Nic Asia
cocacola

सिनेमा

अमिताभ बच्चनको ७५औं जन्मदिन आज, के हो सफलताको रहस्य ?

काठमाडौं, २५ असोज — बलिउडका महान् नायक अमिताभ बच्चनको आज ७५औं जन्मदिन हो । सन् १९४२ मा जन्मिएका बच्चनले बलिउडमा कैयौं सफल फिल्महरूमा काम गरेका छन् ।


यत्तिका वर्ष भइसक्दा पनि बच्चनको क्रेज घटेको छैन । उनको उमेरमा मानिसहरू रिटायर भइसक्छन् तर बच्चन अझै सक्रिय छन् ।

सन् १९८० को अन्त्यतिर अनि सन् १९९० को दशकमा बच्चनका फिल्महरू लगातार फ्लप भएका थिए । उनको एबीसीएल कम्पनी पनि टाट पल्टेको थियो । तैपनि उनी सार्वजनिक नजरमा रहिरहे ।

करीयरको शुरुवाती तीन वर्षमा एकपछि अर्को झुर फिल्म खेलेका बच्चनले त्यसपछि भने कहिल्यै पछि फर्केर हेर्नुपरेन ।

बलिउडमा हिरोइजमलाई परिभाषित गर्ने यी नायकलाई शुरुतिर अपरम्परागत भनी बेवास्ता गरिएको थियो ।

त्यतिखेर राजेश खन्नाको बोलबाला थियो । खन्नको रोमान्टिक छविको महिलाहरू कडा प्रशंसक थिए ।

तर खन्नाले नमक हराममा बच्चनसँग काम गरेपछि भनेका थिए, ‘लौ, यिनै हुन् भविष्यका सुपरस्टार ।’

हृषीकेश मुखर्जीले कवि हरिवंश राय बच्चनका छोरालाई आनन्द फिल्ममा बंगाली भद्रालोकको भूमिका दिएका थिए । तर प्रकाश मेहरा र सलीम–जावेदले बच्चनको आँखामा क्रोध देखे । उनीहरूले सन् १९७३ मा बनाएको फिल्म जञ्जीरले बच्चनको भाग्य नै पल्टियो । बलिउडमा एंग्री योङ म्यानको उदय भयो । सन् १९७० को दशकमा राजनीतिक मूड अन्धकारमय भएको बेलामा बच्चनको छविलाई दर्शकले रुचाए ।

सन् ७० को दशकमा राजनीतिक निराशा र सामाजिक समस्यालाई बच्चनले नै आवाज दिए । उनलाई सबै धर्मका मानिसले उत्तिकै मन पराउने भएकाले उनले सबै धर्मको पात्रको भूमिका निर्वाह गरेका छन् । त्यसो त उनले नास्तिकको पनि भूमिका निर्वाह गरेका छन् ।

कूली जस्तो सामान्य मानिसदेखि जादूगरजस्तो सुपरमानवको भूमिका निर्वाह गरेका अमिताभले टीभीमा समेत कौन बनेगा करोडपतिको होस्टका रूपमा सफलता प्राप्त गरे । बुढ्यौली लाग्दै जाँदा बुवाको भूमिकामा पनि उनी सुहाए । त्यसो त ब्ल्याक र पिंक जस्ता फिल्ममा उनका स्वतन्त्र पात्रहरू पनि यादगार रहे ।

वर्षौंदेखि बच्चनले परम्परागत भारतीय नायकको भूमिका निर्वाह गरेका छन् । उनले आफूलाई अथक रूपमा पुनः आविष्कार गरेका छन् र समयअनुसारको भूमिका खेलेका छन् । सदाबहार यी नायक तत्कालै थाक्ने मूडमा छैनन् ।

दी इन्डियन एक्सप्रेसबाट

बुधवार, आश्विन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti