खोज/विशेष : फिचर

मधेशको गरीबी : बाबु दृष्टिविहीन, आमा पक्षाघातग्रस्त र छोरा कुपोषित

इटहरी, २७ मंसिर — दक्षिण सप्तरीको डाँडा गाविस–६ का शंकर खंग (मण्डल) लौरोको सहाराले मात्रै उभिन सक्छन् । उनीजस्तै उनको घर पनि एउटा लौरै (टेको)ले अडिएको छ । ६० वर्षीय मण्डलकी श्रीमती लिलियादेवी आधा प्यारालाइसिसग्रस्त छिन् । मुश्किलले बल्लबल्ल उभिने उनको शरीर पनि लौरोले मात्रै अडिन्छ ।  यी दुवैको सहारा २५ वर्षीय जवान छोरा रामपुकार भने लौरोले पनि अडिन सक्दैनन् । घिस्रिँदै उनी गाउँघरमा भीख माग्छन् । आएको जे जति छ, त्यतिले घरको हातमुख जोडिन्छ । घर उभिएको भुइँबाहेक अरू कुनै जग्गा छैन, मण्डल परिवारको । न त साहुको जग्गा कमाएर हातमुख जोर्ने सबल परिवार सदस्य नै छन् । केवल छ त दुःख छ, जुन मण्डल परिवारलाई थाहा छ । छरछिमेकीलाई अलिअलि थाहा छ ।
शंकर खंग (मण्डल)को घर । 


मण्डल त्यस्तो दुर्गम ठाउँमा पनि छैनन् । सप्तरीको पूर्व–पश्चिम राजमार्गको मौली बजार (दहीको लागि चर्चित बजार) बाट २० मिनेटको पैदल यात्रामा आउँछ डाँडा गाविसको बलिया गाउँ । त्यही बलिया गाँउ छुने मौली–हनुमाननगर सडक खण्डबाट केही पाइला दायाँपट्टि पर्छ मण्डलको मकान (घर) । यस्तो सुगमा ठाँउमा बसेर पनि मण्डलको मर्म न कुनै सरकारी निकायले सुनेको छ, न उनको घर नजिकैका उनैले भोट हालेका सप्तरी क्षेत्र नम्बर ७ का सत्तारूढ माओवादी केन्द्रका सांसद अनिल मण्डलले नै सुनेका छन् । सामाजिक सेवा गर्छु भन्ने एनजीओ वा आइएनजीओको आँखा र कान पनि मण्डलको आँगनसम्म पुगेको छैन । कुनै निकायले सहयोगै गरेको छैन भन्ने प्रश्न खस्न नपाउँदै छिकेकी शिवु रामले आक्रोशित आवाजमा भने, ‘पैसा त माथिबाट गरीबलाई भनेर आउँछ तर गाविसबाट सबै नेताले मिलेर खान्छ ।’

‘नेताहरूले भोटमात्रै देख्छ’

सबै दलका नेताहरू दलाल हुन् भन्न भ्याएका रामले थप पीडा पोखे, ‘नेताहरूले गरीबको दुःख हैन, भोट मात्रै देख्छ ।’ गएको सोमवार अपराह्न तीन बजे लोकान्तर मण्डलको घरमा पुग्दा कुपोषित छोरा रामपुकार मण्डल आँगनको चकटीमा लमतन्न सुतिरहेका थिए । आमा सिकुवामा सुस्ताइरहेकी थिइन् । बाबु भित्र कतै थिए । धरानको केन्द्रीय प्रविधी क्याम्पसका विद्यार्थीहरू लुगा, अन्न र खाद्यान्न लिएर मण्डल परिवारलाई सहयोग गर्न आएका थिए ।

सहयोगी विद्यार्थीहरूले दुई बोरा चामल, केही पोका तेल, केही मसमसलायुक्त परिकार र केही न्यानो कपडा निकालेर आँगनमा फिँजाए । यो सब देखेर आँगनमा सुस्ताइरहेकी आमा लिलिया देवी भक्कानिन थालिन् । मधेशमा मध्याह्नको चर्को घाम तापेर सुतिरहेका छोरा जुरुक्क उठ्न खोजे, सकेनन् । अरूको सहारामा उभिएर बोल्न समेत सकस भयो उनलाई । उनी पुनः भुइँमै थचक्क बसे । घरबाहिर हल्लाखल्ला भएको सुनेर निस्किँदा पाँच वर्ष यताबाट दृष्टि गुमाएका बाबु शंकर मण्डलले आँगनको सबै कुरा देख्न सकेनन् ।

‘नेताहरू काठमाडौं घुसेर मकान बनाउँछ’

क्याम्पस पढ्ने विद्यार्थीहरूले आफूलाई सहयोग गरेको सुइँको पाएपछि भने उनको आँसु र आक्रोश एकैपल्ट पोखियो । ‘हामी दुःखीको आँसु कसले देख्छ हजुर ?,’ असहज रूपमा नेपालीमा बोल्दै मण्डलले भने, ‘नेताहरू काठमाडौं घुसेर उतै मकान (घर) बनाँउछ, तर हामी गरीबलाई हेर्दैन ।’ भुइँमै लमतन्न सुतेका रामपुकार भन्ने मज्जाले सुन्न सकिने आवाजमा बोल्न सकेनन् । केन्द्रीय प्रविधि क्याम्पस धरानका पोषणविज्ञानका विद्यार्थीहरू मोदनाथ पौडेल र विपिन कार्की आठ दिनअघि कुपोषणले मरेका शम्भुरामको अवस्था हेर्न सप्तरीको यो गाउँ आएका थिए । यसरी आउँदा रामपुकार पनि कुपोषणग्रस्त भएको देखेको उनीहरूले बताए ।
मण्डल परिवार सहयोग लिएपछि । 


सप्तरीमा कुपोषणको अवस्था भयावह

त्यही एक दिनको दृश्यले नै आफूहरू देश विदेशका साथीहरूको सहयोग उठाएर रामपुकार मण्डलको घरमा पनि आएको पौडेलले बताए । ‘हामीले कुपोषण जाँच गर्दा वयस्क रामपुकार पनि कुपोषित भएको पायौं,’ मण्डलकै आँगनमा बोल्दै पौडेलले भने, ‘यो सप्तरीको डाँडा गाविस मात्रै हैन सप्तरीका गरीब र विपन्न सबै परिवारमा कुपोषणको समस्या व्याप्त रहेछ । अस्ति आठवटा कुपोषण जाँचमा पाँचवटा त कुपोषित बालबच्चा देख्यौं ।’

केन्द्रीय प्रविधि क्याम्पसका पोषण विज्ञान विभागीय प्रमुख डम्बरबहादुर खड्काले सप्तरी लगायतका तराईका जिल्लाहरूमा बस्ने दलित र सीमान्तीकृत समुदायमा पोषण कार्यक्रमहरू तत्काल ल्याउनैपर्ने बताए ।  ‘हाम्रा विद्यार्थीहरुले गरेको कुपोषण जाँच अनुसार सप्तरीमा कुपोषणको अवस्था भयावह छ, त्यसलाई अन्त्य गर्न खास कार्यक्रम ल्याउनैपर्छ,’ आफ्ना विद्यार्थी र क्याम्पस प्रमुख धन बहादुर कार्कीसँगै सप्तरी पुगेका विभागीय प्रमुख खड्काले थपे, ‘अन्य कुपोषित समाजमा तत्काल कुपोषणका कार्यक्रमहरू ल्याउन जरूरी देखिन्छ तर यो घरमा भने शारीरिक रूपमा अशक्त आमा बुबा र कुपोषित छोरा भएकोले यो तत्काल सम्बन्धित निकायले सुल्झाउनुपर्छ ।’

नेतालाई उपचार खर्च, जनतालाई के ?

शंकर मण्डलको घरमा कसैको मोबाइल छैन । कसैको दैनिक कमाई पनि छैन । अहिले त उनी र उनको घर एउटा लट्ठी टेकेर जसोतसो उभिएको छ । ‘शंकर मण्डल र उनको घरलाई सधैं उभिन लायक बनाउन अब सरकार वा अन्य कुनै गतिलो निकायको आर्थिक र पौष्टिक सहयोग चाहिन्छ,’ विद्यार्थी पौडेल भन्छन्, ‘सरकारले बर्सेनि नेताहरूको विदेशमा हुने स्वास्थ्य उपचार खर्चमा लाखौंको लगानी गर्छ । अब शंकर मण्डल जस्ता गरीब मधेशी परिवारलाई पनि सहयोग गर्नैपर्छ ।’

मण्डल परिवार तराईको गरीबी झल्काउने प्रतिनिधि पात्र हो । यस्ता कैयौं परिवार दैनिक दुई छाक खानाका लागि संघर्ष गरिरहेको छ । ‘विद्यार्थीले त चन्दा उठाएरै दुई महिना पुग्ने लत्ताकपडा र अन्न सहयोग गरे । सरकारले शंकर जस्ता परिवारहरूलाई सधैंलाई पुग्ने सहयोग गर्न किन सक्दैन ?’ पौडेलले सरकारसँग प्रश्न गरे । मंसिर २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस