विश्लेषण : अन्तर्वार्ता

मधेसलाई शंकाको नजरले हेर्ने चिन्तन कांग्रेसबाट हटेको छैन : प्रदीप गिरी [अन्तर्वार्ता]


प्रदीप गिरी नेपाली कांग्रेसका बौद्धिक नेता मानिन्छन् । कांग्रेसको राजनीति गरेपनि उनले मार्क्सवाददेखि महाभारतसम्मको व्याख्या गर्न सक्छन् । लोकान्तरका प्रदेश नम्बर २ प्रतिनिधि अजय अनुरागीले कांग्रेस नेता गिरीसँग जनकपुरमा लामो कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

मधेसले नेपाली कांग्रेसलाई पटकपटक मत दिएको छ, कांग्रेस यो देशको ठूलो पार्टी भएर सरकारको नेतृत्व नै गरेको छ । मधेसी जनताले कांग्रेसलाई सधैं सत्तामा पु–याए तर नेपाली कांग्रेसले मधेसलाई के दियो त ?

तपाईले ठीक भन्नु भयो । म इन्कार गर्न सक्दिन । मधेसको मत पाए पछि नै नेपाली कांग्रेस सरकारमा जान सफल भएको छ । कांग्रेसको जन्मकाल देखि नै प्रजातन्त्रको लागि थालिएको आन्दोलनमा मधेस मेरुदण्ड नै थियो । त्यो आन्दोलन पहाड र काठमाण्डौमा त पुग्नै सकेको थिएन । बिरगञ्ज कब्जा, जनकपुर संघर्ष, विराटनगरको मजदुर आन्दोलन तथा हडताल यी सबै मधेसमै भए । यति मात्र होइन परिवारहरू पनि कोइराला परिवार, निधि परिवार, गिरी परिवार, महोत्तरीको मिश्रा परिवार, सप्तरीको रामेश्वर सिंह परिवार आदिको स्पेश पाईन्छ ती आन्दोलनहरूमा ।

कालान्तरमा आएर समस्या बढ्न थाले पछि बेला बखतमा आएर नेपाली कांग्रेसमा विचलन पनि देखियो । सात सालको क्रान्ति लगत्तै पछि समस्या थिएन । २००७ सालको परिवर्तन लगत्तै देशमा नागरिकता ऐन बन्यो । त्यो नागरिकता ऐन मधेस प्रति काफी सकारात्मक छ । तर त्यसको ठीक १० बर्ष पछि २०१९ सालमा राजा महेन्द्रले तानाशाही गरेर जब शासन गरे, त्यो नागरिकता ऐनलाई संशोधन गरेर अवैज्ञानिक र अप्रजातान्त्रिक नागरिकता ऐन आयो । यो दुईटै ऐनको अध्ययन गर्नुस् । तपाई भन्न सक्नुहुन्छ कि २००७ सालको क्रान्तिको उपलब्धि, जनसन्देश र जनादेश जे थियो, २०१९ पछि एक तरिकाले अपहरण नै गरियो भनेर पनि भन्न सकिन्छ । २०१५ साल पछि केही प्रजातान्त्रिक लहर आएको थियो ।

केही मधेसीको प्रतिनिधित्व क्याविनेटमा पनि भएको थियो । पदहरू पनि राम्रै पाएको थियो । ती सबै १९ सालमा बदलियो । २०१९ सालमा कांग्रेस राजा महेन्द्रसँग संघर्षरत थियो । राजा महेन्द्र स्पष्ट रुपले मधेस प्रति गहिरो अविश्वास राखेर आफ्नो नीति नियम अगाडी वढाए । त्यसमा दुई तीनवटा कारण थियो । एक त तत्कालिन समयमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने कांग्रेस वोर्डर वेस्ड थियो । भारत वेस्ड थियो । धेरै कामहरू मधेसमै हुन्थ्यो । सबै भन्दा ऐतिहासिक घटना चर्चित घटना जनकपुरमा दुर्गानन्द झाले राजा महेन्द्र माथि फालेको ‘बम काण्ड’ नै हो । राजा महेन्द्रको प्रतिरोध मधेसले गर्यो । त्यसैले राजा महेन्द्र्र पनि मधेस र मधेसीको विरोधी भएर निस्किए ।

मधेस भुगोल र मधेसी समुदाय दुवै प्रति राजा महेन्द्र अनुदार थिए । भुगोल केही हदसम्म । किन भने यो भुगोल भारतको बोर्डर सँग टाँसिएको छ । नेपालका सारमा मान्छेले भारतका पत्रपत्रिका पढ्थे । भारत एउटा सवल प्रजातान्त्रिक देश थियो । त्यो समयमा जवाहर लाल नेहरू भारतमा प्रधानमन्त्री थिए । र, नेहरूले प्रष्ट रुपमा भनेका थिए कि राजा महेन्द्रले प्रतिगामी कदम चालेका छन् । त्यसकारण हिन्दुस्तानसँगको निकटताका कारणले पनि खुल्ला सीमानाको कारणले मधेसमा भारतको प्रेरणा र प्रभाव परेको थियो ।

जहाँसम्म बसोवासको कुरा छ, भुगोलको कारण मधेसमा आन्दोलन गर्न पनि सजिलो थियो । बाटोघाटो नभएको अन्कन्टार ठाउँ, पहाडहरूमा आन्दोलन गर्न कठिन हुन्छ । दश जनाले पनि जुलुस निकाल्न पहाडमा गाह्रो हुन्थ्यो । जनकपुरै थियो कि महेन्द्र नारायण निधिको नेतृत्वमा २०१८ सालमा जुलुस निकालियो । त्यसैले म मधेसी समुदायलाई अबमुल्यन नागरिकन के भन्न चाहन्छु कि भुगोल र समुदाय दुवैको योगदान थियो ।

त्यही कारणले राजा महेन्द्र मधेससँग चिडचिढिए । मधेस प्रति अविश्वास वढ्यो । उनको पुरै शासनकाल ३० बर्ष जति मधेस विरुद्धको उदाहरणको एउटा श्रृङ्खला थियो । मधेसी पनि डराए । केही समुदाय, केही जाती लामो समय सम्म यदि उत्पीडित रहन्छ भने त्यसको आत्मविश्वासमा कमि आउँछ । कोई राजा महेन्द्रको चाकडी स्तुती गर्ने पनि निस्किए जनकपुरमै । तपाईले चिन्न सक्नु हुन्छ ।

त्यसैले म के भन्छु भने राजा महेन्द्रसँग नेपाली कांग्रेसले लड्यो । तर लड्दा लड्दै शक्तिशाली विरोधीको केही गुण र केही दुर्गुण कांग्रेसमा पनि आयो । राजा महेन्द्रले राष्ट्रवादको नाममा काम गरेका थिए । यो कस्तो विड्म्वना छ भने वीपी कोइराला लामो भारत प्रवास पछि नेपाल फर्किदा उनलाई पनि राष्ट्रवादको सहारा लिनु परेको थियो ।

वीपीले भन्नु भयो, म राष्ट्रिय मेलमिलापका लागि नेपाल फर्किदै छु । उहाँले भन्नु भयो, नेपालको राष्ट्रियतालाई खतरा छ । यहाँ सम्मकी खतरा दक्षिणबाट छ । त वीपी जस्तो त्यत्रो उचाई भएको नेताले पनि त्यसरी राष्ट्रियता बारे अभिव्यक्ति दिनु भनेको मेरो विचारमा त वीपीले सरेण्डर नै गर्नु भएको हो ।

अहिले त्यो राष्ट्रियता र राष्ट्रवाद मधेससँग जुटेको छ । जनकपुरमा दुर्गानन्द झाको सहादत, महोत्तरीको सम्सी कन्मामा शिवचन्द्र मिश्रको सहादत, नेपाल छात्र युवक संघ बनाएर डाम्ही मडैका सिंह परिवार अर्थात यहाँ त शहिदको लामो फेहरिस्त नै छ । ती सबै परोक्षमा परे ।

नेपाली कांग्रेसको इतिहास पनि परोक्षमा पर्यो । र, नेपाली कांग्रेसको मुल नेतृत्व जो थियो, त्यसमा सुरु देखि नै एउटा खास वर्गको प्रभुत्व थियो । राजनीतिमा के हुन्छ भने जुन वर्गको नेतृत्व हुन्छ आफ्नो वर्गको विरुद्धमा कुरै सुन्दैन । त्यो त्यसको दिमागमै पनि आईरहेको हुँदैन ।

त्यसकारण २०४७ सालमा जब नेपाली कांग्रेस सत्तामा आयो, मधेस र मधेसीलाई धेरै ठुलो आश थियो ।
तर, किशुनजी (कृष्ण प्रसाद भट्टराई) जस्तो त्यागी नेता, विद्धान र बुद्धिजिवी नेता भारतको दिल्लीमा जाँदा त्यहाँका पत्रकारहरूले जब प्रश्न गरे कि तपाईहरू मधेसीलाई सेनामा किन लिनु हुन्न, किशुनजीले के जवाफ दिनु भयो कि तपाईहरू किन लिनु हुन्न । एक प्रकारले किशुनजीको त्यो जवाफ अत्यन्तै गैरजिम्मेवार थियो । तर मधेसको राजनीतिक विकास क्रममा त्यतिबेला किशुनजीलाई त्यही लागेको थियो ।

अहिले पनि दुनियाँमा के चिन्तन छ भने केही व्यक्तिलाई मार्शल रेस भनिन्छ । अंग्रेजहरूले गोर्खा, शिख आदि जातीलाई लडाकु जाती भनेर भनेको छ । विहार र उत्तर प्रदेशका मानिसहरू जो मधेससँग समानता छ तीनलाई लडाकु मानिँदैन । यो अंग्रेजले सृजना गरेको धारणा हो ।

अंग्रेजसँग त्यतिबेलाको लडाईमा विहारले पनि टक्कर दिएको थियो । सन् १८५६ को विद्रोहमा विहारको आरणी कुँवर, उत्तर प्रदेशमा मंगल पाण्डे जति पनि लडाई थियो त्यतिबेला विहार र यूपीसँग मात्र थियो । साउथ इन्डियामा आन्दोलन नै थिएन । शीखहरू दास बनिसकेका थिए । ती सबै कुराहरू इतिहासमा रहिरहन्छ । त्यसैले मधेसी मार्शल रेस लडाकु जाती होइन भनेर भनियो । त्यसैले मैले अत्यन्तै श्रद्धा गर्ने किशुनजीको त्यो धारणा गलत थियो ।

नेपालमा पृथ्वीनारायण साहले गरेको स्थापनाकाल देखि नै एउटा खास वर्ग, खास समुदाय, खास जाती नेपालमा एउटा डिस्कोर्स विमर्श नै चल्यो् कि नेपाल राज्य पृथ्वीनारायण शाहले बनाए । हामीहरूले राष्ट्रियताको रक्षा गर्यौं । भारत विरुद्ध राष्ट्रियताको रक्षा गर्यौं ।

कुन भारत भने पछि मुस्लमानद्वारा शासित मुगलान र व्रिटिशद्वारा शासित भारत विरुद्ध हामीले राष्ट्रियताको रक्षा गर्यौं भनेर भनियो । सुन्नमा त धेरै राम्रो लाग्छ की हामीले राष्ट्रियताको रक्षा गर्यौं , हो हामीले रक्षा गर्यौं । बाँकी सबै देशहरू गुलाम भए तर हामीले जोगायौं ।

तर यसको भित्र लुकेको एउटा कुरा के हो भने राष्ट्रियताको नाममा एउटा वर्ग, समुदाय, समुह नेपालका बाँकी वर्ग, समुदाय र समुह माथि शासन गर्न चाहन्छ । तपाईले अलिकति पनि अधिकारको कुरा गर्नुस कि तपाईलाई राष्ट्रियता विरोधीको रुपमा हेर्न थालिन्छ ।

पञ्चायतकालमा पनि त्यो कुरा थियो, त्यसकै मार्कामा मधेस परेको हो । र, मधेस जुन प्रकारले आत्मविश्वासी भयो । आफ्नो संस्कृति, मान्यता, चिन्तन प्रति उदासीन भयो ।

सिमरौनगढको भव्य इतिहास, मिथिलाको भव्य इतिहास विद्यापतिको योगदान, उनको काव्यको उपलब्धिमा मैथिली सभ्यताको उत्कर्ष आदिको लागि मधेस वेगाना भए । मधेस पराया भए । सारा भारतको दलित जातीलाई के लाग्छ भने अंग्रेजी बोल्नुमा नै गौरव छ ।

अंग्रेजीको कितावको दुईवटा नाम सुझाईदियो भने धेरै ठुलो विद्वान कहलिन्छ । त्यस्तै मैथिली जाती, भाषा, संस्कृति, सभ्यतालाई नेपाली राज्यले जे सम्मान गर्नु पथर््यो, त्यो गरेन । वा भनांै मैथिलहरू आफै पनि आफ्नो पुर्वजको महान योगदान प्रति उदासीन छ ।

खुशीको कुरा के छ भने आन्दोलन गरेर त आईरहेको छ तर आन्दोलनको खरावी के छ भने यसमा राजनीतिक पक्षलाई वढी जोड त दिइएको छ, सांस्कृतिक पक्षलाई बेवास्ता गरिएको छ ।

नेपाली कांग्रेसको स्थापनाकालका संस्थापक नेताहरू जो मधेससँग बढी परिचित थिए र अहिलेका शीर्ष नेताहरू जो मधेससँग कम परिचित छन्, त्यसले पनि मधेसको विकासमा असर गरेको हो कि ?

नेपालीमा एउटा भनाई के छ भने ‘उम्केको माछा ठुलो’ । पुरानो नेताहरूको हामी गौरव मण्डित गर्छाैं । तर, त्यो ठीक होइन, गणेशमानजीले भन्नु भएको थियो, लोकतन्त्र आएको चाँहि बाहुन र क्षेत्रीको लागि मात्र हो । लोकतन्त्र आएको काठमाण्डौको मान्छेको लागि मात्र हो ।

जनजाती, मधेसीको लागि लोकतन्त्र आएकै होइन । यसको लागि मैले नेताहरूलाई दोष दिन्न । ऐतिहासिक विकास क्रममा यस्तै हुन्छ । हजारौं बर्षको पराधिनता रहे पछि यो हुन्छ नै ।

अहिलेको नेपाली कांग्रेसको नेतृत्व जो छ, नामै भन्नु पर्दा शेरबहादुर देउवाजी, रामचन्द्रजी उहाँहरूलाई मधेस आन्दोलनको स्प्रिट बुझ्नमा कम से कम संविधानको पहिलो मस्यौदा गर्ने बेला कठिनाई थियो । अहिले पनि कठिनाई छ । उहाँहरूसँग मेरो राम्रै गरी कुरा भईरहन्छ । त म के देख्छु भने उहाँहरूको राष्ट्रियताको जे परिभाषा छ, राष्ट्रियता उहाँहरूकै ठेकेदारी हो ।

उहाँहरूले नै राष्ट्रियतालाई जोगाउनु हुन्छ, जसरी राजा महेन्द्रलाई लाग्ने गर्दथ्यो । यहि हो समस्या । यसको प्रतिरोधमा अर्को धु्रव के आयो भने मधेसलाई अलग गरेरै छाड्छौं ।

सप्तरीका जयकृष्ण गोइतजी, सिके राउतजी सम्म अर्को अतिवादको कुरा गरिरहेका छन् । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । श्रीलंकामा त्यत्रो ठुलो हिंसक शक्तिशाली संघर्ष कसरी तुहियो, त्यो बुझ्नु पर्छ । त्यसैले यो मुख्यतः नयाँ राष्ट्रको निर्माण कमसे कम १ सय बर्ष सम्म त हुँदैन ।

किनभने भारत तल माथि गर्न चाहदैन । भारत आफै भौगोलिक सुरक्षाका लागि चिन्तित छ । त्यसैले नेपालमा केपी ओलीको पनि वढावा हुन जान्छ । यो देशलाई बचाउने जिम्मेवारी आलीकै हो कि कतिलाई लागेको छ । यो देशमा राष्ट्रियता विषयको विमर्शको अनुपस्थितिमा अभावमा भईरहेको हुनाले हाम्रो पार्टीको कतिपय नेताहरू पनि शिकार बनेका छन् ।

तपाईं बेलाबखत बीपी कोइरालाको राष्ट्रियतामाथि पनि किन सवाल उठाउनुहुन्छ ?

अब्राहम लिङ्कनलाई त जान्नु भएको छ । उहाँलाई मानिसहरूले दास मुक्ति, कालाहरूलाई अधिकार दिलाउने नेताको रुपमा चिन्छन् । इतिहासको के कुरा सत्य पनि हो भने अमेरिकामा गृहयुद्ध कालमा कालाको पक्षमा उनको भाषण छ । तर गृहयूद्ध भन्दा अघि अव्राहम लिङ्कन दास प्रथा आपत्तिजनक कुरा हो भनेर मानेका थिएनन् ।

अमेरिकाको सुप्रिम कोर्टले एउटा फैसला सुनायो कि दासलाई, कालालाई मतदानको अधिकार दिईने छैन । किनभने काला या दास त मार्केटमा विक्री हुन्छ । जसरी घोडा, गाई, गोरु विक्री हुन्छ । त, जुन बस्तु बजारमा विक्री योग्य छन् त्यसलाई यदि मतदान गर्ने अधिकार दियो भने धनीहरूले त उसैलाई किनेर पावरमा पुग्न सक्छन् ।

यस्तो किसिमको तर्क अमेरिकाको तत्कालिन सर्बोच्च अदालतले गरेको थियो । अव्राहम लिङ्कन त्यतिबेला सक्रिय थिए । त्यसको प्रतिवाद लिङ्कनले गरेनन् । घुमाउरो पारामा उनले सर्बोच्चलाई सपोर्ट नै गरे । तर गृहयूद्ध जब वढ्यो, कालालाई उनको समर्थनको जब आवश्यकता पर्यो, फेरी लिङ्कनले आफ्नो लाईन परिवर्तन गरी कालाहरूको पक्षमा जानु भयो ।

यसरी हेर्ने हो भने आन्दोलन दौरान धेरै कुराहरू हुन्छन् । भोटको राजनीतिले धेरै असर पार्छ । विपीले पनि राष्ट्रियताको परिचय सुरुमा एक किसिमले दिएका थिए । राजा महेन्द्रसँगको लडाईका समयमा उनी पछि हटेका थिए । प्राचीन राष्ट्रियताको परिभाषालाई विपीले ठीक भनेका थिए । सुरुमा उनले शुत्रपात गरेको परिभाषा अत्यन्तै ठीक थियो । तर, राजा महेन्द्रसँग एडजेस्ट गर्न उनी पछि हटे ।

सन् १९७१ मा विपीले राष्ट्रियताका बारेमा लेखेका छन् जनता नै हो राष्ट्रियताको मुल, भुगोल होईन । जनता नै हो राष्ट्रियताको मुल, राजा होईन । तर पछि उनले नै भन्न थाले कि राजा नरहे देश रहँदैन ।

राजाको स्तुती गान गाउन थाले । त्यो कुरा अहिले आएर त्यसै पनि गलत सावित भएको छ । राजा त अहिले छैन । के देश छैन त ? राष्ट्रियता खत्तम भयो त ? दुनियाँमा राजतन्त्र रहेको देश धेरै कम छ । के त्यहाँ राष्ट्रियता छैन ?

मधेसको सवालमा बीपीको राष्ट्रियता पनि फेरिएको थियो त ?

म यो सिके राउत र जयकृष्ण गोईतजीलाई सुनाउन चाहन्छु कि सैकडौं बर्षको आन्दोलनको क्रममा लड्दै, भिड्दै पर्खिदै, हतारिँदै अगाडी वढ्नु पर्छ । विपी कोइराला सायद केही दिन बाँचेको भए वहाँको दृष्टिकोण परिवर्तन हुन सक्थ्यो । जसरी विपीले वा किशुनजीले मधेसीलाई सकारात्मक रुपमा लिनु पर्दथ्यो वा भन्नु पर्दथ्यो कि हो मधेसीलाई ज्यादै अन्याय परेको छ, त्यो अन्याय र विभेदको एउटा अभिव्यक्ति हाम्रो सैन्य संरचनामा पनि हो ।

निजामती सेवामा पनि विभेद भएको छ । अन्य कानूनी संस्थामा पनि विभेद भएको छ । यो साँच्चै नै अन्याय भएको हो । यसलाई म चाँडो भन्दा चाँडो परिमार्जन गर्छु भन्नुको साटो विभेद भएकै छैन भन्नु गलत थियो । मधेसको सवाल किशुनजीमा रहेको मानसिकता र दृष्टिकोण कता न कता विपीमा पनि पाइन्छ ।

१० वर्ष माओवादी आन्दोलनका क्रममा पनि मधेसीको स्वायत्तता, आत्मनिर्णयको अधिकार लगायत विभिन्न पहिचान र अधिकारको कुरा उठ्यो । तर अन्ततः माओवादी पनि चुक्यो । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

माओवादी आन्दोलनले नेपाल राज्यको पुनर्संरचनामा ठुलो योगदान गर्यो । गणतन्त्रका लागि पनि उसको ठुलो भुमिका छ । संघीय राज्यको अवधारणालाई पनि माओवादीले एउटा निर्णायक मोडमा ल्यायो । संघीय राज्यको कुरो अहिले मात्र उठेको छैन ।

जहाँसम्म मलाई थाहा छ सात सालको क्रान्ति पछि बेदानन्द झाले स्थापना गरेको तराई कांग्रेस त्यसपछि गजेन्द्र नारायण सिंहले सदभावना पार्टीमा उठाउनु भयो । र, यो मुलधारको पार्टीहरू मध्ये नेपाली कांग्रेसमा हामीहरूले उठायौं ।

हाम्रो नेपाली कांग्रेस प्रजातान्त्रिक भएको बेलामा कदमजम (कर्णाली, दलित, महिला जनजाती मधेसी) भनेर मधेसीलाई आरक्षण सँगै संघीयताको कुरा हाम्रो पार्टी भित्र एउटा प्रस्ताव विमलेन्द्रले राख्यो र अर्को प्रस्ताव मैले राखेको थिएँ । तर के हुन्छ भने जब राजनीतिक दलमा एउटा समाज, वर्ग र जाती विशेषको बर्चस्व रहन्छ, त्यस जाती वा वर्गको बाहेकको कुरा सुन्दैन ।

भावना त हामीले व्यक्त गर्यौं । तर ती भावनालाई बोक्ने वर्ग नै तयार भईरहेको छैन । भावना मात्र बोकेर फेरी हुँदैन । समाजवादी क्रान्ति गर्नको लागि मजदुर वर्गले नै गर्नुपर्छ भनेर मार्क्सले भनेका छन् । त्यसैले के एउटा भ्रम भयो दुनियामा की संसदीय लोकतन्त्र आयो भने, ‘वान म्यान वान भोट’ आयो भने सबै समस्याको समाधान हुन्छ ।

अघि राजाको तानाशाहीले गर्दा समस्या उत्पन्न भएको छ, वान म्यान वान भोटले समाधान गर्छ भन्ने भयो । वान म्यान वान भोट निश्चय चाहिएको थियो, त्यो आवश्यक पनि थियो । उत्तर प्रदेश र विहारमा त्यो नभएको भए दलितकी छोरी मुख्यमन्त्री बन्न पाउने थिईनन् । पिछडा वर्गको त्यत्रो ठुलो विद्रोह सम्भव थिएन । त्यसैले वान म्यान वान भोट आधार त हो तर पर्याप्त भने होइन । यो कुरा त्यति बेला जवाहर लाल नेहरूलाई, विपी कोइरालालाई पनि थाहा थिएन । किशुनजीलाई थाहा थिएन ।

हामीले के बुझ्न पर्छ भने राजनीतिक विकासको शिलशिलामा वहाँहरूले जे पढ्नु भयो, त्यही बुझ्नु भयो । अब हामीले के बुझ्नुपर्छ की हामी पहिचानको संकट देखिरहेका छौं । वान म्यान वान भोटको आधारमा कहिल्यै पनि दलितको बहुमत आउँदैन । अल्पसंख्यकले कहिल्यै पनि भोट पाउँदैन । वान म्यान वान भोट हुँदा हुँदै पनि राज्यले लगातार बहिष्कारणमा राखेको बहिष्कृत व्यक्तिले त अधिकार पाउँदैन ।


माओवादी आन्दोलनले पनि मधेसी, थारू आदि समुदायलाई सम्बोधन गरेन भन्ने तपाईंको निचोड हो ?


सुरुमा गर्यो, सैद्धान्तिक रुपले । तर, व्यवहारमा त्यो देखिएन । माओवादीमा मात्रै होइन, कांग्रेसमा पनि प्रजातन्त्र आएपछि तिनीहरूको भलाई हुन्छ भनेर भनियो । प्रजातन्त्र पनि आयो । जे जस्तो आयो । तर त्यहाँ पनि मधेसी, थारुहरू उपेक्षित भए । निजामती सेवा, सेना, पुलिस आदिमा जान सकेनन् ।

ए, तिमीहरूले पढेका छैनौं भन्ने कुरा उठ्यो, अनि यहाँका मान्छेमा चेतना आयो । ए कसरी पढ्ने त ? कहिले पालो आउँछ त ? भन्ने चेतना आए पछि मधेस आन्दोलन भयो । मधेस आन्दोलनको कुरा त मान्छेले धेरै पहिले देखि गरि नै रहेका थिए नि ।

तपाईलाई थाहा छ, रघुनाथ ठाकुर, बेदानन्द झा सम्मले मधेस आन्दोलनका कुरा गरेकै थिए । तर अहिले नै आएर किन भयो त भने मेले के भन्ने गरेको छु कि आन्दोलनको एउटा उद्देश्यलाई लिएर बोकेर अगाडी हिड्नका लागि एउटा वाहन चाहिन्छ । त्या वाहन त्यति बेला रेडी थिएन । पढेलेखेका यूवाहरू वाहेक अहिले ठुलो संख्यामा मानिसहरू चेतनशील भएपछि आन्दोलन भएको हो ।

विपी , गणेशमान, पुष्पलाल समयमा यी कुराहरू भएन । प्रचण्डको समयमा यी कुराहरू अलि अलि भए । तर प्रचण्ड यति नराम्ररी सत्ताको राजनीतिमा फसे कि उनले कुरा बुझ्नै सकेनन् । त्यो भन्दा पनि प्रचण्डमा अरु कमजोरी के थियो भने उनले बुझेको मार्क्सवाद, लेलिनवाद, जे जति उनले बुझेका छन् त्यसमा पनि विमर्श छैन ।

पहिचानको विमर्श नै भएको छैन । वहाँलाई पनि के लागेको छ भने क्रान्ति त वर्गले गर्ने हो । वर्गले सिद्धयाउँछ भन्ने लाग्छ । अहिले तपाई जति अग्रगमन विचार राख्नु हुन्छ, शायद तपाईको हजुरआमाले राख्नु हुन्न होला ।

मधेस अस्मिताको खोजीमा भनेर मधेस आन्दोलनताका तपाईंले लेख्नुभएको थियो । मधेसले पायो त अस्मिता ? बच्यो त अस्मिता ?

त्यो पनि एउटा सापेक्ष कुरा हुन्छ । के सँग तुलना गर्ने ? सात साल, ०१५ साल, ०१७ सालसँग तुलना गर्ने ? पञ्चायतकालमा नेताहरूले के भाषण गर्थे कि राजाले हुकुम दियो भने ‘वाउलाई काटछु आमालाई बाँड्छु’ त्यस किसिमको चाकरीवाज, त्यस किसिमको शोषण, मस्करी सिद्धान्त चल्थ्यो । अब त्यो कहाँबाट कहाँ गई सक्यो ।

अहिले पनि पार्टीहरूमा नेतातन्त्र हावी छ । राजतन्त्रको ठाउँमा नेतातन्त्र आएको छ । त्यो सँग म सन्तुष्ट हुँईन ।
कुरो के हो भने एकैचोटी सम्पुर्ण क्रान्ति गर्न खोज्दा खेरी प्रचण्डको जस्तै क्रान्ति हुन्छ । बीसौं हजार मानिसहरू मर्छन र अन्त्य घुमिफिरी रुम्जाटार वा हिन्दीमा ढाकके तीन पात भने जस्तै ठाउँमा आईपुग्छ ।

श्रीलंकामा त्यत्रो ठुलो हिंसक रक्तपात भयो, तर उपलब्धि भएन । त्यसैले कुनै पनि आन्दोलनले सम्झौता गर्ने घडी बुझ्नु पर्छ । सम्झौता गर्दा आन्दोलनको लक्ष्य छोड्ने होइन, कायम राख्ने, बरकरार राख्ने तर आजको परिस्थितिमा एउटा ऐतिहासिक सम्झौता गर्न सक्नु पर्दछ ।

जस्तो अहिले मधेसवादी पार्टीले संविधान संशोधनको माग गर्दैछ । तर, माग कहिल्यै छोड्नु हुँदैन । हमेशा नयाँ चिन्तन, नयाँ प्रस्तावहरू ल्याई राख्नु पर्छ । अस्तिको संविधानसभाले जसरी राज्यको सीमाङ्कन गरेको छ, त्यो वैज्ञानिक छैन । संघीय राज्य त समुदाय विशेष, जाती विशेष, क्षेत्र विशेषलाई सम्पन्न गर्ने चिज हो । घुमाई फिराई पुरानै वर्गको बहुमत हुने गरी राखेर हुँदैन नि त ।

तर, अब अहिले यति नै भयो, आजका मितिमा चुनावमा भाग लिनु पर्छ । कसरी लिनुपर्छ भने आफ्नो कुरा भन्दै चित्त नबुझे पनि चुनावमा भाग लिनु परेको छ भनेर जनता समक्ष भन्दै जाने हो । यही राजनीतिको नियम हो । यही राजनीतिको खेल हो ।

तपाईलाई थाहा छ, माओवादीहरूले पहिले पार्लियामेन्टलाई मुद्दाको रुपमा उठाए । हामी मान्दैनौं भने । एमालेले पनि मान्दैनौं भने । अम्वेडकर जसले भारतमा संविधान लेख्नु भयो, संविधान पेश गर्ने बेलामा भन्नु भयो कि यो संविधानमा मेरा चित्त नबुझेको धेरै कुरा छ । तर, पनि यो संविधान पेश गर्दैछु देशको लागि ।

सन् १९५५, १९५६ तिर आफ्नै संविधानको आलोचना गर्दै के भनेका थिए भने मलाई त संविधानको लेखक भनेर भन्छन तर म त संविधानको किरानी थिएँ । उनीहरूले बोल्दै गए, मैले लेख्दै गएँ, भनेर भन्नु भएको थियो । त्यसैले अहिले जे जति उपलब्धि आएको छ, मधेस आन्दोलनको त्यसलाई संस्थागत गर्ने हो ।

एउटा उपलब्धि त आन्दोलनले गर्दा नै आएको छ, अर्को उपलब्धि समाजमा भईरहेको स्वाभाविक परिवर्तनले गर्दा पनि आएको छ ।

त्यसैले हाम्रो जे दीर्घकालिन लक्ष्य हो, समाजको पुर्ण क्रान्तिकरण, समाजमा सबैलाई समानता कायम गर्ने, त्यो छोड्नु हुँदैन । र, मधेसको राजनीतिमा जे कमजोरी छ त्यो त छँदैछ, अर्को सांस्कृतिक कमजोरी पनि छ । वाल विवाह, छोरीलाई शिक्षा दिईदैन, अहिले पनि पुरुष बर्चस्व छ । अहिले पनि छुवाछुत कायम छ । जात पात छ ।

यसको लागि पनि राजनीति आन्दोलनको समानान्तर सुधार आन्दोलन चलाउनु पर्यो । तपाई यदि अर्को समुदायसँग लड्न चाहनु हुन्छ भने अर्को समुदाय कसरी अगाडी वढ्यो त्यसको इतिहास पनि त लिनु पर्यो नि । त्यसैले मलाई के लाग्छ भने हामी धेरै निराश हुनु पर्ने कुरा छैन तर यसको अर्थ मधेसीलाई सम्पन्न सबल बन्नबाट बञ्चित पनि गरिनु हुन्न ।

मधेसकेन्द्रित दलहरूले सरकारसँग गरेका सम्झौता किन कार्यान्वयन भएनन् ? के उपयुक्त घडीमा सम्झौता नगरेर हो ?

मधेसी नेतृत्वहरू पनि पटक पटक किन फस्ने गर्छन, त्यो मलाई थाहा भएन । कहिले काँही उहाँहरूले आफ्नो बुद्धि विवेकको प्रयोग गर्नु भन्दा पनि ‘आई एम सरी टु से' उहाँहरू भारतीय दुतावासको वढी भर पर्नुहुन्छ । कहिल्यै दिल्लीका सानातिना राजनीतिक मानिसका कुरा सुनेर त कहिले काँही दुतावासका साना कर्मचारीको कुरा सुन्नु हुन्छ । एमालेले नमानुन्जेल संविधान संशोधन हुँदैन ।

नेपालीमा एउटा उखान छ, घ्यू बेचेर तरवार किन्ने उनीहरूलाई प्रधानमन्त्री बन्न भोट चाहिन्छ, यिनीहरूले पनि संशोधन गर्छु गर्छु भन्छन् तर मधेसी नेतृत्वलाई झुक्याउने, मधेसी नेतृत्वले मधेसी जनतालाई झुक्याउने । आखिर दुवै पक्षले जनालाई झुक्याईरहेका छन् ।

सम्झौताको घडी मैले कहाँ भनेको छु भने जब संविधान बन्यो, संविधान भन्दा मधेसको जुन आक्रोश थियो, आक्रोश पछि सडकमा आएर असंतुष्टि प्रकट गर्यो, त्यो आन्दोलन कहाँ गएर सिद्धियो वा तुहियो त ? भन्ने प्रश्न हो । कहाँ गएर सेफलैण्डिङ्ग भयो त ? त्यसैले मधेसका नाममा राजनीति गर्ने वर्तमान नेतृत्वले जानेकै छैनन् कि आन्दोलन कसरी चलाइन्छ । गान्धीजीले भारतमा ५० बर्ष सम्म त्यत्रो ठुलो ठुलो आन्दोलन चलाउनु भयो । कति पटक आन्दोलन रोक्नु भयो बीचैमा ?

श्रीलंकामा प्रभाकरणलाई जब भारतले हस्तक्षेप गर्यो, अधिकार सम्पन्न बनाउने कुरा गरिएको बेला नै प्रभाकरणले मानेको भए मारिने त थिएनन् नि । ६ महिना साल भर राज्य कब्जा गरेर अगाडी बढ्न सक्थ्यो ।

त्यस अर्थमा भन्न खोजेको हो कि ८÷१० बर्ष सम्म जुन मधेस आन्दोलन चलेको छ, त्यस आन्दोलनबाट काफी उपलब्धि पनि भएको छ । यो अर्को कुरा हो कि आन्दोलनमा काफी बलिदानी भएको छ, त्यसको अनुपातमा उपलब्धि भएको छैन होला । त्यसको लागि आन्दोलनकारी नेतृत्वमा विभाजन पारस्परिक विश्वासको कमी र पृष्ठभूमि महत्वपुर्ण कारण छन् ।

मधेसको भोट लिएर कांग्रेस प्रायः जसो निरन्तर सत्तामा छ । यस क्षेत्रका मानिसहरू पनि प्रायः जसो क्याबिनेटमा प्रतिनिधित्व गरेकै पाइन्छन् । तर पनि मधेसमा किन विकास भएन ?

राज्यको संरचना र अर्थतन्त्रको संरचना जुन छ, त्यो नै जटिल छ । तपाईलाई एउटा सानो प्रश्न घुमाएर म गर्छु । मधेसमा अब खेतीपाती पनि छैन । किसान छ, मजदुर छैन । सबै केटाहरू बाहिर गईसक्यो । कल्पना गर्नुस, तपाईसँग १० विघा जमिन छ । गाउँघरमा अहिले सरदर २ लाख रुपैयाँ प्रति कठ्ठा हुन्छ ।

विघाको ४० लाख भएपनि १० विघाको ४ करोड जति मुल्य मार्केटमा हुन्छ । ४ करोडको लागि किसान लड्दै छ । त्यसले मरिमरी काम गर्छ । ज्याला लगाउँछ । हलो जोत्छ । म्यानेज पनि गर्छ ।

त्यसको बर्षको अन्तयमा बचत कति हुन्छ ? खर्च काटेर ४/५ लाख रुपैयाँ हुन्छ होला । त्यत्रो परिश्रम गरेर किसानको हातमा ५ लाख रुपैयाँ आउन सक्छ । त्यो पनि १० विघा खेत भयो भने मात्रै । अब तपाई बताउनुस् नेपाली कांग्रेस, नेकपा एमाले वा माओवादीका कुन नेता छन् जसको महिनामा ४/५ लाख रुपैयाँ खर्च हुँदैन ।

त्यसैले जुन राज्यको भेस्टेड इन्ट्रेस्ट छैन, गाउँमा सिचाईको व्यवस्था गर्नको लागि मन्त्रीलाई त्यसको सिधा फाईदा हुनुपर्यो । यदि त्यो मन्त्रीलाई फाईदा पुग्दैन भने मन्त्रीले जति सुकै भाषण गरेपनि त्यो बोलीमै सिमित हुन्छ । बेला बखतमा मधेसका नेताहरू मन्त्री बनेकै हो । नेताहरूको कृपामा मात्र मन्त्री बन्न पाउँछन् । त्यस्तो अवस्थामा के गर्ने ? उदाहरणको लागि जनकपुरबाट अहिले कांग्रेस पार्टीका दुई जना नेताहरू मन्त्री छन् ।

उनीहरूले केही गरौं भनेर खोज्यो भनेपनि सचिवले मान्दैन । डिजीले मान्दैन । सेक्सन अफिसरले मान्दैन । पछि नेताले संकेत गरिदियो भने मात्र त्यो काम हुन्छ । त्यस्तो अवस्थामा कि त मन्त्रीले राजिनामा गर्छन् कि त चुप लागेर पद जोगाउँछन् ।

अब सैद्धान्तिक सवालमा कति मन्त्रीहरूले राजिनामा गरेका छन् त ? खास गरी भुमि सुधारको लागि जगरनाथ आचार्यले राजिनामा गरेका थिए ।

भ्रष्टाचारको सवालमा सैलेजा आचार्यले गरिन् । गिरिजाबाबुले दुईटैलाई चित्त नबुझेर राजिनामा गराए । पछिल्लो समयमा विमलेन्द्र निधिले गरेपनि त्यसको बारेमा चर्चा गर्नुनै बेकार छ । त्यसकारण मधेसको विकास यहाँ संघीय राज्य नहुन्जेल हुनसक्दैन । संघीय राज्यमा पर्याप्त अधिकार नपाउन्जेल मधेसको विकास सजिलो छैन ।

अहिले संघीय राज्यमा प्रदेशलाई फेरि त्यत्रो अधिकार पनि दिएको छैन भनेर भनि रहँदा कसरी विकास हुने हो ?

पाएका अधिकारलाई लिएर हिँड्नु पर्छ । बाँकीका लागि संघर्ष गरिरहनु पर्छ । विहारमा पहिले राज्यपालले जतिबेला चाहन्थे त्यति बेला केन्द्रले परिवर्तन गर्यो । तर, अब त सक्दैन । किनभने अदालतले रोक्छ । यो एउटा प्रक्रिया हो ।

म आफुलाई गान्धीबादी मान्दछु । यदि कसैले लडाई गर्छ भने म यति मात्र भन्छु तिम्रो लडाईसँग म सहमत छु । तर, तिम्रो लडाईको तरिका मलाई चित्त बुझेको छैन ।

म त विप्लवले सम्बोधन गरेको सभामा पनि जान्छु । सिके राउतले गरेको सभामा पनि जान्छु । आफ्नो कुरा भन्छु । त्यसैले त्यो लडाकु तत्वलाई, ज्यादा अधिकार माग गर्ने तत्वलाई म समर्थन गर्छु ।

व्ल्युडाईमण्ड सोसाईटीको कार्यक्रममा म चिफ गेस्ट बनेर उनीहरूको ‘गे‘ राईटको आन्दोलनलाई समर्थन गरेको छु । किनभने मलाई के लाग्छ भने गे हरू पनि उत्पीडित बर्ग हुन । र, उनीहरूले ल्याएको कुरा पनि मलाई ठिक लागेन भने म भन्छु कि यो कुरा ठिक भएन ।

नेपाली कांग्रेस प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा १ सय २७ सिट मध्ये १ सय सिट जित्ने दाबी गरिरहेको छ । त्यसको आधार के हो ?

म त छक्कै परेको छु । हाम्रो नेताहरूले किन १ सय सिट मात्रै भनेको हो । १ सय २५ सिट भनेपनि हुन्छ । कसले रोकेको छ । नेपाली कांग्रेस मुख्यतः के चाहन्छ भने प्रदेश नम्बर २ मा एक नम्बर पार्टीको रुपमा स्थापित हुन सकोस् । प्रचारको क्रममा ओलीजीले पनि, प्रचण्डजीले पनि १ सय सिट भन्लान् ।

कांग्रेसले यो चुनावमा एमालेलाई मात्र टार्गेट गरेको देखियो । किन एमाले मात्रै टार्गेटमा परेको हो ?

लडाई नै एमालेसँग छ । सत्ता संघर्षको लडाई एमालेसँग भएका कारणले एमाले टार्गेटमा परेको हो । एमालेको विगतको दुई चरणको विजयका कारण पनि लडाई एमाले सँग परेको हो ।

राजपा यो चुनावमा सहभागी नहोस् भन्ने कांग्रेसको रणनीति रहेको बताइन्छ । राजपा नआए त्यसको लाभ कांग्रेसलाई हुने हुनाले कांग्रेस नै राजपालाई चुनावमा आउनबाट रोकिरहेको भनेर बताइन्छ । के यो सत्य हो ?

राजपा चुनावमा आउने नआउने सवाल स्वयम आफैमा अप्ठ्यारो सवाल हो । उपेन्द्र यादव, विजय गच्छदार लगायत आईसके । राजपा आए कांग्रेसलाई असर पर्छ भन्नु गलत हो । बुनियादी कुरा के हो भने जसरी बारम्बार संविधान संशोधन गरिदिन्छु भनेर भनिएको छ त्यसलाई म धेरै इमान्दार बक्तव्य मान्दिन ।

उनीहरूले प्रष्ट रुपमा भन्न सक्नुपर्यो कि हामी अहिले संशोधन गर्न सक्दैनौं । अहिले त्यो अवस्था छैन । त्यसैले एउटा मात्र उपाय के छ भने हामीले संघीय संसदको चुनाव गरेर नयाँ समिकरणको आधारमा संशोधन गरौंला । तर, राज्यले गर्न सक्ने कतिपय कुराहरू थिए ।

जस्तै स्थानीय तहको संख्या बढाउने कुरा, राष्ट्रिय सभाको चुनावको प्रतिनिधित्वको कुरा आदि गर्न सकिन्थ्यो । तर, विभिन्न पार्टीहरूका बीच बर्गिय र जातिय सवालमा झगडा छ । मधेसलाई शंकाको नजरले हेर्ने सुरुवात राजा महेन्द्रले गरे । त्यो निर्मुल भएको छ, निमिट्यान्न भएको छ, समाप्त भएको छ, अब कांग्रेसले आत्मसात गर्न तयार छ भनेर म मान्दिन ।

चुनावको मुखमा यो भन्दा वढी कुरा भन्न सक्दिन । तर, मेन स्ट्रीममा भएका पार्टीहरू मध्ये कांग्रेस म, विमलेन्द्र जस्ताका कारणले अलि बढी खुला छ । कांग्रेस भित्र हामी धेरै मानिसहरू छौं जो मधेसका सवालमा आवाज उठाईरहेका छौं । मैले त संविधानमै पनि दस्तखत गर्न मानिन् ।

अहिले पनि हामीले मानसिक स्तरमा धेरै काम गर्न बाँकी छ । त्यो कांग्रेसले मात्र गर्ने होईन । मधेसले पनि गर्ने हो । आन्दोलनकारीहरूले के बुझ्नु पर्यो भने यसो बीचमा केही दिन रोकेर रचनात्मक आन्दोलनहरू, सामाजिक समस्या र कुरितीहरू विरुद्धको सामाजिक आन्दोलन पनि चलाउनु पर्छ ।

त्यो सामाजिक आन्दोलनले मात्रै राजनीतिक आन्दोलनलाई बल पुग्छ । यो आन्दोलनमा जुन बल हुनुपर्ने हो त्यो किन छैन भने मन्त्री हुनका लागि आन्दोलन भएको हो भनेर देखिएको छ अनेकौं पटक । मन्त्री पदकै लागि झगडा पनि गरिएको छ । पार्टी पनि विभाजन गरिएको छ ।

राजपाले सांकेतिक रूपमा आफ्नो मुद्दालाई जीवित राख्नका लागि चुनावमा नआएपनि ठीकै हुन्थ्यो भन्ने धारणालाई तपाईंले कसरी लिनुभएको छ ?

त्यो भएपनि एउटा कुरा हुन्थ्यो । तर, त्यो पनि छैन । राजपा विभक्त मानसिकतामा छ । चुनावमा भाग नलिँदा पहिचान र मुद्दा जिवित रहने कुरा पनि छ भने अर्को तर्फ चुनावमा नजाँदा पार्टीमा भगदड मचिने सम्भावना पनि छ । नेतृत्व पनि एकीकृत छैन । नेता धेरै भएको पार्टी बनेको छ राजपा । राजनीतिमा यस्तो विभाजित मनस्थिति हुनुहुन्न ।

महन्थ ठाकुरको नेतृत्वमा भइरहेको आन्दोलनप्रति कति विश्वस्त हुनुहुन्छ ?

व्यक्तिगत रुपले उहाँको इमान्दारी माथि पुरा विश्वास छ । उहाँको प्रतिबद्धता, समर्पण माथि विश्वास छ । तर, सवाल के छ भने आन्दोलनको जटिलतालाई बुझ्नका लागि जुन तत्परता हुनुपर्ने हो उहाँको उमेरका कारणले म देख्दिन । जसरी उहाँले पुरै पार्टीलाई नियन्त्रण गर्न सक्नु पर्ने हो त्यो गर्न बेला बेलामा म उहाँलाई सक्षम देख्दिन । भदौ ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस