Ruslan
Tata /sipradi
Nic Asia

फिचर

एक रुपैयाँमा चिया बेचेर चर्चित बनेका चियापसले

विराट अनुपम

इटहरी, १७ पुस — सुनसरीको इटहरीदेखि एघार किलोमिटर पूर्वमा पर्छ विराटचौक बजार । विराटचौकको मूल चौकबाट दुई–चार घर पूर्वमा गएपछि आउँछ एउटा व्यस्त चियापसल ।

हो, त्यही हो कुनै बेला एक रुपैयाँमा चिया बेचेर चर्चित बनेको चियापसल । शुक्रवार दिउसो ‘गाउँले होटल’ नामले परिचित पसलको व्यस्तता उस्तै थियो । दिउँसो तीन बजे पुग्दा पसलमा भीडमभीड थियो ।

ग्राहकले घेरिएका साहुजी लीलाप्रसाद सञ्जेल भन्दैथिए, ‘बोर्ड च्यातिएपनि व्यापार तलमाथि भएको छैन । मेरो दोकानमा इटहरीदेखि बिर्तामोडसम्मका ग्राहकहरू आँउछन् ।’

आधा स्थानीय र आधा बाहिरबाट पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेहरूले दिनभर भीडभाड हुने गाउँले होटलको विशेषता भन्नु नै अन्त कतै नपाउने सस्तो मूल्य पाँच रुपैयाँ कपको दूधचिया र तत्तातो स्वादिष्ट खीर हो ।
मीठो खीर र सस्तो चियामा ब्रान्ड बनाइसकेको गाउँले होटलमा शुक्रवार दिउँसो तीन बजे नै खीर सकिसकेको थियो ।
खीर नपाउने कारणका बारेमा सोध्दा ५८ वर्षीय पसल सञ्चालक सञ्जेलले मुस्कुराउँदै भने, ‘मैले पकाएको खीर र नास्ताहरू बेलुका पाँच बजेभित्रै सकिन्छ । आज त खीर दुई बजे नै सकियो । मेरो दोकानमा बासी हुने भनेको दही मात्रै हो । बाँकी सबै ताजा पाइन्छ ।’

चिनी, चियापत्ती, दूध र ग्यासको मूल्य बढेपनि सञ्जेलले आफ्ना ग्राहकलाई पाँच रुपैयाँमै चिया पिलाइरहेका छन् । उनी भन्छन्, ‘थोरै जनासँग धेरै नाफा खानुभन्दा धेरैलाई चिया खुवाएर थोरै नाफा खान्छु ।’

एक रुपैयाँ चियाको कथा


सञ्जेलले यो होटल लिनुभन्दा अगाडि पुण्यप्रसाद सापकोटाले होटल चलाउँथे । एघार वर्षअघि सञ्जेलले होटल लिए । उनले होटल लिने कहानी पनि रमाइलो छ । अगाडिका साहुजी पुण्यप्रसाद सापकोटाले बिमारी भएर पसल बेच्न खोजे ।
विभिन्न इच्छुकहरू आएर पसल किन्न खोजे । सापकोटाले दिएनन् । पचास हजारसम्म हालेर पसल किन्न आए । साहुजी सापकोटाले उनीहरूलाई पत्याएनन् । बरू उल्टै सञ्जेललाई किस्ता–किस्तामा पैसा तिरेर किन्न सापकोटाले आग्रह गरे ।

यो २०६२ सालतिरको कुरा हो, जतिबेला सञ्जेल सडक विभागमा काम गर्थे । मोरङ्ग र झापा जोड्ने सडक खण्डको गोठगाउँदेखि विराटचौक पर्तिरको बजार बेलबारीसम्म सडक सफाइ गर्थे सञ्जेल । जागिरकै क्रममा सञ्जेल र सापकोटाको मित्रता बाक्लियो । सञ्जेलले सापकोटाको पसलमा आउन र सहयोग गर्न थाले ।

आफ्ना पुराना दिन सम्झँदै सञ्जेल भन्छन्, ‘पहिले म सडक विभागमा काम गर्दा साहुजीले कहिल्यै चिया खाएको पैसा लिनुभएन ।’ पछि सञ्जेलले पसल किने । किनेको एक वर्षभित्रमा पचास हजार किस्ता किस्तामा तिर्ने शर्तअनुरूप उनले पसल आफ्नो बनाए ।

उनले होटल किन्नु अघिदेखि पसलमा एक रुपैयाँमा चिया बिक्री हुन्थ्यो । सञ्जेलले पनि शुरुका दुई वर्ष एक रुपैयाँमै चिया बेचे । पछि ग्राहकहरूले एकमा चिया खाने र बीस, पचास, सय, पाँच सय जस्ता नोट दिन थाले । खुजुरा पैसा ग्राहकले नदिने र आफूसँग खुजुरा अपुग हुन थालेपछि खुजुरा आउला भनेर सञ्जेलले चियाको दाम दुई रुपैयाँ प्रतिकप पु–याए । त्यसो गर्दापनि फेरि खुजुरा अभाव नै भयो ।

पाँच वर्षअघिबाट भने सञ्जेलले चियाको दाम पाँच पु–याएका छन् । पाँच रुपैयाँमा चियाको पैसा फिर्ता दिन र लिन दुवै सजिलो भएको बताउँदै सञ्जेल भन्छन्, ‘पहिले–पहिले एकको चिया खाएर सय दिन्थे उनान्सय रुपैयाँ फिर्ता दिन गाह्रो हुन्थ्यो तर अहिले सजिलो छ ।’

सस्तो चियाले दियो मनग्गे आम्दानी

सस्तो चिया धेरै बेच्दा घाटा नहुने बताएका साहुजी सञ्जेल चियासँगै बिक्ने चुरोट, खीर र अन्य नास्ताले आम्दानी राम्रो भएको अनुभव राख्छन् । सस्तो र मीठो चियाले चर्चित गाउँले होटल आफूले चलाएको एघार वर्षको अन्तरालमा सञ्जेलले राम्रो कमाइ गरेका छन् ।

यही चियापसलबाट कमाएको पैसाले नौ लाख रुपैयाँ खर्च गरेर आफ्ना तीन छोरीको विवाह गरेको बताएका सञ्जेलले आफूले धान खाने खेत र घडेरी समेत जोडेको बताउँछन् । ‘दुई छोराले पढ्दैछन् र तीन छोरीको कन्यादान गरे ।

सबै कुरा यही पसलबाटै गरे’, पसलमै गफिएका सञ्जेलले भने, ‘यसभन्दा धेरै के खोज्नु र ?’
एघार वर्षअगाडि पन्ध्र सय रुपैयाँ कोठा भाडा तिर्ने सञ्जेलको भाडा हाल आएर छ हजार पुगेको छ । दिनमा कत्ति कप चिया बिक्री हुन्छ, सञ्जेललाई थाहा छैन । तर ६५ लिटर दूध खरिद गर्दा साँझ नपर्दै सकिने कुरा चाहिँ उनलाई थाहा छ । यही दूधबाट बनेको चिया र खीर बेचेर सञ्जेलले परिवार धानेका छन् ।

सन्जेलले थुक्पा, चनाचिउरा र चाउमिन पनि बनाउँछन् तर चल्न बढी चिया र खीरै चल्छ । बिहान साढे चारदेखि बेलुकी साढे छ बजेसम्म पसल खोल्ने सञ्जेललाई श्रीमती र दुई छोराले पनि पसलमा सहयोग गर्छन् । अबको दुई वर्षसम्म आफैं खटेर पसल चलाउने सोचेका सञ्जेलले ६० कटेपछि छोरालाई पसल सञ्चालन दिने सोचेको बताए ।

पुराना साहुजीले खोलेको नयाँ दोकान चलेन

गाउँले होटल चलाउने अघिल्ला साहुजीले पसल बेचेको तीन वर्षपछि पुनः चिया पसल खोले । तर आफैंले खोलेको पहिलो पसल जस्तो त्यो पसल चलेन । विराटचौकस्थित कोशीहरैचा नगरपालिका कार्यालयबाट पश्चिममा रहेको सापकोटाको पसलमा गाउँले होटलमा जस्तो ग्राहकको भीड देखिँदैन ।

‘चलेको पसलमा ग्राहकहरूले साहुजी हैन, पसल हेर्दा रहेछन । पहिलेदेखि चलेको यो पसल चलिरह्यो उहाँले चलाउँदा पनि र मैले चलाउँदा पनि’ सञ्जेलले भने ।

पहिलेदेखिका मित्रहरू हुन् सापकोटा र सञ्जेल । सञ्जेल त आफ्नो पसलको कारण जेजत्ति नाम र दाम कमाइएको छ, त्यो सबै जस सापकोटालाई दिन्छन् । सापकोटा र सञ्जेलको मित्रताको साइनो अब कुटुम्बेरी साइनोमा परिणत भएको छ ।

सञ्जेलको भतिजीलाई सापकोटाको भतिजाले बिहे गरेपछि सम्धी साइनोमा गाँसिएका सापकोटा र सञ्जेल आजकल कमै भेटघाट गर्छन् । ‘एक त पसले गर्दा जहिल्यै व्यस्त हुइन्छ भेटघाटै हुँदैन,’ सापकोटासँगको पातलो भेटघाटका बारेमा बोल्दै सञ्जेल भन्छन्, ‘फेरि सम्धी भइसकेपछि पहिले जस्तो खुसुखुसु भेटिरहन पनि नमिल्ने ।’

आइतवार, पौष १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell