साहित्य

वाम एकता र ‘शरद’का तीन कविता


काठमाडौं, २१ असोज–एकातिर शरद ऋतु र उमङ्गले भरिएको शारदीय महोत्सवहरूको यो माहौल ! अर्कोतिर नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच ऐतिहासिक एकताका विषयमा भएको गम्भिर छलफल ! एकता आवस्यकता वा बाध्यता जे सुकै भए पनि यसले कार्यकर्ताहरूको हृदयको तारलाई झङ्कृत तुल्याएको मात्र छैन, नेपाली काँगेसको मस्तिष्कमा कम्पन नै छुटाइदिएको छ । राजनीतिको यो पछिल्लो घटनाक्रमले नेपाली राजनीतिक परिदृश्यमा एक खालको तरङ्ग नै ल्याइदिएको छ ।

संयोग नै मान्नुपर्छ । शरद सम्पादको थालनिसँगै यी दुई कम्युनिष्ट पार्टी छलफलमा जुटिरहेकै बेला माओवादी आन्दोलनका एक गहन हस्ताक्षर एवम् गुमनाम पात्र स्वनामसाथी (शसी शेरचन) सहितका केहीले अक्टोबर क्रान्ती (अक्टोबर महिनामा रुस र चीनमा शुरु भएको क्रान्ती) को शतबार्षिकीसँगै नेपालमा यसको आवश्यकताबारे गम्भीर छलफल गरिरहेका थिए ।

वर्गीय समानता र बिभेदमुक्तिका खातिर रगत बगाउन आम युवालाई बिद्रोह गर्न आम युवाहरुलाई पे्ररित गराउने स्वनामसाथीका बारेमा धेरैलाई थाहा नहुन सक्छ । केही वर्षअघि मात्र आफूभन्दा आधा कम उमेरकी आफ्नै सहयात्री किरण गौतमसँग प्रणय सुत्रमा बाँधिएपछि त बर्गाीय बिभेद अन्त्यका लागि भनिएको माओवादी आन्दोलन स्खलीत नै भएको निष्कर्ष निकाल्दै उनी माओवादी भनेर चर्चित अनुहारहरुसित पृथक रहे । उनै स्वनाम साथी अहिले हालसम्म बिश्वमा मुक्तिका लागि जन बिद्रोहका सफल मोडेल अक्टोबर क्रान्ती बारे गम्भीर बहसमा रहेका छन् ।

के हो अक्टोबर क्रान्ति ?
अंग्रेजी महिनाहरूमध्यको अक्टोबर महिना विश्व इतिहासमा अङ्कित भएका दुई ठूला राजनीतिक परिवर्तनले चिनिन्छ । दुई विशाल देश रुस र चीनमा युगान्तकारी परिवर्तन यही महिनामा भएका थिए । सन् १९१७ को अक्टोबर महिनामा रुसमा भ्लादिमीर लेनिनले नेतृत्व गरेको वोल्सेभिक पार्टीले निरंकुश जार शाहीको अन्त्य गर्दै समाजवादी ब्यवस्थाको स्थापना गरेको र वोल्सेभिक पार्टिले विजय हासिल गरेपछि सन् १९२२ मा एक दर्जन भन्दा बढी गणराज्यहरु मिलेर सोभियत संघको गठन पनि गरिएको थियो । सोहीे अक्टोबर क्रान्तिको परिणाम स्वरुप स्थापना भएको सोभियत संघ र रुसको उक्त क्रान्तिलाई बिश्व भरीका माक्र्सवादी तथा लेनिनवादीहरुको लागि प्रेरणाको अर्थमा अक्टोबर क्रान्तिका रुपमा लिइन्छ र महत्वपूर्ण दिवसको रूपमा मनाउने गरिन्छ ।

रुसमा समाजवादी क्रान्ति सफल भएको ३२ वर्षपछि सन् १९४९ मा चीनमा पनि अक्टोबर महिनामै राजनीतिले कोल्टे फेर्यो । अक्टोबर १ का दिन अध्यक्ष माओ त्से तुङ्को चिनियाँ कम्युनिष्ट पार्टीले च्याङ्गकाइसेकको पार्टी कुओ मिन्ताङ्गलाई परास्त गर्दै समाजवादी व्यवस्था अर्थात जनवादी गणतन्त्र चीनको स्थापना गरेका थिए ।

चिनियाँ क्रान्ति, किसान, मजदुर एकता र सर्बहारावर्गको अग्रदस्ता कम्युनिष्ट पार्टीको नेत्तृत्वमा सम्पन भएको थियो भने रुसी क्रान्ति शहरिया मजदुर र श्रमजीवि जनताको सक्रियतामा सफल भएको थियो । दुवै देहमा भएका ती ठूला क्रान्ति शासकहरूसँग लुकेर नभई निर्भिक रुपमा घोषित संघर्षका माध्यमबाट सम्पन भएका थिए ।

माक्र्सवादी दर्शनमा आधारित ती दुबै क्रान्तिका स्थापित मान्यतालाई आत्मसात गरेको तत्कालिन नेकपा माओवादीले हाल मूल धारको राजनीतिमा रहँदा अधिकांश एजेण्डा बिर्सिएको प्रतित हुन्छ । यद्यपी, माक्र्सवादी दर्शनमा आधारित भई चरणबद्घ जनआन्दोलनले नै नेपालको ऐतिहाँसिक राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको कुरा नकार्न मिल्दैन । तर विडम्वना सोही जनआन्दोलका अगुवा जब मूलधारमा आइपुगे, तब जनयुद्घका सहयात्रीहरूलाई नै बिर्सेर सत्तालिप्सामा चुर्लुम्मै डुबेको यथार्थ पनि घामजस्तै छर्लङ्ग छ ।

सायद यही विषय खड्केर होला, सामाजिक बिभेद मुक्तिको क्रान्तीका एक महाअभियन्ता स्वनामसाथी, मोहन बैद्य लगायतका बौद्धिक जमात सत्ता र सदन बाहिरै छन् । एउटै उद्देश्यका लागि जीवनभर त्याग गरेका महा अभियन्ता यसरी वर्तमान अवस्थामा यसरी सत्ता र सदनबाहिर बसिरहनु कुनै पनि हालतमा स्वीकार्य छैन ।

त्यसैको परिणामस्वरुपमा स्वनामसाथीकै सहमतिमा सोही विचारक एक जमात अक्टोबर क्रान्ती नामक समाजवादी क्रान्तीको सम्झनामा शतवार्षिकीउत्सवसँगै नेपालमा यसको सचेतना फैलाउने अभियानमा जुटेको प्रष्ट हुन्छ । नेपालमा बर्गीय बिभेद बिरुद्धको क्रान्तीका एक अभियन्ता स्वनामसाथीसहितको बौद्धिक जमातले अहिलेको कथित वाम एकतालाई पनि अवसरवादीहरुकै जमातका रुपमा लिएको स्पष्ट छ । सोही जमातका एक प्रगतिशील लेखक शरद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा रचनात्मक रुपमा आफ्ना भावनाहरू ब्यक्त गरेका छन् ।

कथित वाम एकताका सन्र्दभमा बिभिन्न ब्यक्ति बिशेष एवम् पार्टीकै कार्यकर्ता र सर्वसाधारणहरूबाटसमेत बिभिन्न किसिमका टिकाटिप्पणीहरू भैरहेको पृष्टभूमिमा अक्टोबर क्रान्तिको गहन छलफलमा जुटेका उनै लेखक ‘शरद’ ले राजनीतिक पात्रहरूलाई कोमल विम्बको रुपमा प्रयोग गरी मधुर लयमा शब्दहरु उनेर कवितामा नेपाली राजनीतिमा विकसित घटनाक्रमलाई नेपालीहरूमाझ स्पष्टरूपमा राखेका छन् । कुनै बोझिल शब्दको प्रयोग बिनाका शरदका तीनवटै कविताले नेपाली राजनीतिमा देखा परेका बिकृति र बिसङ्गति बिरुद्घ कडा प्रहार गरेका छन् ।

१. ‘थाह चाहियो !’
वाम हो कि
खामहरूको ए–कता हो यो ?
दलको हो कि
नेताहरूको ए–कता हो यो ?
छिर्के हो कि
भावनामै ए–कता हो यो ?
टिक्ने हो कि
घामछायाँ ए–कता हो यो ?
जित्न हो कि
हराऊनलाई ए–कता हो यो ?
दह्रिन कि
कमजोर पार्न ए–कता हो यो ?
विचार कि
लहडको ए–कता हो यो ?
श्रमिक कि
पूँजीपति ए–कता हो यो ?
सुल्टाहरू कि
उल्टासुल्टा ए–कता हो यो ?
समृद्धि कि
जनता चुस्न ए–कता हो यो ?
ईमान कि
बेईमानीमा ए–कता हो यो ?
आफ्नै चेत कि
इसारामा ए–कता हो यो ?
हतारो कि
संयोगको ए–कता हो यो
राम्रा हुन् कि
नराम्राको ए–कता हो यो ?
भौतिके कि
ज्योतिषीको ए–कता हो यो ?
मुलुक कि
आफ्नै खातिर ए–कता हो यो ?
मने छिन्कि
जुनिभरलाई ए–कता हो यो ?
अन्तमा,
सप्रन कि
बिग्रनलाई ए–कता हो यो ?

२. ‘कम्रेड प्रकाशको नाऊँमा’
सबसे नेता को हो प्रकाश, परचन्न कि ओली ?
आँफैलाई ऊल्लु पार्दै कति फेर्छौ बोली !
एकताको मातमा हौला बोल दील खोली
झुक्याउँछौ अरू भन्दा जाला तुम्बा झोली ।।
प्रकाशजी दक्षिणतिर हानिएको किन ?
अवसरवादी पछ्यौरीनै ओढ्नु पथ्र्याे किन ?
संसदवादको हिलोलाई उच्च ठान्यौ किन ?
के यहि हो तिम्ले गाउने आदर्शको दिन ?
भन्थ्यौ कैले एमाले त कम्युनिष्ट नै हैन ।
प्रतिष्ठा पद पैसा बाहेक अन्त ध्यानै छैन ।
आज किन त्यसकै फेरो समातेर आयौ ?
विचार मिल्छ भन्दै किन बेसुरा गीत गायौ ?
न त जन्ता मुक्त भाछ न त बन्धन गाको
सत्ताका भाग खान मात्र किन मीत लाको ?
तिमी देख्दा उदेक लाग्यो लेखें सानो पत्र
सक्छौ भने अझै सच्चिउ नभत्किऊ मित्र ।।

३. ‘कम्युनिस्ट कार्यकर्ताको नाऊँमा’
नेताले चै संधैभरी आदेश दिने भो
कार्यकर्ता गोठालोभै तामेल गर्ने भो !
के हुँदैछ कता जाने सोच्नै नपर्ने
कार्यकर्ता भरिया झैं पछि हिंड्ने भो !!
चुलोचौको छुन हुन्न नेतो बैष्णबी
कार्यकर्ता आगन डिल बसिखाने भो !
साम्यवाद ल्याउने भन्ने कुम जोरेर
कार्यकर्ता तर आफ्नै घरमा अछुत भो ! !
तर पनि किन कोहि प्रश्न गर्दैन
मौनतालाई काखि च्यापि बरू दास भो !
यस्तै हो त साम्यवाद ? भए चाहिएन
दल भित्र भित्रैपनि मालिक नोकर भो !!
दासजस्तै बाँचिरेका कार्जेकर्ता हो
कति खप्छौ दासता यो त अति भो !
बिद्रोहमा उठ अब शासन नखप
पार्टी भित्रै तिम्रो दर्जा केवल नोकर भो !!
नीति बन्ने ठाँऊहरूमा गर हस्तक्षेप
नत्र सोच जिऊँदैमा तिम्रो मृत्यु भो !!

एउटा शास्वत सत्य, हामी २१औं शताब्दीमा आइपुृगेका छौं । सभ्यताको विकासको यति लामो अन्तरालसम्म पनि नेपाली समाज विशेष गरी नेपाली राजनीतिमा अनगिन्ती बिकृति र बिसंगतिहरू बिद्यमान छन्, जसलाई छिपाउनै सकिन्न । यस्तो यथास्थितिमा शरदका उपर्युक्त तीनवटै कविता त्यसलाई सच्याउनका लागि मार्गदर्शक भएका छन् भन्दा अत्युक्ति नहोला । असोज २१, २०७४ मा प्रकाशित

मनीषा अवस्थी

मनीषा अवस्थी लोकान्तर डट् कमका लागि आर्थिक विषयमा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस