खोज/विशेष : खोज

अस्पतालका डाक्टर दिनरात निजी क्लिनिकमा, कर्मचारी नेताका भान्से ! [लोकान्तर खोज भाग -२]


जनकपुरधाम ९ साउन– नेपाल सरकारको स्वामित्वमा सञ्चालित जनकपुर अञ्चल अस्पताल आफैं बिरामी परि दिन प्रतिदिन थला पर्दै गइरहेको छ । तराई मधेसका विभिन्न जिल्लाका साथसाथै भारत विहारबाट समेत उपचारका लागि आउने विरामीहरुको लागि एक मात्र सरकारी अञ्चल अस्पताल अस्तब्यस्त बन्न पुगेको छ ।

परिणाम स्वरुप अञ्चल अस्पतालबाट जनताको भरोसा उड्दै गएको छ भने निजी क्लिनिक तथा नर्सिङ्ग होमहरु फस्टाउँदै गएका छन् ।

लगभग चालीस लाख भन्दा बढी जनसंख्या रहेका धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, उदयपुर, रौतहटका केही क्षेत्र लगायत मित्रराष्ट्र भारतका बिहार राज्यसंग सिमा जोडिएका केही गाउँका समेत गरि बार्षिक डेढ दुई लाख रोगीहरु आर्थिक अभाव एवं निकट्ताका कारण चाँडो उपचार पाउने आशामा जनकपुर अञ्चल अस्पतालमा आउने गर्छन् ।

तर यहाँ उपचार गर्न आएका रोगीहरु दक्ष, विशेषज्ञ चिकित्सकहरुबाट पाउनुपर्ने विभिन्न सेवाको अभावमा रोगीहरु छटपटाउन बाध्य छन् ।

रिक्त दरबन्दीका कारण समस्या

नेपाल सरकारका तर्फवाट एक सय र विकास समितिको तर्फबाट एक सय गरी कुल २ सय बेड संख्या रहेको यस अस्पतालमा नेपाल सरकारको बिभिन्न सेवाका लागि डाक्टरहरुको दरबन्दी रहे पनि विशेषज्ञ चिकित्सकहरुको दरबन्दी रिक्त नै रहेको छ ।

सरकारको तर्फबाट कुल १ सय ३८ जनाको दरबन्दी कायम रहेकोमा ७४ दरबन्दी पुर्ती भएपनि ६२ जनाको दरबन्दी रिक्त रहेको छ । ८ जना प्रमुख कन्सलटेन्ट चिकित्सक, १० जना कन्सलटेन्ट चिकित्सक, ६ जना मेडिकल अधिकृत, १ जना डेन्टल सर्जन, १५ जना स्टाफ नर्स, ३ जना सिस्टर र १९ जना प्रशासनका कर्मचारीहरुको गरी कुल ६२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको दरबन्दी विगत लामो समय देखि रिक्त रहँदै आएको छ ।

त्यसैगरी अञ्चल अस्पतालको विकास समितिको तर्फबाट कुल १ सय ५२ जना दरबन्दी मध्ये १ सय २५ दबरन्दी पुर्ती गरिएको भएपनि २७ दरबन्दी हालसम्म रिक्त रहेका छन् । विकास समितिको तर्फबाट ९ जना स्टाफ नर्स, १ जना सिस्टर, ३४ जना अहेव, ७ जना प्राविधिक, ५ जना प्रशासन लगायतको दरबन्दीहरु रिक्त रहेको छ ।

एकातर्फ अञ्चल अस्पतालका लागि हुनुपर्ने विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत अन्य प्राविधिक र प्रशासनिक कर्मचारीहरुको दरबन्दी पुर्ति हुन सकेको छैन भने अर्को तर्फपूर्ति भएका चिकित्सकहरु पनि अस्पतालमा समय दिँदैनन् ।

नेपालको संविधानको भाग ३, मौलिक हक सम्बन्धि धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भन्ने बुँदा उल्लेख गरिएको छ । जनताको मौलिक अधिकारको रुपमा रहेको उक्त कुरालाई जनताले व्यवहारमा प्राप्त गर्न सकेका छैनन् ।

पछिल्लो समयमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सरकारी अस्पतालका सम्पुर्ण चिकित्सकहरु विहान ९ बजे देखि बेलुका ५ बजेसम्म कार्यकक्षमै बसेर सेवा प्रदान गर्न निर्णय गरेको थियो । तर, त्यो निर्णय जनकपुर अञ्चल अस्पतालमा लागू हुन सकेको छैन ।

अञ्चल अस्पतालका अधिकांश डाक्टरहरु प्रायः बिदामा बस्छन् र आआफ्ना निजी क्लिनिक र नर्सिङ्ग होम चलाउँछन् । अञ्चल अस्पताल प्रशासनले बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म अस्पतालमा सेवा दिनुपर्ने प्रावधान राखेपनि चिकित्सकहरु आएर हाजिरी गर्ने, २ घण्टा जति ओपिडीमा बस्ने र त्यसपछि दिनभरी अस्पताल अगाडी रहेका आ–आफ्ना क्लिनिकमा रोगीहरुको उपचार गर्नमा व्यस्त रहने गरेका छन् ।

चिकित्सक तथा कर्मचारीहरुको तलब भत्तामा मात्रै अञ्चल अस्पतालले बार्षिक ८६ लाख रुपैयाँ खर्च गर्ने गरेको छ ।


चिकित्सकदेखि कर्मचारीलाई क्वार्टर सुविधा


जनकपुर अञ्चल अस्पतालमा आवश्यक परेको बेला कुनै पनि समयमा चिकित्सकलाई उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यले अस्पताल प्रशासनले चिकित्सकदेखि कर्मचारीहरुसम्मलाई आवास सुविधा उपलब्ध गराएको छ ।

तर पनि ती चिकित्सकहरु उपलब्ध हुन सकिरहेको हुँदैनन् । डा.जामुन सिंह, डा.विजय कुमार सिंह, डा.मनिष पाण्डे, डा.अवधेश कान्त झा, डा.नागेन्द्र प्रसाद यादव, डा.रुपेश यादव, डा.अशोक साह, डा.रामदेव चौधरी, डा.रामविनय चौधरी, डा.सदिक रेजा लगायतका चिकित्सकहरुले अस्पतालबाट क्वार्टर सुविधा प्राप्त गरेका छन् ।

तर, ती चिकित्सकहरु तलब र आवास सुविधा अञ्चल अस्पतालबाट प्राप्त गरेपनि अञ्चल अस्पतालमा अत्यन्तै कम समय दिने र बाहिर क्लिनिक तथा निजी अस्पतालहरुमा बढी समय दिने गरेका छन् । यहाँसम्म कि तिनीहरु अनुकल ड्यूटिमा रहेको अवस्थामा नर्सहरुले राति कल गर्दा पनि अस्पतालमा उपस्थित हुँदैनन् ।
त्यसैगरी ३२ जना नर्सिङ्ग स्टाफ र केही प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले समेत क्वार्टर सुविधा उपभोग गरिरहेका छन् ।

कार्यालय सहयोगीको रवाफ

अञ्चल अस्पतालमा सबैभन्दा वढी संख्या कार्यालय सहायकको छ । नेपाल सरकारको तर्फबाट ३६ जना कार्यालय सहायकको दरबन्दी स्वीकृत गरिएकोमा २८ जना पदपुर्ति रहेको र विकास समिति तर्फ २८ मा २८ जनाको पदपुर्ति गरी कुल ५६ जना कार्यालय सहयोगीहरु कार्यरत छन् ।

तर, तिनीहरुपनि अस्पतालमा कमै देखिन्छन्् । अस्पताल स्रोतका अनुसार कतिपय कार्यालय सहायकहरुले तलब अस्पतालबाट खाएपनि काम भने चिकित्सकहरुको निजी घर र भान्सामा गर्ने गरेका छन् ।

कतिपय मेस्तरहरु यहाँका राजनीतिक दलका केही पार्टी अध्यक्षको घरमा शौचालय सफा गर्छन् र तलब भने अञ्चल अस्पतालबाट खाने गरेका छन् । वार्डहरुमा विरामीलाई स्टे«चरमा सार्नुपर्दा वा अन्य सहयोग पु¥याउने काम आवश्यक पर्दा कार्यालय सहयोगीहरु प्रायः जसो वार्डमा देखिँदैनन् ।

यतिमात्र होइन वार्डमा खट्ने अन्य कर्मचारी नर्स, स्वीपर समेत प्रायः ढिलो आउने, विरामीलाई सेवा पुरयाउने भन्दा पनि हप्काउने जस्ता कामहरु गरिरहेको अवस्थामा देखिन्छन् ।

विकास समितिको तर्फबाट सर सफाइका लागि २२ जना स्वीपरको दरबन्दीमा २२ जनै कार्यरत रहेपनि अस्पतालमा सर सफाइ कहिल्यै देख्न सकिन्न । बाहिरका मानिसहरु तथा सरसफाई अभियन्ताहरुले अञ्चल अस्पतालमा गएर सरसफाई गरिरहनु परेको छ ।

पोशाक र परिचय पत्र विना काम गर्छन् चिकित्सक

जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरु पोशाकमा देखिँदैनन् । को डाक्टर हो, को बिरामी कुरुवा हो परिचय पनि खुल्न सकिरहेको हुँदैन । विरामीलाई ओपिडीमा कुन चिकित्सकले जाँच गर्यो, औषधि लेख्यो भन्ने कुराको यकिन गर्न सकिन्न ।

विरामीको पुर्जामा चिकित्सकको नाम र हस्ताक्षर रहँदैन । के देखिएको छ भने विहान प्रारम्भिक समयमा ओपिडीमा चिकित्सकले जाँच गरेपनि विभिन्न प्याथोलोजीका टेस्टहरु गराएर आईसकेपछि रिपोर्ट अनुसार औषधि लेखाउनका लागि विरामीहरु चिकित्सकको क्लिनिक खोजेर जानु परेको प्रवृति फस्टाएको छ ।

यस अघिका मेसु डा.रामशंकर ठाकुर २४ घन्टै अस्पतालमा उपलब्ध हुन्थे । सर सफाई पनि राम्रै व्यवस्थापन गरिएको थियो । साताको हरेक शुक्रबार डा.ठाकुर आफै झाडु लिएर सर सफाइ गर्थे । र, अरुलाई पनि गर्न लगाउँथे । ड्यूटी आवरमा चिकित्सकलाई अस्पतालमै बस्न बाध्य पार्थे ।

चिकित्सक लगायत अन्य कर्मचारीहरुलाई पनि पोसाक र नेम प्लेटका साथ उपस्थित गराउँथे । तर, उनी जाने वित्तिकै ती सबै व्यवस्था पनि उनी सँगै गए ।

अस्पताल भ्रमणमा कहिले काँही स्वास्थ्य मन्त्री तथा अन्य मन्त्रालयका कर्मचारीहरु आउँदा अस्पताल चिटिक्क पारिन्छ । बेडहरुमा बेडसिट पनि दिइन्छ । तर तिनीहरु अवलोकन गरेर गएपछि फेरी पुर्ववत अवस्थामा अस्पताल फर्किने गरेको छ ।

कार्यालय समय भित्र उपस्थित नहुने, नियम विपरित कार्य गर्ने मेडिकल सुप्रिटेन्डेन्ट देखि सम्पुर्ण चिकित्सक र कर्मचारीलाई नसिहत दिने, वढीमा तीन तलब वृद्धि वा वढुवा रोक्का गर्ने, भविष्यमा सेवाका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने र भविष्यमा सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्तको सजाय समेत प्रस्ताव गर्न सक्ने अख्तियारी जनकपुर अञ्चल अस्पताल नियमावली २०६३ ले विकास समितिलाई प्रदान गरेको छ ।

अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीले अस्पतालको तर्फबाट कुनै काम कारोबार संचालन गर्दा अस्पताललाई अहित गरी गर्न नहुने, कर्मचारीले जानाजान, लापरवाही वा त्रुटिपुर्ण ढंगले काम कारोवार गरी अस्पताललाई कुनै प्रकारबाट हानी नोक्सानी पु¥याउन नहुने उक्त नियमावलीमा उल्लेख छ ।

त्यसैगरी अस्पतालमा दिइएको समय भित्र कुनैपनि कर्मचारीले कुनै प्रकारको स्वास्थ्य संस्था वा क्लिनिक संचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्था वा क्लिनिकमा काम गर्न वा अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न नमिल्ने, त्यस्तो काम गरे कारवाही हुने उक्त नियमावलीमा उल्लेख छ ।

तर, मेडिकल सुप्रिटेन्डेन्ट आफै वाहिर क्लिनिक र नर्सिङग होममा व्यस्त हुने भएपछि अरुलाई रोक्न मेसुलाई नैतिकबल नहुने अस्पतालका कर्मचारीहरु नै बताउछन् ।

नेपाल सरकारको दरबन्दी अनुसारका दक्ष डाक्टर एवं जनशक्तीको अभावबाट पाउनु पर्ने सेवा पाउन नसकि रोगिहरु कराइरहेका छन् । तर उनीहरुको पीडा सुनिदिने कोही छैन ।

हुनेखानेहरु नसिङ्ग होम, काठमाडौं, भारतको दरभंगा, पटना, दिल्ली, बेंग्लौर सम्म पुग्ने गरेका छन् । नहुनेहरुको एक मात्र आशा र भरोसाको केन्द्र बिन्दु छ जनकपुर अञ्चल अस्पताल । हुने खानेहरुको लागि प्राथमिक उपचारको थलो, नहुनेहरुको लागि मृत्युको अन्तिम थलो बन्न पुगेको छ यो अस्पताल ।

जुन जोगी आएपनि कानै चिरेको

अहिलेसम्ममा जनकपुर अञ्चल अस्पतालमा मेडिकल सुप्रिटेन्डेन्टको रुपमा डा.जयबल्लभ दास, डा.रामबहादुर सिंह, डा.पिताम्बर झा, डा.हुक्मदेव साह, डा.रामनन्दन सिन्हा, डा.इश्वरी प्रधान, डा. पुण्य बहादुर थापा, डा.केशव बहादुर सिंह कार्की, डा.महेन्द्र केशरी क्षेत्री, डा.लक्ष्मी राज पाठक, डा. तारानन्द झा, डा.वृजनारायण चौधरी, डा.विजय कुमार सिंह, डा.लखनलाल साह, डा.हुक्मदेव साह, डा.लखनलाल साह, डा.पवन कुमार ठाकुर, डा.मुकेश कुमार चौरसिया, डा.सतिश चन्द्र चौधरी, डा.गौराङ्ग मिश्र, डा.रामशंकर ठाकुर, डा.बलराम मिश्र, डा.संजय कुमार ठाकुर, डा.प्रमोद कुमार यादव, डा.गौराङ्क मिश्र र डा.रामपरिक्षण यादव गरी २५ जना आईसकेका छन् ।

कोही दोहोरिएका पनि छन् । त्यसैगरी विकास समिति तर्फ लिला कोइराला, रत्नेश्वर लाल गोइत, पाण्डव राज घिमिरे, दामोदर प्रसाद उपाध्याय, प्रमोद गोयङ्का, प्रकाश चन्द्र साह, गंगा राम यादव, पल्टु यादव, चन्देश्वर पुर्वे, कुमरकान्त झा, कामेश्वर झा, डा.नागेन्द्र प्रसाद यादव र डा.बलराम मिश्र गरी १३ जना अध्यक्ष भईसकेका छन् ।

तर, जुन जोगी आएपनि कानै चिरेको भनेझैं अञ्चल अस्पतालमा सुधारका लागि अधिकांशले प्रयास गरेको देखिँदैन । प्रायःजसोले अस्पतालमा आआफ्ना मान्छेहरु कुनै न कुनै रुपमा कर्मचारीको रुपमा भर्ती गर्ने केन्द्र बनाएको देखिन्छ ।

यद्यपि कोहीेले भने केही राम्रा कामहरु पनि गरेर गएका छन् । जनकपुर अञ्चल अस्पतालका पुर्व मेसु डा.संजय कुमार ठाकुर भन्छन “यहाँ प्रायःजसोले आआफ्नो मान्छेहरुलाई भर्ती गरेका छन् । एउटा सामान्य कार्यालय सहयोगी वा स्वीपरलाई एउटा वार्डबाट अर्को वार्डमा सरुवा गर्दा सबै पार्टीका नेताहरुका साथसाथै अस्पतालमा कार्यरत डाक्टरहरुले समेत सरुवा नगर्न दवाव दिने गर्छन् ।”

कतिपय नियूक्ति गैरकानुनी ढंगले गरिएका छन् । विगतमा गरिएका कर्मचारीका नियूक्तिहरुको छानविन गर्ने हो भने अवैधकर्मचारीलाई खुवाएको तलब मेसुहरुबाट असुल उपर गर्नुपर्ने अवस्था सम्म आउन सक्ने पूर्व मेसुहरु बताउछन् । “अस्पतालमा भित्र र बाहिर गिरोहहरु सक्रिय छन् । ती गिरोहहरुका कारण कसैले पनि अस्पताललाई सुधार्न सकिरहेका छैनन्” डा ठाकुर भन्छन् ।


नेपाल सरकारको दरबन्दी अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गर्लान, औषधीको अभाव नहोला, लाइफ सेभिंग ड्रग्स सहुलियत दरमा अस्पतालले बित्तरण गर्ला, इसिजी, अल्टूासाउण्ड तथा एक्सरे लगायत अन्य सेवाहरु नियमित सञ्चालन होलान, प्रत्येक बेडमा बेड पैन, बेड सिट, बेड साइट लकर, कुरुवालाई बस्ने स्टुल, स्लाइन स्टैन्ड, प्रत्येक कोठामा अक्सीजन सिलिन्डर, बिद्युतको अभावमा चौबिसै घण्टा जेनरेटर सञ्चालनको ब्यवस्था, रोगिहरुको खानाको लागि क्यान्टीनको ब्यबस्था, सर सफाई, पार्किङ्ग, खानेपानी, कुरुवा घर लगायत यावत कुरामा विकास भई यस अस्पतालले यस क्षेत्रका गरिब असहाय जनतालाई सेवा प्रदान गर्ला भन्ने पलाएको आशा हालसम्म पुरा हुन सकेको छ्रैन ।

अस्पताल प्रशासनले भएको योग्य सक्षम जनशक्तिलाई किनारा लगाँउदै अयोग्य र जुनियरहरुलाई विभिन्न विभाग प्रमुख बनाई अस्पतालाई चुहावटको स्थल बनाउन सक्षम भएको छ ।

संवेदनशील रहेको अस्पताल भित्रको विगतकाल देखि राजनीतिको अखाड़ा बन्न पुगेको स्थललाई विकास समितिका अध्यक्षले त्याँहाको वातावरण सुधार गर्न पुर्णतः अक्षम सावित भएका छन् ।

नागरिक समाज, राजनीतिक दल, संघ संस्था लगायत यस क्षेत्रका सम्पूर्ण नागरिकको अस्पताल सुर्धान पट्टि आ–आफ्नो दायित्व हुँदा हुदै पनि ब्यक्तिगत स्वार्थमा रुमल्लिनु बाहेक केहि गर्न सकेका छैनन् ।

अस्पतालमा ‘यादव’करण

१६ चैत्र २०७३ मा डा.रामपरिक्षण यादव प्रमुख मेडिकल सुप्रिटेन्डेन्टको रुपमा जनकपुर अञ्चल अस्पतालमा कार्यभार सम्हालेका थिए । उनी आएपछि अस्पतालका विभिन्न विभागहरु तथा फाँटहरुको प्रमुखमा यादव थर भएका कर्मचारीहरुलाई नै खोजी खोजी जिम्मेवारी दिएका छन् ।

अस्पतालको इमरजेन्सीको इन्चार्जका रुपमा शंकर यादव, ओपिडी इन्चार्जका रुपमा बेचन यादव(जसको दरबन्दी विर अस्पताल काठमाण्डौमा रहेपनि विगत १० बर्ष देखि जनकपुर अञ्चल अस्पतालमा काजमा कार्यरत रहेको), एक्सरे फाँटको इन्चार्जको रुपमा विजय यादव, नर्सिङ्ग फाँटको प्रमुखको रुपमा रञ्जु यादव, स्टोर फाँटको प्रमुखको रुपमा प्रदिप यादव, बच्चा वार्डको प्रमुखको रुपमा डा.नागेन्द्र यादव, सरसफाई फाँटको प्रमुखको रुपमा श्याम यादव, छाला रोग प्रमुखको रुपमा डा.रामध्यान यादव लगायत विभिन्न फाँटहरुमा खोजी खोजी यादव थर भएका कर्मचारीहरुलाई जिम्मेवारी दिएको अस्पतालका कार्यरत अन्य थरका कर्मचारीहरुको गुनासो रहेको छ ।

मेसुको रुपमा अहिले डा.यादव आएपछि आफ्नै समुदाय, निकट र विश्वासपात्रहरुलाई खोजेर विभाग प्रमुखहरुको जिम्मेवारी दिने काम भने नौलो होईन । यस अघिका मेसुहरुले पनि आआफ्नै समुदाय र निकटका व्यक्तिहरुलाई विभाग प्रमुखको जिम्मेवारी दिने प्रचलन नै बनेको छ ।

सिनियरलाई किनारा लगाउँदै जुनियरलाई विभाग प्रमुख

सर्जरी डिपार्टमेन्टमा नवौं तहका कर्मचारीलाई विभाग प्रमुख नदिई फिजिसियन डा.रविन्द्र सिंहलाई प्रमुख मेसु यादवले जिम्मेवारी दिएका छन् । त्यसैगरी रेडियोलोजीमा नवौं तहका डा.शम्भुकुमार साहलाई विभाग प्रमुखको जिम्मेवारी नदिई कनिष्ठ आठौं तहका डा.जितेन्द्र मण्डललाई जिम्मेवारी दिएका छन् ।
बच्चा वार्डमा डा.जामुन सिंह नबांै तहका कर्मचारी हुन । तर मेडिकल अधिकृत डा.नागेन्द्र यादवलाई विभाग प्रमुख बनाइएको छ । मेडिसिन विभागमा डा.मनिष पाण्डे दशौं तहका कर्मचारी हुन तर विभाग प्रमुखको रुपमा नबौं तहका डा.कुलदिप पंडितलाई जिम्मेवारी दिईएको छ ।

यसरी बरिष्ठलाई विभाग प्रमुख नबनाई कनिष्ठलाई विभाग प्रमुखको जिम्मेवारी दिएका कारण पनि बरिष्ठ चिकित्सकहरु अस्पतालमा समय दिँदैनन् ।

यो पनि पढ्नुहोस्

गरिवमाथि अत्याचार : उपचारको क्रममा छोराको मृत्यु, पीडित बाबुमाथि प्रहरीको कुटपिट

साउन ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस