Nic Asia
Sarbottam Cement

खेलकुद

अन्तिम टेस्टमा भारतको शानदार जीत, इनिङ अन्तरले हरायो इंग्ल्यान्डलाई

काठमाडौं, ५ पुस — भारतले इंग्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट एक इनिङ र ७५ रनले जितेको छ । यससँगै भारतले शृंखला ४-० ले जित्यो ।


दोस्रो इनिङमा इंग्ल्यान्डलाई जम्मा २०७ रनमा अलआउट गर्दै भारतले विशाल जीत हासिल गरेको हो ।

भारतको जीतमा रवीन्द्र जडेजाको सात विकेटको ठूलो योगदान रह्यो । जम्मा ४८ रन खर्चेर उनले सात विकेट लिएका हुन् । पहिलो इनिङमा तीन विकेट लिएका जडेजाले समग्र म्याचमा १० विकेट हात पारे । इंग्लिश ब्याट्स्म्यानले उनको स्पिन आक्रमणको सामना गर्न सकेनन् ।

पहिलो विकेटका लागि १०३ रन बनाएर राम्रो शुरुवात गरेको इंग्ल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदै गएको थियो ।

यसअघि भारतले करुण नायरको ३०३ र लोकेश राहुलको १९९ रनको मद्दतले सात विकेटको क्षतिमा ७५९ रनको विशाल स्कोर बनाएर इनिङ डिक्लेयर गरेको थियो । एक इनिङमा भारतको अहिलेसम्मकै विशाल स्कोर हो यो ।

उता इंग्ल्यान्डले पहिलो इनिङमा मोईन अलिको १४६ र जो रूटको ८८ रनको मद्दतले ४७७ रन बनाएको थियो ।

भारतलाई दोस्रोचोटि ब्याटिङ गराउन २८२ रन बनाउनुपर्ने चुनौती पाएको इंग्ल्यान्ड अत्यन्तै कम स्कोरमा समेटियो ।

पाँच टेस्ट शृंखलाको पहिलो म्याच बराबरीमा टुंगिएको थियो भने भारतले त्यसपछिका सबै म्याच जित्यो ।

मंगलवार, पौष ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell