खोज/विशेष : खोज

आपराधिक समूह र भू–माफियाको दादागीरीले बढायो तराईमा पलायन, मलामी समेत पाउन गाह्रो [लोकान्तर खोज]

जनकपुरधाम, २२ असार– विभिन्न अपराधिक घटना, हत्या, धम्की, डर, सामाजीक असुरक्षा, अपराधिक समूह र भू–माफियाको दादागिरीले मध्य तराइबाट पलयायन हुने पहाडी समुदायकोस्थिति भयाभह देखिएको छ ।

विस्थापित हुनेमा सर्वसाधारण, शिक्षकदेखि कानुन व्यवसायी सम्म छन् । तराइमा कसरी र के कारणले भइरहेको छ पहाडी समुदायको पलायन ? हेरौं लोकान्तर डटकमको खोजपूर्ण रिपोर्ट:

घटना नं १
आन्तरिक राजश्व कार्यालय जनकपुरका कर्मचारी कुमार निरौलालाई जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका कार्यकर्ताहरुले ३० मंसिर २०६५ मा गोली प्रहार गरी हत्या गरे । मृतक निरौलाकी श्रीमति सुभद्रा निरौलाका अनुसार उनका पति खाना खाईरहेकै बेला श्रीमानको मोवाईलमा फोन आयो ।

तर फोन उनी आफैले उठाएकी थिईन् । को बोलेको भनेर सोध्दा ‘म तपाईको मित्र अविनाश मुक्ति’ भनेर जवाफ आयो । कुमार दाईलाई फोन दिनुस भनेर फोन गर्नेले भनेको उनी सम्झन्छिन् ।

‘मैले बुझें कि यो बदमाश मान्छे हो । त्यसकारण मैले झुट बोल्दै दाई त यहाँ हुनुहुन्न, काठमाण्डौ जानु भएको छ भन्दै जवाफ दिएँ । तँ झुठो बोल्छेस । अहिले भर्खरै जानकी मन्दिरबाट माला लगाई आएको होइन ? म पनि पछि पछि आएको हो भनेर मलाई धम्की दिएपछि मैले फोन काटें’ सुभद्राले सम्झिइन् ।

आफूले अविनाश मुक्ति को हो भनेर सोध्दा श्रीमान्ले केही पनि होईन, तेल मागिराखेका होलान्, चन्दा मागि रहन्छन्, आत्तिनुपर्दैन भनेर आफूलाई जवाफ दिएको उनले बताइन् ।

आफूले त्यस दिन कार्यालय नजान आग्रह गरेपनि श्रीमानले नमानेको उनको भनाइ छ । घरमा एक महिनाकी सुत्केरी छोरी पनि थिईन । तर, उहाँले मान्नु भएन । जानै पर्छ अफिस त । हाकिमहरु त्यस्तालाई चन्दा दिँदैनन् । मैले नै सबै सम्हाल्नुपर्छ । फेरी अफिसमा काम पनि धेरै छ । जानै पर्छ भन्दै उहाँ घरबाट अफिसका लागि हिँड्नु भयो’ उनले सुनाइन् ।

घरबाट उहाँ निस्केको केही मिनेटमै सडकमै उहाँलाई गोली हानेर अपराधिहरु फरार भईसकेको उनले पछि थाहा पाइन् ।

‘गोली पड्केको आवाज सुन्ने वित्तिकै मलाई उहाँलाई त मारिदिएन भन्ने लाग्यो । चिच्याउँदै सडकमा गएपछि उहाँको कम्मरमा पेस्तोल गडेको देखें । म त्यही बेहोस भएँ । मलाई पनि जनकपुर अञ्चल अस्पताल लगिएको रहेछ । दवाई खुवाई राख्दै गरेका रहेछन्, मलाई त्यहाँ । उहाँ त घटना स्थलमै वितिसक्नु भएको थियो ।

लोकान्तरका प्रतिनिधिसँग निरौलाकी पत्नी सुभद्राले गहभरी आँशु झार्दै त्यो दिन जसोतसो स्मरण गर्न सकेकी थिईन ।

अविनाश मुक्ति राजन मुक्ति समुह धनुषाका कमाण्डर थिए । पछि उनी बार्ता कालमा सार्वजनिक भएका बेला स्थानीयवासीहरुको कुटाईबाट मारिएका थिए ।
मृतक निरौलाकी पत्नी सुभद्रा निरौला मृतक पतीको तस्वीर साथ 


निरौलाको कोईकसैसँग दुश्मनी थिएन । विगतमा माओवादीहरुले चन्दा माग्दा चन्दा उनले दिएकै थिए । २०६४ सालमा सात/आठ जना माओवादीहरु हातहतियार सहितै जनकपुरको निवासमा आएका थिए । उनीहरुले ५० लाख रुपैयाँ चन्दा मागेका थिए । ‘तर, हामीले १ लाख त देखेका छैनौं । ५० लाख कहाँबाट दिने भनेर भन्दा तेरो घरमा हामी राति बम हान्छौं भन्दै दुई जना माओवादी त राति पनि घरमै बसे । अन्ततः हामीले २५ हजार रुपैयाँ चन्दा दिन बाध्य भयौं ।’ शुभद्राले भनिन् ।

अब तपाईहरु डराउनु पर्दैन, हामी भएपछि तपाईहरुलाई कसैले केही गर्न सक्दैनन्, भन्दै ती माओवादीहरु फर्किएको उनको भनाइ छ । उक्त घटनाको १०/१५ दिन पछि साँझको समयमा घरको अगाडी गेटमै २÷४ जनाको समुहमा आएका व्यक्तिहरुले दुई फायरिङ्ग गरेका थिए ।

‘त्यसपछि मेरो घरको छतमा आएर बम राखिदिएको रहेछ । मैले त्यो केही सामान हो कि भनेर घरमा लगेर राखेको थिएँ । पछि एक जना भाईले त्यो बम हो भनेपछि बारीमा फालें । पुलिसलाई खबर गरेपछि बम डिस्पोज गरियो । बम त निकै ठुलो रहेछ । ठुलै आवाज आएको थियो । धन्न त्यो बम विस्फोट घरमा भएनछ, र हामी बाँच्यौं’ सुभद्रा निरौला सम्झिन्छन्, ‘उहाँको हत्या भएको अघिल्लो दिनसम्म विरामी हुनुहुन्थ्यो । किड्नीमा पथ्थरी रहेका कारण काठमाण्डौको ओम हस्पिटलमा ३ महिनासम्म भर्ना भई अप्रेशन गरिएको थियो । हामी अध्यात्मिक मान्छे भएका कारण पनि दुई तीन महिनामा एक पटक जानकी मन्दिरमा साधुहरुलाई भण्डारा खुवाउँथ्यौं । त्यो दिन पनि हामी दुई जना जानकी मन्दिर गएर पूजा गरी फर्केका थियौं । उहाँ त्यो दिन अफिसको लागि नहिँडेको भए सायद आज बाँचेकै हुनुहुन्थ्यो ।’


निरौलाको हत्या भईसकेपछि तपाईको छोरालाई पनि मारिदिन्छ, तपाईलाई पनि मारिदिन्छ भन्दै केही मानिसले महिनौंसम्म घर बेचेर जान भनेको उनले बताइन् ।

‘तर जे हुन्छ हुन्छ म जान्न भनेर अठोट गरें । बरु आफु मर्नै परे यही मिथिलाधाममा मर्छु भन्दै एक छोरा र चार छोरीहरुलाई पाल्दै बसें । पछि त कतिसम्म भयो भने निरौला दाईलाई मार्ने मान्छेलाई ल्याईदिन्छु, १० लाख, ५ लाख रुपैयाँ दिनुस् भन्नेहरु पनि घरमा आए । तर, मैले कसैको कुरा सुनिन । राजन मुक्ति पक्राउ परेपछि मैले उसलाई हेर्न भने गएको थिएँ’ जनकपुरमै रहेकी सुभद्राले भनिन् “जे हुनु थियो त्यो भईसक्यो । अहिले यहाँ मलाई सबै छिमेकीले सम्मान दिईरहेका छन् । यहाँबाट विस्थापित भई काठमाण्डौ गएकाहरु फोनमा तपाईलाई त्यत्रो वित्यो तर पनि तपाईले डटेर परिस्थितिको मुकाविला गर्नुभयो । तर, हामी आफ्नो घरवार बेचेर काठमाण्डौ विस्थापित भयौं, नहुनु पर्ने रहेछ भन्ने गर्छन् ।”

घटना नं २

जनकपुर १ घर भई जनकपुर चुरोट कारखाना लिमिटेडमा कार्यरत कर्मचारी श्रवण कुमार श्रेष्ठको २१ बैशाख २०६२ मा गोली हानी हत्या गरियो । साँझ रक्सी खाने उनको वानी थियो । २० बैशाखका साँझ साथी भाईहरुसँगै खानपिन गर्न सदरमुकाम जनकपुरबाट ५/६ किलोमिटर पुर्व तारापट्टी सिरसियामा उनि गएका थिए ।

त्यहीबाट जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका भुमिगत गिरोहहरुले उनको अपहरण गरे । फिरौती पनि मागियो । १ देखि डेढलाख रुपैयाँसम्म फिरौती बुझाउने मोटामोटी कुरा मिलिसकेको थियो । तर, प्रहरीले त्यस एरियामा छापामारी तिब्र बनाएपछि ती अपराधिहरुले श्रेष्ठलाई गोली हानी हत्या गरी नदिको किनारमा फालिदिए । श्रेष्ठको हत्या भएको केही बर्ष पछि उनकी श्रीमति सरिता श्रेष्ठ जनकपुरको घर बेचेर काठमाण्डौ विस्थापित भइन् ।
जचुकालिका कर्मचारी श्रवण श्रेष्ठको भूमिगत समुहले अपहरण पश्चात हत्या गरेपछि उनका परिवारले जनकपुरको स्टेशन एरियास्थित घर बेचेर काठमाण्डौ पलायन भएका छन् 


जनकपुरको भानु चौकमा फर्निचरको पसल संचालन गरिरहेका मृतक श्रेष्ठका आफन्त समिर माथेमाका अनुसार जनकपुरमा उहाँहरुलाई बस्न गाह्रो भयो । केटा केटी पनि जनकपुरमा नबस्ने भएपछि घर बेचेर उनीहरु काठमाण्डौ पलायन हुन बाध्य भए ।

घटना ३

५ फागुन २०६५ मा जनकपुर चुरोट कारखाना लिमिटेडका सुपरभाईजर पदमा कार्यरत ४८ बर्षिय नरेन्द्र खाँतीको गोली हानी हत्या भयो । जनकपुर १ निवासी खाँतीलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका धनुषा इन्चार्ज सुर्यदेव सिंहले जनकपुर २ स्थित किशोरी नगरमा हिंडिरहेको अवस्थामा घाँटी र पेटमा नजिकबाट गोली हानी हत्या गरेका थिए ।

खाँती खेलाडी भएका कारण जनकपुर चुरोट कारखानाले जागिर दिएको थियो । खाँतीको हत्या पछि उनकी श्रीमति कमल खाँती, छोरा कृत खाँती र छोरी कृती खाँतीलाई लिएर काठमाण्डौ पलायन भइन् । जनकपुरमा रहेको घर बेचेर उनीहरु काठमाण्डौ बसोवास गरिरहेका छन् । जेठो दाई यूवराज खाँतीको छोरा अमेरिकामा रहेकाले उनी पनि काठमाण्डौमा छन् ।
जेठो छोरा यूवराज खाँतीको घरमा एक्लै बसोवास गरिरहेका मृतक खाँतीका ८३ बर्षिय बुवा टक बहादुर खाँती 

जेठो छोरा यूवराज खाँतीको जनकपुर स्थित घरमा एक्लै बसिरहेका मृतक नरेन्द्र खाँतीका बुवा टंक बहादुर खाँतीका अनुसार त्यो दिन भुमिगत समुहले कुनै न कुनै पहाडे मानिसलाई मार्ने योजना बनाएका थिए । ‘मेरै छोरालाई निशाना बनाएका रहेछन् । हुन त हामीले कसैको केही विगारेका थिएनौं तै पनि मेरो छोरालाई किन हत्या गरियो, अहिलेसम्म थाहा पाउन सकिएको छैन ।’

छोराको हत्या भएपछि बुहारीले जनकपुरको घर बेचेर काठमाण्डौ गएको उनको भनाइ छ ।

घटना नं ४

गौतम ढुङ्गेल (६२) जनकपुरको विद्यापति चौकमा पुस्तक पसल संचालन गरि जिविकोपार्जन गरिरहेका छन् । २०१२ सालमा जनकपुरमै जन्मिएका ढुङ्गेल विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छन् । गिरिराजमणि पोखरेल अनेरास्ववियूको अध्यक्ष भएका बेला ढुङ्गेल महासचिव थिए ।

लिलामणि पोखरेल अध्यक्ष भएका बेला उनी सचिव थिए । एकातिर पोखरेलद्वय अहिले नेकपा माओवादी केन्द्रको शिर्ष नेताको रुपमा स्थापित छन् भने अर्को तर्फ ढुङ्गेल माओवादी केन्द्रको धनुषाको जिल्ला स्तरीय कार्यकर्तामै सिमित हुनुपरेको छ भने आफ्नो जिविकोपार्जनको लागि जनकपुरमा पुस्तक पसल संचालन गर्नु परेको छ ।
दाजुभाईहरु काठमाण्डौ पलायन भईसके पनि जनकपुरको मुरली चौकमा पुस्तक पसल संचालन गर्दै गौतम ढुङ्गेल 


गौतम ढुङ्गेलका सहोदर ८ जना दाजुभाईहरु मध्ये ७ जना जनकपुरबाट विस्थापित भईसकेका छन् । मधेस मुक्तिको नाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समुहहरुको धम्की, मधेस आन्दोलनका दौरान पहाडे समुदायलाई लक्षित गरी गरिएको आक्रमणका कारण उनीहरु पलायन भएका थिए ।

गौतमका दाई केशव ढुङ्गेल जो नेपाली कांग्रेस धनुषाका उपसभापति तथा जनकपुर नगरपालिकाका वडा अध्यक्ष समेत भईसकेका व्यक्ति थिए, उनी पनि अन्ततः पलायन हुनु पर्यो । जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहका एक जना कमाण्डरले उनलाई ज्यान मार्ने धम्की दिएका थिए ।


उनको धम्कीलाई कांग्रेस धनुषाले पनि गम्भीरतापुर्वक लिन नसकेपछि अन्ततः उनी जनकपुरबाट पलायन भए । कांग्रेस भित्रका केही नेताहरु पनि ढुङ्गेल धपाइएपछि आफ्नो राजनीतिक करियर विग्रने ठानेर मौन नै बसे ।

गौतम ढुङ्गेल भन्छन, “२०६२/०६३ सालको प्रथम मधेस आन्दोलनका समय मेरो पुस्तक पसलमा आगजनी गर्न पनि आन्दोलनकारीहरु नआएका होइनन् । तर, घरबेटी प्रमोद झाले मेरो घर जलाउन दिन्न भनेपछि मात्र तिनीहरु फर्किए । अर्को दिन पसलमा ढुङ्गा मुढा गर्न आउँदा कृष्ण झाले रोकेका थिए ।”

मधेस आन्दोलनको दौरानमा २२ दिनसम्म कदम चौकको घरमा बाल बच्चा र परिवार सहित थुनिएर बस्नुपरेको ढुङ्गेलले बताए ।

उनका सबै दाजु भाई काठमाण्डौ पलायन भए पनि पसलबाट हुने आम्दानीले छोरा छोरी तथा परिवार पाल्न सकिने हुनाले गौतम पलायन हुन तयार भएनन् । ‘जे हुन्छ, देखा जाला, मैले कसैको केही विगार गरेको छैन, मलाई मारे पनि, नमारे पनि जनकपुर छोडेर जान्न, आत्मविश्वासका साथ जनकपुरमै बस्छु भनेर यतै बसेको छु,’ उनले भने ।


भूमिगत समुह र भूमाफियाका कारण पलायन

ढुङ्गेल परिवार  जनकपुरमा बर्षौं देखि बसोबास गर्दै आएका पहाडे समुदायहरु जनतान्त्रिक तराई मुक्ति मोर्चा, राजन मुक्ति भनिने रंजित झा, आकाश त्यागी भनिने राम यादव गरी दुई छु्ट्टाछुट्टै भुमिगत समुहको आतङ्क र मधेस आन्दोलनको क्रममा उच्छृङ्खल व्यक्तिहरुद्वारा भएको आक्रमणका कारण पलायन हुनु पर्यो ।


जनकपुरमा करिब १७ सय घर परिवार पहाडे समुदायका थिए । थापा चौक, मुर्ली चौक, कदम चौक, भानु चौक, किशोरी नगर, ब्रम्हपुरी, आनन्दनगर, पिडारी चौक, शान्तिनगर, लगायतका चौकहरुमा पहाडे समुदायहरुको सघन बसोवास थियो । माथि उल्लेखित समुहरुको आतंकका कारण जनकपुरबाट मात्रै करिब पहाडे समुदायका १४ सय घर परिवार पलायन भएका छन् । पहाडे समुदायहरुको ३ सय घर जति पनि अब जनकपुरमा नरहेको बताइन्छ ।
१२ मंसिर २०७० मा पक्राउ गरी ल्याइएका बायाँबाट क्रमशः पारस मुक्ति भन्ने राम सोभित यादव, राजन मुक्ति भन्ने रंजित झा र अजय मुक्ति भन्ने दिपक कुमार सिंहलाई धनुषा जिल्ला अदालतबाट बयान गराई जिल्ला प्रहरी कार्यालय लग्दै प्रहरी । फाईल तस्वीर 


जनकपुरका ‘हाइप्रोफाइल’ ठानिने परिवारका व्यक्तिहरु वरिष्ठ अधिवक्ताद्वय लक्ष्मी बहादुर निराला, रामजी प्रसाद मैनाली, जनकपुर चुरोट कारखानाका इन्जिनियर सुन्दर राज वली, जचुकालीकै क्षेत्रिय निर्देशक सुशिल कोइराला विस्थापित भएका छन् ।

जानकी माविका नेपाली विषयका शिक्षकद्वय केदार नेपाल, दुर्गा प्रसाद कोइराला, गणित विषयका शिक्षक दिलिप माथेमा जस्ता स्थापित शिक्षकहरु जनतान्त्रिकहरुको धम्की थेग्न नसकेपछि काठमाण्डौ सरुवा गराएर पलायन भए ।

त्यसैगरी ठेरा घर भई बेंगाडावर स्रोतकेन्द्रमा स्रोत व्यक्ति रहेका प्रयागराज काफ्ले पनि अन्ततः घर जग्गा बेचेर पलायन भए । राराब क्याम्पसका प्राध्यापकहरु ईश्वर उपाध्याय, बद्री दाहाल, माधव ढुङ्गाना लगायतले अन्यत्रै सरुवा गराएर त्यहाँबाट विस्थापित भए ।

त्यसैगरी जनकपुरमा बसेर राजनीति गर्नेहरु एमाले नेता सनत सुवेदी, जनमोर्चा नेपालका धनुषा अध्यक्ष लक्ष्मण सिंह, कांग्रेस धनुषाका उपसभापति केशव ढुङ्गेल लगायत थुप्रै नेताहरु पनि घर जग्गा बेचेर पलायन भएका छन् ।
कतिपय हुने खाने सम्पन्न व्यक्तिहरु राजधानी काठमाण्डौ गए, मध्यमवर्गीयहरु हेटौडा तिर गए भने नहुने व्यक्तिहरु बर्दीवास गौरीडाँडा, सिन्धुली लगायत आफन्तहरु बसोवास गरेको थातथलो र पायक पर्ने ठाउँतिर सरेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका जनकपुरका पूर्व मेयर कृष्ण गिरीले आफ्नो रामा होटेल बेचेर काठमाण्डौ जाने हल्ला पनि चल्यो । पछि उनी गएनन् । धनुषा निर्वाचन क्षेत्र नं.४ का पूर्व सांसद तथा राप्रपाका नेता कृष्ण प्रताप मल्ल पनि जनकपुरको घर बेचेर काठमाण्डौ गए । यसरी जनकपुरका पहाडे समुदायका नेतृत्वहरु, समाजका अगुवाहरु नै घर बेचेर पलायन हुन थालेपछि भू–माफियाहरु झन झन सलबलाउन थाले ।

जनकपुरमा बसोवास गरिरहेका समिर माथेमा भन्छन, “त्यसपछि त के भयो भने जनकपुरमा पहाडे समुदायको मरन हरणमा मलामी जाने मान्छे समेत भेटिएनन् । जनकपुरको देवी चौकमा श्रेष्ठ थरका एक जना हवलदार मरिसकेपछि मलामी जाने जम्मा ३/४ जना मात्र थिए । मरन हरण, विवाह आदीमा आफ्नो समुदायका मान्छे नरहने हो भने धेरै गाह्रो हुन्छ । त्यसैले धेरै मानिसहरु अहिले पनि पलायनको क्रममा छन् ।”

जनकपुरमा अहिले पहाडे समुदायहरुलाई कहि कतैबाट कुनै किसिमको खतरा छैन । भूमिगत समुहहरु पनि अब सिद्धिए । तर पनि आफ्नो समुदायका मान्छेहरु नै नरहने भएपछि पहाडे समुदायहरु पलायन हुनुपर्ने बाध्यता रहेको माथेमा बताउँछन् । पहाडे समुदायहरुसँग गुठी थियो । गुठीका अध्यक्षहरु पनि यहाँ बसेनन् ।

गुठीको काम पहाडे समुदायमा कसैको उत्सव, मरन हरण हुँदा बाहुन, क्षेत्री, नेवार जुनसुकै समुदायका मानिसहरुलाई बोलाएर ल्याउने र संस्कार गराउने हुन्थ्यो । र, सामाजिक कामहरु पनि एक आपसमा मिलेर गर्नेगर्थे । तर, गुठी गईसकेपछि सबै विस्तारै पलायन हुने क्रम जारी छ ।

नेपाली कांग्रेस धनुषाका नेता तथा महाधिवेशन प्रतिनिधि प्रफुल्ल राज घिमिरेका अनुसार जनकपुरमा धेरै पहिले देखि बसोवास गरिरहेका पहाडे आदिवासीहरु, राजनीतिमा स्थापित भई बसोवास गरिरहेका अगुवाहरु नै त्रसित भई पलायन हुने क्रम बढेपछि बाँकी रहेका जनकपुरका पहाडेहरुमा पर्व, पूजापाठ, संस्कृति आदिमा ठुलै प्रभाव परेको छ ।

‘मिश्रित संस्कृतिको जुन प्रभाव थियो त्यो अब रहेन,’ उनले थपे । जनकपुरका पहाडे समुदायहरु पनि मधेसी समुदायले मनाउने पर्व होली, तिहार, छठ, चौरचन, तिज लगायतका पर्वहरु मनाउँथे ।

‘तर, अब त्यो अवस्था देखिँदैन । जसले गर्दा सांस्कृतिक तथा धार्मिक परम्परामा समेत ह्रास आएको छ’ उनले भने ।

पछिल्लो समयमा पहाडेहरुको पलायन निरन्तर रहेकोले त्यसलाई रोक्न यहाँका राजनीतिक दलहरुले एउटा माहौल बनाउनु देखिएको केही बुद्धिजीवीको भनाइ छ ।

जनकपुर धार्मिक तिर्थस्थलका रुपमा चिनिने भएका कारण पहाडे समुदायका बुढापाखाहरु मोक्ष प्राप्ति गर्नका लागि जनकपुरमै मृत्युवरण गर्ने उद्देश्यले बसिरहेका छन् । ती बुढापाखाहरुलाई संरक्षणका लागि तिनका छोराहरु हाल जनकपुरमा रहेपनि आउँदो पुस्ता पलायन हुने सम्भावनालाई नकार्न सकिन्न ।

नेपाली कांग्रेसका नेता घिमिरे भन्छन,“जनकपुर एउटा तिर्थ स्थल हो । भारतको बनारस र हरिद्वारमा मान्छे मोक्ष पाउने उद्देश्यले मृत्युवरण गर्न जसरी जान्छन् त्यसैगरी जनकपुरमा पनि पहाडे समुदायहरु आउने गर्छन् । कतिपय बसोवास गरेर बसिरहेकाहरुलाई पलायनहुनबाट रोक्नका लागि राजनीतिक दलहरुबाट पहलकदमी लिनु जरुरी देखिन्छ ।”

मधेस आन्दोलन र जनतान्त्रिक समुहहरुको धम्की मुख्य कारण त थियो नै तर, तिनीहरु पलायन हुनु पछाडी जनकपुरका भू–माफियाहरुको षडयन्त्र प्रमुख कारण रहेको बुद्धिजीवीकोभ भनाइ छ ।

त्यस्ता भू–माफियामा मधेसी र पहाडे समुदायका व्यक्तिहरु पनि थिए । ती भू–माफियाहरुको भुमिगत सशस्त्र संगठनहरुसँग मिलेमतो थियो । उनीहरुले यहाँ बसोवास गर्ने पहाडे समुदायको फोन नम्बर दिएर भुमिगत समुहबाट धम्की गराउने, ज्यान जोगाउन भन्दै ती पहाडे समुदायहरु बर्षौ देखि बसोवास गर्दै आएको घर घडेरी कौडीको भाउमा बेचेर जानु र अर्को तिर महँगो जग्गा किनेर बसोवास गरेका पहाडे समुदायहरुको पीडा शव्दमा व्यक्त गर्न नसकिने जनकपुरका अगुवाहरु बताउँछन् ।

पलायन भएका एक जना भन्छन,“सधंै जनकपुरमा बसियो, नयाँ ठाउँमा आएर बस्नु पर्दा घुलमिल गर्न धेरै गाह्रो परिरहेको छ । जसो तसो जीवन गुजार्नु परिरहेको छ । जनकपुरको सधैं याद आउँछ । माहौल शान्त भयो भनेर सुनेको छु । तर, त्यहाँ अब गएर बसोवास गर्न सकिने सामथर््य छैन । किनभने जनकपुरको जग्गा अब धेरै महँगो भईसक्यो ।”

तत्कालिन स्ववियूका सभापति ज्ञानेन्द्र यादव लगायत ३÷४ जना विद्यार्थी नेताहरुले असुरक्षित बनेका छात्राहरुलाई उद्दार गर्नु परेको थियो । खास गरी मधेस आन्दोलनका क्रममा विभिन्न मानिसहरु विभिन्न स्वार्थले लागेका थिए । केही मानिसहरु मुद्दा प्रति समर्पित थिए, कोही आन्दोलनकै आवरणमा लुट खसोट गर्ने स्वार्थले लागेका थिए ।

आन्दोलनलाई बदनाम गर्ने प्रवृतिका मानिसहरु पनि लागेको स्वीकार्दै यादव भन्छन,“ आन्दोलनका दौरान कोठा भाडा लिएर वस्ने पहाडे छात्राहरुको अस्मिता नै लुटिने हो कि भन्ने डर त्रास पनि थियो । आम हडतालका कारण सवारी साधन बन्द थियो । छात्राहरुलाई उच्छृङ्खल यूवाहरुले जिस्काउने काम गर्न थाले । अनि हामीले जनकपुर अञ्चल अस्पतालको नर्सिंङ क्याम्पस, रमदैया स्थित जानकी मेडिकल कलेज र राराब क्याम्पसका पहाडे छात्राहरुलाई उद्धार गरी वर्दीवास, सिन्धुली सहित सुरक्षित स्थान सम्म पु-यायौं ।”

पहाडे समुदायका पसलहरुमा आगजनी, लुटपाट, घरमा ढुङ्गा मुढाले आक्रमण हुन थाले पछि पहाडे समुदायहरु पलायन भएका छन् । त्यति हुँदा पनि राष्ट्रिय पार्टी दाबी गर्ने राजनीतिक दलहरुले समेत सुरक्षाको प्रत्याभुती गराउन नसक्नु, राज्य विफल भएको अवस्था हुनु सर्वदलिय संयन्त्रको वैठकबाट प्रेस विज्ञप्ती समेत जारी नभए पछि उनीहरु अन्ततः पलायन नै हुनु परेको जनकपुरका अगुावहरुको भनाइ छ ।

पलायनको निरन्तरता हालसम्म

जनकपुर उपमहानगरपालिका कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६४/०६५ मा ३ सय ७५ घरधुरी जनकपुरमा आएका थिए भने ४ सय १६ घरधुरी जनकपुरबाट बाहिर गए । त्यसैगरी आर्थिक बर्ष २०६५/०६६ मा ४ सय ३६ घरधुरी जनकपुरमा आएका थिए भने ५ सय ५ घरधुरी जनकपुरबाट बाहिर गए ।

त्यसैगरी आर्थिक बर्ष २०६६/०६७ मा ५ सय ४५ घरधुरी जनकपुरमा आएका थिए भने ७ सय ४६ घरधुरी जनकपुरबाट बाहिर हानिए । आर्थिक बर्ष २०६७/०६८ मा ४ सय ५६ घरधुरी जनकपुरमा आएका थिए भने ६ सय ६५ घरधुरी जनकपुरबाट बाहिरए ।

त्यसैगरी आर्थिक बर्ष २०६८/०६९ मा ४ सय २६ घरधुरी जनकपुरमा आएका थिए भने ३ सय ९३ घरधुरी जनकपुरबाट बाहिर गएको उपमहानगरपालिकाको तथ्याङ्क छ । आर्थिक बर्ष २०६९/०७० मा ४ सय २६ घरधुरी जनकपुरमा आएका थिए भने ३ सय ९३ घरधुरी जनकपुरबाट बाहिर गएको देखिन्छ । त्यसैगरी आर्थिक बर्ष २०७०/०७१ मा ४ सय ५० घरधुरी जनकपुरमा आएका थिए भने ५ सय ४० घरधुरी जनकपुरबाट बाहिर गएको भेटिएको छ ।

त्यसैगरी आर्थिक बर्ष २०७१/०७२ मा ३ सय ५६ घरधुरी जनकपुरमा आएका थिए भने ३ सय ६४ घरधुरी जनकपुरबाट बाहिरिएका थिए । आर्थिक बर्ष २०७२/०७३ मा १ सय ६४ घरधुरी जनकपुरमा आए भने २ सय ११ घरधुरी जनकपुरबाट बाहिरए ।

यसरी हेर्ने हो भने २०६२/०६३ को मधेस आन्दोलन पछि जनकपुरमा बसाईसराई गर्न आउनेहरुको संख्या भन्दा जनकपुरबाट पलायन भई बाहिर जानेहरुको संख्या वढ्दो क्रममा छ । प्रायः जसो गाउँघरमा रहेका मधेसी समुदायका व्यक्तिहरु सदरमुकाममा बसोवास गर्न आईरहेका छन् भने पहाडे समुदायका व्यक्तिहरु प्रत्येक बर्ष पलायन हुने क्रम जारी छ ।

जनकपुर उपमहानगरपालिकाको कार्यालयमा कार्यरत एक जना स्थानीय पहाडे समुदायका कर्मचारीको भनाई अनुसार जनकपुरमा अहिले पनि भूमाफियाहरुले पहाडे समुदायहरुलाई आफ्नो घर जग्गा बेचेर जान दवाव दिईरहेका हुन्छन् । ‘महिनै पिच्छे मेरै घरमा जग्गा दलालहरु आउने गर्छन र घर बेच्ने हो भनेर हैरान पारेको पर्यै छन्,’ नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले सुनाए ।

मिलेर वसेका थिए

जनकपुरधाम पवित्र र्तीर्थस्थल हो र यहाँ मरेपछि मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास र आस्थाका साथ भारतबाट केही पहाडे समुदाय आएका थिए । त्यसैगरी जनकपुरमा अवसरको खोजीमा सिन्धुली, रामेछाप, ओखलढुङ्गा, दोलखा, सर्लाही, सिरहा, उदयपुर, महोत्तरी, सप्तरी लगायतका ठाउँबाट पहाडे समुदाय जनकपुरमा आएर बसोवास गर्ने गरेका थिए ।

सरकारी कार्यालयमा काम गर्ने जागिरेहरु जनकपुर सरुवा गराएर आउँदा जनकपुरको राम्रो शैक्षिक अवस्था, शान्तिपुर्ण बातावरण हेरेर जनकपुरमै जग्गा किनी वसोवास गर्ने गरेका थिए । जनकपुरमा पहाडे समुदाय र मधेसी समुदायका मानिसहरु बीच एक आपसमा सौहार्द्र सम्बन्ध थियो । होली जस्तो पर्वमा पहाडे समुदायहरु तराईमा हुने होली भन्दा एक दिन अगाडी मनाउँथे । सामुहिक रुपमा पहाडे समुदायहरु सडकमा निस्केर होली खेल्थे । एक आपसमा राम्रो सद्भाव थियो । त्यसैगरी मधेसीहरुको पवित्र पर्व छठ, चौरचन लगायत पर्वहरु जनकपुरका पहाडे समुदायले पनि मनाउन थालेका थिए ।

चौतर्फी असर

तत्कालिन माहौलबाट पहाडे समुदाय जनकपुरबाट पलायन भएपछि सबै भन्दा वढी बेफाइदा जनकपुरलाई नै परेको छ । जनकपुर बजारमा आएको मन्दि अहिले सम्म सकिएको छैन । दशंैमा देखिने बजारको रौनक हराएको छ । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह भन्छन, “पहाडे समुदायसँग क्रय क्षमता थियो । उनीहरु बस्तु किनमेल गर्न कुनै पनि कन्जुस्याई गर्दैनथे । उनीहरु पलायन भएपछि महिनामा मात्रै १ करोड भन्दा वढी रकमको व्यापारमा नोक्सानी भईरहेको छ ।”

साह थप्छन, “थापा चौक स्थित सनत सुवेदी, नारायण सुवेदीको घरमा जाँदा कहिले पनि उनीहरुले मेरो नाउँ लिएर बोलाएनन् । छोरा आयो, बस्न देऊ, खाजा देऊ भनेर सेल र अनर्सा खुवाउने गरेको बाल्यकालको स्मरण कहिल्यै विर्सन सकिन्न ।”

मधेस आन्दोलनका दौरान केही उच्छृङ्खल व्यक्तिहरु धमिलो पानीमा माछा मार्ने उद्देश्यले परिचालित भएको उनको भनाइ छ ।

मधेस आन्दोलनलाई बदनाम गराउन घुसपैठ भएका व्यक्तिहरुको आपराधिक हरकत र भूमाफियाहरुको पैसा कमाउने स्वार्थका कारण जनकपुरको पहाडे समुदायहरु पलायन भईसकेपछि जनकपुरमा मिश्रित संस्कृतिको प्रष्ट अभाव झल्किन्छ ।

हुन त मधेस आन्दोलनमा जसरी घुसपैठ भयो त्यसैगरी पहाडे समुदायहरुको हकहितको लागि भनेर गठन गरिएको चुरे भावर राष्ट्रिय एकता पार्टीको पनि हिंसात्मक प्रतिकारले ढल्केवर, लालगढ, वर्दीवास, हरिवन जस्ता राजमार्गहरुमा मधेसी समुदाय निशानामा परेका थिए । जसकाकारण मधेसी र पहाडी बीचको सद्भाव झन खलबलिन पुगेको टिप्पणी गर्ने पनि छन् ।

जनकपुरवासी अहिले आएर पहाडे समुदायहरुको बसोवासको महत्व राम्ररी बुझ्न थालेका छन् । जनकपुरबाट पहाडेहरु पलायन भएसँगै जनकपुरमा शैक्षिक माहौल पनि पलायन भएको विश्लेषण गर्न थालिएको छ । परिणाम स्वरुप अहिले जनकपुरबाट करिब १ हजारको हाराहारीमा विद्यार्थीहरु माध्यमिक शिक्षा लिनका लागि सिन्धुलीमा अध्ययनरत छन् ।

उच्च शिक्षा आर्जन गर्न अहिले विद्यार्थीहरु काठमाण्डौ वा अन्य ठाउँमा जान बाध्य छन् । जब कि पहिले विद्यार्थीहरु अन्य जिल्लाहरुबाट पढ्नकै लागि जनकपुरको राराब क्याम्पस आउँथे । असार २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस