सम–सामयिक

आरुषि हत्याकाण्डमा आमाबुवा अदालतद्वारा थुनामुक्त

काठमाडौं, २६ असोज — नौ वर्षअघि भएको आरुषि तलवार हत्याकाण्डमा भारतको इलाहाबाद उच्च अदालतले आरुषिका आमाबुवा नूपुर र राजेश तलवारलाई थुनामुक्त गर्ने फैसला बिहीवार गरेको छ ।


सीबीआई अदालतले यी दुवैलाई सन् २०१३ मा जन्मकैदको सजाय सुनाएपछि दुवैले इलाहाबाद उच्च अदालतमा त्यसविरुद्ध निवेदन दिएका थिए ।

सन् २००८ को १६ मेमा दिल्लीसँग जोडिएको नोइडास्थित जलवायु विहारमा १४ वर्षीया आरुषिको हत्या भएको थियो । गला काटेर उनको हत्या गरिएको थियो । करीब पाँच वर्षसम्म चलेको जाँच र सुनुवाइपछि सीबीआई स्पेसल कोर्टले आरुषिका पिता राजेश र माता नूपुरलाई दोषी ठह–याएको थियो ।

यो घटना लामो समयसम्म मिडियामा छाएको थियो । मानिसहरू आरुषिको हत्यारालाई सजाय दिलाउनका लागि सडकमा आएका थिए । त्यतिखेर उत्तर प्रदेशकी मुख्यमन्त्री मायावती थिइन् र उनले यो घटनाको जाँच गर्न सीबीआईलाई लगाएकी थिइन् ।

त्यतिखेर आरुषिसँग नेपाली नोकर हेमराजको पनि हत्या गरिएको थियो । आरुषिको लाश भेटिएको एक दिनपछि हेमराजको लाश छतको कूलरमा भेटिएको थियो ।

घटनाको प्रारम्भिक जाँचमा तीन नोकर र तलवार दम्पती समेत गरी पाँचजनालाई आरोपित बनाइएको थियो । तीनै नोकरलाई प्रमाण फेला नपरेपछि रिहा गरिएको थियो ।

अहिले तलवार दम्पती गाजियाबादको डासना जेलमा जन्मकैदको सजाय काटिरहेका छन् ।

तलवार दम्पती दिल्लीका प्रसिद्ध दन्तचिकित्सक हुन् । आरुषिको जन्म सन् १९९४ मा भएको थियो ।

एजेन्सी

असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस