Nic Asia
cocacola

फिचर

३०० सन्तानकी एक्ली आमाको दशैं

विराट अनुपम


इटहरी, ११ असोज — इटहरी–४ स्थित चौधरी टोलकी गीता गौतमका सन्तान ३०० जना छन् । नर्सरीमा पढ्ने छोरी भारती गौतमदेखि बीबीए पढ्दै गरेका छोरा रवि गौतमसम्म जोड्दा उनीसँगै बस्ने सन्तान संख्या मात्रै ३४ पुग्छन् । चौंतीस सन्तान सबैका आ–आफ्ना दशैं आकांक्षाहरू हुन्छन् । कसैलाई नयाँ लुगा चाहिन्छ, कसैलाई नयाँ खाना, कसैलाई भने नयाँ ठाउँ घुमे पुग्छ ।

यसरी सबै सन्तानको दशैं इच्छा पूरा गर्ने गीता गौतमको यो दशैं भने खल्लो हुने भएको छ । खल्लो यस कारण कि गौतमको आश्रमका सन्तानलाई हेर्दै आएका चुन्नी अधिकारी यस वर्षबाट यो दुनियाँमा रहेनन् ।

अनि त रहेन इटहरीको चौधरी पोखरी पश्चिममा रहेको निःसहाय बाल आश्रमको दशैं रौनक । विगत २५ वर्षदेखि लगातार आश्रमका सन्तानहरूलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेका डाक्टर अधिकारीको मृत्युपछि एकखाले शोकमा छ आश्रम । शोककै कारण घटस्थापनाको दिन हुने मनोरञ्जनात्मक कार्यक्रम भएन । शोककै कारण टीकाको दिनमा टीका जमरा लगाउन नमिल्ने भयो ।

‘ठूलाले त टीकाजमरा लाउन मान्दैनन् किनभने अभिभावक जस्तै भएर डाक्टर चुन्नी अधिकारीले धेरै सहयोग गर्नुभएको थियो’, इटहरी क्षेत्रमा गीता माता समेत भनेर परिचित गौतम भन्छिन्, ‘तर नबुझ्ने केटाकेटीलाई टीका र जमरा चाहिन्छ, त्यो चाहिँ लाइदिनै प–यो ।’

२०३९ सालबाट अनौपचारिक रूपमा शुरु भएर २०४४ बाट संस्थागत असहाय बालआश्रम खोलेकी गौतमको आश्रम खोलेपछि धेरै परिवर्तन भएको छ । इटहरी एक सामान्य गाउँ हुँदा खोलेको आश्रममा शुरुमा तीन बच्चाहरू थिए । आज इटहरी उपमहानगरपालिका भएको छ र आश्रममा ३४ बच्चाहरू रहेका छन् । पञ्चायती व्यवस्थाका बेलामा शुरु भएको यो आश्रम आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा परिणत भएको छ ।

यत्तिका धेरै परिवर्तका बीचमा पनि गीता गौतमको दैनिकी भने उस्तै छ । बिहानदेखि रातसम्म यिनै बच्चाहरूको रेखदेख र योजनामै बित्छ दैनिकी । ६७ वर्षीय गौतमले यो आश्रम खोल्दा र अहिलेको समयका बीचमा एकमात्रै फरक भनेको आश्रमको नाम हो । पहिले असहाय बालआश्रम रहेकोमा पछि सबैको प्रेसर र सल्लाहमा गीता आश्रम नाम रहन गएको गौतम बताउँछिन् ।

नामभन्दा काम ठूलो मान्ने गौतम प्रमुख जिल्ला अधिकारीसहितका धेरैले गीता आश्रम नै सही भनेपनि आफूले बाध्य भएर त्यो नाम स्विकारेको बताउँछिन् ।

असहाय बालआश्रमबाट गीता आश्रम भएको इटहरीको पहिलो अनाथालयमा हालसम्म तीनसयजना बच्चाहरूले आश्रय लिएको संस्थाको तथ्यांक रहेको छ । २०३९ सालमा तीन बच्चाहरू लिएर शुरु भएको आश्रममा हाल आएर ३४ बच्चाहरू छन् । संख्याहरू थपघट हुने क्रम जारी रहेको गौतम बताउँछिन् ।

कुनै बच्चाले आफू आफ्नै खुट्टामा उभिन सक्छु भनेर जागिर गरेको दिन र बिहे गरेर छोरीहरू गएको दिन संख्या घट्ने गौतम बताउँछिन् । यस्तै कुनै असहाय बालबालिका भेटिएमा संख्या थपिने पनि उनले बताइन् ।

आश्रम यात्राले जुराएको आश्रम सञ्चालन

असहाय बालबालिकाको सेवामा समर्पित गीता गौतमले यो क्षेत्रमा आउन आफ्नो व्यक्तिगत जीवन त्याग गरेकी छन् । विवाह नगरी निःसहायको सेवामा समर्पित उनी आफैं पनि आश्रममै हुर्किएकी हुन् । २००७ सालमा धनकुटाको जीतपुरमा जन्मिएकी गौतम भारतीय पानीजहाज चालक पितासँगै हाल मुम्बई भनिने बम्बईमा तीन महिनाकै उमेरमा बसाइँ सरिन् ।

तीन महिनामा बम्बई पुगेकी गौतमले तीन वर्षकी हुँदा आफ्ना जागिरे पिता गुमाउनुप–यो । पिता पानीजहाज दुर्घटनामा परेर बित्नुभएको दुई वर्ष पुग्न नपाउँदै आमालाई पनि डाँकाहरूले लुटपाट गरेर हत्या गरे ।
‘त्यसबेला आमासहित अरू आमाहरू बम्बई छाडेर नेपाल आउने तर्खरमा हुनुहुन्थ्यो’, गौतम भन्छिन्, ‘भोलि नेपाल यात्रा हुनुअघि पैसा र सामान सबै ठीक पारेको मौकामा डाँकाले लुटेर आठ महिलाहरू मारेको थियो ।’
मर्नेमा आफ्नी आमासँगै अन्य सात महिलाहरू पनि रहेको बुझेकी गौतम आमाबुवा बितेपछि बुवाका साथीको सहयोगमा बम्बईकै एक आश्रममा बस्न थालिन् ।

बम्बई बसाइँको केही वर्षपछि पञ्जाबको जलन्धर आश्रममा पुगेकी गौतमले राम्रो पढाइ गरिन् । एसएलसी सकेर अस्पतालको नर्सिङ स्टाफको काम गरेकी गौतम सानैबाट आफूमा आश्रम सञ्चालन नै गर्छु भन्ने सोच पलाएको बताउँछिन् ।

‘मलाई आश्रम खोल्छु भन्ने त थियो नै’, आफ्नै आश्रम परिसरमा लोकान्तरसँग बोल्दै गौतमले भनिन्, ‘तर भारतमा खोल्छु वा नेपालमा भन्ने चाहिँ थाहा थिएन ।’

गौतम भएकैले श्रीलंकामा पाएको सम्मानले नेपाल चिनायो

कक्षा नौमा पढिथन् गौतम । उनी पञ्जाबको गान्धीवनिता आश्रममा बसेर अध्ययन गर्थिन् । अध्ययन मात्रै गर्दैनथिन्, गीतसंगीतमा पनि उनको खास लगाव थियो । पञ्जाबी भाषामा भजन बुझिने ‘शब्द’ नामक समूहसँग पनि गौतम जोडिएकी थिइन् ।

सोही शब्दमा आबद्ध सक्रिय सदस्य भएकै समयमा गौतमले टापुहरूको देश इन्डोनेसिया जान पाइन् । कक्षा नौमा अध्ययन गर्दा नै विदेश भ्रमण जुुर्नु गौतमका लागि खास थियो । खास किनभने थियो भने उनी पहिलोपटक विदेश जाँदैथिइन् । पहिलोपटक आफ्ना पिताको मृत्यु गराउने जहाजकै यात्रामा थिइन् उनी ।

६ दिन ६ रातको जहाजयात्रापछि इन्डोनेसिया पुगेर आश्रमको इज्जत राख्ने प्रस्तुति पञ्जाबी समुदायका भारतीयहरूलाइ दिएर आउँदा जहाज श्रीलंकामा रोकियो । एक दिन श्रीलंकामा रोकिएको समयमा उनीहरूको दर्जनभन्दा बढीको समूहले त्यही तटीय क्षेत्रमा भ्रमण गरे ।

ठूलो बुद्ध मन्दिर भएको क्षेत्रमा भ्रमण गरेका गौतम सम्मिलित समुहलाई स्थानीय बुद्ध मन्दिर समूहले कार्यक्रम गरेर सम्मान ग–यो । नेपालबाट आएको र गौतम भएको नाम देखेपछि भने गीता गौतमले बेग्लै सम्मान पाइन् ।
‘मभन्दा ठूलाठूला मान्छेहरू भएपनि मलाई नै राम्रो खादा दिएर बेग्लै सम्मान गरे, मलाई नै सुतेको बुद्धमूर्ति दिएर सम्मान गरे’, गौतम सम्झिन्छिन्, ‘गौतम बुद्ध नेपालमा जन्मेका र म पनि गौतम थरको नेपाली भएकै कारणले मात्रै मलाई त्यस्तो ठूलो सम्मान दिइएको थियो ।’

यो अप्रत्यासित सम्मानले गौतमलाई नसोचेको यात्रामा पु–यायो । कहिल्यै नेपाल आएर केही गरौंला भन्ने नसोचेकी उनले नेपालै आउने निधो गरिन् । आफूले नेपाललाई श्रीलंका नै पुगेर मात्रै राम्रोसँग बुझेको गौतम बताउँछिन् ।

तत्काल नेपाल आउन पढाइ सकिएको थिएन । जागिर गरेको पनि थिएन । अन्य धेरै कुराहरूले पनि असहज पारेका थिए । यसै क्रममा पढाइ सकेर अस्पतालमा जागिरको अनुभव समेत लिएर गौतम नेपाल आउने नै निधो गरिन् । नेपाल आउने निधो गरेपछि आफू नेपाल कहाँको हो भनेर पिताको डकुमेन्ट खोज्दा मात्रै धनकुटाको जीतपुर भन्ने थाहा पाएको गौतम बताउँछिन् ।

तत्काल नेपाल आउने खर्च र वातावरण बनाउन गौतमले विराटनगरबाट नजिक पर्ने भारतको कटियारमा रहेको अनाथ आश्रम इन्चार्ज भएर जागिर गर्न थालिन् । कटियारमा जागिर गर्नुको अर्थ नेपालमा कुनै एक ठाउँमा आश्रम खोल्न नै भएको गौतम बताउँछिन् । यसरी धनकुटाको जीतपुर, भारतको बम्बई र पञ्जाब अनि कटियार हुँदै अन्ततः गौतम इटहरी आइन् ।

२०३९ सालमा इटहरीमा आएर आश्रम खोल्नुअघि झापा र मोरङका विभिन्न क्षेत्रहरूमा पनि गौतमले आश्रम खोल्न खोजिन् । कतै केही नमिल्ने त कतै केही नमिल्ने हुँदै इटहरीमा आएर चाहिँ आश्रम खोल्ने कुरा पूरा भयो । दुई कट्ठा हाराहारीको जग्गा किनेर आश्रम खोलेकी गौतमलाई इटहरीका विभिन्न व्यक्ति तथा शैक्षिक संस्थाहरूले सहयोग गर्न थाले ।

उनीहरूकै सहयोगले नै आज उनको आश्रममा ३४ बच्चाहरूको मासिक ७० हजारभन्दा बढी खाद्यान्न खर्च र शिक्षाबापतको हजारौंको खर्च जेनतेन पुगिरहेको छ । इटहरीमा रहेका विभिन्न निजी तथा सार्वजनिक विद्यालयहरूले निःशुल्क शिक्षा दिएर सहयोग गरेको गौतम बताउँछिन् ।

अबको अभियान वृद्धाश्रम

३०० बच्चाले आश्रय पाइसकेको गौतमको आश्रम स्थापना भएको ३५ वर्ष भइसकेको छ । आजको मितिमा ३४ बच्चाहरू आश्रममै बस्छन् । आश्रमको क्षेत्र रहेको इटहरी–४ मा दुई कट्ठा जग्गा छ भने बाँकी सबैतिर गरेर ७ कट्ठा जग्गा आफ्नो आश्रमको नाममा रहेको छ । गौतमको अबका ठूलो लक्ष्य एउटै छ । त्यो हो – एक व्यवस्थित वृद्धाश्रम खोल्ने । छोराछोरीले हेला गरेर पछि पारिएका आमाबुवाको हेरचार गर्न खोल्ने भनिएको उनको आश्रममा पनि जनस्तर र स्थानीय सरकारबाटै सहयोगको आशा भएको गौतम बताउँछिन् ।

‘जसरी यो असहाय बालआश्रम सञ्चालनमा मलाई सहयोग प्राप्त भयो, त्यसैगरी वृद्धाश्रमका लागि पनि आशा गरेको छु’, गौतम भन्छिन्, ‘सुरक्षित र राम्रो वृद्धाश्रम भएमा शहरका थुप्रै बिचल्लीमा परेका आमाबुवाहरूको हेरचाह पुग्थ्यो ।’

आफूपछिको आश्रम सञ्चालक आश्रमभित्रबाटै कोही तयार हुने बताएकी गौतम आश्रम सञ्चालन गर्न मात्रै कुनै समस्या नभएको बताउँछिन् । सबै सहयोगी मनका कारणले आश्रम सञ्चालन सम्भव भएकोमा अब आश्रममै बसेकाहरूले त्यो आश्रम जोगाउने आफ्नो विश्वास रहेको गौतम बताउँछिन् ।

भएको बाल आश्रम र बनाउन खोजिएको वृद्धाश्रमपछि पुनः दशै प्रसंगमा आउँदा गौतम आफू कहिल्यै दशैंमा आफन्तकोमा नगएको बताउँछिन् । ‘दुःख पर्दा कसैले हेरेनन्, अब अहिले आएर किन जानु दशैं मान्न आफन्तकोमा ?’, आफूले दशैं मान्न इलाम र उदयपुरमा रहेका आफन्तले बोलाएपनि नजानुको कारण खोल्दै गौतम भन्छिन्, ‘अनि मैले आफैं दशैंको समयमा आश्रम छाडेमा बच्चाहरूलाई पनि खल्लो हुन्छ । म बच्चालाई खल्लो बनाएर गुलियोमा रमाउन चाहन्नँ ।’ बुधवार, आश्विन ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti