Ruslan
Tata /sipradi
Sarbottam Cement

फिचर

घरमा रङ लगाउनेदेखि फूटपाथ व्यापारसम्म गरें :‘बान्द्रे’

काठमाडौं, ९ पुस – चर्चित हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा बान्द्रेको भूमिकाबाट चर्चामा आएका कलाकार सुरज चापागाईंलाई उनको वास्तविक नामबाट चिन्ने दर्शक कमै छन् ।

‘मेरी बास्सै’को प्रसारण बन्द भएपछि झण्डै दुईवर्ष टेलिभिजनको पर्दाबाट हराएका सुरज त्यतिञ्जेल गुमनाम जस्तै रहे । बिहेको खबरसँगै भने उनी एकाएक चर्चामा आए । एककिसिमले बिहेले उनलाई फेरि चिनाउन झन् ठूलो मद्दत गरेको जस्तै भएको छ ।

उनी ‘मेरी बास्सै’मा अभिनय गर्नुभन्दा पहिले फूटपाथ व्यापारी थिए । ‘मेरी बास्सै’ले बान्द्रेका रूपमा चिनाएपछि भने उनको जीवनशैली फेरियो ।

घरमा रंग लगाउनेदेखि फूटपाथ व्यापारसम्म

घरमा साह्रै चकचक गरेर दिक्क बनाएपछि दिदीको साथ लगाएर परिवारले बान्द्रेलाई काठमाडौं पठाइदिए । काठमाडौंमा आएर २५ रुपैयाँमा काम थाले, घरमा रंग लगाउने काम । तर उनले कामलाई सानो भनेनन, निरन्तरता दिन थाले ।

घरमा रंग लगाउने काम गर्दागर्दै उनले केही पैसा जम्मा गरे । त्यसो त उनले घरमा रंग पोत्ने काम मात्र गरेनन्, भेटिएका र पैसा कमाउन सकिने सबै काम गरे । आफूले दिनको दुई समय कमाउँदा केही पैसा जम्मा गरेर महाबौद्धमा होलसेलमा जुत्ता किन्थे । असन बजारमा ल्याएर बेच्थे । यसो गर्दा उनले दिनको चारदेखि पाँचसयसम्म कमाउन थाले ।

व्यापारबाट आर्थिक लाभ भएको ठानी लामो समयसम्म झोलामा बोकेर असनछेउ व्यापार गरे । कहिलेकाहीँ त बोराका सामान निकालेर सडकमा व्यापार थाल्न नपाउँदै प्रहरी आएर सामान लगिदिने गरेको पनि उनी हाँस्दै सुनाउँछन् ।

व्यापारबाट आर्थिक रूपमा अलिक बलियो भएपछि उनले सातसयमा एउटा सेकेन्ड ह्याण्ड साइकल किने । आफ्ना साथीहरूलाई समेत सामान बेचेर आम्दानी गर्ने वातावरण बनाए । उनी ती पुराना कुरा सम्झँदै भन्छन्, ‘कहिलेकाहीँ भोकै छु भन्ने साथीहरूलाई खाजा खुवाउने भइयो त्यो बेला ।’

‘मेरी बास्सै’ले चिनायो

व्यापारको सिलसिलामा चिनजान भएका ‘मेरी बास्सै’ समूहसँग उनको चिनजान भइसकेको थियो । त्यसबेलाको चर्चित कार्यक्रम ‘हिजो आजका कुरा’मा अभिनय गर्नका लागि लगभग ७०÷८० जना लस्करै लागेका हुन्थे । त्यही लस्करमा हुन्थे सुरज अर्थात् बान्द्रे पनि ।

त्यहीबेला ‘मेरी बास्सै’ नामको कार्यक्रम निर्माण गर्ने योजना बन्यो । त्यसमा बान्द्रे पनि अटाए । बान्द्रेको नामबाट दर्शकमाझ उदाउने मौका पाए सुरजले ।

‘मेरी बास्सै’ले उनलाई लाखौं दर्शकमाझ चिनायो । फेसबूकमा उनलाई हजारौंले पिछा गरेका छन् । पछिल्लो समय कुनै सिरियलमा त्यति नआए पनि उनको चर्चा घटेको छैन । विवाह समारोहमा बेहुलीलाई हँसाएको भिडियो युट्युबमा १५ दिनमै पाँच लाखभन्दा बढीले हेरिसके ।

चकचके स्वभाव

बाल्यकालमा आफू साह्रै चकचके भएको सुरज बताउँछन् । आफ्ना सहयात्रीसँग मिलेर उनी गोठालो जान्थे, झापाको गाउँमा । उनलाई कसैले पिट्यो भने उनी भाइबहिनी कुट्थे । उनको बाल्यकाल चकचक गरेर नै बितेछ भन्ने लाग्छ उनलाई ।

उनी सम्झन्छन्, ‘साथीहरूसँग गोठाला जाँदा ठूलो झरी प–यो । झरीमा कपडा नरुझुन् भनेर उनीहरूले आफ्ना कपडा फुकालेर बालुवामा पुरिदिए । झरी रोकिएपछि भने उनी धमाधम बालुवामा पुरेका कपडा खोज्न थाले । झरीले बालुवालाई जताततै एकनासको बनाएको थियो । आफूले बालुवामा कपडा भेट्टाएनन् । उनी हाँस्दै भन्छन्, ‘कहाँ कपडा गाडेको भन्ने समेत पत्ता नलाएपछि नाङ्गै घर जानुप–यो नि ।’

बाल्यकालमा स्कूलमा कहिल्यै अभिनय गर्न पाएनन् उनले । विद्यालयमा हुने कार्यक्रममा उनले लुकीलुकी नाटक हेर्ने गर्थे । गुरुहरूले गाली गर्नुहुन्थ्यो । उनी भाग्थे । त्यसो गर्दा पनि त अभिनय सिकिएको हुँदो रहेछ भन्ने लाग्छ अहिले उनलाई ।

विद्यार्थीलाई सिकाउँदै
उनी अहिले विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिन सकिन्छ भन्नेबारेमा विभिन्न कार्यक्रमहरूको परिकल्पनामा जुटेका छन् । यही प्रोजेक्टले उनलाई उषासँग भेट गराइदियो । आकर्षण हुँदै प्रेममा परेका यी जोडीले एकवर्ष पनि नहुँदै आफ्नो प्रेमलाई बिहेमा परिणत गरे ।

शिक्षिकासँग प्रेम

विद्यालयहरूमा कार्यक्रम देखाउने क्रममा उनको भेट उषा तिम्सिनासँग भएको हो, काभ्रेको एक गाउँमा । हातमा लठ्ठी समाएकी, आत्मविश्वासी लाग्ने ती युवतीलाई देख्दा सुरज उषाप्रति आकर्षित भए ।
केटीसँग बोल्न पनि लजाउने सुरजले पहिलो भेटमै उषासँग प्रेमको कल्पना गरे । बोलचाल भयो । बिस्तारै प्रेम भयो । सुरज भन्छन्, ‘मैले हाम्रो उद्देश्य एउटै जस्तो लाग्यो ।’

भविष्यमा सुरज र उषा दुवै मिलेर विद्यार्थीमैत्री विद्यालयको कल्पना गरेका छन् । दर्शकका लागि पनि आफूले केही सृजना दिनुपर्छ भन्ने पनि लागेको छ सुरजलाई । यसबारेमा उनी भन्छन्, ‘हामीले विद्यालय क्षेत्रका लागि केही गर्ने योजना त छँदैछ । नयाँ कार्यक्रम बनाएर दर्शकसँग कुनै न कुनै माध्यमबाट आफूहरू आउने भविष्यको योजना छ ।’ शनिवार, पौष ९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement