विश्लेषण : अग्रलेख

भारतीय कूटनीतिज्ञको स्वीकारोक्ति : नेपालमाथिको हस्तक्षेप सदैव प्रत्युत्पादक

नेपालमा माओवादी हिंसा चर्केको बेला यहाँ राजदूत रहेका र २०६३ साल बैशाखमा भारतको विदेश सचिव भैसकेका श्याम शरणले हालै प्रकाशित आफ्नो पुस्तकको नेपालसम्बन्धी प्रसङ्‌मा यस्तो वक्तव्य पारेका छन् : ‘ नेपालमा हाम्रो प्रभाव घट्ने क्रममा छ भन्ने बढ्दो चिन्ताले नेपालको घरेलु राजनीतिमा हस्तक्षेप गर्ने र त्यहाँका नेताहरूमध्ये कसैलाई मित्र र कसैलाई शत्रु भनेर बिल्ला लगाइदिने ढङ्गका कामहरू सदैव प्रत्त्युत्पादक हुने गरेका छन्’।

 यो दिव्यज्ञान अहिले आएर श्याम शरणमा कसरी आयो ? ‘भारतले विश्वलाई कसरी हेर्छ’ (हाउ इण्डिया सिज द वर्ल्ड) नामक शरणको पुस्तकबाट नेपालसम्बन्धी माथिको उध्दृतांश फेसबुक पृष्ठमा सम्प्रेषण गर्ने सरकारी सेवाबाट अवकाशप्राप्त नेपाली कूटनीतिज्ञ रुद्रकुमार नेपालको कथन छ : ‘नीति-निर्धारक भै निर्णायक ठाउँमा रहँदाको भन्दा श्याम शरणको अहिलेको भनाइ स्वस्थ देखिन्छ’ । पूर्वराजदूत नेपालको यस मूल्याङ्कनसित सहमत हुने प्रतिकृयाहरूमा पोहोर सालको नाकाबन्दी र हालैको डोक्लाम घटनाले भारतीय कूटनीतिक संयन्त्रका कर्मचारीतन्त्र नैराश्य आएको हुनसक्ने तर्कहरू सामजिक सञ्जालमा आइरहेका छन् ।

श्याम शरणलाई यो ज्ञान नेपाललाई अकल्पनीय नोक्सानीमा पारेपछि र दुई देशबीचको सम्बन्ध हत्पति नसङ्लिने गरी धमिलिएपछि मात्र भएको छ । अर्को शब्दमा, शरणले दिल्लीका राजनीतिक नेतृत्वलाई गलत दिशामा डो-याएका थिए ; त्यस बापत उनीमाथि कारवाही हुनसक्ने देखिंदैछ । नरेन्द्र मोदीको सरकार वास्तविकता नियाल्दै होला ।   

नेपाल-भारत सम्बन्धलाई असल छिमेकीको रूपमा स्थिर रहन र विकसित हुन नदिने काम र कूटनीतिकवृत्तबाट हुँदै आएको यो पहिलो घटना भने होइन । थिचोमिचो र हस्तक्षेपकारी कार्यमा प्रवृत्त हुने व्यवहार मूलत: भारतीय पक्षले गर्दै आएको हुनाले परिस्थितिलाई आजको अप्रिय अवस्थामा ल्याइपु-याएकोमा दिल्लीलाई नै जिम्मेवार मान्नुपर्छ । दिल्लीका पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश समेतका छिमेकीसितका सम्बन्ध किन सुमधुर छैनन्, त्यसबारे पनि आत्मसमीक्षा गर्नु उपयुक्त हुनेछ ।  

 आजभन्दा ७० वर्षअघि अंग्रेज बेलायत फर्केपछि बल्ल अस्तित्वमा आएको ‘स्वतन्त्र भारत’ का राजनीतिज्ञ र कूटनीतिज्ञहरूले संसारकै जेठा देशहरूको लहरमा रहेको मुलुक नेपालसित समुचित व्यवहार गर्न सिकेनन् । एकातिर पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू र पटेलजस्ता नेताहरूमा एकप्रकारको उन्माद थियो भने अर्कोतिर दक्षिण एसियामा हालिमुहाली गर्ने उत्तराधिकार अंग्रेजबाट दिल्लीले पाएको अवधारणा बोकेका कर्मचारीहरू नेताका विदेशसम्बन्ध परामर्शदाता भएका थिए । तिनकै उक्साहटमा भारतले पाकिस्तान र चीनसित युध्द ग-यो । श्रीलङ्कामा तामिलहरूको निहुँमा भारतीय सेना प्रवेश गराउँदा दिल्लीको अन्तर्राष्ट्रिय छवि धमिलिन पुग्यो । सार्कक्षेत्रको वर्तमान अन्योलको कारक पनि भारत नै हो । चीनको बढ्दो प्रभावबाट आत्तिनु पर्ने स्थितिको सिर्जना भारत आफैंले गरेको छ ।

 

स्वतन्त्र भारतले नेपालका लागि राजदूत बनाएर पठाएका सि.पि.एन्.सिं त्यसै कित्ताका कर्मचारी भएको जानकारी तत्कालीन अवस्थाको चित्रण गर्ने पुस्तक र अभिलेखहरूमा भेटिन्छ । काठमाडौंमा खटिएका सिं यहाँबाट नेहरूलाई कसरी उक्साउँथे त्यसको एक झलक उतिखेर दिल्लीमा रहेका नेपालका राजदूत दमनशम्शेर राणाले लेखेको किताबमा पाइन्छ । विवादास्पद सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई शुरूमै विवादमा पार्ने सिं नै हुन् जसले आफ्नो राजदूतको हैसियतलाई नेपालका प्रधानमन्त्री मोहनशम्शेरको बराबरीमा पु-याउने तारतम्य मिलाए ।

 बी.पी.कोइरालाको आत्मवृत्तान्तमा भारतका अर्का राजदूत भगवान सहायको चर्चा छ जसले राजा महेन्द्रसित असमझदारी बढाइदिने समेतका अनेक दुष्कार्य गरे, गराए । नेपाल  आउने भारतका कतिपय राजदूत आफूलाई यहाँको गभर्नर झैं प्रस्तुत गर्न खोज्दछन् । कूटनीतिकवृत्तका गैरकूटनीतिक गतिविधि बेला-बेलामा निन्दनीय र आपत्तिजनक पाइएका छन् ।  

 २०४५/४६ तिरका राजदूत अरविन्द रामचन्द्र देवले नेपाललाई भारतीय आर्थिक नाकाबन्दीमा पार्ने काममा सक्रीय भूमिका खेले । नेपालले आफ्नो प्रतिरक्षाको लागि केही हतियार र उपकरण चीनबाट झिकाएको विषयलाई लिएर राजा वीरेन्द्रलाई मात्र हैन सम्पूर्ण नेपाली जनतालाई दण्डित गर्न दिल्ली अग्रसर भयो । १२- बुँदे दिल्ली सहमतिको परिवेशमा सशस्त्र माओवादीलाई सत्तारुढ गराउने कार्यमा राजदूत श्याम शरणका संदिग्ध गतिविधिले काम गरेकोमा सन्देह छैन ।

 २०६३ साल बैशाखको राजनीतिक उथलपुथलका बखत श्याम शरण भारतका विदेश सचिवका हैसियतले आफ्ना एजेण्टहरू मार्फत नेपालमा आन्दोलन चर्काउने निर्देशन दिंदै थिए । मनमोहन सिंहको सरकार पूर्णत: निजकै मूल्याङ्कन र सिफारिशमा निर्भर देखिन्थ्यो । श्याम शरणपछिका राकेश सूद र २०७२ यताका रणजीत राय समेतका राजदूतहरूका क्रियाकलाप जगजाहेर छन् ।

श्याम शरण अहिले सरकारमा छैनन् , त्यसैले विगतको गलत दिशानिर्देश सच्याउने र द्विपक्षीय सम्बन्धलाई दुई स्वतन्त्र मुलुकबीचको स्वाभाविक धरातलमा टेकाउने काममा उनले खास योगदान गर्न सक्दैनन् । परन्तु सार्वजनिक रूपमा आएको निजको यस ताजा  लेखाजोखाको आधारमा नरेन्द्र मोदीको सरकारले नेपालप्रतिको व्यवहारमा रचनात्मक परिवर्तन अख्तियार ग-यो भने यतिञ्जेलको तिक्कताको चरण समाप्त हुन सक्दछ । र, यसको आरम्भ अहस्तक्षेपको उच्चस्तरीय प्रतिबध्दताबाट गरिनु वाञ्छनीय हुनेछ ।

असोज २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस