सिनेमा

'ट्वाइलेट : एक प्रेमकथा' समीक्षा : मोदी सरकारको प्रोपागान्डा गर्ने साधारण फिल्म


काठमाडौं, २७ साउन — 'ट्वाइलेट : एक प्रेमकथा'मा केशव (अक्षय कुमार) ले ताजमहल बनाउने सोच राखेको छैन । बरू उसले आफ्नी श्रीमती जया (भूमि पेदनेकर) का लागि सहज शौचालय बनाउनुपर्ने हुन्छ किनकि उनी गाउँका अरू महिलाजस्तो खेतमा खुला शौच गर्न चाहँदिनन् ।

प्रस्टै कुरा हो, कलेज टप गरेकी महिला लोटा लिएर दिसा गर्न जान मान्दिनन् । बिहानै झिसमिसेमा गाउँका महिलाहरू चाहिँ खुला खेतमा लोटा लिएर दिसा गर्छन् । यी महिलाहरू रमाइला छन्, भलै उनीहरू घिनलाग्दो काम गर्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानको चर्को प्रशंसा गर्ने फिल्ममा केशव र जया चाहिँ गुलाफ जस्तै सुगन्धित छन् भन्न सकिन्न ।

भारतमा व्याप्त खुला शौचको अभ्यासमाथि व्यंग्य गर्ने यो फिल्म चलेको स्टारलाई प्रयोग गरेर बनाइएको प्रोपागान्डा हो ।

फिल्मको दोस्रो भाग त मोदी सरकारले भारतभरि शौचालय बनाउने पावन प्रयास गरेको विषयलाई बुझाउनका लागि बनाइएको झैं लाग्छ । यसले सांस्कृतिक तथा धार्मिक मान्यताका कारण भारतीयहरूको साँघुरो सोच बनेको कुरालाई पनि उजागर गरेको छ ।

तर फिल्म झुर छ भन्न खोजेको हैन । केही गजबका क्षणहरू फिल्ममा भेटिन्छन् ।

फिल्मको शुरुवात राम्रो छ । केशवले एउटा साइकल स्टोर चलाउँछ । उसलाई पुरातनपन्थी बुवाले एउटा भैंसीसँग बिहे गराउँछन् । प्रतिकूल ग्रहहरूलाई यो विवाहले रोक्ने विश्वास छ ।

निर्देशक श्रीनारायण सिंहले उदास सामाजिक दृश्य र प्रतिगामी परम्परामाथि व्यंग्यवाण प्रहार गरेका छन् ।

अक्षय र भूमि दुवैले सानो शहरका निवासीहरूको भूमिका राम्रो गरी निर्वाह गरेका छन् । भूमिको यो दोस्रो फिल्म मात्र भएपनि उनले विद्रोहीको भूमिकामा राम्रो पकड जमाएकी छन् ।

फिल्म प्रेमकथाबाट शुरु भएकाले यी दुईबीचको केमिस्ट्री चल्नुपर्ने हुन्छ र दुवैले निराश पार्दैनन् । उनीहरू जोडीका रूपमा जमेका छन् र उनीहरूको रोमान्स मीठो छ ।

पहिलो हाफ सलल बग्छ तर दोस्रो हाफ चाहिँ कनीकनी अघि बढ्छ । नयाँ र रमाइलो कथा बिस्तारै दोहोरिन थालेको जस्तो लाग्छ । केही दृश्यहरू त मोदी सरकारका कामको प्रचारका लागि मात्र बनाइएको जस्तो देखिन्छ ।

केशव र जयाको घरायसी समस्या चर्किंदै जाँदा पूरै राज्य नै त्यसमा संलग्न भएजस्तो देखिन्छ । तर शौचालय बनाउने क्रममा भएको द्वन्द्वप्रति दर्शकको रुचि कायम रहँदैन ।

लगभग तीन घन्टाको फिल्मलाई सम्पादन गरेको भए हुन्थ्यो अनि गीतको संख्या घटाउनु उचित हुन्थ्यो ।

बुवाको भूमिकामा रहेका सुधीर पाण्डे, केशवको रमाइलो भाइका रूपमा दिव्येन्दु शर्मा र चकचके हजुरबुवा अनुपम खेरले राम्रो अभिनय गरेका छन् ।

फिल्मको उद्देश्य र नियत असल अनि प्रशंसायोग्य भएपनि सरकारको प्रचारबाजी गर्नमा समय खर्चिएर प्रेमकथालाई अलमलमा पारिएको चित्त बुझ्दैन । तपाईं राम्रो अभिनय हेर्न चाहनुुहुन्छ भने यो फिल्म तपाईंका लागि हो तर प्रोपागान्डारहित फिल्मको खोजीमा हुनुहुन्छ भने नहेर्न सुझाव दिइन्छ ।

गल्फ न्युज डट्कममा मञ्जूषा राधाकृष्णनको समीक्षा

साउन २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस