विश्लेषण : अन्तर्वार्ता

यो महाधिवेशनबाट पत्रकार महासंघको छवि ध्वस्त भएको छ : बोर्ण बहादुर कार्की [अन्तर्वार्ता]


भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको महाधिवेशनका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । खासगरी महासंघमा बढ्दो राजनीतिक प्रभावबारे व्यापक बहस भइरहेको छ । स्वतन्त्र बुद्धिजीविहरूले महासंघमा राजनीति हावी हुँदै गएकोमा चिन्ता जनाइरहेका छन् । महासंघमा भइरहेको गहिरो राजनीतिक घुसपैठले उक्त संस्थाको मर्यादा, गरिमा र प्रभाव नै कमजोर हुन पुगेको धेरैको बुझाइ छ । यसै सन्दर्भमा लोकान्तर डट्कमले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षबोर्ण बहादुर कार्कीसँग अन्तर्वार्ता गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्वार्ताको सम्पादित अंश :

तपाईंले प्रेस काउन्सिलको नेतृत्वमा रहेर नेपाली पत्रकारिता क्षेत्रलाई नजिकबाट हेर्ने अवसर पाउनुभयो । भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन लाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरूको एकमात्र साझा पेशागत संगठन हो । यो संस्थाको मुख्य उद्देश्यहरू विचार–अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारहरूको हक हितको संरक्षण एवं सम्वद्र्धन गर्नु हो । केही बर्ष यता पत्रकारिता क्षेत्रमा बढ्दो राजनीतिक प्रभाव र दवावले यो संस्थाका मुख्य लक्ष्यहरू ओझेलमा पर्दै आएका छन् । राजनीतिक प्रभावलाई न्यूनिकरण गर्दै नेपाल पत्रकार महासंघलाई पेशागत संगठनमा रुपान्तरण गर्न यो २५ औ महाधिवेशनले ठोस काम गर्ने अपेक्षा राखिएको थियो । तर यो अपेक्षाको विपरित यो महाधिवेशनले नेपाल पत्रकार महासंघको बचेखुचेको पेशागत सस्थाको छवीलाई ध्वस्त गरी दिएको छ र यो संस्थालाई पार्टीहरूको भातृ संस्थामा रुपान्तरण गरी दिएको छ । मेरो मूल्यांकन यहिँ हो ।

यो महाधिवेशनले नेपाल पत्रकार महासंघलाई पार्टीहरूका भ्रातृसंस्थामा परिणत गरी दियो भनेर चर्को आलोचना गर्नुभयो । के आधारमा तपाईं त्यस्तो गम्भीर आरोप लगाउँदै हुनुहुन्छ ?

– नेपाल पत्रकार महासंघ राजनीतिक उद्देश्य प्राप्तीको लागि स्थापित संस्था होईन । यो विशुद्ध पत्रकारहरूको हकहितको संरक्षण र सम्वद्र्धन गर्ने पेशागत संगठन हो । पेशाको मूल्य, मान्यता र चरित्र अनुसार पनि यो संस्था पार्टीगत प्रभावबाट टाढा रहनु नितान्त आवश्यक हुन्छ । पत्रकारिता क्षेत्रमा पार्टीगत प्रभाग बढ्यो भने मिडिया र पत्रकारहरूले स्वतन्त्र र निष्पक्ष समाचार सामाग्रि सम्प्रेषण गर्न सक्दैनन् । स्वतन्त्र र निष्पक्ष समाचार सामाग्री जनतामा पुर्याउन मिडिया र पत्रकार असफल हुँदा पत्रकारिताको मुल्य, मान्यता समाप्त हुन्छ । प्रमुख सत्तासिन र विपक्षी पार्टीहरू यो महाधिवेशनमा पत्रकारका नेताहरूलाई टिकट दिने, गठवन्धन निर्माण गर्ने र चुनावको हारजीत गराउन सडकमा नै खुलारुपले उत्रिए । यस्ता घटनाक्रमले नेपाल पत्रकार महासंघलाई पार्टीहरूका भातृ संस्थामा परिणत गरी दिएको हो ।

पार्टीहरूको निर्देशन र प्रभावमा नेपाल पत्रकार महासंघको अधिवेशन अहिले मात्र भएको हो र ? विगतमा पनि त त्यस्तो भएको आरोप छ नि ?

– अहिले मात्र होइन, यस भन्दा अगाडीका महाधिवेशनमा पनि पार्टीहरूको प्रभाव र नियन्त्रण नभएको होईन । यो महाधिवेशनमा पार्टीहरूको हस्तक्षेपले पराकाष्ठा नाघ्यो र सतहमै आयो । छरपस्ट भयो । पंचायती शासनकालमा विचार अभिव्यक्ति र प्रेस स्वतन्त्रा कुण्ठित थियो । प्रजातान्त्रिक व्यवस्थाको अभावमा विचार अभिव्यक्ति र प्रेस स्वतन्त्रता संभव नहुने हुँदा नेपाली पत्रकारहरूले प्रजातन्त्रको प्राप्तीको लागि मिसन पत्रकातिा गरेका हुन् । त्यति वेला पार्टीका नेता र कार्यकर्ताले झै पत्रकारहरूले पनि राजनीतिक परिवर्तनका लागि संघर्ष गरेका हुन् । २०४६ सालको आन्दोलनले प्रजातन्त्रको स्थापना गरे पछि निसन पत्रकारिताको आवश्यकता समाप्त भएको थियो । त्यतिवेला मिसन पत्रकारितालाई व्यवसायीक (पेशागत) पत्रकारितामा रुपान्तरण गर्न आवश्यक थियो । तर यसको विपरित मिसन पत्रकारिता भन्दा पनि संकुचित पार्टी पत्रकारिता गर्ने गलत अभ्यास शुरु गरियो । त्यही देखी नेपाल पत्रकार महासंघ आफ्नो लक्ष्य र उद्देश्यबाट विचलित हुदै आएको हो ।

यस्तो स्थिति आउनुमा प्रमुख दोषी कसलाई ठान्नुहुन्छ ? स्वयं पत्रकारलाई, पार्टीलाई वा तिनका नेतालाई ?

–यो स्थितिका लागि जिम्मेवार तीनै पक्ष छन् । सबैभन्दा दोषी त पत्रकारहरू नै हुन् । २०४६ सालको राजनीतिक परिवर्तनमा आफ्नो राजनीतिक भूमिका रहेकोले राजनीतिक उपलब्धीमा आफ्नो पनि हिस्सा रहनु पर्ने गलत धारणा त्यति बेलाका पत्रकारका हस्तीहरूमा रह्यो । उनीहरूमा संसद, मन्त्री र महत्वपूर्ण नियुक्ति पाउनु पर्ने महत्वकांक्षा बढ्यो । पत्रकारिताको हथकण्डा प्रयोग गरेर उनीहरूले त्यस्ता अनुचित महत्वकांक्षा पुरा गर्न खोज्दा पत्रकारिता क्षेत्र नै प्रदुषित हुन पुग्यो । राजनीति गर्न चहाने पत्रकारहरूले पत्रकारिता पेशा छाडेर इमान्दारितापूर्वक राजनीति गर्ने अभ्यास गरेको भए नेपाली पत्रकारिता राजनीतिक दलदलमा यसरी फस्ने थिएन । दोस्रो दोषी राजनीतिक पार्टीहरू पनि हुन् । राजनीति गर्ने हो भने पत्रकारिता छोड, पत्रकारिता गर्ने भए राजनीति गर्ने महत्वकांक्षा नराख भन्न पार्टीले सक्नु पर्दथ्यो । राजनीतिक पार्टीहरूले पनि आफ्नो हर्कत पर्दाफास गरिदेलान् भनेर पत्रकारहरूको राजनीतिक महत्वकांक्षा पुरा गरिदिंदै गए ।

नेपालको संविधान र कानूनले हरेक नागरिकलाई मनपरेको राजनीतिक विचारमा आस्था राख्ने, मनपरेको राजनीतिक संगठनमा आबद्ध भई राजनीति गर्ने अधिकार प्रदान गरेको छ । यस्तो अधिकार पत्रकारले उपयोग गर्नहुँदैन भन्नु उपयक्त होला र ?

–कुनै पत्रकारले कुनै राजनीतिक विचारमा आस्था राख्नु, कुनै पार्टीमा आवद्ध हुनु आपत्तिजनक कुरा होइन । तर पत्रकारितामा राजनीति गर्नु आपत्तिजनक हो । राजनीतिक आस्था र प्रतिबद्धताका आधारमा पत्रकारिता गर्ने विकृति नेपाली पत्रकारिता क्षेत्रमा केही वर्ष यता निकै बढेको छ । पार्टीको जिम्मेवारपूर्ण पदमा बसेर पत्रकारिता गर्ने पत्रकारहरूले निष्पक्ष समाचार दिन सक्दैनन् । पार्टीमा आवद्ध पत्रकारहरूले आफ्नो पार्टीको गलत कार्यहरूको ढाकछोप गर्ने र विरोधी पार्टी विरुद्ध भ्रम सिर्जना गर्ने भूमिका निभाउँदै आएका छन् । मिडिया र पत्रकारको प्रमुख कर्तव्य जनतालाई सत्य र तथ्य समाचार स्वतन्त्र र निष्पक्ष भएर दिनु हो । यस सन्दर्भमा एउटा न्यायाधीशको जस्तो स्वतन्त्र र निष्पक्ष भूमिका मिडिया र पत्रकारले निभाउनु पर्दछ । यसैले सक्रिय राजनीति गर्ने व्यक्तिले पत्रकारिता पेशा गर्नु उपयुक्त हुँदैन ।

तपाईंको बुझाइमा नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक पत्रकारिता निकै कमजोर बनेको हो ?

–अहिलेसम्म व्यवसायिक पत्रकारिता गर्ने पत्रकारहरूले नेपाली पत्रकारिता क्षेत्रलाई वचाई राखेका छन् । उल्लेखनीय संख्यामा यस्ता पत्रकारहरू पुरानो र नयाँ पुस्तामा पनि छन् । तिब्र गति र आक्रामक रुपमा नेपाली पत्रकारिता क्षेत्रलाई दलिय राजनीतिको खेलौना बनाउने दुष्प्रयासलाई यिनीहरूले रोक्दै आएका पनि छन् । तर पत्रकारका संघ संस्थाहरूमा यिनीहरूको भूमिका र प्रभाव कमजोर बन्दै गएको छ । खास गरेर युवा पुस्ताका पत्रकारमा दलीय राजनीतिमा सक्रिय नभै पत्रकारित पेशामा टिक्न र स्थिापित हुन सकिदैन भन्ने भ्रमपूर्ण मनोविज्ञान बन्दैछ । यस्तो मनोविज्ञान निकै प्रभावी बन्यो भने नेपाली पत्रकारिता दलीय पत्रकारितामा रुपान्तरण हुने ठूलो खतरा छ ।

नेपाल पत्रकार महासंघ पत्रकारहरूको साझा र प्रभावकारी पेशागत संंगठन नबन्नुका अन्य कारणहरू के देख्नुहुन्छ ?

–नेपाल पत्रकार महासंघ दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । विचार अभिव्यक्ति, प्रेस स्वतन्त्रता र पत्रकारको हक हितको संरक्षण र संवद्र्धन गर्न पत्रकार महासंघ असफल हुँदै र चुक्दै गएको छ । महासंघको छवि र यस प्रतिको जनविश्वास पनि ह्रास हुँदै गएको छ । निर्वाचन र नेतृत्वको चयन दलिय आधारमा हुने अभ्यासले महासंघ आफ्नो उद्देश्य र लक्ष्यबाट चुक्दै र विचलित हुँदै गएको छ । त्यसै गरि पार्टी पार्टीका दलिय पत्रकार संगठनहरू, जातीय र क्षेत्रीय पत्रकार संगठनको बढ्दो भूमिकाले पनि महासंघको प्रभाव र नेतृत्व कमजोर बनेको हो । महासंघको नेतृत्वमा पुगेका व्यक्तिहरूले पहिलो प्राथमिकता आफू आबद्ध रहेको दलको पत्रकार संस्थालाई दिने गरेबाट पनि पत्रकार महासंघ कमजोर बन्दै गएको हो ।

नेपाल पत्रकार महासंघमा दलीय, जातीय र क्षेत्रीय पत्रकार संघहरूको भूमिका कम गर्नुपर्दछ भन्न खोज्नुभएको हो ?

–दलिय, जातीय र क्षेत्रीय पत्रकार संघ संस्थाहरूको भूमिका कम गर्ने मात्र होइन, निरुत्साही नै गर्नु आवश्यक छ । दलिय पत्रकार संघ संस्थाले पत्रकारिताका मूल्य र मान्यतालाई उलंघन र बेवास्ता गर्दै आफू आबद्ध दल र त्यसका नेताहरूलाई अनुचित सहयोग पुर्याउने, पार्टीबाट अनुचित लाभ लिने गलत अभ्यास गर्दै आएका छन् । जातीय र क्षेत्रीय पत्रकार संघहरूको भूमिका जातजाती, भाषाभाषी, क्षेत्रक्षेत्र बीच द्वन्द्व बढाउने र सामजिक सद्भाव भड्काउने हुँदै आएको छ । यस्ता कृयाकलापबाट नेपाली पत्रकारिता क्षेत्रमा असल पत्रकारिता छाँयामा र खराब पत्रकारिताको प्रभुत्व बढ्दै गएको छ । पत्रकारिताका मुल्य, मन्यता विपरित संचालित भई रहेका यस्ता पत्रकारका संघ संस्था रहेसम्म न त महासंघ प्रभावकारी हुन्छ, न त नेपाली पत्रकारिता क्षेत्रले सही दिशा र गति लिन सक्दछ ।

पत्रकारिता क्षेत्रमा देखा परेका समस्याहरूको समाधान गर्नको लागि दल र नेताहरूको भूमिका के देख्नुहुन्छ ?

–लोकतन्त्र, समाज र राज्यका निकायहरूमा भएका विकृति र विसंगतिहरूको विरुद्ध आवाज उठाउन जनतालाई जागरुक गराउने भूमिका मिडिया र पत्रकारले निभाउनु पर्दछ । यस्तो महत्वपूर्ण भूमिका स्वतन्त्र, निष्पक्ष र व्यवसायिक मिडिया–पत्रकारले मात्र निभाउन सक्दछन् । दलिय, जातीय र क्षेत्रीय प्रभावबाट पत्रकारिता गर्ने मिडिया र पत्रकारले यस्तो भूमिका निभाउन नसक्ने मात्र होइन, समस्यालाई झन् जटिल बनाइदिन्छन् । मिडिया र पत्रकारको भूमिका पत्रकारिताको मुल्य, मान्यता र सिद्धान्त अनुकुल हुन सकेन भने लोकतन्त्र, समाज र राज्य नै संकटग्रस्त हुन पुग्दछ । यि कुराहरूलाई मनन गरेर दल र नेताहरूले पार्टी पत्रकारितालाई निरुत्साही गर्दै व्यवसायिक पत्रकारिताको विकासमा सहयोग पु¥याउनु आवश्यक छ ।

पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई तपाईंको के सुझाव छ ? के नयाँ नेतृत्व पत्रकारिता क्षेत्रमा देखापरेका समस्याहरूको निराकरण गर्न सफल होला ?

–जुन दलिय प्रभाव र सहयोगमा महासंघको नयाँ नेतृत्व आएको छ, त्यसले पत्रकारिता क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न सफल होला भनेर अहिले भन्न सकिंदैन । तर गलत प्रकृयाबाट नेतृत्वमा आएकाहरूले पनि उल्लेखनीय काम गरी सफलता हासिल गरेका उदाहरण पाइन्छन् । महासंघका नवनिर्वाचि अध्यक्ष गोविन्द आचार्य लगायतका पदाधिकारी र सदस्यहरू नेपाली पत्रकारिता क्षेत्रलाई बुझेका र केही गर्न सक्ने हैसियत भएका व्यक्तिहरू छन् । उनीहरूले महासंघका उद्देश्य र लक्ष्य अनुसार प्रतिबद्ध र सकृय भएर काम गरे भने उल्लेखनीय काम गर्ने सम्भावना पनि पर्याप्त छ । यसको लागि दलीय आग्रह र पूर्वाग्रहबाट प्रभावित नभई दलीय पत्रकारितालाई न्यूनीकरण गर्न सक्नु पर्दछ । भदौ ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस