विश्लेषण : आलेख

एमाले–कांग्रेसको अवसान, केन्द्रमा ‘मिशन’का शक्ति

साम्राज्यवादी शक्तिहरूले एकपटक फेरि नेपाली जनमतमा चक्मा दिन खोजेका छन् । संसद र प्रदेशको चुनावको पूर्वसन्ध्यामा एमाले वरिपरि केन्द्रित रहेर फ्याँकिएको ‘वाम’ पाशा र कांग्रेसलाई केन्द्र बनाएर हुत्याइएको ‘लोकतान्त्रिक गठबन्धन’को घुयँत्रोले केही मानिसहरूको मथिङ्गल खल्बल्याएको देखिन्छ ।

१२ बुँदे आधारित राजनीतिक कोर्षको निहितार्थ र यसमा प्रयोग गरिएका पात्रहरूलाई अझै पनि ठीक ढंगले बुझ्न नसकेका मानिसहरूको मुखबाट सुनिन्छ – ‘केपी ओली र बाबुरामको मिलन कसरी भयो वा स्थानीय चुनावका दौरानमा एमाओवादीसँग रणनीतिक महत्त्वको गठबन्धन घोषणा गरेका शेरबहादुरबाट पुष्पकमल दाहाल कसरी अलग्गिए ?’

नेपालमा साम्राज्यवादी शक्तिहरूले संगठित गरेको मिशन, यससँग यहाँका दलहरूको संलग्नता र यिनीहरूको नियतिलाई नियाल्न कोसिस नगरेर सतहमा देखिने भ्रामक रुपलाई सबथोक ठान्ने छिपछिपे चिन्तन अँगाल्ने र व्यक्तिलाई धुरी बनाएर नेपालको संकट समाधानको परिकल्पना गर्ने रुपवादी भाग्यवादीहरूले पछिल्ला घटनाक्रमहरूलाई ‘रहस्यमय’ र ‘अप्रत्यासित’ ठान्नु स्वभाविक छ ।

यस्तो दृष्टिदोष कायम रहँदासम्म भोलि घट्ने घटनाहरू पनि यिनीहरूको नजरमा ‘रहस्यमय’ र ‘अप्रत्यासित’ नै हुनेछन् भन्ने कुरामा शंका छैन । यसबाट बचेर पछिल्लो परिस्थितिको अध्ययन गर्नका लागि यसलाई साम्राज्यवादी मिशनको सन्दर्भसँग जोड्न जरुरी छ ।

कांग्रेस र एमालेको वरिपरि मञ्चन गरिएको यो नाटकको सारतत्व दिल्लीको सत्ताले ०६२ साल मङ्सिर ७ गते गराएको १२ बुँदे समझदारीको दोश्रो अध्यायसँग जोडिएको छ । प्रदेश र संसदको चुनाव भयो भने १२ बुँदेले अघि बढाएको कोर्षको एउटा अध्याय समाप्त हुनेछ । यसपछि हिजोका मुद्दाहरू, हिजोको समीकरण र शक्ति सन्तुलनले निर्णायक रुपमा काम गर्ने छैनन् ।

साम्राज्यवादीहरूले युद्धमा प्रयोग गरेका माओवादी र संसदवादीहरूलाई जुन प्रयोजनका खातिर एक ठाउँमा जोडेका थिए, नेपालको भू–राजनीतिमा बाह्य शक्ति सन्तुलनमा आएको उतारचढावले गर्दा, ती पनि अपेक्षित र प्रभावकारी रुपमा रुपमा सफल हुन सकिरहेका छैनन् ।

१२ बुँदे षडयन्त्रको एउटा अध्याय सकिन लाग्नु र आशातीत रुपमा उपलब्धि हात लाग्न नसक्नुको कारणले गर्दा इण्डो–पश्चिमी साम्राज्यवादले अर्को अध्यायका लागि आफ्नो अनुकूलका शक्तिहरू, समीकरण, सन्तुलन र मुद्दाहरूको खोजीका लागि परीक्षण शुरु गरेको छ । यो परीक्षणसँग बितेको दशकमा नेपालमा विकास भएको प्रतिकूल परिवेशलाई कसरी समाप्त पार्ने भन्ने योजना पनि जोडिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको राष्ट्रसंघ भ्रमण, त्यसको लगत्तै अमेरिकाले घोषणा गरेको ५१ अर्बको सहयोग, रोहिंगाहरूको व्यापक प्रवेश र शत्रुका रुपमा देखिने फोरम र राजपाबीच आकस्मिक निकटता विषयहरू पछिल्लो परिवेशको अध्ययनमा महत्त्वपूर्ण छन् ।

एमाले वरिपरि शुरु गरिएको ‘वाम’ पाशा अर्को पक्षलाई आतङ्कित बनाएर प्रयोग र परीक्षणका लागि दुईवटा कित्ता बनाउने चालबाजी हो । यो चालमा एमालेभित्र पकड जमाएर बसेका सीआईए एजेन्टहरू, ‘रअ’का एजेन्टहरू, कार्टर सेन्टरका हाकिमहरू र एनजीओहरूको निकै ठूलो भूमिका रहेको छ । विगत १ बर्षदेखि यी तत्वहरूले एमाओवादी र बाबुरामसँग कुरा गर्दै आएका थिए ।

एमालेसँगको चुनावी तालमेल वा एकताका लागि छलफलको प्रसङ्गबाट राष्ट्रवादी मानिने सिपी मैनाली, चित्रबहादुर केसी र नारायणमान बिजुक्छेका दललाई सचेततापूर्वक बाहिर राखिएको यथार्थताले पनि यसका पछाडिको षडयन्त्रलाई बुझ्न कुनै समस्या छैन ।

तीन मूलभूत उद्देश्यहरू :

१. ‘वामपन्थी एकता’को पाशाको पहिलो मुख्य उद्देश्य हो– चीनसँग केही सम्झौताहरू गरेका आधारमा केपी ओलीको नामका वरिपरि बलियो बन्दै गएको राष्ट्रवादी मनोविज्ञानलाई तोडेर निराशाको वातावरण सिर्जना गर्नु, राष्ट्रियताको विचार वास्तविक नभएर सत्ता भजाउने हतियार मात्र हो भन्ने कुरा स्थापित गर्नु, राजनीतिलाई नैतिकता र मूल्यविहीन बनाउनु तथा केपी पनि उही सेन्टरको फरक अनुहार मात्र हो भन्ने देखाउनु ।

केपी, बाबुराम र पुष्पकमलको नाभि एउटै हो भन्ने देखाएर साम्रज्यवादीहरूले केपी ओलीका वरिपरि केन्द्रित हुँदै गएका सबै देशभक्तहरूको खिल्ली उडाउन र बाबुरामलाई घुसाएर केपीको राष्ट्रवादी नकाब उतार्न सफल भएका छन् ।

यो माओवादी युद्धपछिको दोश्रो प्रयोग हो । पुष्पकमल–बाबुरामलाई भाग्य विधाताका रुपमा अगाडि सारेर साम्राज्यवादीहरूले नेपालको उत्पीडित वर्गलाई वर्गीय मुक्तिको सपनामा आकाश पु-याएर जसरी उठ्नै नसक्ने गरी पातालमा धसे र वर्गीय आन्दोलनप्रति घोर निराशा एवम् अविश्वास पैदा गर्न सफल भए, त्यसैगरी ‘राष्ट्रवाद’को प्रतीकका रुपमा आकाश पुगेका केपी ओलीलाई पातालमा पु-याएर नेपालमा तिब्र बन्दै गएको देशभक्तिपूर्ण ध्रुवीकरणलाई तहसनहस पार्ने तिनीहरूको योजना हो । पटकपटकको यस्तो प्रयोग दलका वरिपरि रहेको दासवर्गलाई लक्षित गरेर गरिन्छ, जो विषयलाई नभएर पात्रहरूलाई धुरीमा राखेर पछि दौडिरहेका हुन्छन् ।

२. साम्राज्यवादी शक्तिहरूका लागि तिनीहरूको रणनीति अनुकूलका शक्तिहरू ध्रुवीकृत गर्नु यसको दोश्रो उद्देश्य हो । अहिले भएका दलहरू बहु–स्वार्थमा जेलिएर निकै जटिल ग्याङहरूमा परिणत भैसकेका छन्, जसको गाँठो फुकाउन जरुरी भइसकेको छ । प्रत्येक दलभित्र सबै साम्राज्यवादीहरूको स्वार्थको प्रतिनिधित्व गर्ने तत्वहरू त छन् तर तिनीहरूलाई एकीकृत ठोस शक्तिका रुपमा बदल्न सकिने सम्भावना छैन । त्यसैले साम्राज्यवादीहरूले केपी, बाबुराम, माधव, पुष्पकमल र हृदयेशदेखि शेरबहादुर, महतो, उपेन्द्र, कमल थापा र पशुपतिसम्मको यस्तो रासायनिक घोल तयार पारेका छन्, जसभित्रको प्रतिकृयाले ठोस रासायनिक तत्व उत्पादन गर्न सकोस् ।

यो बिछृंखलित तत्वहरूलाई थेग्य्राउने प्रकृया हो । पात्र थेग्रिने प्रकृयासँग विषय पनि जोडिएको हुन्छ । तसर्थ, यससँग विषयहरू ठोस गर्ने योजना पनि जोडिएको छ । ‘वाम एकता’ र ‘लोकतन्त्रवाद’को ब्यानरमा अब के कस्ता मुद्दाहरू उराल्दा नेपाली जनमतलाई बराल्न सकिन्छ भन्ने योजना अन्तर्गत यिनीहरूको मुखबाट ‘अधिनायकवाद’, ‘प्रत्यक्ष कार्यकारी’, ‘लोकतन्त्रमाथि खतरा’, ‘संविधान संशोधन’, संविधान कार्यान्वयन, ‘स्वाधीनता र समृद्धि’ आदि नाराहरू सुनिन शुरु भैसकेको छ । अहिले आएर यस्तो वाहियातको बकबास गर्ने तत्वहरू सबै एक भएर साम्राज्यवादीहरूको ताबेदारी गर्दै र देश लुट्दै आएको तथ्यप्रति कुनै नेपाली अनभिज्ञ छैन ।

३. संविधान संशोधन गर्ने दुई तिहाई संख्याको वातावरण बनाउनका लागि ठूला दलको अस्तित्व समाप्त पारेर सबैलाई उस्तै आकारमा ल्याउनु यो नक्कली कित्ताबन्दीभित्रको तेश्रो उद्देश्य हो । एमाले त्यसका ‘सहयोगीहरू’कै हाराहारीमा ल्याईंदै छ । बाबुराम सहित ‘साना’हरूलाई १० प्रतिशत बाँड्दा बाँकीमा एमालेको र एमाओवादीको ६० र ४० प्रतिशतको बण्डा हो । यसको अर्थ हो– ‘वाम’ तालमेलबाट एमालले कूल ५४ प्रतिशत सिट मात्र पाउनेछ । उता एमाओवादी र अन्यको सिट प्रतिशत ४६ हुनेछ । यसको अर्को के पनि अर्थ हो भने, एमालेको आजको आकार अब समाप्त हुनेछ र त्यो गठबन्धनका बाँकी सदस्यहरूकै संख्याको बराबरीमा हुनेछ ।

कांग्रेसको हालत पनि यही भएको छ । ‘वाम’ भूत देखाएर कांग्रेसको वरिपरि जम्मा पारिएका गुटहरूमध्ये उपेन्द्र र महन्तका गुटहरूले तराईका दुई तिहाई सिट संख्यामा तालमेलको सम्झौता गरिसकेका छन् । बाँकीमा त्यसले राप्रपा सहितका गुटहरूसँग तालमेल गर्दा तराईमा कांग्रेसलाई केही हात लाग्ने छैन र खास भोटबैंक भनिएको त्यस क्षेत्रमा कांग्रेसको आकार क्षेत्रीय गुटको जस्तो हुनेछ भने पहाडी इलाकामा त्यसले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने छैन । यसबाट के देखिन्छ भने कांग्रेसलाई पनि मधेशवादीहरूकै हाराहारीमा झारिनेछ । यसरी बनाइएको समीकरणले कोही निर्णायक बन्न नसक्ने गरी ४/५ वटा समान आकारका दलहरू बन्नेछन् ।

चुनावपछिको परिदृश्य :
 
माथि उल्लेखित तेश्रो बुँदाको परिवेश निर्माण हुँदा देखिने पहिलो परिदृश्य हो– कम्तिमा ३ दलहरू नमिली सरकार नबन्ने र यिनलाई प्यादाका रुपमा प्रयोग गर्न साम्राज्यवादीहरूलाई अझ सजिलो हुनेछ भने संविधान संसोधनका लागि दुई तिहाईको बाटो रोक्न पनि असम्भव जस्तै हुन जानेछ । समानुपातिक मतबाट आउने सदस्य संख्याले पनि यसलाई रोक्न सम्भव देखिंदैन ।

केपी ओलीको राष्ट्रवादको हतियारलाई भाँच्न पनि सकिने र शक्ति सन्तुलन आजको भन्दा जटिल पनि बनाउन सकिने गरी कित्ताबन्दीको डिजाइन गरिएको छ । यसबाट देशभक्तिको केन्द्र बन्न नसक्ने र चिनियाँहरू खेल्न सक्ने आधार पनि भत्कने आँकलन साम्राज्यवादीहरूले गरेको हुन सक्छन् ।

यसबाट अगाडि आउने दोश्रो परिदृश्य पनि स्पष्ट छ कि ‘वाम’ र ‘लोकतन्त्रवाद’को प्रायोजित कित्ता एमाले र कांग्रेसका बीचमा पर्खाल खडा गरेर एमालेको बुईमा पुष्पकमल–बाबुराम तथा कांग्रेसको बुईमा मधेशवादी गुटहरूलाई निर्णायक शक्तिका रुपमा स्थापित गरिँदैछ । किनभने यी दुवै शक्तिहरू मिशनमा स्थापित गरिएका हुन् । जबकि, संसदवादीहरू प्रयोग गरिएका हुन् ।

चुनावमा संसदवादीलाई माओवादी र मधेशवादीहरूको आकारमा ल्याएपछि मुद्दाहरूको निकटताका आधारमा मधेशवादी र माओवादीलाई निकट ल्याइनेछ । संसदवादीबीचको कित्ताबन्दिपछि दुबै कित्तातिर सिट तालमेलका बहानामा शुरु भएको तीतो भाँडभैलोका पछाडि यही तथ्यले काम गरिरहेको छ ।

साम्राज्यवादप्रति बफादार हुँदाहुँदै पनि एमाले र कांग्रेसलाई तोड्ने योजना किन बन्यो ? यसका पछाडि एउटै कारण छ । त्यो हो – यिनीहरूको खिचडी संरचना । मिशनमा स्कूलिङ गरिएको हुनाले मधेशवादी र माओवादी वृतमा मुद्दाहरूमा एकरुपता छ र यिनीहरूको सम्पूर्ण पंक्तिलाई एउटै दिशामा हाँक्न सजिलो छ तर संसदवादीहरू प्रयोग मात्र गरिएका हुनाले यिनीहरूमा दृष्टिकोणको विविधता छ ।

संसदवादीहरूको सम्पूर्ण पंक्तिलाई एउटै मुद्दामा एकै किसिमले हाँक्न सम्भव छैन । विगतमा अनुभव गरिएको यो जटिलतालाई ध्यानमा राखेर नै संसदवादीहरूलाई अलग्याउने र तिनको बुई चढाएर माओवादी–मधेशवादी वृत्तलाई उठाउने रणनीति बनाइएको हो ।

चुनाव नहुने सम्भावना :

माथि गरिएको विश्लेषण इण्डो–पश्चिमी गठबन्धनले चुनावलाई टार्न नसकेको खण्डमा मात्र सत्य हो । तर यसको मुख्य अभिष्ट चुनाव नै हुन नदिने हो । संविधानतः संसदका लागि उम्मेदवारी दर्ताको प्रकृयासँगै संसदको अस्तित्व समाप्त हुनेछ । त्यसपछि सरकार बदल्ने वा त्यसलाई लगाम लगाउने कुनै निकाय रहने छैन र देशमा शून्यताको अवस्था सिर्जना हुनेछ । यस्तो अवस्थामा शेरबहादुरले चुनाव गराएनन् भने उनी वा खिलराज जस्तै अर्को कुनै पात्रको बुई चढेर साम्राज्यवादीहरूले बेलगाम घोडा दौड चलाउनेछन् । सबै दलको मौनतामा भित्र्याइएका रोहिंगा र अमेरिकाले दान गरेको ५१ अर्बको चारोका पछाडिको अर्थ यसपछि छरपष्ट रुपमा सतहमा देखा पर्नेछ ।

यदि गैर इण्डो–पश्चिमी अन्तर्राष्ट्रिय केन्द्रको दबाब र प्रभावले काम गर्न नसक्दाको अवस्थामा चुनाव नहुने सम्भावना किन छ भने साम्राज्यवादी शक्तिहरूद्वारा प्रक्षेपित रणनीति कार्यान्वयन गर्न अहिलेको समीकरण र सन्तुलनबाट सजिलो छैन ।

त्यसैले राजनीतिक/संवैधानिक संकट खडा गरेर वाम र काङ नामधारी दलालहरूका बीचमा द्वन्द चर्काउने, आफ्ना एजेन्डाहरू बोक्न दबाब दिने, दबाबका लागि रोहिंगा जस्ता सवालहरू प्रयोग गर्ने, द्वन्दका बहानामा गुप्तचर संस्थाहरू प्रवेश गराउने र सबैलाई मिलाउने नाटक गरेर सबै रुपरङ्गका कुतत्वलाई १२ बुँदे जस्तै पुनः अर्को लगाममा बाँधेर नेपाल विरोधी मिशनमा कुदाउने योजना नै यो नक्कली कित्ताबन्दीको मुख्य पक्ष हो ।

यसमा कसका के निजी स्वार्थ छन्

शेरबहादुर वरिपरिको तत्वका बारेमा धेरै चर्चा गर्नु पर्दैन । यो विजेपी कमानको छायामा बनाइएको इण्डो–पश्चिमी गठबन्धन हो, जो नेपालका लागि सबैभन्दा खतरनाक छ । जहाँसम्म वाम नामक दलाल कित्ता छ, यसमा बाबुरामलाई मात्र प्लेटफर्म चाहिएको हो । उनले पार्टी बनाउने सम्भावना छैन ।

कांग्रेसको वरिपरिका ग्याङहरू विजेपी केन्द्रित छन्, जसमा उनलाई स्थान दिइने सम्भावना थिएन । किनभने विजेपीले उनलाई ‘रअ’ र सीआईएको मानिस ठान्दछ । उपेन्द्रको दलले पनि उनलाई लिएन । अतः उनका लागि खेल्ने ठाउँ एमाले बाहेक अर्को थिएन । सके औकातमै नभएको सिट र ठाउँको बार्गेनिङ गर्ने र नसके केपीको राष्ट्रवादी नकाब उतारेर निस्कने उनको योजना छ ।

पुष्पकमलको राजनीतिलाई निर्देशित गर्ने दुई तत्व छन् – हेग र अख्तियार । यि दुई भूतबाट जोगिनका लागि उनलाई सधै सत्ताको केन्द्रमा नबसी नहुने भएको छ । यसका लागि उनले संसदमा जान जित्नैपर्छ । जुन दिन यिनले चुनाव हार्छन्, त्यो दिन हेगको ढोका पनि खुल्छ र अख्तियारको फाइल पनि पल्टिन्छ ।

एमालेसँग ४० प्रतिशतमा तालमेल गर्दा उनको दलको वास्तविक आकारमा शत–प्रतिशत भन्दा बढी बढोत्तरी पनि हुन्छ । पुष्पकमलको गोटी चालले हेग र अख्तियारको भूत मन्साउन सकेन भने उनको कित्ता घन्टाभित्रैमा पल्टिन्छ । त्यसैले भोलिको मौसमलाई ध्यानमा राखेर दलका केही मानिस ‘एकता’को बनिबनाउ विरोधमा तैनाथ गरेका छन् ।

एमालेभित्र सबैभन्दा सफल माधव नेपाल र झलनाथ भएका छन् ।

चीनसँग केही सम्झौता गरेका कारण चुलिएको केपीको लोकप्रियताको कारणले उनीहरूको विरोधको स्वर सुकेको थियो । सुकेको स्वरमा पानी सिञ्चित गर्नका लागि उनीहरूलाई बाहिरबाट मानिसहरू हुलेर वातावरण बनाउनुपर्ने भएको थियो ।

सबैलाई ह्याँकुलाले मिचेर ठीक गर्न सकिन्छ भन्ने केपी ओलीको न्यून चेतनाजन्य अहङ्कारले उनी भित्र/बाहिरका सबै विपक्षीहरूको चक्रब्युहमा नराम्ररी फस्न पुगेका छन् । यो इण्डो–पश्चिमी पाशालाई लुकाएर राख्न ‘वाम’को मुकुण्डो खडा गरेर यसका पछाडि चिनियाँहरूको हात रहेको हौवा चलाइएको छ, जो सीआईए प्रोपोगान्डामा आधारित छ ।

केपीको ‘एन्टी–मोदी’ रुझान, बाबुरामको सीआईए संरक्षित ‘रअ’को ब्यानर, पुष्पकमलको युरोप केन्द्र तथा एमालेका अन्य प्रमुख नेताहरूको पनि पश्चिमी निकटताका कारणले मात्र यो गठबन्धन बन्न सम्भव भएको हो ।

यो इण्डियन साम्राज्यवाद विरोधी नभएर मोदी विरोधी मात्र हो । इसाई दलका एकनाथ ढकालको एमाले प्रवेशको तयारीले पनि यही तथ्यतिर संकेत गरेको छ । यसले इण्डियासँगको खुला सीमा, अतिक्रमित भू–भाग, अपमानजनक सन्धि–सम्झौता, दोहोरो नागरिकता आदि मुद्दाहरू उठाउने पनि छैन ।

‘एन्टी–मोदी’ आवरणको आडमा कथित वाम कित्ताबाट ‘राष्ट्रिय स्वाधिनता’को मुद्दा उचालेर भ्रम सिर्जना गर्ने र देउवालाई प्रयोग गरेर अघि बढ्ने चालबाजी हो यो ।

तर यो प्रयोगको चक्रब्युह सरल रेखामा चाहिँ छैन । जसले शेरबहादुरलाई प्रयोग गरेको छ, त्यसले कांग्रेस कमजोर बनाउने रणनीति पनि सँगै अघि बढाएको छ । एमालेको प्रश्न पनि यही हो । कांग्रेस–मधेशवादी–राप्रपा र एमाले–एमाओवादी–बाबुराम–हृदयेश कित्ताहरू जसरी एक ठाउँमा ल्याइएको देखाइएका छन्, त्यसैगरी एक-अर्का विरुद्ध लडाइएका पनि छन् । यो नाटकीय दृश्य भोलिको तस्बिर कस्तो देखिन्छ भन्ने प्रयोगमा आधारित छ ।

सारमा हेर्दा यी सबै साम्राज्यवादका प्रिय पनि देखिन्छन् र सँगसँगै त्यसका शिकार पनि हुन् । यिनीहरूले देशका विरुद्ध जे गरे, त्यसको चक्रब्युहमा उम्कनै नसक्ने गरी आफै पनि फसिसकेका छन् । यो एमाले–कांग्रेसको अवसानको चरण हो । असोज २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस