खोज/विशेष : फिचर

‘छोरो आमाको दूध खान नपाएर बित्यो, अहिले म दशैंको शुभकामना दिन सक्दिनँ’


काठमाडौं, ६ असोज– ‘आमाको दुध खान नपाएर जन्मेको २१ दिनमै हाम्रो छोरो वित्यो,’ कहाली लाग्दो अस्पताल बसाइ सम्झँदै पवन शाहले भने, ‘डाक्टरहरुको लापरबाहीको कारणले गर्दा श्रीमती पनि भगवान भरोसाको अवस्थामा छिन् ।’

दुई महिना लामो अस्पताल बसाइले रन्थनिएका शाहले अगाडि भने, ‘यसपाली म दशैंको शुभकामना समेत दिन नसक्ने अवस्थामा छु ।’

विराटनगर १४ का पवन शाह श्रीमतीलाई सुत्केरी गराउन साउन १८ गते विराटनगरको नोबेल मेडिकल कलेज पुगेका थिए । श्रीमतीको योनीबाट पानी बग्ने समस्याका कारण शाहले ‘डेलिभरी डेट’ भन्दा चाँडै नै अपस्पताल पुर्याएका थिए ।

अस्पताल पुर्याएपछि श्रीमती र नवजात शिशुलाई केही नहुने ठानेर उनी अस्पताल पुगेका थिए । तर शाहको ‘भाग्य’ कमजोर रहेछ, जन्मिएको २१ दिनमा छोरो गुमाए । श्रीमती अहिले पनि नोबेल अस्पतालमा भगवान भरोसाकै अवस्थामा छिन् ।

श्रीमतीको उपचारमा पैसा खर्च गर्दागर्दा टाट पल्टिएका शाहले बिहीवारदेखि श्रीमतीका लागि औषधी किन्न समेत सकेका छैनन् ।

‘हिँजो देखि त औषधी किन्ने पैसा समेत छैन,’ शुक्रवार नोवेल अस्पतालमा भेटिएका उनले भने, ‘छोरा गइहाल्यो, श्रीमतीलाई कसरी बचाउँनु ?’

सुत्केरी हुन नोबेलमा भर्ना भएकी पवनकी श्रीमती सन्जु अहिले नोबेलकै हाडजोर्नी विभागको वार्डमा छिन् । तर अस्पतालको हेलचेक्र्याइँका कारण सुत्केरी हुन अस्पताल गएकी आफ्नी श्रीमतीले हाडजोर्नीको उपचार गराउनु परेको शाहले बताए ।

‘डेलिभरी अप्रेसन गराउनुभन्दा अगाडि नै डाक्टरहरुले कम्मरमा सुई लगाइदिएका थिए,’ शाहले भने, ‘अप्रेसन ठीकठाकै भएको हो, तर हेलचक्र्याइँ गरेर सुई लगाउँदा सारा समस्या भयो ।’

सन्जुको बच्चा जन्माउनको लागि पहिलो अपरेशन गरिएको थियो । बच्चा जन्मियो । तर बच्चा नरोएपछि उसलाई सिधै अस्पतालको आइसीयूमा राखियो । बच्चालाई १९ दिनपछि आइसीयूबाट निकालियो । तर १९ दिनमा आमाको अवस्था अत्यन्तै कमजोर भइसकेकोले दुध चुस्न सक्ने अवस्था थिएन । सोही कारणले बच्चाले दुध चुस्न समेत पाएन ।

बच्चा नजन्मनु अघि नै सन्जुलाई कम्मर दुख्ने समस्या थियो । तर सिकारु डाक्टरहरुले केही होइन आत्तिनु पर्दैन भनेर जवाफ फर्काए ।

‘साह्रै दुखेपछि एमआरआई गरेर हेर्दा कम्मर देखि घुँडा सम्मको भागमा पिप जमेको रहेछ, सुरुमा अस्पतालले ख्याल नै गरेन,’ पवनले भने, ‘खुट्टा र घुँडाको अप्रेसन गर्यौं, त्यसपछि हिजो छाती नजिक पनि अप्रेसन भयो ।’

चार ठाउँमा अप्रेसन गर्दा पनि श्रीमतीको अवस्था चाहिँ कमजोर रहेको उनले बताए । ‘पहिले सुईं मात्रै चलाए, पछि बल्ल थाहा भयो कि हाडमा इन्फेक्सन (संक्रमण) भइसकेको रहेछ,’ उनले भने ।

प्रसुती कक्षबाट हाडजोर्नी विभागमा सारेपछि एक जना सिनियर डाक्टरले आफ्नो विरामीको राम्रो ख्याल गरे पनि त्यो भन्दा अघि नै अस्पतालले विरामीलाई कमजोर बनाएको उनले बताए ।

अहिले पनि उनको विरामीको दायाँ तर्फ कम्मरमुनिको भाग चल्दैन । ‘अहिलेसम्म पनि अस्पतालले विरामीलाई के भएको हो भनेर भन्न सकेको छैन,’ उनले भने, ‘बच्चा जन्माउनलाई हिँडेर अस्पताल पुगेको व्यक्तिको घुँडा, कम्मर, बच्चा पेट र छातिमा अप्रेसन भइसक्यो ।’

श्रीमतीको उपचारमा अहिलेसम्म पाँच लाख खर्च भएको उनले बताए । तर अहिले पैसा नभएर श्रीमतीलाई औषधी किन्न नसकिरहेको पीडा उनी सुनाउँछन् । ‘हिँजो फेरि केही टेस्टहरु पनि डाक्टरले लेखिदिएका छन्, औषधी पनि लेखिदिएका छन्,’ उनले भने, ‘औषधी किन्न सक्ने अवस्था छैन, अस्पतालले आफ्नो कमजोरी स्वीकारेर श्रीमतीको उपचार गरिदिएको भए पनि हुन्थ्यो ।’

तर डाक्टरहरुले अरु अरु कुरा गरेर आफूहरुलाई टार्ने कोशिश गरिरहेको उनले बताए ।

अस्पताल प्रशासनले चाहिँ सन्जुको यो अवस्था हुनुमा अस्पतालको कुनै पनि लापरबाही नभएको जनाएको छ ।

अस्पतालका प्रशासन अधिकृत नारायण दाहालले बच्चालाई कोशिश गर्दा गर्दै पनि बचाउन नसकिएको बताए । तर सन्जुको यस्तो अवस्था हुनुमा अस्पतालको गल्ती नभएको उनले बताए ।

‘डेलिभरी अप्रेसन सफलतापूवर्क नै भएको हो, तर हाडजोर्निमा समस्या रहेछ,’ उनले भने, ‘अस्पतालले कुनै पनि गल्ती गरेको छैन ।’ दाहालले विरामीको अवस्था दयनिय भएको कारणले अस्पतालका तर्फबाट केही छुट गरेको पनि बताए । असोज ७, २०७४ मा प्रकाशित

विशाल भट्टराई

विशाल भट्टराई लोकान्तर डट कमका विशेष संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस