Ruslan
Tata /sipradi
Nic Asia

खोज

त्रिविमा अनियमितता, लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

सुवास भट्ट

काठमाडौं, २२ पुस – नेपालकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा चरम अनियमितता पर्दाफास भएको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन नं. ७ र ८ अन्तर्गत लिएको गणित विषयको खुला र आन्तरिक उपप्राध्यापक परीक्षामा व्यापक अनियमितता भएको फेला परेको हो ।

गत साल भएको उक्त परीक्षामा चरम अनियमितता भएको भन्ने उजुरीका आधारमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनले यस्तो तथ्य बाहिर निकालेको हो । केन्द्रले गत मंसिर २२ गतेदेखि ३० गतेसम्म यस विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो ।

केन्द्रले त्रिविको परीक्षामा व्यापक अनियमितता भएको प्रमाण तयार गरी थप अध्ययन र कारवाहीका लागि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

पास गराउने नाममा लाखौं असुली
केन्द्रले गरेको अध्ययनले त्रिवि आयोगले परीक्षार्थीलाई पास गराउने नाममा लाखौं रुपैयाँ असुली गरेको देखाएको छ । प्रश्नपत्र निर्माण विज्ञ रामविश्वास शाह र र चेतनाथ भट्टले परीक्षार्थीलाई पास गराउने नाममा अकुत पैसाको सौदाबाजी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रश्नपत्रविज्ञ भट्टले लाखौंमा प्रश्नपत्र बेचे
प्रश्नपत्र निर्माणविज्ञ चेतराज भट्टले प्रश्नपत्र हल गरी विभिन्न व्यक्तिलाई बाँडेको तथ्य केन्द्रको अनुगमन टोलीले फेला पारेको थियो । उनीमाथि परीक्षा हुनुभन्दा पहिले त्यसमा सोधिएका प्रश्नहरू पृथ्वीनारायण क्याम्पस पोखरा पढाउने शिक्षक रामदत्त भट्ट र त्रिचन्द्रका शिक्षक नन्दकिशोर सिंहमार्फत लाखौं रुपैया लिई बजारमा बिक्री गरेको उजुरी परेको थियो ।

विज्ञ भट्टले प्रश्नपत्र हल गरी विभिन्न व्यक्तिलाई बेचेको स्वयंले लिखित रूपमा छानबिन समितिलाई जानकारी दिइसकेका छन् ।

शाहले आफ्नै छोरीज्वाईंको उत्तरपुस्तिका जाँचे
अर्का प्रश्नपत्र निर्माणविज्ञ शाहले आफ्नै छोरीज्वाइँको उत्तरपुस्तिका जाँच गरेको केन्द्रको अनुगमन टोलीले फेला पारेको थियो । गणित विज्ञान विषयको दोस्रो खण्डका परीक्षापत्र जाँचक शाहले आफ्नै छोरी ज्वाइँ अमरनाथ शाहको उत्तरपुस्तिका जाँच गरका थिए । अमरनाथ उक्त परीक्षामा पास भइसकेका छन् ।

आफ्नै छोरीज्वाइँ अमरनाथको उत्तरपुस्तिका आफूले जाँच गरेको लिखित स्वीकार शाहले गरिसकेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

त्रिवि शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम – २०५० का अनुसार यस्तो कार्य पदाधिकारीले गर्न पाउँदैन । अख्तियार पाएको कुनै पदाधिकारी, शिक्षक, कर्मचारी वा विश्वविद्यालय वा विश्वविद्यालय सेवा आयोगसँग सम्बन्धित कुनै व्यक्तिले आफ्नो नाता पर्ने शिक्षक वा कर्मचारी वा व्यक्तिको बारेमा निर्णय लिनु हुँदैन ।

यस नियमको प्रयोजनका लागि नाता पर्ने कुनै शिक्षक, कर्मचारी वा व्यक्ति भन्नाले पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, आमाबुवा, सौतेनी आमा, बुहारी वा ज्वाइँ, दाजुभाइ, निजहरूका पत्नी तथा विवाहित महिला, कर्मचारीका हकमा निजको सासू, ससुरासमेतलाई जनाउँछ ।

त्यस्तै, शाहले परीक्षार्थीलाई पास गराउने नाममा लाखौं रुपैयाँको बार्गेनिङ गरेका उजुरी परेको थियो । स्वयं उजुरीकर्ता सुरेन्द्र यादवले शाहले परीक्षामा पास गराउन १० लाख रुपैयाँ माग गरेको बताएको प्रतिवेदनमा जनाइएको छ ।

आफूले भनेजति पैसा दिन नसक्दा फेल गराइएको र पैसा दिनेलाई पास गराइएको उनको उजुरीमा उल्लेख छ ।
यद्यपि, जाँचक शाहले यस विषयमा अनुगमन टोलीसमक्ष पास गराउन पैसा नमागेको बताएका छन् ।

आयोगको बदमासी – उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई पैसाको चलखेल
गणित विषयको उक्त परीक्षामा विभिन्न परिक्षार्थीहरूले आ–आफ्नो उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई आयोगका पदाधिकारी र जाँचकसँग सम्पर्क गरी रकम लेनदेनका आधारमा पासफेल गराएको उजुरी केन्द्र समक्ष परेको थियो ।

‘उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई उक्त संकेतका आधारमा रकम लेनदेन गरेको विषयमा समितिले माग गरेका उत्तरपुस्तिका उपलब्ध गराउन आयोगले अस्वीकार ग–यो,’ प्रतिवेदनमा भनिएको छ ।

आयोगले गत मंसिर २५ गते पत्र पठाई शिक्षक कर्मचारीसम्बन्धी नियम २०५० को नियम १०६ अनुसार आयोगले लिने सबै परीक्षासँग सम्बन्धित सबै प्रकारका अभिलेख गोप्य रहने कानूनी व्यवस्था रहेको भन्दै उत्तरपुस्तिका हेर्न दिन नमिल्ने जानकारी केन्द्रलाई गराएको थियो । गोप्यताका नाममा अधिकारप्राप्त निकायलाई कागजात उपलब्ध नगारइएको केन्द्रले बताएको छ ।

निवेदक कुमार गिरीले दोस्रो खण्डको परीक्षाको आफ्नो उत्तरपुस्तिकामा आफूलाई फेल गराउन आयोगका कर्मचारीले गोलो संकेत लगाएको उजुरी गरेका थिए ।

भूलसुधारको नाममा पटक–पटक परीक्षाको नतिजा फेरियो
उजुरीकर्ताले भूलसुधारको नाममा पटक–पटक परीक्षाको नतिजा फेरेको र यसको मुख्य कारण पैसाको चलखेल भएको उजुरी गरेका थिए । ‘भूलसुधारका नाममा पटक–पटक परीक्षाको नतिजा फेरिएको बारेमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ,’ केन्द्रको प्रतिवेदनमा भनिएको छ ।

आयोगकै कारण धेरै विद्यार्थी अनुत्तीर्ण भए
केन्द्रले त्रिवि सेवा आयोगकै कारण अधिकांश विद्यार्थी फेल हुन पुगेका निष्कर्ष निकालेको छ । ‘देशकै प्रधानमन्त्री कुलपति हुने त्रिभुवन विश्वविद्यालयको प्राध्यापकहरूको नियुक्ति, सरुवा, बढुवा, परीक्षा सञ्चालनजस्ता सम्पूर्ण कार्य गर्ने त्रिवि सेवा आयोगको सूक्ष्म अध्ययन हुन आवश्यक छ,’ प्रतिवेदनमा सुझाइएको छ ।

आयोगले उक्त विज्ञापन अनुसार लिएको गणित विज्ञान विषयको लिखित परीक्षाको नतिजा पुनर्विचार गर्नुपर्ने केन्द्रले सुझाएको छ ।

उच्च पदाधिकारीले आफूअनुकूल ऐन, नियम संशोधन गरे
त्रिवि शिक्षा आयोगका उपल्ला तहका पदाधिकारीले आफूअनुकूल ऐन, नियम, निर्देशिका र कार्यविधि संशोधन गरेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । यस्तो मनोमानी संशोधन गर्ने परिपाटी तत्काल रोकी त्यससम्बन्धमा स्पष्ट कानूनी व्यवस्थाका लागि केन्द्रले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गरेको छ । केन्द्रले दोषीउपर कडा कानूनी कारवाही गर्न पनि सम्बन्धित निकायलाई निर्देश गरेको छ ।

को हुन् भट्ट र शाह ?
भट्टलाई त्रिवि सेवा आयोगले प्रश्नपत्र निर्माणविज्ञ तथा उत्तरपुस्तिका जाँच गर्ने विज्ञको रूपमा कार्ययोजनामा तोकिएबमोजिम त्रिवि कार्यकारी परिषद्बाट सिफारिस भई आयोगले पारित गरेको विशेषज्ञको रोस्टरमा राखेको छ । त्यस्तै भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने शिक्षक पनि प्रश्नपत्र निर्माण विज्ञ हुन्।

एउटै व्यक्ति विज्ञ, जाँचकी हुन नहुने
त्रिवि शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम – २०५० का अनुसार एउटै व्यक्तिलाई प्रश्नपत्र निर्माणविज्ञ र उत्तरपुस्तिका जाँचकको रूपमा राख्न पाइन्न । तर भट्ट र शाह दुवैजना प्रश्नपत्र निर्माणविज्ञ र जाँचक हुन् ।

आफ्नो सेवा र पदअनुसारको आचरण गर्नुपर्ने, शिक्षक तथा कर्मचारीले विश्वविद्यालयभित्र वा बाहिर आफ्नो बौद्धिक तथा प्राज्ञिक प्रतिष्ठा कायम रहनेगरी आफ्नो आचरण तथा नैतिकता शुद्ध, उच्च र पवित्र राख्नुपर्छ ।
शुक्रवार, पौष २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon