खोज/विशेष : फिचर

आमा गुमाएकी सिद्धमतीको पीडा, उपचार नपाएर मरिने हो कि ?


असोज, ५ मुगु – मुगुको छायाँनाथ रारा नगरपालीका– १० झाकोट गाउँकी आमाबाबु नभएकी ८ बर्षीया सिद्धमती नेपाली जिल्ला अस्पताल मुगुको शैयामा छटपटाइरहेकी छन् ।

सानीआमा (आमाकी बहिनी)को घरमा साहारा लिएर बस्दै आएकी उनलाई ३ दिन अगाडि जुकेना भन्ने ठाउँमा बहुला कुकुरले टोकेको थियो । कुकुरले अनुहारमा टोकेपछि उनी जीवन मरणको दोसादमा अस्पतालको शैयामा छट्पटाइरहेकी छन् ।

अनुहारमा गहिरो घाउका कारण आमाबावुको काखमा खेल्ने उमेरकी बालिका अस्पतालको शैयामा तड्पिरहेकी छन् । कुकुरले टोकेको दिनदेखि उनका आँखा ओभाना भएका छैनन् । आफूलाई सन्चो हुने र स्कुल जान पाउने उनको आशा छ ।

गाउँको बिद्यालयमा ३ कक्षामा अध्यनरत सिद्धमती विद्यालय जान आफूलाई अब कसले सहयोग गर्ला भनेर सोध्ने गर्छिन् । अधिकांश समय उनी टोलएर बस्छिन् । होस आउनेवित्तिकै आमाको खोजी गर्छिन् । तर उनलाई थाहा छ कि उनकी आमाले यो संसार छोडिसकेकी छन् । जन्मिएदेखि अहिलेसम्म उनले आफ्ना बुवालाई देखेकी समेत छैनन् ।

कुकुरले टोकेका व्यक्तिलाई जतिसक्दो चाँडो रेबिजविरुद्धको खोप लगाउनुपर्ने हुन्छ । तर मुगु जिल्ला अस्पतालमा खोपको अभाव छ । रेबिजविरुद्धको खोप नेपालगन्जबाट मगाउनुपर्ने जिल्ला अस्पतालका कर्मचारीको भनाइ छ । तर बेसहारा सिद्धमतीका लागि खोप मगाउन कसैले पहल गरेका छैनन् ।

सहयोग गर्न उनका कोही आफन्त छैनन् । भएका पनि आर्थिक अवस्था कमजोर भएकाले रेविजको खोप किन्न सकिने अवस्था छैन ।

जिल्ला अस्पतालका चिकित्सक डा. बिपीन काफ्ले भने नेपालगन्जबाट जहाज नआउँदा खोप ल्याउन समस्या भएको बताउँछन् । ‘नेपालगन्जमा खोप तयार गरी राखिएको छ,’ लोकान्तरसँगको कुराकानीमा उनले भने, ‘तर जहाज नआउँदा ल्याउन समस्या भएको छ ।’

आमाको मृत्यु भएपछि बेसहारा

सिद्धमती नजम्मदैँ उनका बुवा लालु नेपाली गाउँकै एक अर्की महिला भगाएर भारततिर गएका थिए । त्यसपछि उनी जन्मेको पनि ८ वर्ष भइसकेको छ । तर बुवा लालुबारे उनलाई केही थाहा छैन ।

दैनिक मजदुरी गरेर आफूलाई पाल्दै आएकी आमाको पनि मृत्यु भएपछि सिद्धमती सहाराविहीन भएकी छन् । ‘आमालाई दमको रोग थियो । त्यसैले मृत्यु भयो,’ सिद्धमतीकी जेठी दिदिले भनिन् ।

उपचारका लागि कसैले सहयोग गरेमा सन्चो भए सिद्धमती स्कुल जान चाहन्छिन् । पढेर ठूलो मान्छे बनेर आफूजस्तै बेसहाराको सेवा गर्ने उनको लक्ष्य छ । तर त्यो लक्ष्य कसरी पूरा हुने हो, त्यो भने उनलाई थाहा छैन ।


                                                                                                
सहयोगको अपिल
सिद्धमतीको लक्ष्य छ, पढेर ठूलो मान्छे बन्ने र आफूजस्तै बेसहारा तथा गरिवको सेवा गर्ने । तर कुकुरले टोकेर सामान्य खोप लाउन पनि उनी र उनका आफन्तसँग पैसा छैन । अहिले उनलाई आर्थिक सहयोगको आवश्यकता छ । हामीले गरेको सानो सहयोगले उनको जीवन बच्ने छ । सायद पढेर ठूलो मान्छे बन्ने उनको लक्ष्य पनि पूरा हुनेछ । उनलाई सहयोग गर्न चाहने व्यक्तिले मुगुका लागि लोकान्तरकर्मी अच्युत भण्डारी लाई९७५८९०१२७७मा सम्पर्क गर्न सक्नुहुनेछ । सिद्धमतीका लागि पठाइएको सबै रकम जस्ताको त्यस्तै उनलाई बुझाइने छ । असोज ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस