विश्लेषण : आलेख

‘छक्का-पञ्जा, जुड्वा र वामपन्थी तालमेल !’

दशैंको अवसर पारेर नेपालमा दुईवटा फिल्महरु रिलिज भए । एउटा हिन्दी सिनेमा थियो ’जुडुवा–२’ नामको र अर्को नेपाली सिनेमा ’छक्का पञ्जा–२’ । हिन्दी सिनेमाको बारेमा लेख्नु राष्ट्रवादको हिसाबले त्यति श्रेयस्कर नभएपनी नेपाली राजनीतिमा घटेको पछिल्लो घटनाक्रमलाई उक्त फिल्मको स्क्रीप्टले भने मजैले सम्बोधन गर्छ ।

दर्शकहरुलाई मनोरन्जन दिनको लागि दुई जुम्ल्याहाहरुको अदृश्य रुपमा जोडिएको हाउभाउले फिल्मको कथालाई निर्देशित गरेको छ ।

अर्कोतर्फ कमेडी सिनेमाको रुपमा रहेको छक्कापन्जा–दुई बिबादरहित नभए पनि नेपाली सिने नगरीमा सुपरहिट हुने क्रम रोकिएको छैन । नाम बाट नै प्रतीत हुन्छ, यो सिनेमा छलछाम, षड्यन्त्र या धोकामा आधारित छ ।

बिदेश जानको लागि फर्जी बिहे गर्न खोजेका युवा युवती एकपछि अर्को खाडलमा फँस्दै अदालतसम्म पुग्नु परेको कथाले दर्शकहरुलाई यथेष्ट मनोरञ्जन दिने हिसाबले निर्देशन गरिएको छ । दोहोरो अर्थ लाग्ने संवादहरुले दुइवटै फिल्मले दर्शकहरुलाई हसाउनको लागि आवश्यकता भन्दा बढी मेहेनेत गरेको जस्तो देखिन्छ ।

दशैंकै परिवेशमा नेपाली राजनीतिमा तालमेल नामको फिल्मजस्तै घटना घट्यो । अधिकांश जनता अझै पनि के भएको हो भनेर बिश्वस्त हुन नसकिरहेको अवस्थामा वामपन्थी तालमेल र एकताको नाममा दुई ठूला वामपन्थीहरु एक भएको घोषणा भएपछी यो एकता प्रक्रियाको शुरुवातलाई कुन फिल्मको नाम दिँदा उपयुक्त होला भन्ने प्रश्नको घेराभित्र रहेर यो आलेखलाई निर्देशित गरिएको छ ।

शीर्ष नेतृत्व तहबाटै एकले अर्कालाई गाली गलौज गर्ने दुई पार्टी एमाले र माओवादी केन्द्रको यो मिलनलाई एकले अर्को पार्टी सिध्याउन रचिएको चाल हो भन्नेहरु पनि राजनीतिक बजारमा कमी छैनन् । अर्का थरिको यो मिलन लामपन्थी इतिहासकै ठूलो उपलब्धीको रुपमा मानेर एकले अर्काको साथ दिँदै समाजवादको संक्रमण गराउने दिशामा अघि बढ्नुपर्ने भनेर खुसी हुनेहरुको पनि नेपाली राजनीतिक वृत्तमा कमि आएको छैन ।

१८० डिग्रीमा आएको राजनीतिक उतारचढावले तालमेलको समर्थन गर्नेहरुलाई यतिसम्म हौसला प्रदान गरेको छ कि, एउटाको परिपुरक अर्कोलाई बनाइदिएको छ । एउटाले गरेको तर्कलाई अर्कोले स्विकार्ने तहसम्म समर्थकहरुलाई उचालिदिएको छ ।

यसले जुडुवा २ सिनेमाको सम्झना गराउँछ, एउटाले पियानो बजाउँदा अर्काको पनि औँला त्यसै गरेर चल्ने, एउटाले पिटाई खाँदा होस या पिट्दा होस, अर्कोलाई पनि त्यही गर्नुपर्ने अनि एउटाले हिरोइनलाई किस गर्दा अर्कोले पनि आफ्नो नजिक जो छ त्यसैलाई किस गर्नुपर्ने अस्वाभाविक दृष्यले दर्शकहरु हाँस्लान तर वास्तविकता भन्दा टाढा रहेको यो दृष्य बनावटी लाग्ने नै भयो । एक्कासी भएको बाम तालमेलले त्यस्तै हिसाबले दर्शक हसाउदै छ ।

राजनीतिका चतुर खेलाडी मानिएका पुष्पकमल दाहाल र नेपाली भाषा र भाषणमा बेजोड पकड मानिएका एमाले अध्यक्ष केपी ओलीबाट हठात जन्मिएको यो समीकरण छक्का पन्जा जस्तो छलछाम र षड्यन्त्रमा आधारित छ भनेर मान्नेहरुको संख्या पनि उत्तिकै छ ।

बजारमा हल्ला चले अनुसार एमालेले रणनीतिक रुपमा माओवादी केन्द्रलाई सिध्याउने या माओवादी केन्द्रले रणनीतिक रुपमा एमालेलाई सिध्याउने जे पनि हुन सक्ने बिषयमा अझै पनि केही बिश्लेषकहरु र बुद्धिजीवीहरु खुलेर बोलेका छैनन् । दुबै अवस्थामा एउटा कुरा चाहिँ पक्का के हो भने दर्शकका रुपमा रहेका जनताहरु मज्जाले हाँस्नेछन् ।

राजनीतिक स्थायित्वको लागि तालमेल गरिएको भनिए पनि कुर्चीमोह प्रष्ट देखिन्छ । केपी ओलीलाई आगामी पाँच वर्ष कसै गरेर कार्यकारी प्रमुख बन्नु छ । उनको स्वास्थ्यको कारणले पनि यो महत्वाकांक्षालाई असर पुग्न जाने देखिएकोले उनको लागि यो एकता बरदान जस्तै हो । नत्र स्थानीय चुनावमा आफ्नो मतको करिब करिब एक तिहाई मात्र बटुल्न सफल भएको माओवादी केन्द्रसंग लगभग बराबरीको हैसियतमा तालमेल गर्न तयार हुनु एक आश्चर्यजनक परिघटना हो ।
लेखक अर्याल


भित्ते राष्ट्रपतिको उपनाम पाएका र शान्तिप्रकृया पछि जुनसुकै हैसियतमा भए पनि सत्ताको साँचो बोकेर हिँडेका प्रचण्डलाई पनि एकपटक देशको कार्यकारी पदमा पाँच बर्षसम्म ढुक्क भएर बस्न मन छ । देशलाई साँच्चिकै परिवर्तनको दिशातर्फ लैजान सक्छु भन्ने उनको आत्मविश्वासले उनलाई तालमेलको लागि जान बाध्य तुल्याएको हो । कार्यकर्ता स्तरमा नीति सिद्धान्त र दर्शनको एकीकरण अनि समाजवादलाई प्राप्त गर्ने दिशातर्फ जान लागेको बताइए पनि, मुख्य नेतृत्वको आन्तरिक अभिष्ट सत्ता प्राप्त गर्नु नै हो ।

माथी चर्चा गरिएका दुईवटै सिनेमाहरुको पनि मुख्य आन्तरिक अभिष्ट पैसा कमाउनु बाहेक अरु केही होइन । मनोरञ्जनको नाम दिइएको होस्, सिनेमा क्षेत्रलाई अघि बढाइएको भनियोस, या सामाजिक परिवेशलाई हुबहु देखाइएको भनियोस्, त्यो दर्शकहरुलाई र आम मान्छेहरुलाई देखाउने दाँत मात्र हो । अस्वाभाविक लाग्ने दृष्यले फिल्मको गरिमा माथी उठाउँछ भन्नू र अस्वाभाविक लाग्ने तालमेलले राजनीतिको गरिमा बढाउँछ भन्नू हात्ती र हात्तिछाप चप्पल जस्तै हो ।

छक्का पञ्जा गर, या जुडुवा जस्तै एउटा घायल हुँदा अर्कोलाई पीडा हुने जस्तै बन तर पैसा कमाउ, उचाईमा बस, हैसियत निर्माण गर । यी आम मानवीय सिद्धान्तहरु हुन् । यसमा ब्यक्तिगत या समूहगत स्वार्थ बाहेक कसैको केही जोडिन्न । संयोगवश दुइवटै फिल्म र बामपन्थी तालमेल एउटै र यहि दिशातर्फ अग्रसर छन् ।

चाहे फिल्म होस् चाहे राजनीति आम दर्शकको काम पैसा तिरेर मनोरञ्जन लिनु हो, त्यसकारणले यसलाई अहिल्यै सकारात्मक या नकारात्मक कुनै ट्याग भिराउनु भन्दा हामी केही समय दर्शक दीर्घामा बसौं, चटक हेरौं र मनोरञ्जन प्राप्त गरौं ।

मनोरञ्जनको लागि हामिले टिकट किने पनि पैसा बगाउने नै हो, भोट दिए पनि ’सिविक एथिक्स’ बेच्ने नै हो । कर तिरिरहेका छौं, जो कार्यकारीको रुपमा आए पनि उसले जोड्ने भनेको घर, बंगला गाडी र सात पुस्तालाई पुग्ने गरेर सम्पती नै हो । चाहे फिल्मका निर्माता हुन, चाहे गठबन्धनका निर्माता हुन । असोज २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस