विश्लेषण : अग्रलेख

दार्जिलिङ आन्दोलनको उपेक्षा गोर्खाहरूले कतिञ्जेल सहने ?



हाम्रा यी अति मान्य आदि-कवि हुन् अत्यन्त धर्मी थिए

लेख्ने  धर्म-र-भावपूर्ण  कविता भाषा  बनाईदिए ।

नेपालीहरूलाई  भानु-सरि भै बाटो  बनाईदिए

भाषा-राष्ट्र-र-राम-भक्त कवि यी साह्रै रसीला थिए ।।

 

पारसमणि प्रधानले यस पद्यमा कुन कविको चर्चा गरेका हुन् सहजै बुझ्न सकिन्छ । दार्जिलिङमा बसोबास भएर पनि नेपाली भाषा एवं साहित्यमा गहकिलो योगदान गर्ने महानुभावहरूको उल्लेख गरिंदा नभुलिने अन्य दुई नामहुन्: सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइराला । उता ‘सूधपा’ समेतका लेखक कविहरूले नेपालीलाई भाषा र साहित्यको हिसाबले समृध्द तुल्याउन जोडबल लगाइरहेका थिए भने यता नेपालमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम लगायतका स्रष्टा गद्य-पद्यका माध्यमबाट अनेकानेक रचना तथा कृतिद्वारा नेपालीलाई सबल औ आकर्षक बनाउन सक्दो मेहनत गरिरहेका थिए । जग-जाहेर छ, नेपाली आज नेपाल सरहदका अतिरिक्त भारत, भुटान र म्यानमार समेतका देशमा बोलिने लेखिने भाषा भएको छ । त्यस्तै, सञ्चार प्रविधिको तीव्र विकासले गर्दा नेपाली संसारैभर छरिएका परदेशी नेपालीभाषी समुदायका बीच जीवन्त रूपले प्रचलनमा आइसकेको छ । यो हरेक नेपालीका लागि गर्व र हौसलाको विषय हो ।

 

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ति मनाउने क्रममा नेपालमा विभिन्न कार्यक्रम भैरहेकै बखत ठीक एक वर्षअघि आजैका दिन (२९ असार तदनुसार १३ जुलाई) दार्जिलिङवासीले चौरस्तामा आयोजना गरेको नियमित कार्यक्रममा पहिलो पटक भारतका महामहिम राष्ट्रपति उपस्थित हुनु भएको थियो । प्रणब मुखर्जीसंगै र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि भानुभक्तप्रति ससम्मान श्रध्दाञ्जलि अर्पण गरेको प्रसङ्ग हामी सबैको मन-मस्तिष्कमा ताजै छ । भारतको संविधानले मान्यता दिएका भाषाहरूको सूचिमा नेपाली समावेश भैसकेको हुनाले मुखर्जी एवं बनर्जीका उद्‌गार स्वभावत: प्रसन्नताका अभिव्यक्ति हुन पुगे । नेपाललाई पुर्ख्यौली थलो मान्ने र नेपाली बोल्ने भारतका गोर्खाहरू भानु जयन्तिका अवसरको पवित्र कार्यक्रम मनाएर इतिहासको स्मरण गर्दछन् जुन हरेक कोणबाट प्रशंसनीय अभ्यास हो ।

तर दुर्भाग्य, केही सातायता दार्जिलिङ र वरपरका बस्ती अशान्त छन् । पश्चिम बंगालका प्रहरीको गोली लागेर गोर्खाहरू मारिएका छन् , घाइते भएका छन् । मुख्यमन्त्री बनर्जीको सरकारले दार्जिलिङ पर्वतीय क्षेत्रको जनसंख्याको ९५% प्रतिशतको भाषा नेपाली हो भनेर बुझ्दाबुझ्दै एकाएक बंगाल राज्यभरि बंगाली भाषा अनिवार्य गर्ने नीति घोषणा ग-यो जसले नेपालीभाषीलाई आक्रोशित तुल्यायो;अनि आन्दोलनको स्थिति आएको हो । विगतका कतिपय सन्दर्भमा नेपालीभाषी गोर्खाहरूले बंगालको आश्वासनबाट ठगिएको महसूस गरिरहेका बखत एक्कासि फेरि कलकत्ताबाटै भाषा विषयक गलत निर्णय आउनाले विरोध र विद्रोह उग्र तथा हिंसात्मक हुन पुगेको देखिन्छ । र, गोर्खाहरूको विशिष्ट चिनारीको बोध गणतन्त्र भारतको सम्पूर्ण भूभागमा होस् भन्ने आधारमा वर्षौं पहिले थालिएको बेग्लै गोर्खाल्याण्ड प्रान्त (राज्य) सम्बन्धी मागलाई तीव्र पार्न गोर्खा समुदाय बाध्य भएको हो ।

 

यस पृष्ठभूमिमा नेपालीभाषीहरूको मागप्रति नेपालबाट नैतिक समर्थन जनाइन्छ भने त्यसलाई नयाँ दिल्लीले अन्यथा ठान्नु हुँदैन । बरु गोर्खाहरूको साहसिलो योगदानबाट भारत सुरक्षित र लाभान्वित भएको यथार्थलाई जतिसकेको छरितो ढङ्गले मान्यता दिनुमै तत्कालीन समस्याको हल र दीर्घकालीन भलाइ हुने देखिन्छ । भारतको केन्द्रीय सरकारले समयको सङ्केतलाई चिन्ने अपेक्षा गरौं ।    

असार २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस