Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

फिचर

अस्पतालको टिकट काट्न राति तीन बजेदेखि लाइन

अनिल थापा


काठमाडौं, ५ असार— ‘सबैले हातहातमा सयको नोट निकाल्नुस् है !’

नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा लाइनमा बसेका सर्वसाधारणलाई अस्पतालका गार्डले आग्रह गर्दै थिए ।

अस्पतालमा स्वास्थ्य जाँच गर्न टिकट काट्न आउने बिरामीको लस्कर कमिलाको ताँतीजस्तै देखिन्थ्यो । शुरुमा निजामती सेवाका कर्मचारीका लागि खोलिएको सिभिल अस्पतालले केही समयमै सर्वसाधारणका लागि सेवा दिन शुरु गरेपछि आजकल हरेक दिन टिकट काट्न आउनेको लामै लस्कर हुने गर्छ ।



आइतवार बिहान लोकान्तर प्रतिनिधि सिभभिल अस्पताल पुग्दा तीन बजेदेखि नै टिकट काट्न लाइनमा बसेका युवादेखि एक हप्ताअघि टिकट लिएर पालो कुरिरहेका बिरामी पनि भेटिए ।

निजामती कर्मचारीका परिवारलाई भने सर्वसाधारणको तुलनामा चेकअप गराउन सहज छ । एक हप्ताअघि टिकट लिएर चेकअपका लागि आएका काठमाडौंकै शुभलाल श्रेष्ठ आफ्नो छोराले ६ घण्टा पालो कुरेर टिकट लिएको बताए ।

‘निजामती कर्मचारीका परिवारका लागि यहाँ सजिलो हुन्छ भनेर आएका हौं, बल्ल आज एक हप्तापछि पालो आएको छ’, शुभलालले लोकान्तरलाई सुनाए ।



अस्पतालको टिकट काउन्टरमा मात्र लस्कर छैन । भर्नाका लागि टिकट काटिसकेपछि ल्याब तथा अन्य परीक्षणका लागि पनि लामो लाइन लाग्नुपरेको बिरामीको गुनासो छ ।
छाती तथा दमको रोगका कारण उपचार गर्न आएका ठिमीका विष्णुप्रसाद उपाध्याय उमेरले सत्तरी छुनै लाग्दा पनि आफै अस्पतालको लाइनमा बसेको भेटिए । ‘ल्याब रिपोर्टका लागि पनि लाइन लाग्नुपर्छ । पहिले पनि यहीँ चेक गर्न आएकाले फलोअप गर्न आएको हुँ,’, उनले बताए ।

सर्वसाधारणको तुलनामा निजामती कर्मचारीको परिवारलाई भने केही सहज भएको बताउँछन् विष्णुप्रसाद । ‘बिहानै पाँच बजे आएको हुँ, बल्ल दश जनापछि पालो पाएँ ।’ उनले ल्याबतिरको लस्कर देखाउँदै भने, ‘यी अब यता लाइन लाग्नुपर्छ ।’


त्यतिबेला बिहानको साढे आठ भइसकेको थियो ।



सर्वसाधारणको लाइन धेरै नै लामो भएपनि बिरामी तथा टिकट काट्न बसेका ग्राहक चर्को घामको परवाह नगरी लाइनमा उभिएका थिए । लाइनको सबैभन्दा अग्रपंक्तिमा रहेकी इलामकी एक महिलाले बिहानै तीन बजे आएर लाइन लागेको बताउँछिन् । चावहिल बस्दै गरेको बताउने उनले आफ्नो नाम भने बताउन चाहिनन् ।

देवेन्द्र केसी पनि आफू कीर्तिपुरदेखि आएर तीन बजे नै लाइनमा बसेको बताउँछन् । यसभन्दा अघि वीर अस्पतालमा चेकिङ गर्दा डाक्टरले रगतका समस्याका लागि सिभिल अस्पतालमा राम्रो डाक्टर भएको बताएपछि यहाँ आएर लाइन लागेको उनले बताए ।


‘केही दिन आएर बुझ्दा भीड हुन्छ भन्ने थाहा पाएको थिएँ, तीन बजे म आउँदा उहाँ मात्र आउनुभएको थियो ।’ उनले नम्बर एकमा उभिएकी युवतीलाई देखाउँदै भने, ‘त्यसपछि भने बिस्तारै बिस्तारै थपिँदै जानुभयो ।’

त्यतिञ्जेलसम्म टिकट काट्नेको लाइन अस्पतालको क्यान्टीनसम्म पुगिसकेको थियो ।



कम्तीमा पाँच घण्टा लाइन लागेर टिकट लिइसकेपछि दुई बजेबाट जाँच हुने बिरामी बताउँछन् । खासगरी वयस्क, महिला र बूढाबूढी तथा कर्मचारीका परिवार हस्पिटलमा आइरहेको बताउँछन् ।

गर्मी बढेसँगै पछिल्ला दिनमा अस्पतालमा उपचार गराउन आउनेको भीड बढेको अस्पतालका कर्मचारीहरूको भनाइ छ । काठमाडौंको मुटुमै रहेका कारण धेरै बिरामी उपचारका लागि सिभिल अस्पताल आउने गरेका छन् । तर बिरामीहरू अस्पतालमा ढिलासुस्ती रहेको बताउँछन् ।



‘अस्पतालका शौचालय सफा छैनन्, अझ अस्पतालका शौचालयको ढोकामा चुकुल समेत छैन,’ एक भुक्तभोगी बिरामीले भने ।
तैपनि अन्य सरकारी अस्पतालको तुलनामा सिभिल अस्पताल केही सफा र आधुनिक भएको उपचारका लागि आएका बिरामीहरूको भनाइ छ ।

नाम बताउन नचाहने एक बिरामी भन्छन्, ‘लाइन लाग्न त हामीलाई बानी नै परिसक्यो नि । हस्पिटलमा मात्र लाइन लाग्ने पनि त होइन ।’

सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell