Nic Asia
cocacola

फिचर

थसिखेलको हस्पिसः जहाँ मृत्युसँग लडिरहेकाहरू खुशी हुन्छन्

रिता लम्साल


काठमाडौं, १८ साउन–सिन्धुपाल्चोककी देवी कुमारी गिरी ललितपुरको थसिखेलमा रहेको हस्पिस नेपाल नामक संस्थाको वेडमा सुतिरहेकि थिईन् । साउनको १५ गते उनलाई उनका छोरा बुहारीले त्यहाँ लगेका लिए । मलिन अनुहार लिएर विस्तारामा पल्टिरहेकी गिरीलाई स्तन क्यान्सर भएको छ ।

उनकै छेउमा रहेका छोरा प्रकाशराज गिरी पनि मलिन अनुहार लिएर आफ्नी आमाको अनुहारमा खुसी दिन र क्यान्सरको पीडा कम गराउन सक्दो प्रयास गरीरहेका थिए । आफ्नी आमालाई निको नहुने गरी २ वर्ष अघि नै क्यान्सर भएको प्रकाशले बताए ।

२०७२ साल बैशाखमा भूकम्पले ढलेको घर उठाउन नपाउँदै देवीको परिवारमा आर्को विपत्ति आईप¥यो ।
आमालाई छाती दुख्ने समस्या भएपछि काडमाडौंको पाटन अस्पतालमा चेकजाचको लागि लिएर आए छोरा प्रकाशराज । आफूसँग भएको १५ हजार लिएर पाटन पुगेका प्रकाश त्यसबेला मुर्छित भए, जब अस्पतालले आमालाई स्तन क्यान्सर भएको जानकारी गरायो ।

‘पाटन अस्पतालले आमालाई क्यान्सर भएको छ, क्यान्सर अस्पताल लैजानु भन्यो । साथमा पैसा थिएन म के गरौं कसो गरौं भए ।’ उनले लोकान्तरसँग भने । आफूसंग पैसा नभएपछि वीर अस्पतालमा लगेर जाचँ गराए । विर अस्पतालले पनि क्यान्सर भएको र निको नहुने बतायो ।

काठमाडौंमा कल्चर डान्स सिक्ने र सिकाउने गर्दै आएका प्रकाशराजले आफ्नो कामधन्दा छोडेर आमाको स्वास्थ्य ठिक हुन्छ कि भन्ने आसामा लागि परे ।

निको नहुने गरी क्यान्सर भएको थाहा पाएपनि आमाले भोगीरहेको पीडा प्रकाशले हेरेर बस्न सकेनन् । निको हुन्छ कि भन्ने आशमा प्रकाशराज र ठूलो दिदी कोपिलाले आमालाई बौद्धको एक आयुर्वेदीक अस्पतालमा लगेर आयुर्वेदिक औषधि प्रयोग गर्न थाले ।

आयुर्वेदिक उपचारले देवीको छाती दुख्न केहि कम भएको थियो । तर महिनामा १० हजारको औषधी ख्वाउँदै आएका प्रकाशले पैसा नभएपछि ३ महिना पछि औषधी किन्न सकेनन् । पैसा भएको भए रोग निको हुनेथियो नभए पनि दुखाई कम हुन्थ्यो ।

तर आर्थिक अवस्था कमजोर भएपछि पीडा सहेर बस्नुबाहेक विकल्प थिएन ।

प्रकाशले लोकान्तरसँग भने, ‘पैसा नभएपछि आमालाई गाउँमै लगे, गाउँमा जडिबुटी प्रयोग गर्न थाले तर आमा झनै गल्नुभयो । विस्तारै आमाको दुखाई बढ्न थालेपछि फेरि भक्तपुरको क्यान्सर अस्पतालमा लगे । अस्पतालमा खर्च मात्र भयो तर क्यान्सर निको हुन सकेन ।’

पहिला नै अस्पतालले निको नहुने बताईसकेको थियो । त्यहाँ सिटी स्क्यान र चेकजाचको क्रममा २ लाख पनि सकियो । पैसा नभएपछि प्रकाशले आमालाई फेरि गाउँमा लगेर बहिनीको जिम्मामा राखेर काठमाडौं फर्किए । उनले सुनाए, ‘ पैसा थिएन काडमाडौंमा फुथपाटमा कपडाको व्यपार गरेर कोठाको भाडा तिरें ।’

गत साउन १ गतेबाट आमाको दुबै खुट्ट पनि चल्ल छाडेको प्रकाशले बताए । उनले भने, ‘ममि रातभरी ऐया ऐया भन्दै रुनुहुन्थ्यो, दुख्यो भन्नुहुन्थ्यो । बरु घाटी थिचेर मारिदेऊ भन्न्ुहुन्थ्यो । ममीको पीडाले हामीलाई पनि निकै पोलेको थियो ।’

एकजना आफन्तले ललितपुरमा क्यान्सरको विरामीलाई अन्तिम अवस्था सम्म राख्ने ठाउँ छ भनेर जानकारी गराए पछि प्रकाशले श्रीमतीलाई बुझ्न पठाए । उनले आमालाई अहिले थसिखेलमा रहेको हस्पिस नेपाल नामक संस्थामा राखेर हेरचाह गराईरहेका छन् । यहाँ ल्याएपछि आमाको दैनिकी केहि सहज भएको प्रकाशले बताए । उनले भने, ‘ कतिदिन बाच्नुहुन्छ थाहा छैन, तर यहाँ ल्याएपछि दुखाई कम भएको छ । आमालाई गुमाउदै छु थाहा छ तर बाँचुन्जेल खुसी राख्ने प्रयास गरीरहेको छु ।’

लोकान्तर संवाददाता त्यहाँ पुग्दा बेडमा सुतिरहेकी देवीले मलिन आवाजमा बोलिन्,‘ मलाई छाती दुखेर धेरै समस्या भयो छोराले गाउँमा नै एम्बुलेन्स् लगेर यहाँ ल्यायो । गाउँका मान्छेले खर्चमात्र हो भनेको सुनें । दुःख पाएपछि सबैले हेला गर्ने रैछन् ।’

यहाँ आएपछि कलि कम भएको र अझैपनि निको हुने आश आफूले पालेको उनले सुनाइन ।

मृत्यु शैयामा बसेर बाच्ने रहर बोकेकी देवीलाई प्रकाशले छिटै निको हुन्छ भन्दै झुटो बोलेका छन् । आमाको आँसु पुछिदिँदै प्रकाशले भने, ‘निको हुन्छ आमा नरुनुस् म छु नि ।’

देवीको नजिकै रहेकी शान्तीदेवी श्रेष्ठ पनि क्यान्सर पीडित हुन् । एक छोरा र ३ छोरीकी आमा शान्तीको कथा पनि दुःखदायी छ । क्यान्सर भएपछि जेठी छोरीको साथ र सहयोगबाट सोहि संस्थामा छिन् ।
अरु छोराछोरीले माया मारेपनि जेठी छोरीले उनलाई हेरचाह गर्दै आएकी छिन् । एक्लो छोरा विहेपछि छुट्टिएर बसेपछि श्रीमान र उनी इमाडोलमा डेरा लिएर बस्थे । श्रीमानको मृत्यु पछि ५ वर्षदेखि एक्लै भएकी शान्तीलाई गत फागुनमा क्यान्सर भएको थाहा भयो ।

आफु बिरामी भएपछि ठूलो छोरीले हेरचार गर्ने गरेको बताउँदै उनले भनिन्, ‘ अरुले वास्ता गर्दैनन्, ठूलो छोरी मेरो लागि भगवान् नै हो ।’ आफुलाई छोरीले गरेको सहयोग प्रति उनि निकै खुसी थिईन् ।

यस्तो संस्था जहाँ भर्ना भएका विरामी सहज मृत्युवरण गर्छन्

ललितपुरमा रहेको हस्पिस नामक संस्थाले क्यान्सर पीडितहरुलाई दुखाई कम गराउन र किमो थेरापी र रेडियो थेरापी गराउँदै आएको छ । २०५७ सालमा नेपालमा पहिलो पटक संचालन भएको सो संस्थाले क्यान्सर फैलिसकेका व्यक्तिलाई उनीहरुको दुखाई कम गराउने र आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहुलियतमा सेवा प्रदान गर्दै आएको संस्थामा इन्चार्ज गणेश कोइरालाले जानकारी दिए ।

सुरुमा महाराजगञ्जबाट एक प्राइभेट अस्पतालबाट ३ ओटा वेड भाडामा लिएर संचालन भएको सो संस्था २०५९ सालबाट ललितपुरको थलिखेलमा संचालन हुदै आएको छ । सेवा बापत दिनको २ सय ५० रुपैया लिने गरेको र आर्थिक अवस्था निकै कमजोर भएका क्यान्सर पीडितलाई निशुल्क सेवा प्रदान गरेको कोइरालाले बताए ।

उनले भने, ‘हामीकहाँ अस्पताल धाउँदा धाउँदा धेरै दुःख पाएर अनि पैसा पनि सकेर पीडितत भएकाहरु आइपुग्छन् । अक्सिजन र नर्सिङ केयरको आवश्यकता नभएका विरामीलाई होम सर्भिस गर्छौ ।’

स्थापनादेखि अहिले सम्म ३ हजार २ सय विरामीले भर्ना भएर सेवा लिएको र २ हजार ८ सय विरामीलाई होम केयर सर्भिस प्रदान गरेको संस्थाले जनाएको छ । संस्थाले कार्यलयबाट ३० कि.मी भित्र रहेका स्थानमा मात्र होम सेवा प्रदान गर्ने गरेको जानकारी दिएको छ ।

त्यहाँ क्यान्सरका रोगीलाई राख्ने ९ वटा शैया रहेको छ । साथै विरामी कुर्नेलाई पनि छुट्टै शैया र विरामीको परिवारलाई चाहिने ग्याँस चुल्हो र पकाउने भाडाको समेत को व्यवस्था गरिएको छ ।

हाल सो संस्थामा ३ जना क्यान्सरका रोगी भर्ना भई सेवा लिईरहेका छन् भने १३ जनालाई होम कियर सर्भिस दिइरहेको कोइरालाको भनाइ छ । क्यान्सर पीडित भएपछि उनीहरुको मृत्यु सहज रुपमा होस् भन्ने चाहनाले आफन्तलाई त्यहाँ लैजाने गर्दछन् ।

उपचारका लागि आएका क्यान्सर पीडितहरु रोग फैलिएर अन्तिम अवस्थामा रहेका विरामीको सेवाका हाल काठमाडौंको अन्य स्थानमा पनि यस्तो सेवा रहेको छ । बुधवार, श्रावण १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti