Nic Asia
cocacola

फिचर

कांग्रेसीले नै काटेका थिए रेणुको भोट, अब के होला ?

चितवन, १८ साउन – पहिलो चरण अन्तर्गत वैशाख ३१ मा सम्पन्न निर्वाचनको भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा माओवादी प्रतिनिधिले मत पत्र च्याते ।

मेयर पदमा उठेकी माओवादी अध्यक्ष प्रचण्डकी पुत्री समेत रहेकी रेणु दाहालले हार्ने निश्चित भएपछि माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेको विषय जगजाहेर नै छ ।

उनले एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीलाई जित्न सकिरहेकी थिइनन् । कांग्रेस र माओवादीको संयुक्त प्यानलबाट उठेकी उनले अपेक्षाकृत मत पाउन सकिनन् ।

अन्तिम समयमा गरिएको चुनावी एकतालाई कांग्रेसी कार्याकर्ताहरुले मन नपराएपछि कांग्रेसको गढ मानिने भरतपुरमा रेणुलाई अपेक्षाकृत भोट खसेन ।

तर अदालतको आदेशपछि आफैंले मत पत्र च्यातेर फेरि मतदानको मौका पाएकी छन् रेणुले । आफ्नै प्रतिनिधिले मत पत्र च्यात्दा र फेरि मतदानमा जानु निकै नौलो घटना हो ।

भरतपुर १९मा दोस्रो पटक हुन लागेको निर्वाचनमा रेणुले कांग्रेसी कार्याकर्ताको मन जित्छिन् कि जित्दैनिन् त्यो हेर्न बाँकी नै छ । अहिले एमालेका देवी ज्ञवाली झण्डै ८ सय मतले अघि छन् ।

२० नम्बर वडाको मत गन्नै बाँकी छ । १९ नम्बर वडामा फेरि निर्वाचन हुँदैछ । २० गते निर्वाचन भएपछि यी दुई वडाको मत गनिने छ ।

अघिल्ला निर्वाचन र वडाअध्यक्षहरुले पाएको मतलाई हेर्ने हो भने यी दुई वटै वडामा कांग्रेस बलियो छ । तर वैशाख ३१ मा भएको निर्वाचनमा १९ नम्बर वडामा रेणुले अपेक्षाकृत भोट पाइनन् अर्थात कांग्रेसी कार्यकर्ताले रेणुलाई भोट काटे ।

२० नम्बरमा पनि एक दुई सय बढी भोट रेणुले पाएकी हुन सक्छिन् । अब देवी र रेणुको जितमा १९ नम्बर वडा नै निर्णायक हुने छ ।

जब कांग्रेसीको भोट रेणुलाई गएन

एमालेका देवीले ४० हजार ९ सय ८० मत ल्याएका छन् । गठबन्धनकी रेणुले ४० हजार एक सय ९४ मत ल्याएकी छन् । भरतपुरमा कांग्रेस र माओवादीका वडाध्यक्षहरुले पाएको कुल मत ५६ हजार हो । एमालेका वडाअध्यक्षहरुले पाएको मत चाहिँ जम्मा ४१ हजार हो ।

यही तथ्यांकबाट सजिलै विश्लेषण गर्न सकिन्छ कि भरतपुरमा बलियो मानिने कांग्रेसका कार्यकर्ताले रेणुलाई भोट दिएनन् । वडाध्यक्षहरुले पाएको प्यानलको भोट रेणुले पनि पाएको भए देवी निकै पछि हुन्थे । तर कांग्रेसीहरुले भोट काटेका कारणले उनले सोँचेजस्तो भोट पाउन सकिनन् ।

देवीले एमालेका वडाध्यक्षहरुले पाएको भोट भन्दा झण्डै पाँच हजार भोट बढी पाएका छन् । वडाध्यक्षहरुको भोटलाई पार्टीको खास भोट मान्ने हो भने उनको हिसाब धनात्मक छ । किनकी उनले कांग्रेस र माओवादीका भोट मज्जाले चोरेका छन् ।

कांग्रेसका वडाध्यक्षहरुको कुल मत ३६ हजार, एमालेका वडाध्यक्षहरुको कुल मत ३६ हजार र माओवादीका वडाध्यक्षको कुल मत १९ हजार हो । रेणुले ४० हजार भोट पाउँदा माओवादीका वडाध्यक्षहरुले १९ हजार भोट ल्याएका छन् । यहाँ २१ हजार भोट रेणुलाई कांग्रेसले हालेको देखिन्छ ।

तर कांग्रेसको खास भोट ३६ हजार हो । यहीँनेर बेइमानी गर्दै कांग्रेस कार्यकर्ताहरुले गठबन्धनमा सबै भोट हालेका छैनन् । अर्थात केन्द्रको निर्णय मन पराएका छैनन् ।

अब के होला ?

२० गते हुने निर्वाचनमा कांग्रेस माओवादीले धेरै भोट पाउने अपेक्षा गरेका छन् । सो निर्वाचनमा रेणुले राम्रो भोट पाएमा अवश्य रेणुले जित्ने वातावरण बन्ने छ । तर मत पत्र च्यातिएको झोंकमा सर्वसाधारणहरुले भोट हालेनन् भने रेणु अझै ओरालो लाग्ने छिन् ।

१९ नम्बर वडाको चुनावका लागि शारदानगर उच्च मावि शारदानगर, जीवनज्योति राप्रावि गुञ्जनगर, र किरणगञ्ज मावि रानीपोखरी मा केन्द्र तोकिएको छ ।

आ–आफ्नै दाउ

कांग्रेसको समर्थनमा माओवादी केन्द्रकी उम्मेदवार रहेकी रेणु बलियो हुनका लागि नेपाली कांग्रेसका कार्यकर्ताले केन्द्रको निदैशन पालन गर्दै उनलाई मत हाल्नु पर्ने हुन्छ ।

रेणुले देशव्यापी रुपमा नेकपा एमालेले धेरै स्थानीय तहमा जीत निकालेपछि छटपटाएका नेपाली कांग्रेसका मतदाताले आफूलाई मत हाल्ने विश्वास लिएकी हुनसक्छिन् भने देवी ज्ञवालीले वैशाख ३१ मा आफूहरुले हालेको मतको अवमूल्यन माओवादी केन्द्रले गरेको भन्दै देखाएको आक्रोशका कारण सान्त्वना मत पाउने र मेयरको कुर्सीमा बस्ने सपना देखेका हुनसक्छन् ।

तर, मेयरको कुर्सीमा कसलाई बसाउने भन्ने तय १९ नम्बर वडाका मतदाताले गर्ने छन् । जसले समग्र चीतवनको विकास निर्माणमा भूमिका खेल्ने छ र भरतपुरलाई राम्रोसँग चिनेको छ । बुधवार, श्रावण १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti