Nic Asia
cocacola

खोज

कुख्यात ‘सिरियल किलरको’ रहस्यमय कथा: जेलबाट भागेको प्रमाण छैन तर पक्राउ कसरी ? [लोकान्तर खोज]

अजय अनुरागी


जनकपुरधाम, २५ वैशाख – २०७३ साल असारको पहिलो हप्ता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रमे भन्ने मानबहादुर बुढाथोकीलाई सार्वजनिक ग–यो । ६ महिलालाई बलात्कारपछि हत्या गरेका उनी फरार रहेको र २० वर्षपछि पक्राउ गरिएको दाबी सीआईबीको थियो ।

भारतको दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइएको भन्दै उनलाई सार्वजनिक गरियो । एकान्तमा अशक्त, अपांग र एक्लो महिला देख्नासाथ बलात्कार गर्ने र लगत्तै हत्या गर्ने काममा बुढाथोकी संलग्न रहेको सीआईबीले बतायो ।

पूर्वी तराईका जिल्लामा २०५२ र २०५३ सालमा विभिन्न मितिमा बलात्कार र हत्याका एकै प्रकृतिका अपराधजन्य घटना भए । त्यस्तो अपराध मानबहादुरले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीले उनलाई नेपालकै सबैभन्दा कु्रर अपराधी भएको दाबी गर्यो ।

महिलाहरूलाई बलात्कार गरेपछि घाँटी थिची हत्या गर्ने र हत्या गरिसकेपछि लाशलाई पनि बलात्कार गर्ने कार्यमा बुढाथोकी संलग्न भएको प्रहरी दाबी थियो ।

उनलाई पक्राउ गरेपछि सिआईबीले जारी गरेको प्रेस विज्ञप्ती र नेपाल प्रहरीको आधिकारिक फेसबुक वालमा २० बर्ष देखि फरार रहेका सिरियल किलरलाई पक्राउ गरिएको उल्लेख छ ।

३२ बटा जबर्जस्ती करणीका घटनामा संलग्न भएको बयान निजले दिएको प्रहरीले बताएको थियो ।

घटना नं १ –
महोत्तरी बर्दीबास गा.बि.स.१ बस्ने बर्ष २० की शारीरिक रुपमा असक्त महिला गाईबस्तु चराउन भनी घरदेखी नजिकैको जंगलमा गएकोमा साँझ सम्म घर नफर्केपछि खोजतलाश गरियो । भोलीपल्ट महोत्तरी, माईस्थान गा.बि.स. ३ स्थित महेन्द्र राजमार्ग देखि दक्षिण सागरनाथ वन बिकास परीयोजनाको जंगलमा जबरजस्ती करणी गरी उनको धागोले बुनेको पछ्यौराले घाँटी बाँधी मारेको अबस्थामा शव फेला परेको थियो । उक्त घटनामा अनुसन्धानको क्रममा बुढाथोकी संलग्न रहेको खुल्न आएको सिआईबिले दावी गरेको थियो ।

घटना नं २ –
२०५२ साल फागुन २४ गते धनुषाको बेंगाडाबर गा.बि.स. बडहरी बजारबाट जमुना गाउँतर्फ जान लाग्दा बाटो बीचको चौरीमा सांझ ७ बजे तिर, माईति घर बाट आउदै गरेकी स्थानिय एक महिलालाई जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरेको बुढाथोकी माथि अभियोग लाग्यो ।

घटना नं ३–
२०५२ साल चैत्र २३ गते अन्दाजी ४ बजे तिर धनुषा जिल्लाको ढल्केवर देखि उत्तर तर्फ दमार जंगलबाट ढल्केवर जाने गोरेटो नजिकै निलो चोली, बुट्टा भएको कुर्था र कलेजी रङको सल लगाएर बाख्रा लिएर आएकी १७ बर्षीया स्थानिय एक किशोरिलाई करणी गर्ने मनसायले समातेर जंगल तर्फ लैजादै गर्दा मानिस बोलेको जस्तो लागी करणी गर्न नसकी घांटी थिची हत्या गरेकोमा चैत्र २६ गते मात्र शव फेला पारी आवश्यक कानूनी प्रक्रिया पुरा गरिएको थियो । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।

घटना नं ४–
२०५३ साल जेष्ठ ६ गते दिउसो अन्दाजी ४ बजेको समयमा धनुषा जिल्लाको ढल्केवर देखि पूर्व तर्फ रहेको जंगलमा बाख्रा चराएर आउँदै गरेको, कालो रङको हाफ ब्लाउज, गुलावी पहेलो रङको साडी र दुवै हातमा चांदीको बाला, नाकमा फुली लगाएकी, बर्ष ६१ की स्थानिय महिलालाई गोरेटो देखि पश्चिम तर्फ घिसार्दै लगि घांटी थिची मारे पछि सेतो रङको गम्छाले घांटी बांधेर छोडी दिएको थियो । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।

घटना नं ५–
२०५३ साल असार महिनाको शनिबारको दिन । महोत्तरी जिल्लाको बर्दिबासबाट पश्चिम तर्फ बनपाले अफिस नजिक जंगलमा पात टिप्न लागेकी २५ र २६ बर्षकी दुई जना महिलालाई जबरजस्ती समातेर लगी जंगलमा पुर्याएको । अनि ढुगांमा टाउको ठोक्काउँदा कन्चटबाट रगत बगेर हलचल गर्न छाडेपछि त्यही ठाउमा छाडी भागेको । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।

घटना नं ६–
२०५३ साल श्रावण महिना । २१ गते विहान ११ बजे धनुषा जिल्लाको लालगढ बजार तर्फ रहेको जंगल हुँदै च्यानडांडा तल रहेको सयपत्री खोलामा एक्लै बाख्रा चराईरहेकी एक महिला । हातमा हँसिया, छेउमा चप्पल र सालको पात समेत राखेर बसेकी । साडी र चोलो लगाएकी महिलालाई घास काट्न भनी हँसिया मागी खोला किनार तिर लगेको । खोलाको बीचमा भएको ढिस्कोको दक्षिण तर्फ लगि जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरेको । निजको साथमा रहेको हरियो रङको गम्छाले घांटीमा २ फन्को बेरेर छाडी दिएको थियो । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।

घटना नं ७–
२०५३ साल असार ९ गते महोत्तरी जिल्लाको बर्दिबास भन्दा पश्चिम तर्फ रहेको जंगलमा गुलाबी रङको फ्रक, निलो ब्लाउज लगाएकी, बर्ष २० की शारीरिक रुपमा असक्त महिला । उनलाई घाटी थिची करणी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घांटी थिची मारी छाडेको थियो । शव अषाढ १० गते फेला पारिएको । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।

प्रहरीको सिआईबिले घटनाहरूको थप अनुसन्धान तथा मुद्दा दर्ता गर्नका लागि ७ अषाढ २०७३ मा इलाका प्रहरी कार्यालय बर्दिवासलाई बुझाएको थियो । सिआईबिले करिब ३२ वटा मुद्दाहरूमा बुढाथोकी अभियूक्त रहेको दावी गरेपनि इलाका प्रहरी कार्यालय बर्दिवासले एउटा महिलाको हत्या गरेको अभियोगमा मात्र मुद्दा चलायो ।

११ अषाढ २०५३ मा दिनको १२ः३० बजेको समयमा महोत्तरी जिल्लाको बर्दिवास भन्दा पश्चिम तर्फ माईस्थान गाविस वडा नम्बर ३ अवस्थित जंगलमा अन्दाजी १७/१८ बर्षकी लाटी केटीलाई घाँटी थिचि करनी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घाँटी थिचि मारि छाडेको अभियोगमा बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बर्दिवासले महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरायो ।

बुढाथोकी अहिले जवरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा पुर्पक्षमा थुनिएका छन् । महोत्तरी जिल्ला अदालत जलेश्वरका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासबाट गरिएको आदेशमा ८ अषाढ २०७३ मा मुद्दाको पुर्पक्षको लागि बुढाथोकीलाई जलेश्वर कारागारमा पठाइएको छ । उक्त मुद्दामा उच्च अदालत जनकपुरका न्यायाधीशद्वय मोहम्मद साविर हुसैन र ठाकुर प्रसाद शर्मा पौडेलको इजलासले ८ अषाढ २०७३ मा महोत्तरी जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गरेको छ ।

बुढाथोकी पहिले देखि नै कारागारमा

सिआईबिले यसरी २० बर्ष देखि फरार रहेका सिरियल किलर बुढाथोकीलाई पक्राउ गरेको दावी झुठो ठहरिएको छ । लोकान्तर खोजले बुढाथोकी यस अघि पहिले नै बलात्कार तथा हत्या मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय पाईरहेका व्यक्ति हुन ।

सिआईबिले बुढाथोकीलाई सार्वजनिक गरिरहेको अवस्थामा पनि उनी कारागारमै हुनुपर्ने हो । खोज गर्दै जाँदा के पाइएको छ भने १० अषाढ २०५४ मा नै उनलाई सर्वस्व सहित जन्मकैदको सजाय धनुषा जिल्ला अदालतले दिईसकेको छ । फैसला भएको समय उनी थुनामै थिए । र, महोत्तरीको जलेश्वर कारागारमा थुनामा रहेका थिए ।

उनी कारागारबाट फरार कहिले र कसरी भए वा कसले सघयो ? भन्ने प्रश्न उब्जेको देखिन्छ । के उनी जेल गएकै थिएनन् ? जेल जाँदा अदालतले दुईवटा अलग मुद्दामा सफाई पाईसकेपछि सर्वस्व सहित जन्मकैदको अर्को फैसलाको पत्र ढिलो पठाएर उनलाई रिहा गर्न मद्दत गरेको हो ? जेल तोडेर फरार भएका हुन् ? अस्पतालमा उपचारका क्रममा लगिएको बेला फरार भएका हुन् ? एउटा जेलबाट अर्को जेलमा पठाउँदा फरार भएका हुन् ? जलेश्वर जेलबाट वा काठमाण्डौको कारागारबाट फरार भएका हुन् त ?

फरार बुढाथोकीलाई पक्राय गरिएको दाबी गर्ने प्रहरीको सिआइबी सामु यि प्रश्न उब्जिएका छन् । पहिले देखि नै थुनमा रहेका व्यक्ति कसरि फरार भए भनेर प्रहरीले जवाफ दिनुपर्ने देखिएको छ । फरार भएकै हुन् भने कहिले र कहाँबाट फरार भएका हुन् भनेर प्रहरीले तथ्य दिन सकेको छैन । फरार हुँदा कसको गल्ती र जिम्मेवारी देखिन्छ, त्यसमा छानबीन गर्ने कि नगर्ने भन्ने प्रश्न पनि उब्जिएको छ । जेलमा रहेको अभियुक्तलाई फरार गराउनेमाथि कारवाही हुनुपर्ने हो वा होइन भन्ने विषयमा पनि नेपाल प्रहरीमाथि प्रश्न उठेको छ ।

के उनले आफ्नो सजाय माफी मिनहा पाएका हुन ? यदि पाएकै हुन भने कम्तिमा पनि ५० प्रतिशत भन्दा वढी सजाय भुक्तान गरिसकेको हुनुपर्दछ र अनि जेल भित्र राम्रो आचरण भएमा मात्र कारागार व्यवस्थापन विभागले गरेको सिफारिस अनुसार राष्टू प्रमुखले माफी मिनहा गर्ने परम्परा छ ।

तर, उनले आधा भन्दा वढी सजाय प्राप्त गर्न २०६४ साल गुजारिसकेको हुनुपर्दथ्यो । यस्तो अवस्थामा उनलाई सिआईबिले २० बर्षदेखि फरार रहेको अभियूक्त भारतबाट पक्राउ परेको दाबीमा पुष्टि हुने आधार देखिदैन ।

यता महोत्तरीको जलेश्वर कारागार शाखाका जेलर सोभेन्द्र ठाकुरले बुढाथोकी सर्वस्व सहित जन्मकैद सजाय भुक्तान गर्न जलेश्वर कारागारमा बसेको देखिएपनि पछि उनलाई काठमाण्डौ कारागारमा पठाइएकोले उनी कहिले कसरी फरार भए भनेर आफूले बताउन नसक्ने उल्लेख गरे ।

धनुषा जिल्ला अदालतको लगत हेर्दा बुढाथोकीले ८ मंसिर २०६१ मा कारागार शाखा जगन्नाथ देवल त्रिपुरेश्वर काठमाण्डौ अन्तरगत सेन्टरमा थुनामा रहेको बेला सुरु जिल्ला अदालतको फैसला र फैसला सँग सम्बन्धित कैदीपुर्जी र नक्कल उपलब्ध गराईदिन निवेदन लेखेको देखिन्छ । उक्त निवेदन कारागार शाखा, काठमाण्डौ मार्फत धनुषा जिल्ला अदालतलाई १४ मंसिर २०६१ मा पठाएको पत्राचार भेटिन्छ ।

फेरी जवाफमा २ पुष २०६१ मा फैसलाको प्रतिलिपी धनुषा जिल्ला अदालतले कारागार शाखा काठमाण्डौलाई पठाएको समेत पत्र भेटिन्छ । यसरी हेर्ने हो भने बुढाथोकी २०६१ मंसिर देखि पुषसम्म काठमाण्डौ कारागारमा बन्दीको रुपमा रहेको पाइन्छ ।

जलेश्वर कारागारमा अहिले अर्को मुद्दाको पुर्पक्षको रुपमा थुनामा रहेका बुढाथोकीसँग कारागारमै पुगेर लोकान्तर प्रतिनिधिले भेट गरेको थिया । उनले आफु कारागारबाट फरार नभई २०६१/०६२ तिर आम माफि मिनहामा रिहा भएको दाबी गरे ।

रिहा भएपछि रोजगारीका लागि भारतको नयाँ दिल्ली स्थित नोएडामा काम गरेको बुढाथोकीले लोकान्तरलाई बताए । बुढाथोकीले आम माफि मिनहामा रिहा भएको बताएपनि उनीसँग रिहा भएको कागज प्रमाण छैन । अर्को तर्फ कैदीले कैद सजाय मिनाहा पाउनका लागि कम्तिमा पनि आधा सजाय काटेकै हुनुपर्छ । २०५४ सालमा सर्बस्व सहित जन्मकैद पाएका व्यक्ति रिहा पाउन २०६४ साल कटेकै हुनुपर्छ । तर बुढाथोकी २०६१/०६२ साल तिर रिहा भएको दाबी गर्छन् ।

अर्को तर्फ २९ बैशाख २०७३ मा इलाका प्रहरी कार्यालय बर्दिवासले केन्द्रिय कारागार काठमाण्डौलाई इमेल मार्फत प्रेम भन्ने मान बहादुर बुढाथोकीका बारेमा सोधेको पाइन्छ । कर्तव्य ज्यान मुद्दामा कारागार कार्यालय जलेश्वर थुनाबाट १४ पुष २०५५ मा पत्रसाथ केन्द्रिय कारागार काठमाण्डौ चलान भएको कारागार कार्यालय जलेश्वर महोत्तरीबाट बुझिन आएको हुँदा निज प्रतिवादी बुढाथोकी त्यहाँ कारागारमा थुनामा छन् छैनन् भनि सोधेको देखिन्छ ।

छुटेको भए कुन मितिमा छुटेको हो त्यसको विवरण उपलब्ध गराईदिन अनुरोध गरेको देखिन्छ । ६ जेष्ठ २०७३ मा कारागार व्यवस्थापन विभाग कारागार कार्यालय काठमाण्डौले बुढाथोकी कर्तव्य ज्यान मुद्दामा १५ पुष २०५५ मा यस कार्यालय अन्तरगतको कारागारमा थुनामा रहेको अभिलेखबाट देखिएको वतायो । तर त्यसपछि त्यस कार्यालयमा थुनामा रहेको नदेखिएको साथै निज थुनाबाट छुटकारा भएको कार्यालयको अभिलेख फेला पार्न नसकेको हुँदा छुट्काराको यकिन मिति पठाउन नसकिएको जवाफ दियो । यसरी हेर्ने हो भने कारागार कार्यालय काठमाण्डौले पनि बुढाथोकी कारागारबाट कहिले छुटे भन्ने यकिन गर्न सकेको देखिदैन । यो पृष्ठभूमिमा बुढाथोकीको विगतको अनुसन्धान गर्नु आवश्यक देखिन्छ ।

धनुषा जिल्ला अदालतको विगतको फैसला

घटना २०५३ साल तिरको । धनुषाको ढल्केवर र महोत्तरीको बर्दिवास वरपर रहेका गाउँका महिलाहरूको लाश एक एक महिनामा जंगलमा फेला पर्न थालेका थिए । केही समय देखि विभिन्न कामको शिलशिलामा जंगलमा गएका
महिलाहरूको बलात्कार गरी हत्या गर्ने गरेको घटना बढ्न थालेका थिए । ती घटनाहरूकै सम्बन्धमा अपराधि पत्ता लगाउँदै जाने क्रममा धनुषा प्रहरीले १ असोज २०५३ मा ढल्केवर बजारमा फेकु श्रेष्ठको संगम होटेलमा काम गर्ने प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई पक्राउ गरे ।

होटेल देखि ४ किलोमिटर उत्तर एकलेवर जंगलको छेउमा संदिग्ध अवस्थामा फेला पारी स्थानीय गाउँलेहरूको मद्दतले बुढाथोकीलाई घेरा हाली पक्राउ गरी सोध्दा एक जना महिलालाई जवरजस्ती करणी गरी ज्यान मारेको कुरा तत्काल खुल्न आएको तत्कालिन प्रहरी नायव निरीक्षक इन्द्रबहादुर गुरुङ्गको प्रतिवेदनमा उल्लेख छ ।

जंगलमा प्रहरीले संदिग्ध अवस्थामा बुढाथोकीलाई देखेपछि उनी भाग्न थाले । प्रहरीले पख पख भनेपछि सो व्यक्तिको हिडाई अरु बढ्न थाल्यो । त्यहाँ रहेका स्थानीयवासीले समेत बुढाथोकीलाइ घेरा हाले । प्रहरीले कता जान लागेको भनि सोधेपुछ गर्न थाल्यो । उसले छिनछिनमा कुरा बदल्न थाले । सोध्दै जाँदा ६ जना महिलालाई करणी गरी मारेको खुलासा गरेपछि स्थानीयवासी र प्रहरी समेत आश्चर्य चकित भएका थिए ।

पक्राउ परेका बुढाथोकीलाई अभियूक्त बनाई विभिन्न ४ जना महिलाहरूलाई बलात्कार गरी हत्या गरेको भन्दै धनुषा प्रहरीले सरकारी वकिल कार्यालय मार्फत धनुषा जिल्ला अदालतमा ४ वटा मुद्दाहरू दर्ता गर्यो । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयानको आधारमा मात्र कसुरदार ठहर्याउन नमिल्ने हुँदा अभियोग दावी बमोजिम प्रतिवादी प्रेम भन्ने मानबहादुर बुढाथोकीले जवरजस्ती करणी गरी मृतक दुई महिलाको ज्यान मारेको हुने तथ्य यूक्त सबुद प्रमाण नदेखिँदा अभियोग दावी बमोजिम कर्तव्य गरी ज्यान मारेको ठहर्दैन, सफाई पाउने ठहर्छ भन्दै न्यायाधीश दिपक कुमार कार्कीको इजलासले १० अषाढ २०५४ मा बुढाथोकीलाई सफाई दिएका थिए ।

तर, सोही इजलासले सोही दिन अन्य दुई मुद्दामा दुई जना महिलाको जवरजस्ती करणी गरी हत्या गरेको कसुरमा सर्बस्व सहित जन्मकैदको फैसला गरेको थियो । अधिकार प्राप्त अधिकारी र धनुषा जिल्ला अदालतमा समेत दुई जना महिलालाई मारेको हुँ भनि कसुर गरेमा सावित भई बयान गरेको, पोष्टमार्टम तथा लाश जाँच प्रवृति मुचुल्का समेतबाट ती महिलाहरूको हत्या गरेको, साक्षी समेत अदालतमा उपस्थित भई बक पत्र गरेको हुनाले बुढाथोकीले यी दुई महिलाको कर्तव्य गरी ज्यान मारेको ठहर्छ भन्दै बुढाथोकीलाई सर्बस्व सहित जन्मकैदको सजाय फैसला गरिएको थियो ।

फैसला हुनुभन्दा अघि प्रहरीले बुढाथोकीलाई पक्राउ गरि अदालतमा उपस्थित गराउँदा अदालतले थुनछेक मुद्दामा जलेश्वर कारागारमा पठाएको पाइन्छ । फैसला हुँदा समेत २ असोज २०५३ देखि प्रतिवादी प्रहरी हिरासतमा रहि मुद्दा पुर्पक्षको लागि कारागार शाखा जलेश्वरमा थुनामा रहेको फैसलामा उल्लेख छ । यसरी हेर्ने हो भने बुढाथोकी २०७३ असोज १ गतेसम्म जेलमा रहनु पर्दछ ।

पछि सोही मुद्दामा २ भदौ २०५६ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय कृष्ण प्रसाद श्रेष्ठ र गोविन्द प्रसाद पराजुलीको संयुक्त इजलासले पनि धनुषा जिल्ला अदालतको फैसलालाई नै ठहर गरेको थियो । त्यसैगरी २९ साउन २०६० मा सर्बोच्च अदालतका न्यायाधीशद्वय गोपाल प्रसाद खत्री र बलिराम कुमारको संयूक्त इजलासले पनि जिल्ला अदालत र पुनरावेदन अदालतकै फैसलालाई नै ठहर गरेको थियो ।

के उनी मानसिक रोगी हुन त ?

धनुषा जिल्ला अदालतमै सुरुकै अवस्थामा प्रेम भन्ने मानवहादुर बुढाथोकीलाई अदालतमा उपस्थित गराउँदा प्रतिवादी बुढाथोकीका तर्फबाट बहस गरिरहेका तत्कालिन बैतनिक वकिल मुकेश कुमार कार्कीले प्रतिवादी मानसिक रोगी रहेको तर्क प्रस्तुत गरेका थिए । त्यसपछि अदालतका न्यायाधीश दिपक कुमार कार्कीले के ठहर गरे भने निज प्रतिवादीको मानसिक संतुलन ठिक नरहेको भन्ने कतै पनि उल्लेख भएको नदेखिँदा उक्त कुरासँग सहमत हुन सकिएन । हुन त जिल्ला अदालतले पनि मानसिक संतुलनको जाँच गराउने आदेश दिन सक्दथ्यो । तर, त्यो नगरिकन फैसला गरिएपनि पुनरावेदन अदालत जनकपुरले भने उनको मानसिक संतुलनका विषयमा सरकारी अस्पतालबाट जाँच गराएको पाइन्छ ।

प्रतिवादीका पक्षबाट बैतनिक वकिल मुकेश कुमार कार्कीले मेरो पक्षको मानसिक संतुलन ठिक नरहेको भनि जिकिर लिए पश्चात पुनरावेदन अदालत जनकपुरले प्रतिवादीको मानसिक रोग विशेषज्ञद्वारा जाँच गराई प्रतिवेदन आएपछि पेश गर्नुभन्ने आदेश गरेका थिए । आदेश पश्चात २४ अषाढ २०५६ मा मानसिक अस्पतालले कारागार शाखा काठमाण्डौलाई लेखेको पत्रमा निजको मानसिक स्थिति सामान्य देखिएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ ।

को हुन बुढाथोकी ?

बारा, डुमरवाना गा. वि. स. – ६, खोर गाँउका भिम बहादुर बुढाथोकीका छोरा हुन प्रेम भन्ने मानवहादुर बुढाथोकी । प्रेमको घर परिवारमा बुवा, आमा, दिदी, भाई, एक जना सँगै श्रीमति र उनको तर्फबाट एक–एक छोरा छोरीका साथै पहिले श्रीमतिको तर्फबाट समेत एक छोरा रहेका छन् । १ असोज २०५३ मा पहिलो पटक धनुषा प्रहरीले पक्राउ गर्नु अघि करिब १०÷११ बर्ष पहिले मान बहादुर काठमाण्डौको बालाजु नागार्जुन स्थित नुवाकोट त्रिशुली बस्ने गोविन्द केसीको कटिङ उद्योगमा २ बर्ष काम गरेका थिए । काम गरिरहेकै अवधिमा मान बहादुरले एक जना राई केटीलाई श्रीमति बनाई एक महिना जति सँगै राखेर पछि छाडिदिए ।

त्यसपछि लाजिम्पाट स्थित लव गारमेन्टमा करिब ७/८ महिना जति काम गरेर छाडिदिएका थिए । फेरी सितापाइला स्थित एउटा राईस मिल्समा करिब ३/४ महिना जति काम गरेर आफ्नो घर फर्किएका थिए । गाउँमै खेतीपाती गरिरहेको अवस्थामा सोही गाउँका एक जना बनपाले की श्रीमतिलाई भगाई विवाह गरी श्रीमति बनाई उनी पक्राउ पर्नु अघिसम्म आफ्नै साथमा राखेका थिए । घरमा झगडा भएपछि घरबाट भागेर रौतहटको चन्द्रनिगाहपुरमा आई सिन्दुर होटेलमा भाँडा माँझ्ने काम गरी बसिरहेका थिए । त्यहाँबाट श्रीमति र सासुलाई लिएर धनुषाको ढल्केवर स्थित संगम होटेलमा कामदारका रुपमा काम गरिरहेका बेला धनुषा र महोत्तरीका महिलाहरूलाई बलात्कार गरी हत्या गर्ने गरेका थिए ।




सोमवार, बैशाख २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार