खोज/विशेष : फिचर

माओत्सेतुङले दिएको कलमले ६० वर्ष लगाएर भैरवले लेखे ‘नृत्य लिपि’


करिब साठी वर्षअगाडि नेपाल सरकारलाई चीन सरकारको तर्फबाट सांस्कृतिक सम्झौताको प्रस्तावसहित मैत्रीपूर्ण भ्रमणको निम्तो आयो । उक्त निम्तोमा शिक्षामन्त्री एवम् इतिहासकार बालचन्द्र शर्माको नेतृत्त्वमा विविध विषयका वुद्धिजिवी वर्गको एउटा सांस्कृतिक शिष्टमण्डल चीन भ्रमणमा जाने तयारी भयो ।

तर यो रचनाकार, नर्तकको नाम त्यस शिष्टमण्डलमा समावेश नभएको समाचार राजदरबारले थाहा पाउने बित्तिकै राजाको आदेशबाट रातको बाह्र बजे राजदरबारमा नृत्यको प्रतियोगिता गराइयो । सो अवसरमा उपस्थित राजा रानी, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कमाण्डर इन–चिफ लगायत अन्य उच्च ओहदाका प्रतिष्ठित समुदायसमक्ष यस रचनाकारलाई समेत अप्रत्यासित रुपमा लगेर नृत्य प्रस्तुत गर्न लगाइयो ।

यस रचनाकारको प्रस्तुतिबाट प्रभावित हुँदा राजा महेन्द्रबाट ‘तिमी चीन जानुपर्छ, देशको नाम राखेर आउनू’ भन्ने हुकुम भयो ।

राजाको आदेश भएको पाँच दिनपछि यो रचनाकार भैरबबहादुर थापा चीनको विशाल भूमिमा प्रवेश गर्न सफल भयो ।

नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापाले आफ्नो जीवनको साठी वर्ष खर्चेर तयार पारेको कृति ‘नृत्याक्षर विज्ञान’ को भूमिकामा लेखेका छन् ।

****

उमेरले उनलाई कमजोर बनाउँदै लगेको छ । आँखाले राम्रोसँग भेउ पाउन छोडिसकेका छन् । तर भैरवबहादुर थापाको जोश अझै डगमगाएको छैन । कुनै ताका नृत्यको माध्यमबाट नेपालीमाझ मात्र होइन, छिमेकी मुलुक भारत र चीनका उच्चस्तरीय नेताको समेत तारिफ पाएका भैरवबहादुर आजभोलि भने गुमनामजस्तै छन् । अहिलेका सयौं नृत्य निर्देशकमाझ नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापा ओझेलमा छन् ।

साठी वर्ष खर्चेर नृत्यलिपिको कृति ‘नृत्याक्षर विज्ञान’ प्रकाशन गर्दैछन् भन्ने धेरैलाई थाहा छैन । पूरै विश्व बजारलाई नै केन्द्रमा राखेर साठी वर्षे लामो लेखनको नतिजा अब भने पाठकमाझ आउँदैछ ।

कृतिले संसारभरका ‘नर्तक’ लाई फाइदा पु–याउने छ भन्ने पनि कमैलाई हेक्का छ । नयाँ पुस्ताले त झन् उनको योगदानलाई बुझ्ने मौकासमेत पाएका छैनन् ।

राजा महेन्द्रले ‘देशको नाम राखेर आउनू’ भन्दै धाप मारेपछि युवा भैरवबहादुरको जोशले सगरमाथा छुन नखोज्ने कुरै भएन । नृत्य प्रस्तुत गर्न उनी सहितको टोली चीन जाने भयो । चीनका तत्कालीन नेता माओ त्से तुङ्ग, प्रधानमन्त्री चाउ–एन–लाई लगायतको मन्त्रीमण्डलमाझ थापाले ‘किसान’ शीर्षकको एकल भावनृत्य र ‘नेपाली टेम्बोरियन’ नृत्य प्रस्तुत गरे त्यतिबेला ।

त्यही नृत्यबाट प्रभावित भएर माओ त्से तुङ्गले प्रसन्न हुँदै ‘कलम’ उपहार दिए थापालाई । र चीनका दर्शकमाझ दुई हप्ता आफ्नो नृत्य देखाउने व्यवस्था पनि मिलाइदिए ।

विश्व चर्चित माओका हातबाट कलम उपहार पाउँदा उनले आफूलाई भाग्यमानी मात्र ठानेनन् । आफूसँग खुबी भएकैले उक्त कलम पाएको बुझे । एकदमै थोरैले मात्र माओको हातबाट उक्त कलम पाएका थिए इतिहासमा ।
‘अरुले माओ पेन पाएपछि माक्र्सवादी बन्लान्, तर मैले त्यही कलमको माध्यमबाट नृत्याक्षर विज्ञानको लेखनी थालें ।’, थापा सुनाउँछन् ।

‘नृत्याक्षर विज्ञान’ मा उनले नृत्यको भाषाको निर्माण गरेका छन् । संकेतका आधारमा संसारभरका नर्तकले नृत्यको भाषालाई बुझ्न सकून् भन्ने उद्देश्यले आफूले कृति लेखेको बताउँछन् थापा ।

पुस्तक शुरु गर्दा उनको उमेर बल्ल बाइसको थियो । जोशले त्यतिखेर एकछत्र राज गरेको थियो । पूरै जीवन नाचगानमा खर्च गर्ने सपना पनि देखेका थिए उनले । माओमात्र उनको नृत्यबाट प्रभावित भएनन् ।

‘भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले पनि आर्शिवाद दिनुभएको थियो, दुवै देशका उच्चस्तरीय नेतासँग भेट्ने मौका जुरेको थियो ।’ उनी आफ्ना शुरुवाती दिन सम्झँदै सुनाउँछन्, ‘राजा महेन्द्रले मसँग हात मिलाएर जनतासँग हात मिलाउने चलनको शुरुवात गरे ।’

पछि जनतासँग हात मिलाएको भन्दै राजाको विरोध भएछ । ठूला नेतासँगसमेत हात नमिलाएका राजा महेन्द्रले उनीसँग हात मिलाउँदा विरोध हुनु सामान्य लागेको उनी बताउँछन् ।

चीन बसाइमा त्यहाँको रहनसहन र नृत्य बुझ्न भाषाको समस्या परेपछि उनले त्यतिबेलै सोचेका थिए, ‘नृत्यको भाषा बुझ्न यति गाह्रो छ भने यसको लिपि निर्माणमा आफै किन नलाग्ने?’

साठी वर्षअघिको उनको सपना अहिले ‘पाण्डुलिपि’ बनिसकेको छ । कुनैबेला उनी आफ्नो नृत्य समूह ‘भैरव नृत्य दल’ का नर्तकसँग हुन्थे । अहिले उनी पाण्डुलिपि र यसको छपाइको व्यस्ततामा हुन्छन् ।

बाइस वर्षे सोचको उनको सपना साकार हुन थापालाई साठी वर्ष लाग्यो । साठी वर्षअघि उनले ‘नृत्याक्षर विज्ञान’ को लेखनी थालेका थिए, त्यो पनि माओले दिएको पेनबाट । पुस्तकलाई नेपाली बाहेक अन्य चार भाषामा पनि अनुवाद गर्ने योजना छ थापाको – नेपाली, अंग्रेजी, हिन्दी र फ्रेन्च ।

हिन्दी भाषामा वरिष्ठ गीतकार चेतन कार्कीले अनुवाद गर्दैछन् ।

उनको चाहना छ, यो पुस्तक चिनियाँ भाषामा पनि अनुवाद गर्ने । किनकि, चीनबाट नै लिपिलेखनको पहिलो प्रेरणा पाएका थिए थापाले ।

‘चिनियाँ भाषामा अनुवाद गर्छु भन्ने पनि हुनुहुन्छ । तर औपचारिक तयारी अझै भएको छैन ।’, थापा सुनाउँछन् ।
यति बृहत् नृत्य ग्रन्थ तयार गर्नका लागि कहाँ सहज थियो र? लिपिमा प्रयोग हुने सकेंतलाई उतार्न पनि उस्तै गाह्रो । एउटा त्यस्तो प्रयोगको अवधारणा उनीसँग थियो, जुन प्रयोग संसारका कुनै पनि नर्तक या नृत्य निर्देशकले आँट्न सकेका थिएनन् । युरोपका केही देशका नृत्य निर्देशकले प्रयास गरेपनि नृत्यको पूर्ण लिपि तयार गर्न सकेका थिएनन् ।

‘बेली लिपिको प्रयोग त भएको थियो तर यसरी एकमुस्ट लिपि तयार हुनु भनेको संसारमै पहिलो हो ।’ थापा सुनाउँछन्, ‘मेरो जिवनको सबथोक यही कृति हो, कति त यही पुस्तक टाइप गरेर बितिसके तर किताब बल्ल तयार भएको छ ।’, उनी यतिखेर मज्जाले हाँसे ।

उनको समयमा नृत्य पेशाबाट पैसा कमाउने वातावरण त थिएन नै । समाजले हेर्ने दृष्टिकोण पनि संकुचित थियो । ‘पोखराबाट समेत कलाकार ल्याएर पालेको छु मैले ।’ थापा आफू अगाडि राखिएको पाण्डुलिपि हेर्दै भन्छन्, ‘बरु अहिले त नाचेरै राम्रै पैसा कमाउन संस्कृतिको विकास भएको छ ।’

नाचगानमै उनले पुर्खाको सम्पत्ति सके । पूरै जीवनलाई नृत्यमै खर्च गरे । हुँदाहुँदाको कमलपोखरीको घर बेचिदिए । तर परिवार समेत दुखी छैनन् उनको त्यागमा । ‘नाचगानमै रहर थियो भन्ने बुझेर परिवार रुष्ट भएनन् ।’ थापा थप्छन्, ‘कसैले घर कहाँनिर हो भन्यो भने नेपाल हो भन्छु, यहाँको ठेगाना दिएर के गरौं, भोलि कुन ठाउँ सर्नुपर्ने हो ।’

यतिबेला भने उनी केही निराश देखिन्थे । भने, ‘हामीलाई सरकारले हेरेन ।’

पुर्खाको सम्पत्ति पनि कहाँ कम थियो । जनकपुरमा भएको पाँच सय बिघा जग्गा । काठमाडौंको विभिन्न ठाउँको जग्गा र कमलपोखरीको घर । ‘प्रज्ञा प्रतिष्ठानको जग्गा बनाउन पाँच रोपनी जग्गा त मैले नै बेचेको थिएँ ।’ उनी आफ्नो विगत सम्झन्छन्, ‘राजा महेन्द्रले त्यतिबेला आफ्नो निजी सम्पत्तिले प्रज्ञा प्रतिष्ठानको पूरै जग्गा किनेका हुन् ।’

प्रतिष्ठानबाट राजाको मूर्ति हटाउँदा उनलाई दुःख लागेको बताउँछन् । ‘महेन्द्र राजा मात्र थिएनन्, संस्थाका कूलपति पनि थिए, संस्कृतिका लागि उनको योगदानलाई लत्याउँदै शालिक हटाउन जरुरी थियो?’, उनी सुनाउँछन् ।

‘पुर्खाले राजपरिवारको डिठ्ठा भएर कमाएको सम्पत्ति मैले नृत्यमै खर्च गरें ।’ उनी आफ्ना बुबाको बानी सम्झँदै सुनाउँछन्, ‘बुबा भने ‘अरुको लिनु अपमानित हुनु हो’ भन्ने सोच्नुहुन्थ्यो ।’

अहिले उनी कालोपुल नजिकैको घरमा डेराको जिन्दगी बिताइरहेका छन् ।

‘राजा वीरेन्द्रको हत्याकाण्डपछि मेरो जीवन ढलेको हो ।’, उनी भन्छन्, ‘अहिले राज्यले देशका गहनालाई पाखा लगाएको छ, उतिबेला बस्ने घर छ कि छैन भनेर सोध्थे राजाले ।’

दुनियाँलाई ‘गुन’ लगाएका भैरबबहादुरलाई भने राज्यले गुन लगाउन सकेन । अहिले समय धेरै फेरिएको उनको बुझाइ छ । ‘प्रजातन्त्र त राजा महेन्द्रका पालामा थियो, अहिले सिंहदरबार जान पनि आफ्नो मान्छे हुनुपर्छ ।’ उनी पुरानो राज्यावस्था सुनाउँछन्, ‘महेन्द्रको पालामा जो कोही पनि सिंहदरबार जान पाउँथ्यो, नेपालीले सिंहदरबार हेरेर छाति फुलाउँदै हाम्रो नेपाल हिन्दुस्तानभन्दा कम छैन भन्थे ।’

अहिले जाँदा आफै पनि कतिपटक त बाहिर लामो समय कुर्नुपरेको बताउँछन् । उनी गणतन्त्रलाई व्यङ्ग्य गर्दै भन्छन्, ‘यो त गणतन्त्र होइन, गन्हाउने तन्त्र हो ।’

गणतन्त्रप्रति उनलाई त्यति आशा त लागेन तर प्रचण्डबाट भने धेरै आशा रहेछ उनको ।

‘नेपालमा जति नेता आएपनि ‘महात्मा’ स्वभावका नेता मात्र थिए । जंगबहादुरजस्ता प्रचण्डले परिवर्तनको छनक देखाएका थिए ।’ उनी थप्छन्, ‘मैले उनको जोश देखेरै थन्काएर राखेको पुस्तक फेरि निकालेर लेख्न शुरु गरें ।’

आँखा बिस्तारै कमजोर बन्दै त गएका छन् तर मनको आँखाले अझै पनि आफू आजिवन बाँच्ने उद्देश्यमा छन् थापा । प्रकाशोन्मुख कृति ‘नृत्याक्षर विज्ञान’ लाई बेलायतकी महारानी एलिजावेथको हातबाट विमोचन गराउने धोको छ उनको । या त युनेस्कोबाट लोकार्पण गर्ने सपना छ ।

‘महारानी एलिजाबेथलाई केही नहोस्, मेरो पुस्तक उहाँकै हातबाट विमोचन गर्न पाइयोस् भनेर प्राथना गरेको छु ।’, उनी थप्छन्, ‘नेपाललाई त यो कृतिको मर्म बुझ्न केही दशक लाग्ला तर भारतले भने पुस्तक अनुवाद भएपछि पाठ्यक्रममा समावेश गर्नेछ ।’

‘कुनै देशको पाठ्यक्रममा समावेश भयो भने रोयल्टीले नै नातिहरु पालिन्छन् नि ।’ उनी आफ्नो पाण्डुलिपि हेर्दै मुसुक्क मुस्कुराउँछन् । भदौ १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस