विश्लेषण : आलेख

मधेसमा कांग्रेसको ‘ट्रेन’ अब दुर्घटना हुन्छ : उपेन्द्र

देशको शोषित, पीड़ित जनताहरू मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, थारू, सिमान्तकृत समुदाय, लामो समय देखि बहिष्करणमा परेका र पारिएका समुदायको न्यायको लागि तत्कालीन मधेसी जनसधिकार फोरम नेपाल र हालको संघीय समाजबादी फोरम नेपालले संघर्ष गर्दै आएको छ ।

मधेस आन्दोलनका क्रममा शाहदत दिएका सहीदहरूको मूल सपना के थियो वा भनौं मधेस आन्दोलनको मूल ध्येय नै के थियो भने देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना होस्, संघीय लोकतन्त्रको स्थापना होस्, समानुपातिक समावेशी अवधारणासहितको समावेशी लोकतन्त्रको स्थापना होस्, देशमा बसोबास गर्ने सबै समुदायको राष्ट्रीय पहिचानको मान्यता स्थापित होस्, सबैखाले बिभेदहरूको अन्त्य होस्, मधेसी समुदायको मान सम्मान र पहिचान तथा स्वाभीमानका साथ यो देशकै भूगोलमा एउटा मधेस राज्य वा प्रान्तको स्थापना होस् ।
ती सबै लक्ष्यहरू प्राप्त गर्ने समय अब आइसकेको छ । देशबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसकेको छ ।

मधेस आन्दोलनकै कारण एकात्मक, केन्द्रीकृत शासनको अन्त्य भई संघीय लोकतन्त्रको स्थापना भएर अब ब्यबहारमा लागू हुने अबसर प्राप्त भएको छ ।

अवसरहरूलाई संस्थागत गर्ने समय

अबको समय भनेको ती प्राप्त अवसरहरूलाई संवैधानिक र राजनीतिक रूपले संस्थागत गर्ने समय हो । सुरक्षित गर्ने समय हो । ताकि ती उपलब्धीहरूका बिरोधी ताकतहरू बिफल होऊन् । तिनीहरूले अहिले पानी षड्यन्त्र गरिरहेका छन् । धमिलो पानीमा माछा मार्ने तिनीहरूको प्रयास अहिले पनि जारी छ । ती सबै षड्यन्त्रलाई सदाका लागि असफल बनाउने माध्यम हो निर्बाचन । त्यसका लागी तिनै तहमा जनताद्वारा निर्बाचत सरकार गठन हुनु आबश्यक छ । स्थानीय तहमा स्थानीय सरकार गठन भईसकेका छन् ।

बांकी दुई तह प्रान्तीय सरकार र संघीय सरकारका लागि निर्बाचन हुँदैछ । त्यो निर्बाचनमा जनताले आफ्नो जनमत मापÞर्mत सरकार गठन गरी प्राप्त अधिकारहरूलाई सुरक्षित र संस्थागत गर्नु पर्छ । र ,बाँकी अधिकारहरूका लागि क्रमशः संघर्ष र लडाई गर्दै जानु पर्छ ।

फोरमकै पछिपछि राजपा

त्यही अवधारणाका साथ संघीय समाजवादी फोरम नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिँदा अत्यन्तै उदण्ड, उग्र तरिकाले गैरराजनीतिक संस्कार र संस्कृति देखाउँदै गाली गर्नेहरू आखिर अहिले साइकल चढेर फोरमकै पछिपछि दौड्दै आएका छन् । यसको अर्थ के हो भने त्यति बेला राष्ट्रीय जनता पार्टी (राजपा नेपालले ) लिएको नीति गलत थियो भने फोरमले लिएको नीति नै सही थियो ।

मधेस सरकार गठन गर्नका लागि राजपासँग गठवन्धन

गणतन्त्र स्थापना गर्नुसँगै यो मुलुकमा हामीलाई मधेस प्रदेशको पनि स्थापना गर्नुछ । आफ्नो प्रदेशमा आफ्नै सरकार बनाउने अबसर समेत आएको छ ।

प्रदेश नम्बर दुईमा राजपा नेपाल र फोरम नेपालबीच गठबन्धन बनेको छ । बाँकी ठाउँहरूमा पनि हामीहरूलाई मिल्न मधेसी जनताले भनिरहेका छन् । तर, प्रदेश नम्बर दुईमा हाम्रो सहकार्य अहिले भइसकेको छ । भोलिको दिनमा हामीहरू एकै साथ बसेर सहकार्य गर्दै अगाडि बढ्दै जाने हो भने कुरा मिल्न थालेपछि दुबै पार्टीहरूको बीचमा पार्टी एकता गर्नका लागि पनि बाटो भने अवस्य नै खुल्नेछ ।

हामीहरू बीच मुख्यतः अहिले दुईटा कÞुराहरूका लागि सहकार्य भएको हो । पहिलो, दुबै पार्टीको एजेण्डा एउटै भएकाले सहकार्य गर्दै मधेसी जनताको अधिकार प्राप्ति तथा मधेसी जनताको मुक्तिको लागि । दोस्रो, प्रदेश नम्बर २ मा मधेस राज्य स्थापना गरी दुई तिहाई मत प्राप्त गरी मधेस सरकार गठन गर्नका लागि ।

दुई नम्बर प्रदेश नै मधेस प्रदेश

अहिले हामीले प्रदेश नम्बर दुईलाई नै मधेस प्रान्तको रूपमा स्थापना गर्न चाहन्छौं । पछि हामी त्यसलाई मधेस प्रदेश वा मधेस राज्य आपसी सहमतिमा नामाकरण गर्नेछौं । त्यस पछि मधेसको भूभाग जो की अरु प्रान्तहरूमा मिसाइएका छन् त्यसको प्राप्तिका लागि मिलेरै संघर्ष गर्नेछौं । हामीले यो राज्य पुनर्संरचनालाई भने पूर्ण रूपमा स्वीकार गरिसकेका छैनौं ।

प्राप्त उपलब्धि पनि खेर नाजाओस् भनेर मात्रै प्रदेश नम्बर दुईलाई मधेस प्रदेशको रूपमा स्वीकार गरेका छौं । किन भने स्थानीय तहको निर्बाचनमा, खास गरेर प्रदेश नम्बर दुईमा फोरमले २६ सीट प्राप्त गरी प्रदेश नम्बर दुईमा पहिलो र देशैभरिमा चौथो शक्तिको रूपमा स्थापित भए पछि संघीयतालाई नै समाप्त पार्न देशको राजनीतिमा ठूलो भुइँचालो आएको छ । बिभिन्न किसिमका षड्यन्त्र सुरु भएका छन् ।

राजनीतिमा ठूलै हलचल मच्चेको छ । बिभिन्न किसिमका गठबन्धन र ध्रुबिकरणहरू सुरु भएका छन् । लाख प्रतिकुलताका बाबजूद स्रोत साधनको बिहीनताका बाबजूद फोरम प्रदेश नम्बर दुईमा आफ्नो हैसियत देखाउन सफल भयो ।

वाम एकता सकारात्मक

नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच भएको बृहत् बाम एकता तथा सहकार्य हुनु राजनीतिक दृष्टिकोणले नराम्रो वा नकारात्मक भने होइन । त्यो राम्रै कुरा हो । मूल कुरा त्यो ध्रुबिकरण वा एकताको दृष्टिकोण र लक्ष्य के हो भन्ने नै महत्वपूर्ण हुन्छ ।

अहिलेको वाम एकता वास्तवमा वाम एकता हुँदै होइन । अवसरवादीहरूको मात्रै एकता हो । आउँदो चुनावमा कसरी फाइदा लिन सकिन्छ भन्ने कुराका लागि मात्र एकता गरिएको छ । राष्ट्रीय मुद्दाहरूलाई कसरी हल गर्ने भन्ने उद्देश्यका साथ यो वाम एकता भएकै होइन ।

मधेसमा दुई तिहाइ सीट दिए मात्र कांग्रेससँग गठबन्धन

अर्को तिर नेपाली कांग्रेसका सभापति तथा प्रधानमंत्री शेरबहादुर देउवाले पनि लोकतांत्रिक गठबन्धन बनाउने कुरा गरेका छन् । हामीलाई पनि बोलाइएको थियो । देउवाजीले हिमाल पहाडमा कम्युनिस्ट र मधेसमा मधेसवादीहरू नै जितने भए, अब कांग्रस त सिद्धिनेभो भनेर भन्नु भयो ।

अब सहकार्य गर्नु पर्छ भनेर हामीलाई्र भन्नु भयो । अनि मैले उहाँलाई भने, हाम्रो सहकार्य यदि तपाईँ चाहनुहुन्छ भने नेपाली कांग्रेसले नियत र नीति परिबर्तन गर्नु पर्छ भनेर जबाफ दिएँ । मधेसी जनतालाई अधिकार दिलाउने नीति बनाउनुस् र मधेसी जनता माथि शासन गरेर शोषण गर्ने नियत बदल्नुस्, त्यस पछि मात्र कुरा गर्न सकिन्छ भनेर भनेको छु ।

सबै भन्दा पहिले त कांग्रेसले हाम्रो मुद्दामा सहमति जनाउनु पर्यो । संघीय गणतन्त्र, राष्ट्रीय पहिचान तथा समावेशीताको मुद्दामा सहमति भए मात्र कांग्रेससंग हाम्रो गठबन्धन हुन सक्छ । मोर्चा बन्न सक्छ । त्यसो हुन नसके अर्को बिकल्प भनेको सहकार्यको भने हुन सक्छ । तर सहकार्यको लागि पनि कांग्रेसले मधेसमा हामीलाई दुई तिहाई सीट भने दिनुपर्ने हुन्छ ।

नभए हामी राजपा र फोरम दुई पार्टी आफैंमा पनि मधेस प्रदेशमा दुई तिहाई ल्याउन सक्षम छौं । कांग्रेसले यदि हामीसंग साँच्चै अलायन्स चाहेको हो भने मधेसी जनताको भावनालाई उदारतापूर्बक सम्मान गर्नु पर्दछ । र, म के पनि भन्न चाहन्छु भने मधेसको जनताको भावनालाई सम्मान नगर्ने पार्टीको पतन निश्चित छ ।

मधेसमा कांग्रेसको जमाना गइसक्यो

त्यसै पनि कांग्रेसको अब मधेसमा भविष्य छैन । नेपाली कांग्रेस पनि एउटा पार्टी थियो भनेर भन्ने दिन आइसकेको छ । कुनैबेला मधेस कांग्रेसको गोरहा खेत थियो तर अब कांगे्रसको जÞमाना गईसक्यो । हाम्रा मधेसका केहि नेताहरू भने अहिले पनि कांग्रेसको ट्रेनमा झुन्डीरहेका छन् ।

ती साथीहरूलाई म के भन्न चाहन्छु भने कांग्रेसको ट्रेन अब दुर्घटना हुनेबाला छ, दुर्घटना हुँदा सबै भन्दा पहिले झुन्डिएर यात्रा गर्ने नै बढी जोखिममा हुन्छन्, त्यसैले आफ्नो रक्षाका निम्ति पनि मधेसमा दौडे्को फोरमको ट्रेनमा समयमै आएर टिकट बुकिङ गराउँदा नै बेस ।

कांग्रसले मधेसलाई के दियो ? उनीहरू त चाहन्छन् की मधेसका जनता अशिक्षित रहून् । जनतामा चेतनाको बिकास नहोस् र सधंै शासन गरी शोषण गर्न सकियोस् ।

म तपाईँलाई एउटा उदाहरण भन्छु । राणा शासनकालमा श्री ३ महाराज चन्द्रशम्शेर त्रिचन्द्र कलेजको उदघाटन गर्न जाँदा भाषणको क्रममा रुँदै के भनेका थिए भने यो कलेजकै कारण अब हाम्रो अन्त्य हुने निश्चित छ । किन भने जनता अशिक्षित छन् र पो, हामी शासन गर्न सकेका छौं । भोली यो कलेजबाट जनता पढेर शिक्षित हुनेछन् र, हाम्रो शासन अन्त्य हुनेछ ।

भयो पनि त्यही कुरा, गंगालाल श्रेष्ठ जस्ता बिद्यार्थीहरू त्यही कलेजबाट पढेर राणा शासनको बिरुद्धमा आन्दोलन गरे, सहादत दिए । र , देशबाट निरंकुश जहानियाँ राणा शासनको अन्त्य भयो । हो, त्यसै गरी कांग्रेस पनि मधेसी जनतालाई अँध्यारोमा राख्न चाहन्छन् ।

अधिकारको लडाईं सँगसँगै विकास र समृद्धिको पनि लडाईं

मधेस यति सुगम ठाउँ हुँदा हुँदै पनि गरीबी र अभावग्रस्त जीबन जीउन आज बाध्य छ । प्रति ब्यक्ति आय हिमाली जिल्ला भन्दा पनि कम छ । मानब बिकासको सूचकांकमा हिमाल र पहाडको बिकट जिल्ला भन्दा पनि सुगम मधेस पछाडि छ । गरीबी र बेरोजगारीको समस्यालाई कांग्रेसले कहिल्यै हल गरेन । आज खाड्ी मुलुकमा जानेहरूको संख्या सबै भन्दा बढी मधेसकै जिल्ला पर्छन् । तिनीहरूले पठाएको रेमिटयान्सबाट राज्य चलेको छ तर, जनता कसरी सम्बृद्ध हुने त्यस बारे कहिल्यै राज्यले ध्यान दिएको छैन ।

बिरामीहरूको संख्या पनि मधेसमै बढी छ । मधेसका अस्पतालहरूमा बिरामीहरूको लामो लाईन त्यसै हेर्न सकिन्छ । गरीबी त झन त्यस्तो बिमारी हो जो की क्यान्सर जस्तो रोग पनि गरीबी अगाडी कम पर्छ । मधेसी जनता आज शुद्ध खानेपानी पिउन पाईरहेका छैनन् । त्यसैले अब मधेसी जनताले अधिकारको लडई सँगसँगै बिकास र समृद्धिको पनि लडई लड्नु जरूरी छ । ती सबै कुराका लागि मधेसमा फोरम र राजपा सहितको सरकार बनाएर मात्र सम्भव छ ।

मङ्सिर पछि लडार्इंको दोस्रो अध्याय

त्यसका अतिरिक्त अहिलेको अधुरो संघीयतालाई पूर्णता दिनका निम्ति पनि मधेस सरकार आबश्यक छ । त्यो लडाईको अब दोस्रो अध्याय हुनेछ । मधेसको भूभाग मधेस प्रदेशमा ल्याइनेछ । अहिलेको संविधान पनि त्रुटिपूर्ण संविधान हो । संबैधानिक दृष्टिकोण र बैचारिक हिसाबले हेर्ने हो भने यो संबिधान नस्लीय चिन्तनबाट ग्रस्त छ ।

मधेसी जनताको पूर्णतया हकअधिकारलाई समेटिएको छैन । सबैखाले बिबिधतालाई समेटिएको छैन । त्यसकारण अब शुरू हुने दोस्रो अध्यायको लडाई संविधान संशोधनका लागि हुनेछ । संविधान संशोधन गरिएन भने परिमार्जन वा पुनर्लेखन का लडाई हुनेछ । त्यो पनि गर्न मानिएन भने नयाँ संविधानकै कुरा अगाडि आउनेछ ।

अब मङ्सिर पछि त्यो लडाई फेरि शुरू हुनेछ । मधेस राज्य प्रदेश नम्बर दुईमा निर्माण भइसकेपछि फोरम तीन वटा मिशन लिएर मधेसी जनतालाई अधिकार दिलाउन, विकास दिलाउन र समृद्धि दिलाउनका लागि अगाडी बढ्नेछ ।

(संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग लोकान्तरका अजय अनुरागीले गरेको कुराकानीमा आधारित) असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस