खोज/विशेष : टिप्पणी

सांसदका १३ सय ५५ दिन, जो देखिए अपवाद !

काठमाडौं २७ असोज– २०७० माघमा दोस्रो संविधानसभा गठन भएको केही दिनमै सभासद्हरुलाई परिचयपत्र बाँडियो । संसद् सचिवालयले बाँडेको सांसदको परिचयपत्रमा नेपालको नामै उल्लेख थिएन ।

ओखलढुङ्गाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदको बैठकमा नियमापत्ति गरे, ‘सभामुख महोदय हाम्रो परियच पत्रमा देशको नामै छैन, हामी कुन देशका सभासद् ?’

खतिवडाले संसदमा आवाज उठाएपछि संसद् सचिवालयले पुरानो कार्ड फिर्ता गरेर सभासद्को परिचयपत्रमा नेपालको नाम राख्यो । ओखलढुङ्गाबाट प्रत्यक्ष निर्वाचित खतिवडा संसदको चारवर्षे कार्यकालमा संसदीय गतिबिधिमा सक्रिय रहने सांसद् मध्ये एक हुन् । संसदको बैठकमा गणपुरक संख्या उपस्थित नभइ विधेयक पारित गर्न थालेमा उनले तत्काल नियमापत्ति गरेर बैठक स्थगित गराए ।

संसदको शून्य समयमा सांसदहरुले बोलेका कुरा सरकारले ध्यान नदिएको भन्दै उनी एक दिन शून्य समयमा एक मिनेट उभिएर मौन बसे । सभामुख ओनसरी घर्तीले सोधिन– ‘किन नबोलेको ?’ खतिवडाले जवाफ फर्काए–‘सरकारले सुन्दैन किन बोल्ने ?’ संसदको बैठकमा नियमित उपस्थित हुने खतिवडा निर्वाचित भएपछि १ सय १३ पटक आफ्नो निर्वाचन क्षेत्रमा पुगे ।

‘जनताले जिताएर पठाएपछि आफ्नो भूमिमा निर्वाह गरे, कति गर्न सके सकिन जनताले मूल्याङकन गर्ने कुरा हो’ खतिवडाले लोकान्तरसँग भने । संसदका बैठकमा उनी लगातार दौरा सुरुवाल लगाएर पुगे ।

संसदमा लम्पसारवादको प्रसंग

शुक्रवार कार्यकाल सकिँदै गरेको संसदमा भूमिका देखाउने अर्का सांसद हुन धनराज गुरुङ । खासगरी राष्ट्रियताको पक्षमा र भ्रष्टाचारको विपक्षमा धनराजले संसदमा पटक पटक बोले । उनले संसदको विशेष समयमा बोलेका कुराले धेरै हदसम्म चर्चा कमायो ।

‘सत्तापक्ष र प्रतिपक्ष तै चुप मै चुप छन्, काले काले मिलेर खाउ भाले भएकै हो ? मुलुक माफियाले चलाउने हो ? संसद तमासे बनेर बस्नु हुन्छ ?’ सांसद गुरुङले साउन १९ गते संसदमा बोलेको विषयले निकै चर्चा कमायो । उनले संसदमा आफ्नै पार्टीको सरकार बिरुद्ध पनि बोले ।

‘सरकार दक्षिणसामु लम्पसार भएपनि संसद लम्पसार पर्नु हुँदैन सभामुख मोहदय । राष्ट्रियताको पक्षमा सत्तापक्ष र विपक्ष हुँदैन, पहाडे मधेश हुँदैन । बर्णपनि हुँदैन ।’ गुरुङले संसदमा पटक पटक राष्ट्रियताको पक्षमा बोले । संसदको लेखा समितिमा धनराजले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

चन्द्र भण्डारी, गगन थापा, रमेश लेखक, कमल प्रसाद पंगेनी, नवीन्द्रराज जोशी, रामकृष्ण यादव लगायतले संसदमा राम्रो भूमिका खेले । संविधानसभामा २ सयको संख्यामा आएका कांग्रेस सांसदले खासै छाप छाड्न सकेनन् । चन्द्र भण्डारीले बेला बखत राष्ट्रियताको पक्षमा संसदमा जोडदार आवाज उठाए ।

पुष्पकमल दाहाल प्रचण्ड सरकारमा स्वास्थ्यमन्त्री बन्नु अघि कृषि तथा जलस्रोत समितिको सभापतिको रुपमा गगन थापाले संसदमा राम्रो छाप छाडेर गए । गगनले संसदीय समितिमा केही नयाँ अभ्यासको शुरुवात गराए । राजनीतिक दलहरुको प्राथमिकतामा नपरेको कृषि र जलस्रोतको बिषयमा गगनले संसदीय समितिमा बसेर नीति बनाउदै थिए । उनको पछि आएका मोहन बरालले त्यसलाई निरन्तरता दिन सकेनन् ।

धेरै संशोधन राख्ने सांसद

संसदमा सरकारले पेश गरेका विधेयकमा धेरै संशोधन प्रस्ताव राख्नेमा दोस्रोमा पर्छन नेकपा एमालेका सांसद रेवती रमण भण्डारी । सुनसरीबाट चुनाव जितेर आएका भण्डारी संविधानसभाको नियमावली बनाउने समयदेखि देवायनी संहिता पारित गर्ने समयसम्म सक्रिय भूमिकामा रहे ।

संसदको विधायकी कार्यमा मात्र नभइ संसदको विशेष सायममा पनि उनले चोटिलो प्रस्तुति व्यक्त गरे । तत्कालिन मुख्यसचिव सोमलाल सुवेदी नेपाल सरकारको जागरि छाडेर एसियाली विकास बैंकको जागिर खान जाने समयमा उनले संसदमा राजीनामाको माग गरे । ‘विधेयकको गहिरो अध्ययन गरेर संशोधन राख्ने गरेको थिए, मेरा संशोधन धेरै पारित भएका छन’ भण्डारीले लोकान्तरसंग भने ।

दोस्रो संविधानसभाको कार्यकालमा राम्रो भूमिका खेल्ने एमाले सांसद चुडामणि जंगली विश्वकर्मा पनि हुन् । स्व सुशील कोइराला सरकारमा एमाले उपाध्यक्ष वामदेव गौतम गृहमन्त्री थिए । एकदिन अखवारमा धादिङकी सुत्केरी चेपाङ महिला १८ दिनसम्म १९ घोगा मकै खाएर गुजारा गरेको तथा गृहमन्त्री गौतम तीनवटा हेलिकप्टर लिएर धादिङको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न गएको समाचार प्रकाशित भएको थियो ।

संसदका बैठकमा पत्रिका देखाउदै चुडामणिले पश्न गरे, ‘राज्यकोषको पैसामा हालिमुहाली गर्न मिल्छ सभामुख महोदय ?’ संसदमा एमालेकै सांसदले आफ्नै मन्त्री बिरुद्ध प्रश्न गरेपछि खैलाबैला भयो । संसदको शून्य र विशेष समयमा बोल्ने मात्र होइन विधेयकमा संशोधन राख्ने तेस्रो सांसद पर्छन चुडामणि ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध र श्रम समितिका सदस्य विश्वकर्माले श्रमिकको पक्षमा दजैनौ पटक संसद र संसदीय समितिमा बोले । योगदानमा आधारिक सामाजिक सुरक्षा विधेयक पारित गर्नको लागि सुरेन्द्र पाण्डसंग मिलेर उनले संसदमा संकल्प प्रस्ताव नै दर्ता गराए । ‘आफ्नो बल बुताले भ्याएसम्म श्रमिक बर्गको पक्षमा कुरा राखे र नीति बनाउन भूमिका खेले’ विश्वकर्माले लोकान्तरसंग भने ।

यसपटकको संसदमा एमालेका रवीन्द्र अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, गणेशमान गुरुङ, गुरु बुर्लाकोटी, भानुभक्त ढकाल, रञ्जु ठाकुर यज्ञराज सुनुवार, रामेश्वर फुयाल, विकास लम्साल लगायत सांसदले भूमिका खेले ।


‘मिनि पार्लियामेन्ट’का अब्बल


संसदको विकास समितिको सभापतिको रुपमा रवीन्द्र अधिकारीले संसदीय भूमिकामा आफूलाई अब्बल ठहराए । दुई पटकसम्म प्रत्यक्ष निर्वाचित भएपनि मन्त्री बन्ने मौका नपाएका अधिकारीले संसदीय समिति मार्फत विकास निर्माणमा सरकारलाई झक्झक्याउन लागि परे । कर्मकाण्डी संसदीय समितिलाई उनले जागरुक बनाए । उनले समसामयिक बिषयमा संसदमा पटक पटक बोले ।

संसदको महिला बालबालिका समितिको सभापति रहेकी रञ्जु झाले पनि संसदका आफ्नो कार्यकुशलता प्रस्तुत गरिन् । कानूनी पृष्ठभूमि रहेकी झाले संविधान लेखनको क्रममा तथा संसदमा विधायकी काममा उल्लेख्य भूमिका खेलिन ।

कृष्णभक्त पोखरेल संविधान मस्यौदा समितिमा र संसदको व्यबस्थापकिय कार्यमा व्यस्त रहे भने रामेश्वर फुयालले राज्य व्यबस्था समितिमा प्रभावकारी भूमिका खेले ।

जसले सांसदलाई निदाउन दिएनन्

संसदका बैठकमा सांसदहरुले हाइ काड्ने र सांसदहरु निदाउने नेपालको मात्र होइन धेरै देशमा हुन्छ । तर माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले यो कार्यकालमा संसदमा सांसदलाई हाइ काड्न र निदाउन दिएनन् । जब बिडारी बोल्छन, बाहिर बसेका सांसद समेत उनको भाषण सुन्न भित्र आउछन् ।

कानूनी पृष्ठभूमिका बरिष्ठ अधिवक्ता बिडारीको वक्तित्व शैलीले सांसदहरुलाई हसाँउछ् । बिडारीले हाउभाउसहित संसदमा बोल्दा नहास्ने सायदै हुन्छन् । कहिलेकाही उनले नियमापत्तिको पनि सामना गर्नु पर्यो ।

एकपटक बोल्ने क्रममा उनले मुर्तिचोरहरु भने र अर्को पटक यो अपराधी राज्य व्यबस्था । त्यसपटक उनले नियमापत्तिको सामना गर्नु पर्यो । यसपटकको संसदमा माओवादीका तर्फबाट बिडारीले उल्लेख्य भूमिका खेले । शून्य वा विशेष समयमा बोल्दा अन्तिममा उनले ‘थाहा चाहियो’ भनेर रुपनारायण विष्टको झल्को दिने काम गरे ।

संविधान मस्यौदा समितिमा रहेका पाँच जना विशेषज्ञ टिम, १५ जनाको कार्यदलमा रहेर काम गरेका उनले संसदका अन्य कयौ समितिमा कानूनी विज्ञको रुपमा काम गरे ।

शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्र बहादुर शाही, रेखा शर्मा, अनिता कुमारी परियार र अमनलाल मोदी लगायतले यसपटक माओवादीको तर्फबाट संसदमा भूमिका खेले । संसदको सुशासन समितिमा रहेका मोदीले गैससको पैसाले संसदीय समिति बिकेको भन्दै समितिमा प्रश्न उठाए । थोरै भएपनि राम कार्कीले संसदको विशेष समयमा बोले ।

राप्रपा र मधेस केन्द्रित दलका सांसदहरुले उल्लेख्य भूमिका देखाउन सकेनन् । प्रतिपक्षमा रहँदा कमल थापाले संसदमा बोलेको कुराले चर्चा कमाएपनि उनी संसदको पछिल्लो कार्यकालमा सत्ताका माहिर खेलाडीको रुपमा प्रस्तुत भए ।

राप्रपाका सुशील श्रेष्ठ, कुन्ती शाही, लोकतान्त्रिक फोरमका डा सुवोध कुमार पोखरेलले संसदमा राम्रै भूमिका खेले । पहिलो संविधानसभामा राम्रो भूमिका खेलेका सद्भावना सांसद लक्ष्मणलाल कर्ण यसपटक संसद बहिस्कार तर्फ लागे ।

संसदको प्रखर प्रतिपक्ष

संसदका बैठकमा गणपुरक संख्या पुगे नपुगेको, मन्त्री उपस्थित रहे नरहेको बिषयमा सभामुखलाई बरु ख्याल हुँदैनथ्यो, नेमकिपाका सांसदहरु पछाडि बसेर याद गरिरहेका हुन्थे । जब सभामुखले कुनै विकेयकलाई निर्णयार्थ पेश गर्ने समय आउथ्यो नेमकिपा सांसद प्रेम सुवाल उठेर हात उठाउदै संख्या गन्न माग गर्दथे । सांसदको संख्या गन्दा गणपुरक संख्या नपुगेर संसदको बैठक स्थगित हुने गर्दथ्र्यो । यो क्रम एक पटक मात्र होइन पटक पटक चल्यो ।

सुवाल मात्र होइन नेमकिपाका डिल्ली काफ्लेले पनि धेरै पटक यसरी संसदको बैठक स्थगित गराए । सुवाल संसदमा सबैभन्दा धेरै विधेयकमा संशोधन दर्ता गराउने सांसद हुन् । अपबाद बाहेक सबै विधेयक पेशगर्नु अघि बिरोधको सूचना र विधेयकमा संशोधन दर्ता गराए ।

संसदको बैठक मध्यरातसम्म चलेपनि नेमकिपाका तीन जना सांसद सुवाल, काफ्ले र अनुराधा थापा बिचमा घर गएनन्, बैठकको अन्तिमसम्म बसिरहे । ‘संसदमा सत्तापक्ष र प्रतिपक्ष छुट्टाउन कठिन छ, हामीले जनताको पक्षमा बोलि राख्यौ’ सुवालले लोकान्तरसंग भने, ‘संसदमा प्रखर प्रतिपक्षको रुपमा उभ्याउन सफल भयौ ।’

सुवाल र थापाले संसदमा पटक पटक नाकाबन्दीको बिरोध, भारतसंगको सीमामा काडेतार लगाउने कुरा उठाए । सुवालले त नेपालले उत्तर कोरियाको समर्थन गर्नुपर्ने सम्मको कुरा उठाए । अनुराधाले संसदको विशेष समयमा विशेष रुपमै आफ्ना कुरा राखिन । नारायणमान विजुक्षेले भने यसपटक धेरै बोलेनन् ।

विधायकी कार्यमा अग्रणी महिला सांसद

पार्टी कार्यालयमा जाने क्रममा माइक्रो बसबाट खसेर बिरामी भएपछि चित्रबहादुर केसी यसपटकको संसदमा धेरै बोल्न सकेनन् । चित्रबहादुरको अनुपस्थितीमा मीना पुनले संसदमा प्रतिपक्षको बेञ्चबाट सरकारका धेरै निर्णयको आलोचना गरिन ।

महिला सांसदहरु विधायकी कार्यमा त्यती सक्रिय नभएपनि उनले अधिकाशं विधेयकमा संशोधन प्रस्ताव राखिन र छलफलमा भाग लिइन । संसदको शून्य र विशेष समयमा धारणा राखिन । ‘प्रायजसो विधेयकमा संशोधन राखे र छलफलमा भाग लिने कोशिष गरे, केही केही बिषय छुटे होलान’ उनले भनिन, ‘संसदमा राष्ट्रियताको पक्षमा कुरा उठाउन छाडिन् ।’

नेपालले भारतसँग गरेका असमान सम्झौताको विरोध, सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट भइरहेको ज्याजती र भारतमा काम गरेर फर्किने नेपालीमाथी हुने दुव्र्यबहारबारे उनले पटक संसदमा आवाज उठाइन् ।
खासगरी प्रधानमन्त्रीका भारत भ्रमणका क्रममा भएका सहमति, माथिल्लो कर्णाली भारतीय कम्पनीलाइ दिएको लगायतबारे पुनले संसदमा आवज उठाइन ।

केपी ओली सरकारमा उपप्रधानमन्त्री भएर गएपछि चित्रबहादुर केसीले संसदमा यसपटक उखान टुक्का भन्न पाएनन् । मोहनविक्रम सिंहकी पत्नी दुर्गा पौडेल भने संसदीय गतिबिधीमा खासै जमिनन् ।


पुरोनो पुस्ताका क्रान्तिकारी


नेकपा एमाले नेतृत्वमा भएको संविधान संशोधन विरोधी आन्दोलनमा सहभागि भएको भनेर उनको पद झण्डै गुमेको थियो । तर बयोबृद्ध लक्ष्मणलाल राजवंशीले संसदमा बोल्न छाडेनन् । नेपाः राष्ट्रि पार्टी बाट सांसद बनेका राजवंशीले भृकुटीमण्डपको कार्यक्रममा गएर ‘थुक्क बुढा तिम्रो कारणले राष्ट्रियता गुम्यो भन्ने अबस्था नआओस’ भनेर यहाँ बोल्न आएको हु भने ।

पार्टीको लाइन विपरित बोलेको भनेर उनलाई पार्टीले साधारण सदस्यबाट समेत निस्काशन गरी सांसद पद खोस्न खोज्यो, तर पद जोगियो । आफूचाँही कान कमसुन्ने राजवंशीले संसदमा धेरै पटक राष्ट्रियताको पक्षमा बोले ।

तत्कालिन प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानूपूर्व हिन्दुस्तान पत्रिकामा अन्तवार्ता दिदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग आफ्नो केमेष्ट्री मिल्ने बताएका थिए । प्रधानमन्त्रीको भ्रमणको अघिल्लो दिन राजवंशीले संसदमा प्रश्न गरे, ‘के नाकाबन्दी पनि केमेष्ट्री मिलेरै लगाएको हो ?’ उनले नेपालका प्रधानमन्त्रीहरु भारतमा गएर राणाकालीन बिन्तीपत्र निक्सारीको रुपमा भारतीय प्रधानमन्त्री समक्ष निरिह रुपमा प्रस्तुत हुने भन्दै कटाक्ष गरे ।

संसदमा नियमित उपस्थित हुने, शून्य र विशेष समयमा तर्कपूर्ण बोल्ने र ‘मिनि पार्लियामेण्ट’ भनिने संसदीय समितिका छलफलमा भाग लिनु सांसदको जिम्मेवारी हो । तर कतिपय सांसदहरु यसपटकको संसदमा एकपटक पनि नबोलि बिदा हुँदैछन् भने कतिपय सांसदले पारित भएका विधेयकमा एउटा पनि संशोधन हालेनन् ।

दोस्रो संविधानसभा निर्वाचनपछि २०७० माघ सातबाट संविधानसभा ÷संसदको बैठक शुरु भएको थियो । यहि संविधानसभाले संविधान जारी ग-यो भने २०७२ असोज ३ पछि संविधानसभा रुपान्तरित संसदमा परिणत भएको थियो जसको असोज २७ (आज) अन्तिम बैठक बसेको छ । असोज २७, २०७४ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस