Nic Asia
Sarbottam Cement

फिचर

मधेसका किशोरी ‘क्याडेट’हरू जो दाइजो प्रथा अन्त्य गर्न चाहन्छन्

विराट अनुपम

इटहरी, १२ पुस —
‘तपाईंको नाम ?’
‘क्याडेट अनिषा ठाकुर’
‘घर?’
‘राजविराज, सप्तरी’
‘उमेर?’
‘१५’
पब्लिक विन्देश्वरी उच्च माविमा पढ्ने अनिषा यसरी सटीक बोल्छिन् । तनक्क जिउ तानेर दुई हात सिधा कम्मरबाट झार्छिन् । हरेक प्रश्न झरिसक्दानसक्दै उत्तर दिन्छिन् । अघिल्लो वर्षसम्म यस्तो स्वभाव र लवज थिएन ठाकुरको । गृहिणी आमा र व्यवसायी बुवाकी यी मधेसी किशोरी अरूका अगाडि मज्जाले बोल्न पनि सक्दिनथिन् । पछिल्ला केही महिनाबाट भने उनको यो बानी हटेको छ ।



अझ नामको अगाडि क्याडेट जोडेर बोल्छिन् । अनिषाको दैनिकी स्कुल जाने, ट्युसन पढ्ने र घरको काममा आमालाई सघाउने हुन्थ्यो । पछिल्ला ९० दिनदेखि भने अनिषाको दैनिकी फेरिएको छ । ड्रिल गर्ने, मास पिटी गर्ने, तेक्वान्दो खेल्ने, खुकुरी खेल्ने, एरोबिक्स गर्ने र अध्ययन गर्ने उनका दैनिकी भएका छन् ।

राष्ट्रिय सेवा दलसँगमा आबद्ध भएर आफ्नो नयाँ सिकाइबाट उत्साहित देखिएकी ठाकुरले शनिवार अपराह्न मोरङको केराबारीको सार्वजनिक उच्च मावि प्राङ्गगणमा बोल्दै भनिन्, ‘अब म थुप्रै जान्ने भएको छु र मेरो व्यक्तित्व र नेतृत्व विकास भएको छ ।’



सरस्वती उच्च मावि मोरङकी चाँदनी कुमारी गन्गाई आजभोलि उनले नसोचेका तर प्रिय कामहरूमा व्यस्त छिन् । पिटी, ड्रिल, तेक्वान्दो जस्ता ७९ दिने तालिम लिएपछि उनको व्यक्तित्व फेरिएको छ । अरूबेला मौन रहने बानी भएकी गन्गाई आजकल निर्धक्क आफ्ना कुराहरू राख्न सक्छिन् । भन्छिन्, ‘अब म माइकमा पनि बोल्न डराउँदिनँ ।’

गन्गाई राष्ट्रिय सेवा दलको तालिम लिइरहँदा अब थप अनुशासित हुन सिकेको बताँउछिन् । हँसिली गन्गाई भन्छिन्, ‘आफ्नो काम आफैं गर्न र अनुशासित हुन सिकें ।’



गन्गाई र ठाकुर जस्तै नयाँ अनुभव छ सप्तरीकी सोनी कुमारी यादवको । सप्तरीमा राजदेवी बाल क्लबमा कोषध्यक्ष रहेकी यादव अब आफूमा थप क्षमता विकास भएको बताउँछिन् ।

बाढीपहिरो, आगलागी जस्ता विपत् व्यवस्थापन र प्राथमिक उपचारका थुप्रै कुराको ज्ञान राष्ट्रिय सेवा दलको कार्यक्रममा आएपछि बढेको यादवको अनुभव छ । भन्छिन्, ‘मैले घरमा र स्कूलमा नसिकेका धेरै कुरा यहाँ सिक्न पाएँ ।’

अनिषा ठाकुर, चाँदनी कुमारी गन्गाई र सोनी कुमारी यादव नेपाल सरकारको वार्षिक कार्यक्रम अन्तर्गतको राष्ट्रिय सेवा दलमा १०० दिने तालिम लिने विद्यार्थी हुन् । हरेक वर्ष १४ वर्षमाथिका कक्षा सातदेखि कक्षा बाह्रसम्मका विद्यार्थीलाई नेपाली सेनाले तालिम प्रदान गर्छ ।



पूर्व नेपालमा मोरङको याङ्सिला, मध्य नेपालमा नवलपरासीको हात्तीखोर र पश्चिम नेपालमा बाँकेको कोहलपुरमा यस्तो तालिम प्रदान गरिन्छ । यी तीन किशोरीहरू याङ्सिलाको तालिममा सहभागी विद्यार्थी हुन् । याङ्सिलामा एक हजार ४० विद्यार्थीहरूले यो वर्ष यस्तो तालिम लिँदैछन् । यसमा आधा त किशोरीहरू छन् ।

लक्ष्य : मधेसको ‘दहेज’ अन्त्य गर्ने

यहाँ तालिम लिने किशोरकिशोरीहरूका आ–आफ्नै लक्ष्य छन् । यो तालिमपछि कोही पढाइ सकेर आर्मी बन्न चाहन्छ । कोही नर्स बन्न चाहन्छन् । कोही डक्टर र कोही इन्जिनियर हुने सोच्दैछन् । अरू साथीहरू जस्तै ठाकुर, गन्गाई र यादवका बेग्लाबेग्लै जीवनका लक्ष्यहरू छन् ।

ठाकुर आर्मी नै बन्न चाहन्छिन् । आर्मी नसके प्रहरी हुने उनको लक्ष्य छ । गन्गाईको लक्ष्य स्टाफ नर्स हुनेछ । यादव चाहिँ डाक्टर बन्ने उद्देश्यमा छिन् । बेग्लाबेग्लै लक्ष्यहरूमा एउटा लक्ष्य भने उनीहरूको मिल्छ । त्यो हो – तराईको दहेज (दाइजो) अन्त्य गर्ने अभियान ।

तराईमा दाइजोको प्रथाले धेरै समस्या ल्याएको चाँदनी कुमारी गन्गाईलाई थाहा छ । दुई दिदी र तीन बहिनी भएकी उनलाई आफ्नै दिदीहरूको विवाहमा पनि दाइजोले परिवारलाइ पीडा दिन्छ होला भन्ने चिन्ता छ । गरीबहरूले नसक्नेगरी चलेको दाइजोप्रथा अन्त्य गर्न गन्गाईले सोचेकी छन् ।

भन्छिन्, ‘म नर्स बनेर पनि दहेजको विरोध गर्छु ।’ एक दाइ र दुई बहिनी भएकी अनिषा ठाकुरलाई दहेजको कारण थुप्रैले जग्गाजमिन बेचेको सुनेकी छिन् । कतिपय बेहुलीहरूले माइतीबाट दाइजो नपाउँदा श्रीमानको घरमा आगो लगाएको पनि सुनेकी छिन् ।

यी सबै कुरा हटाउन उनी गाउँ पुगेर तालिमले सिकाएको व्यक्तित्व र नेतृत्व दाइजो प्रथा हटाउने अभियानमा लगाउने सोचमा छिन् । ‘स्कूल नगएको समयमा साथीहरू र दिदीहरूसँग म दहेजको विरुद्ध बोल्न भन्छु,’ राष्ट्रिय सेवा दलको निःशुल्क स्वास्थ्य जाँचमा स्वयंसेवी भएर मोरङ केराबारीको सार्वजनिक माविको हाताभित्र बोल्दै ठाकुरले भनिन्, ‘दहेजले गरीबलाई झन् गरीब बनाउँछ । पैसा नहुनेको छोरीको बिहे हुँदैन ।’

सप्तरीकी सोनी कुमारी यादव त पहिलेबाटै दहेज उन्मूलनमा सडक नाटक गर्दै हिँडेकी छिन् । राजदेवी बाल क्लबमा कोषाध्यक्ष रहेकी उनी क्लबबाट दहेज अन्त्य गर्न लागी परेकी छिन् । अब तालिम सिकेर घर गएपछि झन् लाग्ने उनको सोच रहेको छ ।

‘मधेसमा शिक्षा र चेतनाको अभावमा दहेज बढेको हो,’ तीन दिदी र एक भाइ भएकी यादव भन्छिन्, ‘अब हामीहरूले समाजमा चेतना बढाएमा यसको अन्त्य हुन्छ ।’

के हो राष्ट्रिय सेवा दल ?

स्कूले विद्यार्थीहरूलाई अनुशासित, कर्तव्यनिष्ठ र देशभक्त बनाउन नेपाल सेवा दल बनेको दलका मेजर आदित्य कार्कीले बताए । कार्कीका अनुसार नेपालसहित संसारका १८१ देशमा राष्ट्रिय सेवा दलको जस्तै कार्यक्रमहरू सञ्चालन हुन्छन् ।

२०२२ सालबाट शुरु भएको शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको संयुक्त कार्यक्रम राष्ट्रिय सेवा दलका शुरुका दिनहरूमा पाँचसयभन्दा कम संख्यामा विद्यार्थीहरूलाई तालिम प्रदान गरिएकोमा पछिल्ला वर्षहरूमा संख्या बढ्दै यो वर्षमा चार हजार पुगेको मेजर कार्कीले बताए ।

अर्को वर्षबाट यो संख्या ६ हजार पुग्ने कार्कीले बताए । स्कूले विद्यार्थीहरूलाई दिइने यो तालिमका सहभागीलाई जिल्ला शिक्षा कार्यालय र सैनिक ब्यारेक प्रतिनिधिले छनौट गर्ने मेजर कार्कीले बताए ।

सयदिने तालिममा ७९ दिन सम्बन्धित जिल्लाका सम्बन्धित विद्यालयमा गएर पाठ्यक्रम अनुसारका मास पिटी, ड्रिल, विपद् व्यवस्थापन आदिका कार्यक्रमहरू प्रदान गर्ने मेजर कार्कीले जानकारी दिए ।

विद्यार्थीको पढाइलाई असर नपार्नेगरी यस्ता कार्यक्रम विद्यालयमै गएर गर्ने बताएका मेजर कार्कीका अनुसार २१ दिने कार्यक्रममा पनि दिनको दुई घण्टा विद्यार्थीहरूलाई पढाइको कोचिङका बेग्लै कक्षाहरू राखिने बताए । उनका अनुसार २१ दिनका बाँकी कक्षाहरू भने व्यक्तित्व विकास, समुदायसँगको अन्तर्घुलन, सांस्कृतिक कार्यक्रमहरूमा एकै ठाउँमा विद्यार्थीहरूलाई ल्याएर प्रदान गरिन्छ ।

चेलीबेटी बेचबिखन, ट्राफिक नियम, तनाव व्यवस्थापन तथा कुलतबारेका सचेतना जस्ता थुप्रै कार्यक्रमहरू कोर्सभित्र रहेको कार्की बताँउछन् । तालिम लिएकाहरूको रेकर्ड सिडिओ कार्यालय तथा जिल्ला शिक्षा कार्यालयले राख्ने र देशमा अप्ठ्यारो समयमा त्यो जनशक्तिलाई स्वयंसेवी शक्तिको रूपमा प्रयोग गर्न सकिने कार्कीले बताए ।

‘पछिल्लो भूकम्पमा म दोलखा, सिन्धुपाल्चोक अनि रामेछाप गएको थिएँ’, यस्ता तालिमको राष्ट्रलाई हुने प्रत्यक्ष फाइदाबारेको आफ्नो अनुभव बाँड्दै मेजर कार्की भन्छन्, ‘नेसनल क्याडेट कोर (राष्ट्रिय सेवा दल) तालिम लिएका पूर्वविद्यार्थीहरूले प्रकोप व्यवस्थापनमा नेतृत्व गरेको पाएँ, त्यस्ता कामले देशलाई असहज हुँदा सहज पार्छन् ।’ मंगलवार, पौष १२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell