Ruslan
Tata /sipradi
Nic Asia

फिचर

विप्रेषणको सदुपयोग: राष्ट्रिय नीति कस्तो बनाउने ?

सुशील पन्त

वैदेशिक रोजगारी र (विप्रेषण) रेमिट्यान्सले नेपाली समाजमा पारेको प्रभाव झल्काउने नेपाली चलचित्र ‘छक्कापन्जा’ यसपटकको दशैं–तिहारको मौकामा राम्रो व्यापार गर्न सफल भयो । पछिल्ला वर्षहरूमा नेपालको व्यापार–व्यवसाय प्रायः वैदेशिक रोजगारीका कारण फस्टाएका छन्, चाहे घरजग्गा कारोबार होस् या अन्य व्यवसाय ।

नेपालका कामदार ओसार्न मात्र कैयौं अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा उडान भरिरहेका छन् । नेपालको अर्थतन्त्रको कुनै क्षेत्र यस्तो छैन, जहाँ वैदेशिक रोजगारी प्रत्यक्ष÷परोक्ष रूपमा नजोडिएको होस् । नेपालको कुल गार्हस्स्थ उत्पादनमा २५ देखि ३० प्रतिशतसम्म वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सको योगदान रहेपनि सो रकमको राज्यले सदुपयोग गर्न सकेको छैन ।

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी रेमिट्यान्सलाई पूँजीगत खर्चमा लगानी गर्ने नीति बनाउन ढिलो भइसकेको बताउँछन् । संसद्को अर्थ समितिका सदस्यसमेत रहेका अधिकारीले भने, ‘रेमिट्यान्सको सदुपयोगको विषयमा मैले बारम्बार संसदमा आवाज उठाइरहेको हुन्छु र राज्यको ध्यानाकर्षण गराउन जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएर छलफल पनि गराएँ । युवाले पठाएको रेमिट्यान्सलाई राज्यले सदुपयोग गर्न सकोस् र पछि फर्केर आउँदा युवाका लागि त्यो पेन्सन पनि होस् ।’ यसका लागि राज्यले भरपर्दो योजना बनाएर कुनै जलविद्युत् आयोजना होस् या कुनै आयोजनामा लगानी गरेर त्यसको शेयर दिन सकिने उनको योजना छ ।

रेमिट्यान्सको सदुपयोग गर्ने सम्बन्धमा सरकारको स्पष्ट नीति नहुँदा अरबको खाडीमा नेपालका युवाले रगत/पसिनासँग साटेको रकम उत्पादनमूलक क्षेत्रमा भन्दा पनि विलासितामै खर्च भएको छ । नेपाली युवाले कमाएर पठाएको विदेशी मुद्रा विलासिताका सामान खरिदमा उतै फर्केको छ ।

गाउँका किसानले दूध बेचेर कोकाकोला किनेजस्ता उदाहरण धेरै छन् । राज्यसँग रेमिट्यान्सको सदुपयोग गर्ने उचित नीति र कार्यक्रम भएको भए वैदेशिक रोजगारीमा गएका कामदारका परिवारले विलासिताको सट्टा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने थिए ।

देश गरीब भए पनि नेपाली गरीब छैनन् र प्रतिफल आउने अवसर पाएमा लगानी गर्न तयार छन् भन्ने कुरा केही समयपहिले २५ मेगावाटको एउटा निजी जलविद्युत् आयोजनाले प्राइमरी शेयर निष्कासन गर्दा लगानीका लागि देखिएको लाइन र मागेभन्दा कैयौं गुणा आवेदन परेकोबाट पनि पुष्टि हुन्छ ।

विज्ञहरूका अनुसार नेपालको वैदेशिक रोजगारीको कमजोर पक्ष भनेको हातमा कुनै सीप नभएका अदक्ष कामदार विदेश पठाउनु हो । पूर्वअर्थमन्त्री अधिकारी दुबईको अबुधाबीमा कार्यरत विदेशी कामदारमध्ये सबभन्दा कम कमाइ नेपाली कामदारको हुने बताउँछन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदार शुरुमा गाउँका साहु/महाजनबाट ठगिन्छन्, त्यसपछि म्यानपावर दलालबाट ठगिन्छन्, विमानस्थलमा ठगिन्छन् र कार्यस्थलमा ठगिन्छन् । त्यसका लागि राज्यले सस्तो ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ । कामदारको मात्र होइन, कामदारले कमाएको पैसाको पनि सुरक्षा छैन । विदेशमा कमाएको पैसा हुन्डीलगायत असङ्गठित च्यानलबाट आउँदा कामदारको पैसाको जोखिम बढ्ने गरेको छ ।

नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारी वैदेशिक रोजगारीमा गएका नेपालीले कमाएर पठाएको रकमको राज्यले सदुपयोग गरेर जलविद्युत् उत्पादन गरेको भए, पर्यटनको विकास गरिदिएको भए कसैसँग ऋण खोज्नुपर्ने अवस्था नरहने बताउँछन् । भण्डारी भन्छन्, ‘कामदारले पठाएको रेमिट्यान्सको सदुपयोगका लागि कुनै जलविद्युत् आयोजना बनाउनसके देशबाट लोडसेडिङ पनि हट्ने र कामदार पनि शेयरको मालिक बन्थे । हामीले के ग–याैं भने अरूसँग पैसा लिँदा कमिसन खान पाइयो । देशको सम्पत्तिको प्रयोग गर्दा पैसा खान पाइएन ।’

नेता भण्डारी नेपाली युवालाई बेचेर देश सञ्चालन गर्ने कमजोर चिन्तन त्याग्नुपर्ने समय आएको बताउँछन् । ‘उनीहरूको कमाइ जलस्रोत र पर्यटनमा लगाइदिएको भए देशको मुहारै फेरिन्थ्यो । नेपाली युवाले कमाएको पैसा सदुपयोग गर्नबाट हामी चुकिरहेका छौं ।’

चालू आर्थिक वर्षको शुरुको चार महिनामा वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या घटेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाल भित्रिने रेमिट्यान्समा पर्ने राष्ट्र बैंकको तथ्याङ्क छ । ‘विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति’ सम्बन्धी राष्ट्र बैंकले २०७३ असोजमा गरेको अध्ययनले रेमिट्यान्सको प्रयोग ऋण तिर्न २५ दशमलब ३ प्रतिशत, दैनिक उपयोगका लागि २३ प्रतिशत तथा उत्पादनमूलक कार्यमा ११ प्रतिशत मात्र खर्च हुने गरेको देखाएको थियो ।

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी भन्छन्, ‘कामदारले कमाएको पैसाको सुरक्षाका लागि हामीले पाकिस्तानबाट पाठ सिक्न सक्छौं, पाकिस्तानले हरेक कामदारलाई बैंक एकाउन्ट खोल निःशुल्क बीमा गरिदिन्छु भनेर नीति बनायो । सोहीअनुसार विदेशीको पैसा बैंकिङ च्यानलबाट आयो र व्यवस्थापन सजिलो भयो ।’

नेपालमा भने आएको पैसामध्ये ९५ प्रतिशत रकम विलासिताका सामानमा खर्च भएकाले समाजमा विकृति–विसङ्गति आएको उनले बताए । ‘रेमिट्यान्स आएपछि गाउँमा लाहुरे अर्थतन्त्रको उदय भएको छ, गाउँमा केही उत्पादन नगर्ने सबै सामान किनेर ल्याउने । दूध बेचेर कोकाकोला लगायतका पेयपदार्थ खाने, सागसमेत किनेर बजारबाट ल्याउने ।

पूर्वअर्थमन्त्री अधिकारी नेपाली कामदारको सीप वृद्धि गर्न सके अहिलेको रेमिट्यान्समा दुईगुणा बढ्न सक्ने बताउँछन् । वैदेशिक रोजगारीमा गएका कामदारका लागि भन्दै राष्ट्र बैंकले ‘बण्ड’ ल्याए पनि किनेनन् । वैदेशिक रोजगारमा गएका घरपरिवारका सदस्यहरूमध्ये ९९ दशमलब ४ प्रतिशतले हालसम्म वैदेशिक रोजगार बचतपत्रमा लगानी गरेको नदेखिएको राष्ट्र बैंकको सो प्रतिवेदनमा उल्लेख छ । जसलाई खाडीका मुलुकमा बाटो काट्न थाहा छैन, उनीहरूले करोडपतिले किन्ने बण्ड कसरी बुझ्छन् ? उनीहरूलाई सरल ढङ्गले सेयर किन्न प्रोत्साहन गर्नुपर्दथ्यो ।

माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगर वैदेशिक रोजगारीमा गएका युवाले कमाएको रेमिट्यान्स सदुपयोग गर्न राज्य चुकेको बताउँछन् । ‘राज्यले विकास निर्माण विशेष बोर्ड बनाएर रेमिट्यान्सको पैसा जलविद्युत्का मेगा प्रोजेक्टमा लगानी गर्नुपर्दथ्यो,’ विष्टमगर भन्छन्, ‘विगतमा त्यसो हुन नसके पनि अब युवाले पसिनासँग साटेर पठाएको रेमिट्यान्सको सदुपयोग गर्न ढिलो नगरौँ ।’ आउँदा दिनमा युवाहरू विदेश पलायन हुनुनपर्ने गरी रोजगारी सिर्जना गर्ने खालका आयोजना निर्माणमा रेमिट्यान्सको सदुपयोग गरे जवानीमा श्रम गरेकाहरूले बुढेससकालमा सेयरको लाभांश पाउने उनको विश्वास छ ।

साभारः‘म्याग फिचर सर्भिस शुक्रवार, पौष ८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam