Nic Asia
cocacola

फिचर

नेपाललाई माया गर्ने यी युरोपेली योगी : भव्य बंगला छोडेर कुटीमा वास

निरञ्जन सापकोटा (पोर्चुगलबाट)

पोर्चुगल, १९ पुस – युरोप मस्त छ आफैंमा । मानिसहरूलाई कोही कसैको मतलब छैन । मान्छेलाई चिन्ता छ त मात्र भोगविलास र ऐस आरामको । हतारमा छन् सबै मानौं पुग्नु छ टाढै । तर यिनीहरू आफैंलाई थाहा छैन किन दौडिरहेका छन् ।

युरोपका हरेक देशको आफ्नै पहिचान र गौरव छ । पुर्खाले आर्जेको वैभवलाई यहाँका मानिसले जोगाइराखेका छन् र त यसलाई हेर्न विश्वभरबाट आउने घुमन्तेहरू बाक्लै भेटिन्छन् यहाँ ।

पोर्चुगल युरोपको यस्तै एउटा भव्य देश हो । भलै पछिल्लो समयमा आर्थिक मन्दीले यसलाई पनि अछुतो राखेन । तर बिस्तारै तंग्रदै गरेका पोर्चुगालीहरू अहिले पुर्खाले गरेको पाप पखाल्दै छन् आफ्ना कर्मद्वारा ।
कुनैबेलाको साम्राज्यवादी मुलुक हो यो ।

सहयोगी छन् पोर्चुगालीहरू । कुरा गर्न पनि माहिर मानिन्छन् ।

यही भीडभाडयुक्त र चमकधमकपूर्ण शहरमा भेटिए एकजना पोर्चुगाली जो नेपाललाई असाध्यै माया गर्छन् ।
जर्ज कार्दोसो ४० वर्षका भए । उनको परिवार सरदर पोर्चुगालीको भन्दा उत्कृष्ट जीवन जिउँछ । उनका बाबु यहाँका सेनाका जनरल हुन् भने आमा पूर्वशिक्षिका ।

उनकी एक बहिनी छिन् सोफिया । उनी नर्स हुन् । उनको परिवार पोर्चुगलको पोभुवामा बस्छ एउटा भव्य बंगलामा । परिवारको यो वैभवलाई चटक्कै छोडेर जर्ज भने हिँडेका छन् जोगी बनेर । गलामा रुद्राक्षको माला उनको पहिचान हो । पनेदा भन्ने हिमालमा उनी कुटी बनाएर बसेका छन् । योग र ध्यान नै उनको दैनन्दिनी हो ।

कुनै बेला जर्ज जागिर खान्थे रे । विभिन्न पदमा रहेर राम्रै स्तरको जागिर खाएका जर्जको जीवनले त्यतिबेला नयाँ मोड लियो, जतिबेला उनले हेरे चलचित्र ‘सेभेन इयर्स इन तिब्बत’ ।

यसै चलचित्रको कथा र तिब्बती जीवनशैलीबाट प्रभावित भएर जर्ज शान्ति र माया खोज्न अनि बाँड्न लागिपरेका छन् । उनी भन्छन्, ‘मानिसलाई माया र पे्रमका लागि सृष्टिकर्ताले पृथिवीमा पठाएका हुन् । युरोपमा सबै किन्न पाइन्छ तर यहाँका मानिस मायाका लागि भोकाइरहेछन् ।’

जर्जलाई नेपाली उत्पादन औधी मन पर्छ । उनले हातमा समेत रुद्राक्षको माला लगाएका छन्, जुन उनले नेपालबाटै झिकाएका हुन् । उनले बाल्ने धुप नेपालकै हो ।

‘नेपालको जस्तो धुप संसारमा कतैपनि पाइँदैन,’ उनी भन्छन्, ‘नेपालको धुप शुद्ध छ ।’

उनले प्रयोग गर्ने भ्यानमा बुद्धको मूर्ति सजाएका छन् । जर्ज औसत युरोपेलीभन्दा यो मानेमा फरक छन् कि उनलाई प्रतिस्पर्धा मन पर्दैन र त बाँचेका छन् ध्यान गरेर ।

उनी नेपाल भने पुगेका छैनन् अहिलेसम्म । भुटान र नेपाल घुम्ने धोको छ उनलाई । तर हवाईयात्रा मन पराउँदैनन् । योग र ध्यानका लागि नेपाल आकर्षक देश हो भन्ने कुरामा उनी विश्वस्त छन्, तर योग ध्यानको लागि संसार चहार्नु आवश्यक छैन ।

उनको तर्क छ, जहाँ रहेर पनि ध्यान गर्न सकिन्छ । उनले जेसी बडी नाम दिएर आफ्नो अभियानलाई चलाइरहेका छन् । तर उनी कुनै वाद वा सिद्धान्तलाई आफ्नो मार्गदर्शक मान्दैनन् ।

उनको कुटीमा जोसुकै पनि जान सक्छ र ध्यान गर्न सक्छ । उनले आफूले जानेको कुरा अरूलाई सिकाउँछन् तर आफूलाई गुरु मान्न पटक्कै रुचाउँदैनन् । पूर्णरूपले शाकाहारी जर्ज भ्याएसम्म मासुले गर्ने खराबी अरूलाई सुनाउँछन् ।

उनको एकमात्र सपना छ सारा पोर्चुगालीहरू एकदिन योग र ध्यानमा मस्त होऊन् र संसारलाई माया बाँडून् ।
जर्जलाई चिन्ने जोसुकै मानिसले उनलाई बिर्सन सक्दैन किनकि उनको योगप्रतिको लगाव र ध्यानका कारण उनी नम्र छन्, सहयोगी छन् ।

मोटर चलाउँदा पनि उनी आफू ध्यान गर्ने बताउँछन् । उनलाई विश्वको फोहोरी राजनीति पनि थाहा छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिलाई कच्चा खेलाडीको रूपमा हेर्ने जर्ज महिलालाई विश्वले विश्वास नगरेको बताउँछन् ।
पोर्चुगलको राजनीति त झन् उनलाई मनै पर्दैन । उनी भन्छन्, ‘राजनीतिकै कारण रोनाल्डोजस्तो क्षमतावान खेलाडी हुँदा पनि देशले विश्वकप जित्न सकेन ।’

व्यवस्थापनमा डिग्री लिएका यी योगी स्वेच्छाले दिएको उपहारलाई स्वीकार्छन् तर कर गर्दैनन् । नेपाल वा भारत गएर पैसा खर्च गरेर गरिने योग ध्यान आफ्नै देशमा सित्तैंमा दिन खोजेपनि मानिसले यसलाई नस्वीकारेकोमा उनको चित्तदुखाइ छ ।

आम मानिसभन्दा बेग्लै यी आधुनिक योगी आफूलाई कुनै धर्मको मान्दैनन् । उनी प्रकृतिमा विश्वास गर्छन् र रमाउँछन् ।
यिनलाई मात्र थाहा छ, माया गर्नुपर्छ प्राणीहरूलाई । समुद्रमा सफर गर्न यिनलाई मन पर्छ । भन्छन्, ‘समुद्रमा गरिने ध्यान उत्कृष्ट ध्यान हो ।’

खल्तीमा पैसा हुनेबित्तिकै यिनी पुग्छन् पसलमा, जहाँ नेपाली सामान पाइन्छ । नेपाली सामान पाइने पसलहरू उनलाई कण्ठै छ ।

उनले विशेषगरी नेपाली धुप, रुद्राक्षको माला, तिब्बती कचौरा, लुङ्दर (प्रेयर फ्ल्याग) बारम्बार किनिरहन्छन् । उनकै सल्लाहमा उनका अनुयायीहरू पनि नेपाली सामान नै प्रयोग गर्छन् ।

आठ वर्षसम्म हेलेनासँग प्रेम गरेका जर्ज दुईवर्षको प्रयासपछि उनीसँग छुट्टिए । उनी भन्छन्, ‘मैले यस्तो माया खोजेको होइन ।’

उनकी पूर्वपे्रमिका हेलेना उनलाई अहिले पनि उत्तिकै माया गर्ने बताउँछिन् तर भन्छिन्, ‘उसको र मेरो बाटो नै फरक प–यो । ऊ फराकिलो यात्रामा छ । ऊ असल मान्छे हो, तर मेरो प्रेमी बन्न सकेन ।’

योग र ध्यानको बारेमा सन्देश दिन उनी चाँडै नै युरोप भ्रमणमा निस्कँदैछन् ।
दलाई लामालाई भेट्ने उनको सपना हो ।

मानिसलाई भेट्दा नमस्तेको अभिवादन गर्ने जर्जलाई बाबु बन्ने रहर छ, तर उनी प्रेमको नाटक गरेर स्वार्थका लागि कसैसँग जीवन बिताउन तयार छैनन् । मंगलवार, पौष १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti