shivam
Nerolac and Nepal life

फिचर

जसले फोटोग्राफर भएकैले पञ्चायतमा राजासँग आँखा जुधाएर हेर्न पाए

विराट अनुपम

इटहरी, ३ असार— ‘दाइ, मेरो फोटोशूट गर्दिनुस् न, त्यत्ति गर्दिए धन्य हुने थिएँ ।’ इटहरीका लोकप्रिय फोटोग्राफर सुवर्णशमशेर विष्टको फेसबूकको म्यासेज बक्समा दोहोरिएर आउने अनुरोध यस्तो हुन्छ ।

अधिकांश तन्नेरीहरूले गर्ने यस्तो आग्रह पालन गर्ने सुवर्णशमशेर विष्ट आफैं भने आधा शताब्दी कटेका छन् । पाका भएपनि जवान युवायुवतीको रोजाइमा तपाईंको फोटोग्राफी किन आउँछन् भन्दा उनी हाँस्दै भन्छन्, ‘बूढो भएर पनि जवान देखिनु र युवायुवतीले मसँग फोटो खिच्न खोज्नु मेरो दोष हैन ।’19206515_1569575819761919_54385942_n

परोपकारी फोटोग्राफर
खासमा सनातन कम्युनिस्टको भाषामा विष्ट ‘सामन्ती’ खलकका सन्तति हुन् । पिता पदमबहादुर विष्ट राष्ट्रिय पञ्चायतको कोशी स्तरको नेता हुनु र पहाड तराई दुवै ठाउँमा राम्रो जग्गाजमिन भएकाले उनलाई त्यसो भन्न सकिन्छ । पारिवारिक श्रीसम्पत्तिका उत्तराधिकारी विष्ट भने निकै कल्याणकारी छन् । उनले मोरङको लक्ष्मीमार्गमा बुवाको नाममा लाखौं खर्चेर पद्मेश्वर शिवालय बनाएका छन् ।

तलब दिएर पुजारी पनि राखेका छन् उनले । बुवाआमाको नाममा दुईलाखभन्दा बढी रकमको अक्षयकोष राखेर इटहरीको स्वागत टोल विकास संस्थामा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।

विभिन्न अन्य सामाजिक कामहरूमा समेत विष्टले दिल खोलेर सकेको आर्थिक सहयोग गर्छन् । ‘मैले केही अन्य जस्तो दुई नम्बरी काम गरेर कमाएको कालो धनलाई समाजसेवामा हालेको होइन’, आफ्नो पुर्खाकै सम्पत्तिलाई समाजसेवामा प्रयोग गरेको प्रसंग निकाल्दै विष्ट भन्छन्, ‘साँच्चै भन्ने हो भने मेरो समाजसेवा चाहिँ शुद्ध समाजसेवा हो ।’
पुर्खाले दिएको ‘पितृप्रसाद’ बाट आर्थिक सहयोग गर्ने विष्ट आफ्नै पौरखको फोटोग्राफीको सेवा पनि उत्तिकै गर्छन् । इटहरी र आसपासका कतिपय पत्रकारहरू उनैले खिचेको तस्वीरहरू मागेर छाप्छन् । आफैंले खिचेको तस्वीर अर्काको नाममा आएर हजारौं पाठकहरूमा पुग्दा पनि विष्ट दुःख मान्दैन । भन्छन्, ‘मेरो नाम नआएर के भयो र ! मैले खिचेको फोटो त आयो नि ! यो एउटा फोटोग्राफीको आवरणमा गरेको समाजसेवै हो ।’

‘फोटोग्राफीले नै बचायो स्वास्थ्य’

क्यानन कम्पनीको फाइभ डी म्याकफोर क्यामेरा बोकेर हिँड्ने उनी जसले आग्रह गरे पनि फोटो खिच्न तयार हुन्छन् ।

इटहरीका कलेज पढ्नेहरूमा त कसैले बिछट्टै राम्रो तस्वीर हालेमा सुवर्णशमशेरले खिचेको हो भन्नेहरू थुप्रै छन् ।
मोरङको लक्ष्मीमार्ग र सुनसरीका धरान र इटहरीमा रहेका आफ्ना घरहरू जाने आउने गर्नेभन्दा धेरै ओहोरदोहोर त विष्टले तस्वीर लिनेहरूको लागि समय खर्चेर गर्छन् । सातलाखको क्यामेरा प्याकेज बोकेर खिचिएका कुनै पनि तस्वीरको पैसा लिँदैनन् विष्ट ।

फोटो खिच्न त्यत्रो क्यामेरा प्रयोग हुन्छ । खिच्नलाई समयको उत्तिकै नाश हुन्छ र फेरि खिचेको फोटो इमेल, फेसबूक र ब्लुटूथबाट सार्न उस्तै झन्झट हुन्छ । तर विष्ट यी सबै कुरा निःशुल्क र नियमित गर्छन् ।

आखिर के छ फोटोग्राफीमा त्यो सब गर्न हौस्याउने तत्त्व ? ‘यो सबै आत्माको शान्तिका लागि हो’, विष्ट भन्छन्, ‘कसैले आफ्नो सुन्दर तस्वीर हेरेपछि अनुहारमा देखाउने उज्यालोले मेरो मन उज्यालो हुन्छ । तर पैसा लिएमा त्यो उज्यालोलाई पैसाले लान्छ ।’

गत वर्ष मात्रै काठमाडौंको एक अस्पतालमा ओपन हार्ट सर्जरी गरेका विष्ट फोटोग्राफीले नै आफ्नो स्वास्थ्यलाई खराब हुनबाट बचाएको बताउँछन् ।

‘म सधैं जोशिला युवाहरूमाझ हुन्छु त्यसैले पनि ऊर्जा दिन्छ, अझ राम्रो तस्वीर आउँदा मुहारमा आउने उज्यालोले झनै ऊर्जा’, विष्ट भन्छन्, ‘यो सब जोश ऊर्जाले त मैले सर्जरी सकेको केही महिनामै फोटोग्राफीमा फर्कन सकें ।’

ओपन हार्ट सर्जरी मात्रै हैन, आफ्नो पारिवारिक न्यास्रोपनालाई पनि आफ्नो तीन दशकभन्दा लामो फोटोग्राफी शौखले मेटाएको विष्ट बताउँछन् । भन्छन्, ‘मेरी एक्ली छोरी विवाह गरेर इन्डिया छिन् र एक्लो छोरा न्युजिल्यान्डमा छ । घरमा बूढाबूढी मात्रै हैन, परिवारका धेरै सदस्यहरू छांै जस्तो लगाउने यही फोटोग्राफी हो ।’

आत्मसमर्पण गरेको त्यो पल

रिलमा खिचेका तस्वीर धुलाएर मात्रै हेर्न मिल्ने जमानाको २०४२ सालबाट लगातार फोटोग्राफीमा रमाएका विष्टले क्यामरा खरिदमा मात्रै २० लाख रुपैयाँभन्दा बढी खर्चेका छन् । पाँचवटा त उनले डीएसएलआर क्यामरा फेरेका छन् ।

यसबीचमा उनका धेरै राम्रा अनुभवहरू छन् । जस्तै, उनले प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुनुअघि आएको बेला खाना खाएको समयमा दुर्लभ फोटोहरू खिचे । बाबुराम भट्टराई, मनमोहन अधिकारी, माधवकुमार नेपाल, केपी शर्मा ओलीजस्ता पूर्वप्रधानमन्त्रीहरूका तस्वीरहरू विष्टले कैद गरेका छन् ।

विभिन्न उच्चपदस्थ व्यक्तित्वहरूभन्दा सामान्य मान्छेकै तस्वीर लिन आनन्द आउने विष्टको अनुभव छ । ‘ठूला मान्छेहरू आफ्ना राम्रो तस्वीर आयो भन्दैमा खुशी हुँदैनन्, उनीहरूका फोटो खिच्ने धेरै हुन्छन्’, विष्ट भन्छन्, ‘तर सर्वसाधारणलाई भने राम्रो तस्वीरले धेरै खुशी दिन्छ र त्यही मेरो खुशी हो ।’
आफ्नो फोटोग्राफीको लामो समयमा उनले सबैभन्दा धेरै मिस गर्ने पलहरू भने भर्खरै फोटोग्राफी गर्दाको समयमा हो । त्यसबेला पञ्चायतकाल थियो र परराष्ट्रमन्त्री थिए पशुपतिशमशेर राणा ।

आफ्नो पिता पञ्चायतका खुँखार नेता भएकाले त्यही च्यानलमा राणाको सहयोगमा पूर्व आएका राजा वीरेन्द्र र रानी ऐश्वर्य एक दिन विष्टको घरमा ओर्लने कुरा भयो ।
पूर्वपश्चिम राजमार्गले छुने मोरङको लक्ष्मीमार्गमा रहेको उनको घरमा राजा वीरेन्द्र आउने कुरा टुंगो लाग्यो । लिची, अनार र आँपको विशाल बगैंचाले भरिएको फराकिलो ठाउँ भएको विष्टको घरमा हेलिकप्टर बस्ने संकेत पनि बनाइयो ।

हेर्दाहेर्दै राजा हेलिकप्टरबाट बगानमा ओर्लिए । राजा आउने सुनेपछि मोरङ, सुनसरी र आसपासका सर्वसाधारण, नेता, समाजसेवी र सुरक्षाकर्मीहरू भेला भएका थिए । भर्खरभर्खर क्यामरा बोक्न थालेका विष्ट हेलिकप्टरबाट ओर्लिएर आएका राजा आउने बाटोको एकापट्टि बोटविरुवाले घेरिएको झ्याङमा बसे ।

हेर्दाहेर्दै सामुन्ने नै राजारानी आइपुग्नै लागे । खोलबाट क्यामरा निकाल्दा ‘च्यार्र...’ आवाज आयो । झाडीमा रहेका विष्टतिर बन्दुक तेर्स्याउँदै राजालाई सुरक्षा दिइरहेका सेनाले ‘ओए...’ भनेर थर्काए । गन आफूतिर तेर्सिएपछि आत्तिएका विष्टले दुवै हात उठाएर आत्मसमर्पण गरे ।

सोही घरका भन्दा पनि सेनाले फोटो खिच्न नमिल्ने भनेर हट्न भन्दाभन्दै आएका राजा वीरेन्द्रले फोटो खिच्न अनुमति दिए । हुन त पथरी प्रहरी कार्यालयका हवल्दार र आफ्ना पितासँग पनि अनुमति मागेरै फोटो खिच्न बसेका थिए विष्ट । तर नदेखिने ठाउँमा बसेर ‘च्यार्र...’ आवाज आएपछि कुरो बिग्रियो ।

सेनासँग आत्मसमर्पण गरेका विष्टलाई नमज्जा लागिरह्यो राम्रो तस्वीर लिन नपाएकोमा । तर मज्जा त्यतिबेला भयो जब सबैले ढोगभेट गर्दै गरेका राजारानीले विष्टलाई सामुन्ने बोलाए ।

‘श्री ५ ले त मलाई धन्यवाद राम्रो तस्वीर लिनू भन्नुभयो’, ती दिन सम्झँदै विष्ट भन्छन्, ‘महारानीले त राम्रो भनेर हातै मिलाउनुभयो ।’

शुरुमा फोटो खिच्दा राजाको आँखामा आँखा जुधाएर राम्ररी हेर्न पाएका थिए विष्टले । त्यत्तिमै पनि खुशी थिए उनी किनभने पञ्चायतमा राजालाई कसैले पनि आँखा जुधाएर हेर्दैनथिए । झन् रानीले हातै मिलाएपछि त निक्कै खुशी लागेको विष्ट सम्झन्छन् ।

भन्छन्, ‘एउटा स्कूलेले त्यत्ति कुरा पाउनु ठूलै कुरा हो । अहिले आएर त शेरबहादुर, ओली र प्रचण्डसँग बोल्न भेट्न पाउँदा थुप्रैले भाग्यै ठान्छन् ।’

यत्तिका लामो फोटोग्राफीको यात्रा अनि त्यत्तिका धेरै अनुभवको यात्राले अब कहिले विश्राम लिन्छ भन्ने प्रश्नमा विष्ट भन्छन्, ‘मैले बोल्न, हिँड्न र श्वास फेर्न सकुन्जेल यात्रा जारी रहन्छ ।’

लामो यात्राको सबैभन्दा ठूलो प्रेरणा भने स्कूल र कलेज पढ्ने तन्नेरीहरूका फेसबूकको मेसेज नै हुन् भन्छन् विष्ट ।

ती मेसेजमा लेखिएको हुन्छः
‘दाइ, मेरो फोटोशूट गर्दिनुस् न, त्यत्ति गर्दिए धन्य हुने थिएँ ।’ शनिवार, आषाढ ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota