ambe

फिचर

'मलाई डक्टर बन्न मन लागेन, संस्कृत पढें'

विशाल भट्टराई

काठमाडौं, १० पुस — शुरुवाती पुसको जाडो आँतै कमाउने खालको छ । शरीर कक्रक्क पार्छ । तलपट्टि बग्ने वाग्मति नदीले जाडो बढाउन थप सहयोग गरिरहेको छ । हुन मौसम त बदलिरहन्छ । केही समयपछि गर्मी हुने नै छ ।

तर यहाँको नियम चाहिँ साह्रै कडा छ । बिहान चार बजे बाहिर शीत परिरहेको हुन्छ । पुसको ठण्डीमा कमैलाई लाग्दो बिहानी सिरेटोको चिसो खान मन लाग्दो हो । तर उनीहरू चाहिँ उठिरहेका छन् ।

बिहानै उठ्छन् । नुवाइधुवाइ गर्छन् । जपतप र कर्मकाण्डका थुप्रै कुराहरू सिक्छन् । छेउमै रहेको सरस्वतीको मन्दिरमा दर्शन गर्छन् । यति गर्दा बिहान ९ बजिसक्छ, १० बजेपछि चाहिँ स्कूले जीवन शुरु गर्छन् । चार बजेसम्मको समय कक्षाकोठामै बित्छ ।

यो दृश्य दैनिक देखिन्छ पाशुपत क्षेत्रको वेद विद्याश्रम माध्यमिक विद्यालयमा । चार कक्षादेखि १० कक्षासम्म पढ्ने एक सय ८६ जना विद्यार्थीले यहाँ अध्ययन गरिरहेका छन् ।

संस्कृत अध्ययनका लागि उनीहरू यहाँ आएका हुन् । उनीहरू दश बजेपछि पलेंटी कसेर कक्षाकोठामा बस्छन् र हाल्छन् संस्कृतका सिलोकहरू । अन्य विषयको अध्ययन पनि उनीहरूले गरिरहेका छन् । कक्षामा पलेंटी कसेर भुइँमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

संस्कृत र कर्मकाण्डसहित अंग्रेजी, नेपाली, गणित र सामाजिक विषयको अध्ययन पनि उनीहरूले गरिरहेका छन् । ‘एक सय ८६ मध्ये ७५ जनालाई विद्यालयकै छात्रावासमा बसेर पढ्ने व्यवस्था छ,’ आश्रमका शिक्षक कृष्ण ज्ञवाली भन्छन्, ‘यहाँभित्रको अनुशासन भने सबै विद्यार्थीले पालना गर्नुपर्छ ।’

विद्यालयको छात्रावासमा बस्ने विद्यार्थीहरूलाई प्रत्येक परीक्षामा प्रथम श्रेणी ल्याउनैपर्ने बाध्यात्मक अवस्था छ । साठी प्रतिशत नल्याएमा अर्को वर्षदेखि छात्रावासको सेवा–सुविधा कटौती भएर नयाँ विद्यार्थीलाई जान्छ । सेवा–सुविधाका लागि पनि विद्यार्थीहरूले मेहनत गरेर पढिरहेका छन् ।

ज्ञवालीका अनुसार देशभरबाट आएका विद्यार्थीहरूले पशुपति क्षेत्र विकास कोषले सञ्चालन गरेको यस विद्यालयमा संस्कृत अध्ययन गरिहेका छन् । प्रत्येक जिल्लाका एक\एकजनालाई यहाँ खान बस्न सहित अध्ययनको व्यवस्था मिलाइएको छ ।

कक्षाकोठामा बस्दा नेपाली मौलिक पहिरन दौरा सुरुवाल, कोट र ढाका टोपी लगाउँछन् विद्यार्थीहरू । ‘दुर्गमबाट आएका विद्यार्थीहरूले अत्यन्तै राम्रो गरेका छन्,’ ज्ञवालीले भने, ‘यहाँबाट उत्पादन भएका विद्यार्थीहरूले पनि राम्रो ठाउँमा काम गरिरहेका छन् ।’

२०३१ सालमा पशुपति क्षेत्रमा खाँचो पर्ने ब्राहमणहरू उत्पादन गर्ने मनसायसहित विद्यालय खुलेको थियो । यहाँका उत्पादनहरूलाई पशुपतिमा पण्डित्याईं गरेर बस्नुपर्दैन । राम्रै ठाउँमा जमेका छन् ।

कक्षा चारमा भर्ना हुनेको लागि देशभरबाट विद्यार्थीहरू यहाँ आउँछन् । कक्षा चारमा विद्यालयले प्रवेश परीक्षा लिन्छ । प्रवेश परीक्षामा पास हुने डेढ सयदेखि दुई सय विद्यार्थीले यहीँ पढ्न पाउँछन् । त्यसमध्ये राम्रो अंक ल्याउने ७५ जिल्लाका ७५ जनालाई निःशुल्क खाने बस्नेसहित पढ्ने व्यवस्था गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक केशव अधिकारीले अहिले संस्कृत अध्ययनमा विद्यार्थीहरूको खुब रुचि भएको बताउँछन् । उनले विद्यालयको क्षमता धेरै नभएको कारणले थोरै विद्यार्थीहरूलाई मात्रै अध्यापन गराइएको बताए ।
‘सरकारले लगानी गर्ने हो भने अहिले संस्कृत अध्ययनमा धेरैको रुचि छ,’ उनी भन्छन्, ‘अहिले चाहिँ विद्यालयलाई पशुपति क्षेत्र विकास कोषले चलाइरहेको छ ।’

उनका अनुसार विद्यालयलाई सरकारले वार्षिक ६ लाख रुपैयाँ दिन्छ । अरू सबै खर्च पशुपति क्षेत्र विकास कोषले व्यवस्था गर्ने गरेको छ । विद्यालयमा १३ शिक्षकसहित २३ कर्मचारीहरू छन् ।

पढ्ने विद्यार्थीहरू निकै उत्साहित छन् । उनीहरूले आफूहरूले संस्कृतको अध्ययन सकेपछि कर्मकाण्डलाई ‘पार्ट टाइम’ जागिरको रूपमा विकास गरेर अरू पेशामा संलग्न रहने बताउँछन् ।

ओखलढुंगाबाट आएका सुसान तिमल्सिना अहिले १० कक्षामा पढ्दैछन् । भन्छन्, ‘संस्कृत पढेर कर्मकाण्ड मात्रै गर्नुपर्छ भन्ने छैन, कि वकिल बन्छु कि पत्रकार बन्छु ।’ उनले एसएलसीपछि आफूले आफू प्रवेश गर्ने पेशाको अध्ययन गर्ने तर कर्मकाण्डलाई आंशिक रूपमा अघि लैजाने बताए ।

‘अहिले पनि एउटा संस्थाले बिहान ६ देखि ११ बजेसम्म कर्मकाण्डका लागि काम गरेको आठसय रुपैयाँ दिँदोरैछ,’ उनले भने, ‘दिउँसो अर्को जागिर गर्न त पाइहाल्यो ।’ उनले १० कक्षामा पढ्दै गर्दा आफू जन्मेदेखि मृत्युसम्मका सबै प्रकारका कर्मकाण्ड जान्ने भएको बताए । विद्यालयमा पढ्दै गर्दा आफूहरू थप अनुशासित भएको समेत उनले बताए ।

दश कक्षामा पढ्दै गरेका अतुल पौडेलले आफूहरू संस्कृत मात्र नभएर अरू सबै विषयमा पोख्त रहेको बताउँछन् । ‘दुर्भाग्यवश हामीले विज्ञान पढ्न पाएका छैनौं, तर अरू सबै विषयमा हामी पोख्त छौं,’ उनले भने, ‘यहाँबाट पास भएर गएकाहरू राम्रै ठाउँमा पुगेको थाहा पाएको छु ।’

उनले हजुरबुवाको सल्लाह अनुसार संस्कृत अध्यनका लागि यहाँ आएको बताए । ‘संस्कृत पढ्दै गर्दा मलाई कुनै प्रकारको पछुतो छैन,’ उनी भन्छन्, ‘सबैलाई डाक्टर बन्न मन लागेर हो कि, मलाई चाहिँ डाक्टर बन्न मन लागेन ।’ १७ वर्षीय उनले अहिले पनि फुर्सदको समयमा कर्मकाण्ड सम्बन्धी कामहरू गर्ने गरेको बताए ।

संस्कृतभित्र पनि वेद, कर्मकाण्ड, व्याकरण, साहित्य, ज्योतिष लगायतका सबै कुराको अध्ययन गर्न पाइने उनले बताए । यहाँबाट एसएलसी पास भएसँगै विद्यार्थीहरूले ११ कक्षा पढ्छन् । अहिले परीक्षा नियन्त्रण केन्द्र सानोठिमीकै परीक्षामा सहभागी भएर उनीहरूले जाँच दिएर उत्तीर्ण गर्नुपर्छ । त्यसपछि चाहिँ उनीहरूले आफूहरूको रुचिको विषय पढ्न सक्छन् ।

विद्यार्थी र शिक्षकहरू मात्रै संस्कृत पढ्न पढाउन पाएर खुशी छैनन्, अभिभावकहरू पनि खुशी देखिन्छन् । नुवाकोटबाट सात कक्षामा पढ्ने छोरा कल्पितलाई भेट्न आएका टेकप्रसाद तिमल्सिनाले आफू अत्यन्तै खुशी भएको बताए ।

‘गाउँघरमा पनि पढ्नुपर्ने कुरा छोराले पढिरहेकोमा छिमेकीहरूले खुशी मान्छन्,’ उनले भने, ‘एसएलसीपछि चाहिँ उसको क्षमता र रुचि अनुसार पढाउने हो ।’ उनले आफ्ना तीन सन्तानमध्ये कान्छो छोरोलाई संस्कृत अध्ययनमा लगाएको समेत बताए । आइतवार, पौष १०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam