Ruslan
Tata /sipradi
Sarbottam Cement

खेलकुद

सातौं राष्ट्रिय खेलकूदः कुन खेलमा को विजयी ?

विराटनगर, ९ पुस– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकूद अन्तर्गत आज विभिन्न खेलहरु भए । ति खेलमा को–को विजयी भए ? विवरण हेर्नुस्
हक्कीः सुदूरपश्चिमलाई दोहोरो जित
विराटनगरको डिएबी स्कुलमा भएको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भयोे । नेपाली सेनाको तर्फबाट प्रेम दराई, सत्यनारयण चौधरी, स्यामुएल राई, राम साहले १÷१ गोल गरेका थिए भने दिपेन्द्र एयर र प्रदिप राजवंशीले २÷२ गोल गरे ।
सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ४–२ गोल अन्तरले हरायो । सुदूरपश्चिमाञ्चलको तर्फबाट गणेश टमटा, सुरेश प्रसाद जोशी, राजेन्द्र राजवंशी र केशब राजवंशीले गोल गरे । मध्यपश्चिमाञ्चलबाट सलमान इद्रीसी र सहिद अलिले गरे ।khelkud 7th
महिलामा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४–१ गोल निराश पा¥यो । सुदूरपश्चिमाञ्चलका सिमा चौधरी र नर्बदा जोशीले १÷१ गोल गरेका थिए भने शिल्पा डोगौराले २ गोल गरेकी थिइन् ।
पश्चिमाञ्चलले पूर्वाञ्चललाई ४–० को गोल अन्तरले पन्छायो । विजयी टिमका लागि कमला राना मगर र सोनी गुरुङ्गले २÷२ गोल गरेका थिए । प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टिम सेना गरी ६ टिम सहभागी छन् ।

सेपाकताक्रोको रेगोमा आर्मी र पश्चिमाञ्चल फाइनलमा
विभागीय टोली नेपाली सेना र पश्चिमाञ्चल सेपाकताक्रोको पुरुष रेगु इभेन्टमा फाइलनमा पुगेका छन् ।सेमिफाइलनमा आर्मीले सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ ले पराजित गर्दै फाइनल पुग्यो ।
अर्को सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २१–१४ र २१–१६ ले हराउदै आर्मीसंग फाइनल भेट पक्का ग¥यो ।
महिलामा सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले समान ६–६ अंक जोडेका छन् । पश्चिमाञ्चल र पूर्वाञ्चलले २–२ अङ्क जोडे ।
सुनसरीको धरानस्थित डिपो उच्चमाविमा भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार डब्बल र सोमबार टिम इभेन्टका खेलहरु हुने छन् । पुरुषमा विभागीय टोली आर्मीसहित ६ वटा टिम सहभागी छन् । महिलामा ५ विकास क्षेत्रले भाग लिएको छ ।
बास्केटबल सुरु
बास्केटबल पनि शनिबारदेखि धरानस्थित डिपो उच्चमाविको कोर्टमा सुरु भएको छ ।
महिलातर्फ पश्चिमाञ्चल र मध्यमपश्चिमाञ्चलबीच भएको खेलमा ४५–१२ स्कोरले पश्चिमाञ्चल विजयी भयो । नेपाल आर्मी र मध्यमाञ्चल बीच भएको खेलमा ४४–२९ स्कोरले पछि पार्दै मध्यमाञ्चल विजयी बनेको छ । त्यस्तै तेस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि २३–११ को जित प्राप्त ग¥यो ।
त्यस्तै पुरुष बास्केटबल तर्फ विभागीय टोली नेपाल आर्मीले पश्चिमाञ्चललाई ८२–५३ स्कोरले पराजित गरेको छ । मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलबीचको खेलमा ९५–४३ स्कोर गर्दै मध्यमाञ्चल विजयी बनेको छ । पुरुष बास्केटबलमा विभागीय टीमसहित ६ वटा टिमहरुले स्पर्धा गरिरहेका छन् भने महिला बास्केटबलमा ५ विकास क्षेत्रका टिमहरु सहभागी रहेका छन् ।

पुरुष फुबटलः पश्चिमाञ्चल र मध्यमाञ्चलको जित
पुरुष फुटबलमा शनिबार पश्चिमाञ्चल र मध्यमाञ्चलले हात पारेका छन् । धरान एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई ३–० गोलअन्तरले हरायो ।
पश्चिमाञ्चलको लागि पहिलो हाफको २५ औं मिनेटमा विमल घर्ती मगरले पहिलो गोल गरे । बाँकी दुवै गोल दोस्रो हाफमा कप्तान अनिल गुरुङले गरेका थिए । दोस्रो हाफको ३० औं मिनेटमा अनिलले दोस्रो गोल गरे भने ४० औं मिनेटमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दै तेस्रो गोल गरे । पुलिसका गोलकिपर रोशन खड्काले पश्चिमाञ्चलका विश्वास श्रेष्ठलाई डिबक्सभित्र फल गरेपछि रातो कार्ड पाउदै बाहिरिए भने पश्चिमाञ्चलले पेनाल्टी अवसर पाएको थियो । गोलकिपरले रातो कार्ड पाएपछि पुलिसको गोलपोष्ट कप्तान भोला सिलवालले सम्हाल्नु परेको थियो ।
दोस्रो खेलमा मध्यामञ्चलले पुर्वाञ्चललाई १–० को गोलअन्तरले हरायो । दोस्रो हाफको २८ औ मिनेटमा दिनेश हेन्जनले गरेको गोल खेलको निर्णायक बन्यो । शनिबारको खेलपछि लिग चरणको दुवै खेलमा जित हात पारेको मध्यमाञ्चल कुल ६ अंकसाथ शीर्षस्थानमा छ भने एक खेलमा हार र एक खेल जितको पश्चिमाञ्चल र नेपाल पुलिस समान ३÷३ अंक छ । आइतबार समुह ख अन्र्तगतको पहिलो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिमाञ्चलबीच हुनेछ भने दोस्रो खेल नेपाली सेनाले मध्यपश्चिमाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
आईटीएफ तेक्वानन्दोः
आईटीएएफ तेक्वान्दोका खेल दमकमा शुरु भएको छ । प्रतियोगीता अन्तर्गत पहिलो दिन ४०–४५ केजी उमेर समूहमा महिला तर्फ नेपाल आर्मीकी निस्मा बस्याल पहिलो भईन् । यस्तै पश्चिमाञ्चलकी रीता अधिकारीले दोश्रो स्थान हाँसिल गरेको आईटीएफ तेक्वान्दो संघ नेपालका उपाध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए ।

पुरुष क्रिकेटः
पुरुष क्रिकेटमा त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन ।
पहिलो खेलमा आर्मीले सुदुरपश्चिमाञ्चललाई ८७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धाति २० ओभरमा ३ विकेट गुमाई २ सय ९ रन बनाएको थियो । नरेश बुढाएरले ४३ बलमा ५ छक्का र ५ चौका प्रहार गरी अविजित ८१ रन, सागर पुनले ४४ रन, विनोद भन्डारीले ३४ रन र राजु रिजालले २२ रनको योगदान गरेका थिए । सुदुरपश्चिमाञ्चलका सागर भन्डारी, विनोद लामा र सन्तोष भट्टले १–१ विकेट लिएका थिए ।
जवाफमा २ सय १० रनको विजय लक्ष्य पछ्याएको सुदुरपश्चिमाञ्चलले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय २२ रनमात्र जोड्न सक्यो । जस्मा रोशन नेपालले ५३ बलमा १ छक्का र ५ चौका गरी ५० रन र दिपक मण्डलले २२ रन बनाएका थिए । आर्मीका सागर पुन, राहुल विक र राजेश पुलामीले १–१ विकेट लिएका थिए ।
त्यैसै गरी दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धाति २० ओभरमा ५ विकेट गमाई १ सय ४५ रन बनाएको छ । जस्मा कप्तान मन्जित श्रेष्ठले ३२ बलमा ३ छक्का र २ चौका प्रहार गरी अविजित ४९ रन, दिपेन्द्र ऐरीले अविजित २८ रनको योगदान गरेका थिए । पश्चिमाञ्चलका साह आलमले २ विकेट लिएका थिए ।
जवाफमा १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको पश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गमाई १ सय २९ रनमात्र जोड्न सक्यो । जस्मा शुसान्त भारीले अविजित ३२ रन र लालबहादुर अधिकारीले २७ रन बनाएका थिए । पुलिसका ललितसिंह भण्डारीले ३ विकेट र दिपेन्द्र ऐरीले २ विकेट लिएका थिए ।
महिला क्रिकेट
महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २ विकेटले हराएको छ ।
टंस जितेर पहिलो व्याटिगंमा उत्रिएको पश्चिमाञ्चलनिर्धारित २० ओभरमा७२रनमा समेटीएको थियो । जवाफी व्याटिगंमा आएको मध्यपश्चिमाञ्चले १८ ओभरमै पश्चिमाञ्चले प्रस्तुत गरेको लक्ष्य पुरा गरी पश्चिमाञ्चललाई २विकेटले हराएको हो ।
विजयी टिमका लागिअनु केसीले ४ विकेट लिएकीथिइन । भने मध्यपश्चिमाञ्चलकी मेरी थापाले सवार्धिक ४३ रन बनाएकीथिइन । पराजितपश्चिमाञ्चलकालागिअनिसा केसी र नितु भण्डारीले समान १६ रन जोडेकाथिए । सो खेलमामध्यपश्चिमाञ्चलकीअनिताचौधरी प्लेयरअफ द म्याच घोषीतभइन ।
महिलाक्रिकेटको आजको दोस्रो खेल सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलविचजारी रहेको छ ।

व्याडमिन्टनः
पुरुष सिंगल्समा नेपाल आर्मीका रत्नजीत तमाङले मध्यपश्चिमाञ्चलका इरफान अन्सारीलाई २१–१९ र २१–५ को सोझो सेटमा पराजित गरे । आर्मीकै दिपेश धामीले मध्यपश्चिमाञ्चलका रियाज अन्सारीलाई २१–१० र २१–६ ले तथा आर्मीका अर्का खेलाडी नवीन श्रेष्ठले मध्यपश्चिमाञ्चलकै विलाल वरिसलाई २१–१३ र २१–१० को सोझो सेटमा पराजित गरे ।

त्यस्तै सुदुरपश्चिमाञ्चलका सन्जीव खड्काले पश्चिमाञ्चलका भुगोल गुरुङलाई २१–१७ र २१–१० को सोझो सेटमा हराए । सोही अंचलका सुनिल जोशीले पश्चिमाञ्चलका अतित गुरुङ र गौतम कठायतले पश्चिमाञ्चलका विशाल खड्कालाई क्रमशः २१–१९ र २१–७ तथा १६–२१, २१–१२ र २१–१७ अंकले पराजित गरे ।
मेन्स डवल्सतर्फ नेपाल पुलिस क्लवका खेलाडीहरु विष्णु कटुवालले पूर्वाञ्चलका विवेक श्रेष्ठलाई तथा दिपक वोहराले पूर्वाञ्चलकै जीवन आचार्यलाई क्रमशः २१–१४ र २१–११ तथा १९–२१, २१–७ र २१–११ ले पराजित गरे ।
एपीएफका सुदिप सेढाइले मध्यमाञ्चलका अभिशेक वोसलाई २१–९ र २१–१२ को सोझो सेटमा हराए । एपीएफकै विजित थापा मगरले मध्यमाञ्चलका पोविन लिङ्थेपलाई २१–१२ र २१–११ को सोझो सेटमा पारजित गरे । मेन्स सिंगलमा पूर्र्वाञ्चलका विशाल तामाङ पुुलिसका गौरव दाहाललाई १९–२१, २१–१८ र २३–२१ अंकले हराए ।
मेन्स सिंगलतर्फ पुलिस र एपीएफका खेलाडीले पूर्वाञ्चल मध्याञ्चलका खेलाडीलाई हराए । पुलिसका विष्णु कटुवाल र दिपक वोहराको जोडीले पूर्वाञ्चलका विवेक र सुजन श्रेष्ठको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा पन्छायो । त्यस्तै एपीएफका सुजन ताम्राकार र सुदिप सेढाईको जोडीले मध्याञ्चलका विवेक वोस र तीर्थ मल्लको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पाखा लगायो ।
शनिवारै सम्पन्न उमेन सिंगलतर्फ पूर्वाञ्चलका सीमा राजवंशीले पश्चिमाञ्चकी सुष्मा श्रेष्ठलाई २१–१२ र २१–१० तथा सीता राईले पश्चिामाञ्चलकी सकुन्तला भुषाललाई २१–१६ र २१–११ को सोझो सेटमा जिते । त्यस्तै एपीएफकी शिक्षा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी सम्झना शर्मालाई २१–१२ र २१–८ को सोझो सेटमा र सोभा गौचनले मध्यपश्चिमाञ्चकै समिक्षा न्यौपानेलाई २१–१२ र २१–७ को सोझो सेटमा पन्छाइन् ।
मध्यमाञ्चलकी श्रेया प्रधानले सुदुर पश्चिमकी दुर्गा शर्मा भण्डारीलाई २१–१५ र २१–१२ को सोझो सेटमा हराइन् । सुदुरपश्चिमाञ्चकी गंगा विष्टले मध्याञ्चलकी श्रद्धेय प्रधानलाई २१–१३ र २१–११ को सोझो सेटमा पाखा लगाइन् ।

बक्सिङ
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत झापामा सञ्चालन हुने पाँच वटा खेल शनिवारदेखि सूरु भएको छ ।
राष्टिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले बक्सिङ्गको खेल सामाग्री हस्तान्तर गरी खेलको शुभआरम्भ गरे ।
महिलाको ४९ केजी तौलतर्फ मध्यपश्चिमका चन्द थापा, नेपाली सेनाका सुभाष विक र एपीएफका अस तामाङ्गले अग्रता लिएको छ । ५२ केजी तौलतर्फ मध्यमाञ्चलका प्रदिप महर्जन, एपीएफका विक्रम परियार र मध्यपश्चिमका प्रेम चौधरीले अग्रता लिएको छ । त्यस्तै ५६ केजी तौल तर्फ नेपाली सेनाका विमल रोक्का, पुर्वाञ्चलका राकेश राई मध्यमाञ्चलका गणेश थापा र एपीएफका पुरन राईले अग्रता लिएको नेपाल बक्सिङ्ग संघका केन्द्रिय उपाध्यक्ष भोजराज सिटौलाले जानकारी दिनुभयो । क्वाटरफाइनलमा अग्रता लिने खेलाडीहरु सेमीफाइलमा प्रवेश गरेको सिटौलाले जानकारी दिए । त्यस्तै दमकमा आइटीएफ तेक्वादो, मेची सामुदायिक कवर्ड हल काँकरभिट्टामा ब्याटमिन्टन, पासाङ ल्हामु कभर्ड हल धुलाबारीमा जुडो र जिम्न्यास्टिक खेल पनि सुरु भइसकेको छ ।

महिला फुटबल ः
सातौँ खेलकुद अन्तर्गत महिला फुटवल खेलमा शसस्त्र प्रहरी बलको एपीएफ टिम च्याम्पियन बनेको छ । सुनसरीको दुहवी रँगशालामा भएको रोमाञ्चक खेलकोनिर्धारित समयमा दुवै पक्षबाट कुनै गोल हुन सकेन । खेल अवधिभर प्रहरीले एपीएफलाई दवदवामा राखे पनि ट्राइव्रेकरमा एपीएफ बाजी मार्न सफल भयो । ट्राइव्रेकरमा एपीएफका तर्फबाट लक्ष्मि कुमारी पौडेल, मञ्जु डोङ, अनिता केसी र सृजना चेमजोङले गोल गरे । एपीएफको तर्फबाट तारा थिनले गरेको पेनाल्टी सुट पोलमा ठोक्एिर बाहिरिएको थियो ।
त्यसै गरि प्रहरीको तर्फबाट टीम क्याप्टेन धिम कुमारी गुरुङ र सृजना खड्काले मात्र गोल गर्न सके । त्यस्तै अमृता जैसीले गरेको प्रहार पनि एपीएफकी गोल रक्षक रुपा राना मगरले रोक्न सफल भइन् । मगर आजको खेलको उत्कष्ट खेलाडी पनि घोषित भइन् ।
महिला फुटवल अन्गर्तत सर्वाधिक गोल गर्ने खेलाडी प्रहरीकी निरु थापा भइन् । उनले खेल अवधिभर ५ गोल गरेकी थिइन् ।
अर्मी, मध्यमाञ्चल टीमलाई दुुइ, एकको गोल अन्तरले पराजीत गर्दै तेस्रो स्थानमा चित्त बुुझाउन पुुग्यो ।
सातौँ खेलकुदको औपचारीक उद्घाटन शुक्रवार विराटनगरमा भए पनि पुस २ गते देखि नै महिला फुटवल प्रतियोगीता शुरु भएको थियो । प्रतियोगीतामा विभागीए ३ टीम सँगै पाँच विकास क्षेत्रका एक एक टीम गरि ८टीम सहभागी भएका थिए । प्रतियोगितामा पहिलो बन्ने च्याम्पियन टिमलाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले नगद जनहि ७ हजार र स्वर्ण पदक प्रदान गरे ।

करातेः पर्शुरामको ह्याट्रिक
सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् ।
विराटनगरस्थित शहिद रङ्गशालामा भएको कराते प्रतियोगिता अन्तरगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
उनले काठमाण्डौमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक हात पारेका थिए ।
ह्याट्रिक गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले राष्ट्रिय खेलकुदमा लगातार तीन पटक विजयी भएकोमा निकै खुशी लागेको बताए ।
प्रतियोगितामा सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कास्य पदक प्राप्त गरे ।
यस्तै महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी बर्षा साउदले कास्यमा चित्त बुझाए ।
पुरुष टिम कातामा पनि सशस्त्रले बाजी मा¥यो । सशस्त्रले विभागिय टोली सेनालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गर्न सफल भयो । यसका साथै कराते तर्फ सेनाले दुई स्वर्ण प्राप्त गरेको छ । तेश्रो स्थानमा पूर्वाञ्चल र पश्चिमाञ्चल रहे । ्
महिला टिम कातामा भने लाईटका कारण खेल स्थगित गरिएको छ । सेमिफाइनल सम्मको खेल सम्पन्न भईसकेपछि लाईटका कारण प्रतियोगिता स्थगित गर्न परेको रेफ्री संयोजक राजेन्द कपालीले जानकारी गराए । उनले प्रतियोगिताको फाइनल आईतबार विहान हुने जानकारी दिए । प्रतियोगितामा सुदूरपश्चिम र पश्चिमाञ्चलले कास्य पदक प्राप्त गरेका छन् । राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले प्रतियोगिता विना बाधा सुचारु भएको बताए ।

टेनिस पोखरामा शुरु
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल शनिबारदेखि पोखरामा शुरु भएको छ । पहिलो दिन टिम इभेण्टका प्रतिस्पर्धाहरु भएका छन् । प्रतियोगितामा नेपाली सेना र नेपाल प्रहरीको टिमले बाई पाएर सिधै सेमिफाइनलमा पुगेको छ भने पुरुषतर्फ सशस्त्र प्रहरी बलले मध्य पश्चिमाञ्चललाई ३–० ले पराजित गरेर सेमिमा स्थान बनायो । सशस्त्र प्रहरिको तर्फबाट श्रीराम मगरले चन्द्रबहादुर थापालाई ७–५, ६–४ ले, सन्तोष खत्रिले प्रदिप शाहलाई ६–२,६–२ ले तथा सन्तोष खत्रि र श्रीराम मगरको जोडीले महेन्द्र प्रकाश गिरी र चन्द्रबहादुर थापाको जोडीलाई ६–३, ६–१ ले पराजित ग¥यो ।
पुरुषतर्फनै भएको टिम इभेण्टमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० ले नै पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । नेपाल प्रहरीको तर्फबाट प्रणव खनालले अदित सुवेदीलाई ६–१,६–१ ले, कमल भण्डारीले अन्जन थिङलाई ६–०,६–०ले तथा रेञ्जन लामा र राजु श्रेष्ठको जोडिले सहर्ष बहादुर चन्द र अदित सुवेदीको जोडिलाई ६–२, ६–३ ले पराजित गरे ।
पुरुषतर्फ पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । पश्चिमाञ्चलका निरज थापाले निरज विष्टलाई ६–०, ६–० ले, प्रदिप खड्काले सम्मेलन योगीलाई ६–०, ६–० ले तथा निरज थापा र प्रदिप खड्काको जोडीले निरज विष्ट र सम्मेलन योगीको जोडीलाई ६–०, ६–० कै सहज सेटमा पराजित गरेको थियो ।
महिलातर्फ एपीएफले मध्यमाञ्चललाई ३–० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको छ । एपीएफका विभुती कार्कीले स्नेहा यादवलाई ६–०, ६–०ले भगवति बिवले रायना शाहलाई ६–२, ६–२ ले तथा विभुती कार्की र बिजिसा श्रेष्ठको जोडीले सर्भानी स्नेहा यादवलाई ६–०, ६–१ पराजित गरे । त्यस्तै पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पूर्वाञ्चलका सलोनी तामाङ्गले प्रिति बराललाई ७–५, ६–२ ले, प्रेरणा कोइरालाले गंगा सर्मालाई ६–२, ६–३ ले तथा प्रेरणा र सलोनीको जोडीले अनु रोक्का र सुभांगी लक्ष्मी शाहको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।

सफ्ट टेनिस ः
सफ्ट टेनिसको पुरुष सिंगल्समा मध्यमाञ्चलका निर्मल स्थापित, पूर्वाञ्चलका अभिषेक कार्की र सुदूरपश्चिमाञ्चलका रमेश पाण्डेले जित हात पारेका छन् । निर्मलले मध्यपश्चिमाञ्चलका विनोद मगरलाई ४–० तथा अभिषेकले मध्यपश्चिमाञ्चलका सुभम खनाललाई ४–० ले पराजित गरे । रमेशले पूर्वाञ्चलका आशिष बोहरालाई टाइब्रेकरमा ७–३ ले हराए ।
महिला सिंगल्समा मध्यपश्चिमाञ्चलकी मेघा श्रेष्ठले पूर्वाञ्चलकी जर्जिया चौधरीलाई ४–०, मध्यपश्चिमाञ्चलकी सिर्जना राना मगरले सोही क्षेत्रकी दीपा आलेलाई ४–० तथा मध्यमाञ्चलका शिव भट्टराईले पूर्वाञ्चलकी श्रीयला योञ्जनलाई ४–१ ले पाखा लगाए ।

टेबलटेनिस
सातौं राष्ट्रिय खेलकुद अन्तरगत भएको टेबल टेनिस तर्फ पुरुषको टिम ईभेन्टस्मा एपिएफले फाइनलमा पुलिसको सामना गर्ने भएको छ ।
एपिएफले मध्यमाञ्चललाई ३–०ले र पुलिसले पूर्वाञ्चललाई ३–१ले हराउंदै स्वर्ण प्रतिस्पर्धाको लागि आमने सामने गर्ने भएका छन् ।
यस अघि भएको सेमिफाईनलको खेलमा एपिएफले आर्मीलाई ३–२ले र मध्यमाञ्चलले सुदूरपश्चिमलाई ३–०ले पराजित गरेका थिए । यस्तै पुलिसले पश्चिमाञ्चललाई ३–० र पूर्वाञ्चलले मध्यपश्चिमलाई ३–१ले हराएका थिए ।
विराटनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला टिम ईभेन्ट्सको खेलमा पनि सशस्त्रले फाइनलमा पुलिसको सामना गर्ने भएको छ ।
सशस्त्रले सेमिफाइनलमा मध्यमाञ्चललाई ३–०ले र पुलिसले आर्मीलाई ३–१ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
पुरुष जोडी तर्फको खेलमा पुरुष तर्फ पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठको जोडी पूर्वाञ्चलका महाविर र दिवसको जोडीलाई ११–५, ११–७ र १२–१०ले पराजि गर्दै सेमिमा स्थान बनाएका हुन् । यस्तै एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी सेनाको कृष्ण र मनीको जोडीलाई १२–१०, ११–९ र ११–५ले, पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले पूर्वाञ्चलका गणेश र करणको जोडीलाई ११–४, ११–७, ७–११ र ११–६ले तथा एपिएफका पुरुषोत्तम र चन्दन शाहीको जोडीले मध्यमाञ्चलका रिज जोशी र विपुल महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।
महिला जोडी तर्फको खेलमा आर्मीका रविना र स्वेच्छा नेवाङ्गको जोडीले पश्चिमाञ्चलका अमृता र गिताको जोडीलाई ११–८, १३–११ र ११–६ले, एपिएफका शैलेष र सोनुको जोडीले पुलिसका सुजाता र मञ्जुको जोडीलाई ११–७, ११–४ र ११–८ले, आर्मीका दिक्षा र शिखाको जोडीले पूर्वाञ्चलका अपेक्षा र गिताको जोडीलाई ११–२, ११–५, ८–११, ९–११ र ११–८ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्को जोडीमा पुलिसका नविता श्रेष्ठ र एलिना महर्जनको जोडी रह्यो । नविता र एलिनाको जोडीले मध्यमाञ्चलका निकिता र मारियाको जोडीलाई तीनै सेट ११–५ले हराए ।
मिक्स डबल तर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी सेमिफाइनल प्रवेश गरेका छन् । श्रेष्ठ र महर्जनको जोडीले मध्यमाञ्चलका रिज जोशी र पल्पसाको जोडीलाई ३–०ले पराजित गरेका थिए । यस्तै आर्मीका कृष्ण र रविना महर्जनको जोडीले पूर्वाञ्चलका गणेश र अपेक्षाको जोडीलाई ३–०ले, एपिएफका पुरुषोत्तम र सोनुको जोडीले पूर्वाञ्चलका करण राई र गिता भुजेजको जोडीलाई तथा पुलिसका दीप साउन र नविताको जोडीले मध्यपश्चिमका नरेश र पवित्राको जोडीलाई समान ३–०ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् । शनिवार, पौष ९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement