खोज/विशेष : फिचर

कुमार तिमल्सिनाः लोकसेवा आइक्युका एक्ला बादशाह !

काठमाडौं, १८ पुस — स्कूले जीवनमा औसत विद्यार्थी नै हुन् उनी । ६५ प्रतिशत अंक ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छन् । एसएलसीसम्म हरेक कक्षामा प्रथम भएपनि उनले आफ्नो विरासतलाई उच्च शिक्षाका क्रममा चाहिँ कायम गर्न सकेनन् ।

गरीबीले मान्छेलाई आफूसँग भएको क्षमता प्रकट गर्ने मौकाधरी दिँदैन । एसएलसी दिएसँगै पढाउँदै आफ्नो उच्च शिक्षालाई अगाडि बढाएका काभ्रेका कुमार तिमल्सिना कहिल्यै असफल चाहिँ भएनन् ।

अहिले लोकसेवा तयारीका लागि सञ्चालन हुने कक्षामा तिमल्सिना आइक्युका एक्ला बादशाह हुन् । काठमाडौंमा चल्ने ट्युसन सेन्टरको भविष्य तिमल्सिनाले पढाउँछन् वा पढाउँदैनन् भन्ने विषयले निर्धारण गर्छ ।

कतिपय ट्युसन सेन्टरका सञ्चालकहरू त खुलेरै भन्छन् — तिमल्सिनाले नपढाउने हो भने त विद्यार्थीहरू आउँदैनन् । तर उनको यो स्थान यत्तिकै चाहिँ बनेको होइन । औसत क्षमताकै तिमल्सिनाले यति धेरै मेहनत गरेछन् कि अहिले उनलाई अहिले दैनिक १५ घण्टा व्यस्त हुनुपर्ने अवस्था छ । बजारमा खोसाखोस छन् उनी ।

‘मान्छे जान्ने वा नजान्ने त कोही पनि हुँदैन, तर मेहनतले मान्छेको स्थान चाहिँ निर्धारण गर्दो रहेछ,’ तिमल्सिना भन्छन्, ‘मैले निरन्तर गरेको मेहनतले अहिले मलाई नाम र दाम दुवै दिएको छ ।’ उनका अनुसार अहिले उनी दैनिक १५ घण्टा व्यस्त छन् । प्रत्येक दुई घण्टाको ४्/५ हजार कमाउँछन् । तिमल्सिना कति व्यस्त छन् भने यो कुराकानीका लागि राती ९ बजेको समयमा लोकान्तर कार्यालयमा आए ।

३५ वर्षमा दौडदै गरेका उनको शिक्षकको रूपमा २० वर्षको लगानी परिसकेको छ । शुरूवाती जीवनमै पढाउन थालेकाले पनि अध्यापनमा निरन्तर सफल भएको उनी बताउँछन् ।

उपसचिवको जागिर छोडेर बेरोजगार !

काभ्रे ढुङ्खर्कमा जन्मिएका तिमल्सिना सामान्य परिवारका सदस्य हुन् । २०५३ सालमा एसएलसी दिएसँगै पढाउन शुरू गरेका हुन् उनले । काभ्रेको पार्वती उच्च माविमा उनले शुरूमा निजी स्रोतमा पढाए । २०५६ सालमा काभ्रेकै च्याम्ब्रेङबेसीमा पुगेर २०६१ साल सम्म शिक्षककै रूपमा काम गरे ।

२०६१ देखि २०६४ सम्म पनि सोही ठाउँकै अर्को विद्यालयमा अध्यापन गराए । २०६४ देखि २०६६ सम्म चाहिँ हनुमान उमावि काभ्रेमै अध्यापन गराए । ‘गणित, विज्ञान र अंग्रेजी तीन विषयमा नै राम्रो भएकाले मलाई खाली चाहिँ बस्नुपर्दैनथ्यो,’ उनी भन्छन्, ‘पढाउँदै गर्दा आफ्नो योग्यतालाई पनि बढाएको थिएँ ।’

हनुमान उमाविमा पढाउँदै गर्दा उनले लोकसेवा आयोगको बारेमा थाहा पाएका रहेछन् । सोही जानकारी अनुसार लोकसेवा तयारी गरे । २०६६ सालको भदौ महिनामा लोकसेवा आयोगको न्याय सेवातर्फ शाखा अधिकृतको रूपमा एक नम्बरमा नाम निकाले ।

लोकसेवा पढ्नेहरूलाई कुमार तिमल्सिनाका २० टिप्स

जागिरे जीवन चल्दै थियो । २०७१ सालमा उपसचिवमा पनि एकै नम्बरमा नाम निकाले । ‘जागिर खाँदै गर्दा सरकारी जागिरमा रुचि हराउँदै गयो, ट्युसन पढाउँदाको आम्दानी नै बढी भयो,’ उनी भन्छन्, ‘अहिले चाहिँ सरकारी जागिरबाट राजिनामा गरेर बसेको छु, विद्यार्थीहरूलाई पढाउनको लागि नै व्यस्त छु ।’

बजारका व्यस्त शिक्षक

२०६७ सालमा लोकसेवा आयोगले एकीकृत परीक्षा प्रणाली लागू गरेसँगै उनले लोकसेवा आयोगको तयारी गर्ने विद्यार्थीहरूलाई काठमाडौंमा पढाउन थालेका हुन् । काठमाडौंका नामी ट्युसन सेन्टरहरूमा अहिले पनि उनले पढाइरहेका छन् । कतिपय ट्युसन सेन्टर त उनकै नाम भजाएर चलेका छन् ।

‘आफूमा विशेष क्षमता भएको कारणले व्यस्त बन्नुपरेको चाहिँ होइन,’ उनले भने, ‘तर मैले मेहनत र आफ्नो लगावलाई चाहिँ कहिल्यै पनि तोडिनँ ।’ 

आफूसँग पढेका विद्यार्थीहरू निरन्तर सन्तुष्ट भएसँगै आफ्नो बजार पनि बढेको उनी बताउँछन् ।
‘मैले पढाएकै चानचुन तीन हजारले त अधिकृतमा नै नाम निकाले होलान्,’ उनले भने, ‘मसँग पढेका पुराना विद्यार्थीकै कारणले मेरो चर्चा बढाएको हो ।’ 

उनी अहिले आफू दैनिक १५ घण्टासम्म बजारमा व्यस्त रहेको बताउँछन् । तर आफैंले ट्युसन सेन्टर खोलेर काम गर्नेबारे चाहिँ सोचेका छैनन् । उनले बजारमा नयाँ आइक्यु मास्टर जन्मन नसकेकै कारणले आफ्नो माग नघटेको बताउँछन् ।

‘व्यापार र व्यावसायिकता दुवै फरक पाटो हुन्,’ उनले भने, ‘व्यावसायिक रूपमा पढाउँदा सबै विद्यार्थीलाई पढाउन पाएको छु, सम्मान पनि त पाएको छु ।’

ट्युसन पढाएरै ५० लाख

तिमल्सिना आफूले भ्रष्टाचार गर्न नसक्ने र शक्तिको दुरुपायोग पनि गर्न नसक्ने भएकै कारणले सरकारी जागिर छोडेको दाबी गर्छन् । उमेरमा पैसा कमाउने रहर सबैलाई लाग्छ । उनले पनि पैसा कमाउने रहर गरे तर सरकारी तलब निश्चित आउँथ्यो ।

‘मैले ट्युसन पढाएर ५० लाख कमाएँ, जागिर खाएको भए १० लाख पनि कमाउँदिनथें,’ उनले भने, ‘भ्रष्टाचार गरेर कमाउन हुँदैन भन्ने मानसिकता भएकाले जागिर चाहिँ छाडेर बसेको छु ।’

कमाएका मात्रै छैनन् उनले राज्यलाई कर पनि तिर्ने गरेको बताए । ‘मैले पढाएकै विद्यार्थीले भोलि छानबिन गर्न सक्छ, त्यसैले कर पनि तिर्ने गरेको छु,’ उनले भने ।

बजारमा आफ्नो स्वीकार्यता भएकै कारणले अहिलेसम्म पनि आफू बिकिरहेको उनी बताउँछन् । आफूभन्दा पछि आएको प्रत्येक नयाँ पुस्तालाई ट्याकल गर्ने गरी आफूले आफैंलाई परिमार्जन समेत गरिरहेको उनी बताउँछन् ।
‘कोही मान्छेसँग जन्मदै विशेष क्षमता हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘तर निरन्तर कसले कति मेहनत ग¥यो भन्ने कुराले महत्व राख्छ ।’

साथै उनले बजारमा आफूलाई मन पराइनु भनेको नै आफूलाई थप मजबुत हुनुपर्छ भनेर सचेत गराउनु हो भन्ने बुझेका पनि छन् ।

तीन विषयमा स्नातकोत्तर

उनी आफू पढ्ने मामलामा चाहिँ अलिकति फरक रहेको बताउँछन् । उनले आफ्ना शुरुवाती दिनमा गाडीमा हिँड्दा पनि पढ्ने गरेको अनुभव साटे । उनका अनुसार उनी सकेसम्म पढेको विषयलाई दिमाग चित्र नै बनाउने कोशिश गर्छन् ।

एकपटक पढेको कुरालाई एकैपटकमा सम्झने कोशिश पनि उनले गरिरहेका हुन्छन् । त्यसैले प्राइभेट रूपमा भएको भएपनि आफ्नो शैक्षिक योग्यतालाई उनले निकै राम्रो बनाइसकेका छन् ।

उनले अन्तर्राष्ट्रिय कानून र वाणिज्यमा एलएलएम गरेका छन् । त्यस्तै अंग्रेजीमा एमएड गरेका छन् । जनप्रशासनमा पनि उनले एमपिए गरिसकेका छन् । गणित र भूगोलमा चाहिँ बिएसम्मको मात्रै अध्ययन गरेका छन् ।

‘फर्म भर्ने, परीक्षा दिने गरेरै पास भएको हुँ, मलाई फुर्सदले पढ्ने समय चाहिँ भएन,’ उनले भने, ‘उपसचिवकै परीक्षा दिन जाँदा पनि बिहान ट्युसन सेन्टरमा पढाएर दिउँसो जाँच दिन गएको थिएँ ।’ उनले पढ्ने शैली अरूको भन्दा नयाँ बनाउने कोशिश गरेमा पनि धेरै फरक पर्ने बताउँछन् ।

चुनौती सामना गरें कि ?

प्रत्येक मान्छेले चुनौती वहन गर्ने क्षमता राख्दैन । हुँदा हुँदैको सरकारी जागिर छोडेर बेरोजगार बन्नु पनि एक प्रकारको चुनौती नै थियो ।

‘मैले जिम्मेवारी वहन गर्न सकेकै कारणले स्थापित भएँ कि जस्तो लाग्छ,’ उनी भन्छन्, ‘हरेक मान्छेले चुनौती वहन गर्न सक्दैनन् ।’ आफूले हरेक विषयलाई फरक तरिकाले दिन खोजेकै कारणले आफूलाई पनि राम्रो भएको उनी बताउँछन् ।

उनलाई राम्रोसँग थाहा छ क्षमता नभएको मान्छे कोही पनि हुँदैन,’ उनी भन्छन्, ‘प्रधानमन्त्री बन्ने क्षमता पनि सबैसँग छ तर अवसर सबैले पाउँदैनन् ।’ सोही अनुसार उनले विद्यार्थीहरूलाई हौसला पनि दिने गरेका छन् ।
अहिलेको नयाँ पुस्ता मोबाइल र कम्प्युटरको प्रयोगले कमजोर बनेका छन् । तर उनले मोबाइल र कम्प्युटरजन्य सामग्री प्रयोग गरेर विद्यार्थीलाई पढाउने चाहिँ गरेका छैनन् । उनलाई स्लाइड देखाएर पढाउनु चाहिँ ठगेकै जस्तो लाग्छ ।

अहिले विदेश जाने मन छैन

तिमल्सिनाका आमा, श्रीमती र दुई छोरी अमेरिकामा छन् । जागिर छाडेसँगै उनी अमेरिकातिरै जान पनि सक्थे । तर अमेरिकामा गएपनि काम त गर्नैपर्छ भन्ने थाहा भएकोले अहिले आफू विदेश नगएको उनी बताउँछन् ।
‘परिवार भेट्नको लागि त गइरहन्छु,’ भन्छन्, ‘उता हुने कमाइ यतै भएपछि उता जान मन लागेको छैन ।’ अहिले नेपालमा नाम र दाम दुवै कमाएको समेत उनी बताउँछन् ।

अहिले न्यायाधीश बन्ने व्यवस्था पनि खुल्ला प्रतियोगताबाटै भएकोले बरू आफूलाई न्यायाधीश बन्न मन लागेको बताए । एकदुईपटक खुल्ला प्रतिस्पर्धाबाट न्यायाधीशका लागि लड्ने सोच रहेको उनले बताए । पुस १८, २०७३ मा प्रकाशित

विशाल भट्टराई

विशाल भट्टराई लोकान्तर डट कमका विशेष संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस