आवश्यक नै हो भने पात्र नै फेर्नुहुन्छ । मैले धेरै परियोजनाहरू अस्वीकार गरेकी छु ।

हिरोइनको म्याद र रिहर्सल

हिरोइन भन्नेबित्तिकै उमेरले बाधा पु-याउँछ । कथा लेख्नेले नै १६ देखि ३० वर्षसम्मको लागि मात्र कथा लेखिदिन्छ । त्यैले हिरोइनको स्कोप ज्यादै छोटो हुन्छ । उमेरमा मात्र काम पाउने हो । उमेरमा पनि आफूलाई कसरी उभ्याइएको छ त्यसमा पनि भर पर्छ । हिरोइनलाई प्रकृतिले नै आमा बन्ने दायित्व पनि सुम्पेको छ । यावत् कुराहरूले गर्दा एउटा निश्चित समयसम्म मात्र हामी यो क्षेत्रमा टिक्छौँ । चरित्र परिवर्तन गरेर पनि टिक्न सकिन्छ ।

फिल्मको सुटिङ शुरु हुनुभन्दा पहिले पात्रहरूको बारेमा जानकारी गराउन कार्यशालाहरू नै हुन्छन् । पात्रको जानकारी गराइन्छ । को हो, के हो जस्ता कुरामा अवगत गराएपछि मात्र काम शुरु हुन्छ । निर्देशकमा पनि भर पर्छ । कहिलेकाहीँ हतारमा हुँदा त्यसै पनि काम हुन्छ । आफ्नो दिमागमा पहिले नै पात्रको बारेमा थाह छ भने पूर्वाभ्यास (रिहर्सल) नगरे पनि हुन्छ । मेरो लागि अहिलेसम्म चुनौतीपूर्ण (च्यालेन्जिङ) चरित्र आएको छैन । पात्रलाई न्याय दिन म गम्भीर छु । दर्शकलाई झुक्याएर काम छैन ।

मसान

मलाई आफूले गरेका चलचित्रमध्ये मन परेको फिल्म हो ‘मसान’ । यसमा मैले हेलेनको चरित्र निभाएकी छु । हेलेन भनेको कृष्ण बाजेको पहिलो श्रीमती हो । केही कारणले उसको बच्चा हुँदैन । महिलाले बच्चा नपाउन्जेल उ पूर्ण हुँदिन भन्ने मान्यता छ समाजमा । हेलेनले आफ्ने श्रीमान्लाई अर्को बिहे गर्न प्रेरित गर्छे । उसकै ढिपीमा अर्को बिहे हुन्छ । उनीहरूको बच्चा पनि हुन्छ । सानो भूलले गर्दा घर कसरी मसानमा परिणत हुन्छ भन्ने कथा छ यसको । त्यो चरित्र गर्दा म युवा नै थिएँ । मलाई त्यो चरित्रको बारेमा खासै थिएन । नयाँ कुराहरू सिकियो । नीर शाह जस्तो हस्तीसँग काम गर्न पाइयो ।

(यतिकैमा उहाँले अर्डर गर्नुभएको खरबुजाको जुस पनि आइपुग्यो ।)

चलचित्र किन फ्लप ?

यसमा दुईवटा कुरा छ । कतिपय सञ्चारमाध्यमले हिट भनेका फिल्मले आफ्नो लगानी नै उठाएका छैनन् । यसमा अर्कै राजनीति छ । जति लगानी गरेपनि करोडको व्यापार गरेपछि हिट भन्ने चलन छ । त्यसो भए त मेरो फिल्म ‘आइ एम सरी’ ले करोड व्यापार गरेकै हो । त्यसैगरि ‘हाउ फन्नी’ले पनि करोडको व्यापार गरेको छ । हिटको परिभाषा नै गलत छ नेपालमा ।

‘मसान’ चलचित्रमा अभिनय गरेपछि असाध्यै राम्रो प्रतिक्रिया पाएको थिएँ । लगानी पनि उठाएको थियो तर यसलाई फ्लप भनियो । हिट र फ्लपको पनि निश्चित मापदण्ड चाहिन्छ । साँच्चिकै पैसा कमाएका फिल्मलाई पनि हिट भनिएन । कहिलेकाँही त को हो यो हिट र फ्लप भन्ने? को हो हिट र फ्लपको मापदण्ड बनाउने भन्ने जस्तो लाग्छ । कहिलेकाहीँ यो हिट र फ्लप सब हावा कुरा मात्र पो हुन् कि जस्तो पनि लाग्छ । फिल्मको आन्तरिक कुरा त हामीलाई पो थाह हुन्छ । तर बजारमा अर्कै हल्ला चलेको हुन्छ । ‘भाग् सानी भाग्’ मैले सोचेजस्तो व्यापार भएन । मेरो चर्चा चाहिँ भयो । फिल्मले व्यापार पनि गरिदिएको भए हुन्थ्यो ।

कमाइ अनि सामाजिक उत्तरदायित्व

गर्वको साथ भन्छु सामान्यतया मेरो साथीहरूले कमाएको भन्दा धेरै गुण कमाएको छु । फिगरमा नभनौं । अर्को क्षेत्रमा काम गरेको भन्दा राम्रो छ । राम्रोसँग काम गर्दा मनोरञ्जनमा कमाइ राम्रो छ । नेपाली हिरोइनहरूको पारिश्रमिक तीन लाखदेखि पाँच लाखको हाराहारीमा छ । मैले पैसाको लागि काम गरेको छैन । कति फिल्ममा मैले सित्तैमा पनि गरेको छु । जीवनयापनका लागि पनि पैसा त चाहिन्छ नै । बजार अनुसार मेरो कमाइ राम्रो छ । मैले म्युजिक भिडियोबाट राम्रो कमाएको छु ।

समाजलाई केही गर्न सकिएन भने काम गरेर मात्र केही हुँदैन । सामान्यतया अरूबेलामा मान्छेले आफ्नो काम गरिरहेका हुन्छन् । दुःख पर्दा हो सहयोग चाहिने । मलाई के लाग्छ भने मैले समाजसेवा गरिरहेको छु । एजुकेसन नेपाल भन्ने संस्थामा म आबद्ध छु । मैले यो कुरा मिडियामा भनेको छैन आजसम्म । हामीले यो संस्था मार्फत २५ जना माझीका बच्चालाई पढाइरहेका छौँ । सबै मिलेर काम गरिरहेका छौँ । शिक्षा विकासको पूर्वाधार हो त्यसैले हामीले शिक्षामा योगदान दिइरहेका छौँ । 

गतवर्ष भूकम्पको बेलामा हामीले ५०० जनालाई घर बनायौँ । हामीले अस्थायी रूपमा घर बनाइदिएको तर त्यो नै स्थायी हुँदैछ, यसमा दुःख लाग्छ । हालैको मेरो अमेरिका यात्रा पनि सहयोगकै लागि थियो । हामीले ज्यादै न्यून पारिश्रमिक लिएर त्यहाँ काम गरेका थियौँ ।
बिहेवारी सही समय पारी हो, बिहेको लागि निश्चय नै सोच्नुपर्छ ।

हतार गरेर हुँदैन । ल, अब बिहे गरौँ भनेर हुने पनि होइन । मेरो लागि उमेर भन्दा पनि बिहेवारी सही समय पारी हो । हामी अन्तिम गन्तव्य भनेको बिहे हो जस्तो गर्छौँ हामी तर त्यस्तो होइन । बिहेपछि सबै सकिन्छ जस्तो गर्छन् सबै । म विपनामा बाँच्ने मान्छे हो त्यसैले मेरो सपनाको राजकुमार कोही पनि छैन । यस्तो हुनुपर्छ भन्ने मेरो छैन । मेरो सम्मान गर्ने, मलाई बुझ्ने मान्छे चाहिन्छ । मिडियाले पनि दिक्क पार्छ यो प्रश्नले ।

भएपछि त तपाईँले थाह पाइहाल्नुहुन्छ नि । जिन्दगीको ठूलो लक्ष्य होइन बिहे । ठीक व्यक्ति आओस्, बिहे हुन्छ । घरबाट रोजेको व्यक्ति भएपनि मैले चिन्नु चाहिँ पर्छ । गलत मान्छे आएर जीवन परिवर्तन नहोस् । जीवनमा दुर्घटना नहोस् । मलाई व्यक्तिको काम के हो भन्दा व्यवहार कस्तो छ भन्ने कुराले महत्व राख्छ । मलाई सम्मान र माया गर्ने व्यक्ति चाहिन्छ । मलाई जातको मतलब छैन । जातले केही कुरा पनि निर्धारण गर्दैन । 

प्रतिस्पर्धी

काम गर्दा प्रतिस्पर्धी नै छैनन् भने त तपाईँ सेलाइहाल्नुहुन्छ नि । काम गर्ने इच्छा नै हुँदैन । जे गरे पनि आफैँ मात्र त हो नि भन्ने हुन्छ । स्वस्थ प्रतिस्पर्धा चाहिन्छ नै । मेरो पनि प्रतिस्पर्धीहरू एकदम सशक्त छन् त्यसैले त म दिनदिनै मिहिनेत गर्छु । पहिलाभन्दा उत्तम छु । मेरा प्रतिस्पर्धी अहिले चलेका सबै नायिका हुन् । प्रियंका, नम्रता, ऋचा सबै मेरा प्रतिस्पर्धी हुन् । उहाँहरूले मलाई हरेक दिन प्रोत्साहन दिइरहनुभएको छ । आरिस चाहिँ छैन उहाँहरूप्रति ।

कुनै कुनै चरित्रहरूको लोभ भने लाग्छ । ‘उमा’मा ऋचा शर्माले गरेको चरित्र मैले गर्न पाएको भए अझ राम्रो गर्थेँ होला जस्तो लाग्याथ्यो । ऋचालाई पनि यो कुरा थाह छ । सबैजना व्यस्त हुनुहुन्छ त्यसैले भेटघाट कम हुन्छ । म अनुहारले भन्दा कामले चिनिएकी हुँ । मेरा फ्यानहरु धेरै हुनुहुन्छ । मेरो फोटोहरू स्केच गरेर पठाउनुहुन्छ । म मध्यमखालकी केटी हुँ ।

*अार्काइभबाट

बिहिवार, पौष २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing