विश्लेषण : अन्तर्वार्ता

तपाईंलाई पत्रकारले किन भोट दिने ? गोविन्द आचार्य र तीर्थ कोइरालाको जवाफ [अन्तर्वार्ता– भिडियो सहित]


नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरु हुँदैछ । अन्य नीतिगत निर्णय भन्दापनि महाधिवेशन नेतृत्व चयनमै केन्द्रित हुने देखिएको छ । महासंघको अध्यक्षका लागि वाम लोकतान्त्रिक गठबन्धन (माओवादी केन्द्र निकट प्रेस सेन्टर र नेपाली कांग्रेस निकट प्रेस युनियन)बाट गोविन्द आचार्य र नेकपा एमालेनिकट प्रेस चौतारीको समर्थनमा तीर्थ कोइराला चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको अध्यक्षका दाबेदार आचार्य र कोइरालासँग लोकान्तरका लागि सुशील पन्तले बिहीवार लोकान्तरको कार्यालय कुपण्डोलमा कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सारसंक्षेप: 

नेपाल पत्रकार महासंघको अध्यक्षका लागि तपाईंहरू चुनावी मैदानमा हुनुहुन्छ । पत्रकारहरूले तपाईंहरूलाई भोट किन दिने ?

तीर्थ: सामान्य हिसाबले जे कारणले अरूलाई भोट दिएका थिए, सोही कारणले दिने । ती कारणहरू ज्यूँदै छन् । पेशागत सुरक्षा अनि प्रेस स्वतन्त्रताका कुरा, साना लगानीकर्ताहरूले साना लगानीको मिडियाको सुरक्षाको ग्यारेन्टीको कुरा पनि हो । मिडियाको विकास भइरहेको अहिलेको सन्दर्भमा पत्रकारको क्षमता अभिवृद्धिका लागि महासंघले केही गर्छ कि भन्ने हो ।

गोविन्द: महासंघ पत्रकारको साझा संस्था हो । पत्रकारको हकहित अधिकार र प्रेस स्वतन्त्रताका लािग काम गर्न सक्छु भन्ने लागेको छ । त्यसैले पत्रकारको भोट चाहिँ मलाई दिनुपर्छ भन्ने मलाई लाग्छ ।

तपाईंहरूलाई पार्टीको उम्मेदवारको रूपमा व्याख्या गरिएको छ । पार्टीका कार्यकर्तालाई पत्रकारले भोट किन दिने ?

गोविन्द: अहिले त हामी स्वतन्त्र पत्रकार छौं । बिल्लासिल्ला केही पनि छैनन् । भएका पदहरू पनि सबै छोडेर अहिले म महासंघको चुनावमा होमिएको छु । प्रेस सेन्टरको उपाध्यक्षको पद पनि छाडेको छु । पत्रकार महासंघको राजनीतिमा पार्टीहरू तानिँदै आएका छन् । तीर्थ दाइले समेत स्वतन्त्र पत्रकार बन्छु भन्दा पनि स्वतन्त्र रूपमा उम्मेदवार बन्न पाउनुभएन । मलाई पनि प्रेस सेन्टरले अघि सा–यो र अहिले मलाई पार्टीले अनुमोदन ग–यो तर यो वास्तवमा गलत हो । समाजका सबैखाले चुनावमा राजनीतिक प्रभाव परेको छ । हामी चाहिँ पत्रकार महासंघमा राजनीतिक प्रभावलाई अन्त्य गर्न चाहन्छौं ।

तीर्थ: 
दुई महिनादेखि मैले पत्रकार महासंघको चुनावमा उठौं कि भन्ने बारे सोचें । स्वतन्त्र रूपमै उठ्ने कि भनेर मैले सोचें । विचार नभएको पत्रकार त हुँदैन । राजनीतिक आस्था भएको तर दलगत काममा नलागेको पत्रकार नभएपनि हुन्छ भनेर मैले चुनावमा होमिने निर्णय गरें । मैले युनियन, चौतारी, सेन्टर सबैतिरका साथीहरूलाई भेटें । महासंघलाई स्वतन्त्र बनाऔं भने । साहै्र थोरै संख्या भएका पनि संगठन रहेछन् । सबैले सिद्धान्तको हिसाबले राम्रो कुरा हो भन्नुभयो ।

पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको कुरा पनि भइरहेको छ । भोलि पार्टीहरूको बीचमा वार्ता बन्द भयो भने पत्रकार महासंघले वार्ता गराउन सकोस् । भोलि दुई देशको वार्ता बन्द हुँदा पत्रकारको डेलिगेसन जान सकोस् । यसरी हामीले पत्रकार महासंघलाई अघि बढाउनुपर्छ भनेर म हिँडें । सैद्धान्तिक हिसाबले सबै साथीहरू सहमत पनि हुनुभयो । तर अन्तिममा उहाँहरू स्वतन्त्र रूपमा अघि जाने कुरामा सहमत हुनुभएन ।

मैले एमालेभित्र कुरा गरें । एमालेका सचिव योगेश भट्टराईले कांग्रेसका प्रकाशशरण महत र माओवादीका नेता पम्फा भुसाललाई भेट्नुभयो । तर स्वतन्त्र रूपमा चुनाव लड्ने विषयमा नेताहरूबीच सहमति भएन । अनि मलाई एमालेले हामी तपाईंको विचारमा सहमत छौं, तपाई हाम्रो उम्मेदवार बनिदिनुप–यो भनेर प्रस्ताव ल्यायो । प्रेस चौतारीबाट मेरो उम्मेदवारीमा समर्थन भयो । त्यसैले मैले एमालेको समर्थन लिएको हुँ ।

दलको कोटामा उम्मेदवार बनेका अध्यक्षहरूले भोलि कसरी पत्रकारको हितमा काम गर्छन् र भनेर टिप्पणी छ नि ?

तीर्थ:  यो परम्परालाई तोड्नुपर्ने हो । न्यायाधीशसमेत दलको कोटामा छन् । मैले जिल्ला जिल्लामा फोन पनि गरें । जहाँबाट भएपनि समर्थन लिएर अघि बढौं भनेर म अघि बढेको हुँ । मैले एमालेका साथीहरूलाई भनेको छु, मलाई काम गर्न सजिलो हुने मान्छे दिनुहोस् । एमालेका एजेन्डा बोकेर आउने मान्छेहरू नदिनुहोस् भनेर मैले अनुरोध गरेको छु । यो एकैपटकमा अन्त्य हुन्छ जस्तो मलाई लाग्दैन । तर केही वर्षमा यो बिस्तारै कम हुँदै जान्छ । समाजका सबै क्षेत्रमा यो परम्परा कायमै छ । तर हामी त्यसतर्फ पहल गरौं । पेशागत विकासका लागि काम गरौं । पार्टीका एजेन्डा बोक्ने मात्रै काम नगरौं ।

पेशागत अभिवृद्धिका कुरा गरौं भन्ने हाम्रो कुरा हो । अहिले त सबैले राजनीतिक कुरा मात्रै गरेका छन् । पाँचसातवटा पार्षद् हुने पार्टीले समेत आफ्नो भूमिका खोज्छ । यो गलत कुरा हो ।

पेशागत संगठनहरूलाई यस्तो राजनीतिक सिन्डिकेटभित्र पार्न हुन्छ कि हुँदैन ?

गोविन्द: यो यथार्थ भइसक्यो । यो सबै एकैपटक हुँदैन तर सबै पत्रकारलाई राखेर बिस्तारै अघि बढ्नुपर्छ । यसलाई बिस्तारै कम गर्दै जानुपर्छ । पत्रकारहरूको हकहित यसको मुख्य एजेन्डा हो । महासंघ पत्रकार मात्रै नभएर सम्पूर्ण नागरिकको संस्था हो । पत्रकार महासंघलाई नागरिकले पत्याउनुपर्छ । तर महासंघमा निर्वाचित भइसकेपछि त्यहाँका मान्छे साझा मान्छे बन्नुपर्छ । उसले नजिकको पार्टीका कुरा नभनोस् भन्ने हाम्रो कुरा हो । भोलि म निर्वाचित भएँ भने म चाहिँ साझा उम्मेदवार बन्दछु । नौ वर्षपहिले म पत्रकार महासंघको उपाध्यक्ष हुँदै गर्दा मलाई पार्टीको मान्छे भन्थे । अहिले पनि भन्छन् । तर यस्ता आरोप भएपनि म व्यवहारले जवाफ दिन चाहन्छु ।

समग्र पत्रकार महासंघ राजनीति गर्ने केन्द्र बन्यो भन्ने कुरा छ नि ?

गोविन्द: यो समस्या त छ । तर यसलाई अन्त्य गर्नुपर्छ । सदस्यता वितरणको विषय चाँडै टुंग्याउनुपर्छ । सदस्यता दिने बेलामा सार्वजनिक सुनुवाइ गर्नुपर्छ । पार्षद् सिस्टमलाई हटाएर प्रत्यक्ष निर्वाचन प्रणाली गर्न मात्रै सक्यौं भने पनि हामी सबैका समस्या समाधान हुन्छन् । महासंघ साझा संस्था हो । यस्ता मुद्दाहरूमा साझा समझदारी बनाउन सकिन्छ ।

तीर्थ: पत्रकारहरू राजनीतिक नेताजस्तो भए । कुनै कुनै नेता र व्यापारीहरू पत्रकार जस्ता भएका छन् । २०४५ सालमा यस्तै समस्या भयो । त्यसबेला मणिराज उपाध्यायको नेतृत्वमा रहेको पत्रकार संघबाट फेरि अर्को पत्रकारको मात्रै संगठन बनाउने काम भयो । अहिले धेरैतिरबाट गुनासो आएको छ । पत्रकार आफैं पनि सजग हुनुपर्छ, संगठनहरू पनि सजग हुनुपर्छ ।

पार्टीहरूले आफ्नो एजेन्डा लाद्न खोज्नु हुँदैन । मैले पार्टीहरूलाई समेत यही कुरा गर्ने गरेको छु । यो हुनुको कारण पनि छ । विगतमा नेपालको पत्रकारिताको इतिहास राजनीतिबाट प्रेरित छ । बहुदल आएपछि बल्ल व्यावसायिक धर्म राखेर काम गर्नुपर्छ भन्ने कुरा आएको हो । अहिले आएर राजनीतिक लडाईं गर्नुपर्ने अवस्था छैन ।
अब त पत्रकारको मानमर्यादा बढाउनका लागि सजिलो छ । पत्रकारितामा दुईवटा समस्या छन् । एउटा कुरा पत्रकार आफैंले मर्यादा जोगाउनुपर्छ । कसैले के भएर कुटाइ खाएको छ, कसैले के भएर कुटाइ खाएको छ । पेशागत ग्यारेन्टी नहुँदा पत्रकारले अरू काम पनि गर्नुपर्ने हुन्छ । अरू काम गरेबापत कुटाइ खाँदा पनि पत्रकार महासंघले विज्ञप्ति निकाल्ने अवस्था छ । यो गलत भइरहेको छ । पत्रकारहरूको बीचमा सहकार्य, क्षमता अभिवृद्धि, बजारको विकास गर्ने र सानो लगानीमा आएमा मिडियाहरू जोगाउने गरी काम गर्नुपर्छ । दलहरूसँग अनुरोध गरेर पत्रकारहरूको मर्यादा राख्नुभयो भने भोलि तपाईंलाई पनि सजिलो हुन्छ भनेर भन्नुपर्छ ।


गोविन्द आचार्यजी भोलि अध्यक्ष जित्नुभयो भने के गर्नुहुन्छ ?

मैले केन्द्रमा पनि जिल्लाको नेतृत्व गरेको छु । न्यूनतम पारिश्रमिक समितिको अध्यक्ष, प्रेस काउन्सिलको सदस्य भएर पनि मिडियाको अवस्था बुझेको छु । महासंघ भनेको पत्रकारको संस्था हो । प्रेस स्वतन्त्रता नभएर अरू केही पनि स्वतन्त्रता हुँदैन भनेर म अहिले पत्रकार महासंघको चुनावमा अध्यक्षको उम्मेदवार बनेको छु ।
भोलि पनि हामी राज्यको चौथो अंग हो । हामी स्थायी प्रतिपक्ष हो । लोकतन्त्र तलमाथि हुन सक्छ त्यसबेला हामी सधैं लोकतन्त्रको पक्षमा हुनुपर्छ । प्रेस स्वतन्त्रतालाई पूर्णता दिलाउँदै र श्रमजीवी पत्रकारको मुद्दालाई अघि बढाउने सोचेको छु । श्रमजीवी मुद्दामा सम्झौता नगरी म अघि बढ्नेछु । सञ्चार क्षेत्रलाई राष्ट्रिय सेवा मुलक उद्योगको मान्यता दिनुपर्छ । साना मिडिया र जिल्लामा रहेका मिडियालाई पनि जोगाउनुपर्नेछ । यसका लािग हामी बुलन्द आवाज उठाउँछौं । म अध्यक्ष भएँ भने तीर्थ दाइले पनि पश्चात्तप गर्नुपर्दैन ।

तीर्थ कोइरालालाई पनि यही प्रश्न, अध्यक्ष जित्नुभयो भने के गर्नुहुन्छ ?

पहिलो, श्रमजीवी पत्रकारको कुरा छ । पत्रकारको क्षमता बढाउने कुरा छ । अहिले पत्रकारमा शिक्षित मान्छे आएको छ । तर उनीहरूमा सीप छैन । पत्रकारको प्रज्ञा र क्षमता बढाउनुपर्छ । पत्रकारितालाई विश्वसनीय बनाउनका लागि काम गर्नुपर्नेछ । प्रेस स्वतन्त्रताका लागि काम गर्नुपर्नेछ । ६ सयभन्दा बढी एफएम, हजारको संख्यामा आएका अनलाईनमा गरिएको लगानीलाई जोगाउनुपर्छ । त्यसैले हजारौंको संख्यामा आएका पत्रकारलाई यहाँ टिकाउनुपर्छ । अब यसमा भएको प्रेस स्वतन्त्रताको कुरा अनि लगानीको कुरा मुख्य हो जस्तो लाग्छ । भोलि पत्रकार महासंघले नेगोसिएसनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । पत्रकार महासंघले बोलेको कुरालाई उचाईं दिलाउनुपर्छ जस्तो लाग्छ ।

तस्वीर/भिडियोः अशोक महर्जन भदौ २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस