विश्लेषण : अग्रलेख

अस्थिर राजनीतिको चक्रव्यूहमा बीपी कोइरालाको स्मरण


विश्वेश्वरप्रसाद (बीपी) कोइराला नेपालको राजनीतिक दृश्यपटलमा त्यस्तो नेताको रूपमा स्थापित नाम हो जसलाई दक्षिणपन्थी, वामपन्थी र मध्यममार्गी कसैले पनि उपेक्षा गर्न सकेनन्, सक्दैनन् यद्यपि उहाँका राजनीतिक मान्यता जीवन्त बहसका विषय रहँदै आएका छन् ।

नेपालको प्रधानमन्त्री छँदा (२०१६–१७) उहाँले थालनी र सञ्चालन गरेका कतिपय कार्यद्वारा देशभित्र समाज रूपान्तरणको प्रक्रियालाई लोकतान्त्रिक ढाँचाबाट अघि बढाउनुभयो भने नेपाललाई अन्तर्राष्ट्रिय परिचय दिलाउने प्रयासमा संयुक्त राष्ट्रसंघ र विभिन्न देशहरूसित प्रभावकारी सम्झौता वार्ताहरू गराउनुभयो । र, त्यस क्रममा उहाँ पनि दक्षिण एसियाका एक विशिष्ट राजनेताका रूपमा परिचित हुनुभयो ।

देशभित्र बीपी नेपाली कांग्रेसका शीर्षस्थ नेता हुनुहुन्थ्यो त्यसकारण श्रावण ६ गतेको सन्दर्भ पारेर केही संघ संस्थाले विशेष सभा, कार्यक्रम गर्नु स्वाभाविक हो ।

शुक्रवार बिहान बीपी ट्रष्टका तर्फबाट आयोजित एउटा त्यस्तै कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि भाग लिनुभएको थियो । पुरुषोत्तम बस्नेतद्वारा लिखित ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’ नामक ग्रन्थ लोकार्पणपछि श्रोतागणलाई सम्बोधन गर्दै डा. यादवले अहिलेको नेपाली कांग्रेसले बीपीका दर्शन, मान्यता र आदर्श अनुरूप काम गर्न नसकेको भनी आलोचनात्मक टिप्पणी गर्नुभयो । राष्ट्रिय मेलमिलापको नीति लगायतका बीपीका मान्यताहरू असमयमै सन्दर्भहीन हुन पुगेकोमा अन्य वक्ताहरूमा पनि असन्तोष देखियो, सुनियो ।

राजनीति सत्तामा उक्लिने भरेङ मात्र हुन पुगेपछि नकारात्मक अवधारणा प्रकट हुनु अनौठो पनि होइन ।

मुलुक संक्रमणकालमा छ, विभाजनकारी तत्त्वहरूले मुण्टो उठाउँदै छन् । यस्तो बखतमा सात सालको क्रान्तिदेखि अग्रपङ्क्तिमा रहेको राजनीतिक शक्ति मानिने नेपाली कांग्रेसको नेतृत्वबाट चिरकालपर्यन्त नेपाल सुरक्षित रहने नीति अवलम्बन गरी तदनुरूपका पाइला चाल्न अग्रसर हुनुपर्ने हो ।

समय भड्किएपछि हात लाग्ने वस्तु भनेको पश्चात्ताप मात्र हो । यो कांग्रेस नेतृत्वले महसूस गर्नुपर्ने विषय हो भने कांग्रेसको अकर्मण्यताबाट मुलुक संकटमा नपरोस् भन्ने सोच वैकल्पिक राजनीतिक शक्तिहरूमा रहनुपर्दछ किनभने अरूले हारेपनि मुलुकले हार्नु हुँदैन ।

साउन ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस