खेलकुद

भारतीय क्रिकेटर धोनीले दिए कप्तानबाट राजीनामा

काठमाडौं, २१ पुस–भारतीय क्रिकेटका कप्तान महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् ।

धोनीले टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिएका थिए ।धोनीले बुधबार भारतीय क्रिकेट बोर्ड बीसीसीआईलाई यससम्बन्धी जानकारी गराएको बिसीसीआईले जनाएको छ ।

धोनी सन् २००७ को सेप्टेम्बरदेखि भारतीय टिमको एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तान थिए । धोनीको कप्तानीमा भारतले सन् २००७ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप, सन् २०११ मा विश्वकप तथा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको छ ।

टेस्ट कप्तान विराट कोहलीले धोनीको ठाउँ लिने सम्भावना छ । धोनीको कप्तानीमा भारतीय टिमले एक सय ९९ सय एक दिवसीय तथा ७२ ट्वेन्टी–ट्वेन्टी खेल खेलेको छ । यस्तै धोनी सन् २००८ देखि २०१४ सम्ममा ६० टेस्ट क्रिकेटमा कप्तानको भूमिकामा रहे ।

उनले सबै गरेर तीन सय ३१ खेलमा कप्तानी गरेका छन् । क्रिकेटका तीनै संरचनामा धोनी भारतका सबै भन्दा सफल कप्तान हुन् । धोनीले कप्तानका रुपमा खेलका एक सय ९९ एक दिवसीयमा एक सय १० खेलमा भारत विजयी भएको छ भने ७४ मा पराजित भएको छ । यी खेलमा उनले ६ हजार ६ सय ३३ रन बनाएका छन् ।

यस्तै ७२ ट्वेन्टी–ट्वेन्टीमा ४१ खेलमा जित र २८ खेलमा हार व्यहोरेका छन् । कप्तानका रुपमा उनले ट्वेन्टी–ट्वेन्टीमा एक हजार एक सय १२ रन बनाएका छन् । धोनीले समग्रमा दुई सय ८३ एक दिवसीय क्रकेट खेलका छन् र ९ हजार भन्दा धेरै रन बनाएका छन् । पुस २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस