विश्लेषण : आलेख

अहिलेको नेपाली सेना: नातावाद-कृपावाद र भ्रष्टाचारमुक्त छ त ?


साविकको ‘शाही नेपाली सेना’ लाई सिधै राजाको संरक्षण प्राप्त थियो, सैनिक विषयक ऐन कानून त थिए तर सेनामा तिनको पालना हुने नहुने तय राजदरबारको सैनिक सचिवालय मार्फत राजाले नै गर्थे, गराउँथे । श्री ५ लाई परमाधिपति मानिन्थ्यो । उच्च तहमा पुगेका (पु-याइएका) सैनिक अधिकृतहरूलाई अनुशासनमा राखिएको थियो, तिनले आफूखुसी विदेशीसित सम्पर्क, हिमचिम बढाउन पाउँदैनथे । सेनाको मामीलामा राजदरबार सर्वेसर्वा थियो । रक्षा मन्त्रालय त, एक पूर्व सेनापतिको शब्दमा, हुलाकी काम गर्ने सरकारी निकाय मात्र थियो ।


तर विडम्बना, २०५८ साल जेठमा सेना सहितको चार तहको सुरक्षाप्राप्त राजदरबारभित्र गद्दीनसिन राजा वीरेन्द्र मारिए, उनकी रानी, छोरा र निकट नातेदारहरूको जीवन त्यस रहस्यमय हत्याकाण्डमा समाप्त भयो । तर त्यस नारायणहिटी पर्वको प्रारम्भिक छानबीनको क्रममा सेनापति प्रज्जवलशम्शेर राणाले भनिदिए : राजाको सुरक्षा शाही नेपाली सेनाको जिम्मेवारीमा पर्दैन !  प्रश्न उठ्छ: त्यसो भए राजदरबारमा खटेको सेनाको एकाई कुन प्रयोजनका लागि त्यहाँ राखिएको थियो ? यसको उत्तर कसैबाट आएन, अझै आएको छैन ।

 

सेनाको क्षमतामा कुनै टड्कारो कमी थियो अथवा सेनाको नेतृत्वले कसैको साँठगाँठमा त्यस्तो घटना हुने स्थितिप्रति आँखा चिम्लेको थियो ?

 

तत्कालीन सेनापति राणाको बयान र प्रेस-जिज्ञाशाप्रतिको उनको उत्तरलाई जनस्तरमा सहज मानिएको थिएन । सेनाभित्र पक्कै खैलाबैला भएको हुँदो हो किनभने किनभने जेठ १९ गतेको घटना असाधारण र अकल्पनीय प्रकृतिको थियो । संरक्षक गुमाएर सेना टुहुरो भएको घडी थियो । एउटा राजाको सुरक्षा समेत गर्न नसक्ने सेनाले लाखौं जनताको सुरक्षा के गर्ला भन्ने सन्देह सर्वथा उचित हो ।

 

सेनाका उच्च अधिकृतहरू सेनापतिको हास्यास्पद कथनले उत्तेजित भएको अनुमान उतिखेरै गरिएको हो । ‘सिपाहीको जिन्दगी’ नामक हालै प्रकाशित संस्मरणात्मक पुस्तकमा अवकाशप्राप्त सहायक रथी चिनीयाबहादुर बस्न्यातले सेनापति राणाको त्यस उत्तरलाई “ नैतिकहीन र केटाकेटी पाराको ” भनेका छन् । उनी थप्छन् : “ वास्तवमा राजा (ज्ञानेन्द्र) ले प्रज्वल राणालाई तुरुन्तै बर्खास्त गर्नुपर्थ्यो । त्यस्तो गैरजिम्मेवार भनाइमा “। अर्को विडम्बना, प्रज्जल त पछि फ्रान्स गए---राजदूत भएर ।

 

बस्न्यातको पुस्तकमा प्रज्वल सेनापति छँदा सेनामा भ्रष्टाचार मौलाएको चर्चा बाक्लै भेटिन्छ । किटान घटनाको उल्लेख गर्ने सिलसिलामा बस्न्यातले लेखेका छन् : पृथ्वीनारायण शाहदेखि राणाकालसम्म नेपालमा बनेका र बाहिरबाट बनेका तोप, हतियार, खुकुरी, सैनिक सामग्री अमेरिकी नागरिकलाई बेचे । “... पैसाको लागि नेपालको इतिहास बेचिएको थियो ” । 

 

पहिले-पहिले सेनाभित्रका धेरै विषय सार्वजनिक चासो र चर्चाका मामीला बन्न नदिने प्रचलन भएकोले उतिखेरका आर्थिक अनियमितता, भ्रष्टाचारका कुराहरू जनताबीच आइपुग्दैनथे । तैपनि सेनाभित्र भ्रष्टाचार छ, हुन्छ भन्ने कुराको पुष्टि राजा वीरेन्द्रले एकपल्ट आफैंले गरिदिए ---धर्मपालवर सिंह थापालाई सेनापति नियुक्त गर्नुअघिका सेनापतिलाई सेनाभित्रको भ्रष्टाचारमा नियन्त्रण गर्न नसकेको दण्डस्वरूप कार्यकाल नसकिंदै अवकाश दिएर ।

-----------------------------------------------------------------------

रचना: सिपाहीको जिन्दगी (आत्मकथा)

लेखक: चिनीयाबहादुर बस्न्यात

प्रकाशिका: इन्दू बस्न्यात

संस्करण: पहिलो, २०७४

पृष्ठ : ३७५

मूल्य : ३०० रुपिञा

--------------------------------------------------------------------------

 

त्यसैगरी, राजदरबारमा नातावाद कृपावादको बोलबाला व्यापक थियो; र त्यो निजामतीमा भन्दा जङ्गीतर्फ बढी हुन्थ्यो भनिन्छ । त्यसको झलक दिने एउटा घटना २०५६ सालको शुरूमा भएको थियो । पदावधि सकिएका अधिकृत भिक्ट्री राणा र गोपाल बोहोरा एकैसाथ रिटायर्ड भएकोमा दुई साताभित्रैमा राणाले पुन: बहाली पाए, तर वरिष्ठ बोहोरालाई दरबारले सम्झिन आवश्यक ठानेन । विवेच्य पुस्तकमा यस घटनाको पनि उल्लेख पाइन्छ । राणालाई त पछि राजदूत बनाएर बर्मा समेत पठाइयो ।

 

पुस्तकमा राष्ट्रसंघको शान्तिसेनामा खटिएर गएका नेपाली सैनिकले रगत पसीनाबाट आर्जन गरी जोगाएको रकमबाट किनिएको सुन कसरी उतै जफत भएको थियो र कुन मेहनत र परिश्रमले आफूले त्यसको पैसा उपर गरेको थिएँ भनी लेख्दै जाँदा बस्न्यात एक ठाउँमा भन्छन् : जाग्रेवको बैंकमा स्वीट्जरल्याण्डबाट आएको झण्डै १० लाख डलर ब्रिफकेसमा हाली हेडक्वाटरमा स.र. दिगम्बर राणालाई बुझाउन लगाएँ । तर सैनिकहरूले आफ्नो सुन बापतको कति डलर फिर्ता पाए “त्यसको मैले आजसम्म कुनै जानकारी पाएको छैन”।

 

चर्चित पुस्तक पूर्व सहायक रथी बस्न्यातको आत्मकथा भएको हुनाले यो मूलत: आफैंमा केन्द्रित हुनुलाई अनौठो मान्ने कुरा आएन । निजाले ३८ वर्षको फौजी जीवनमा आफूले पाएका स्याबासी र उपलब्धिको उल्लेख गर्नुलाई पनि अन्यथा ठान्न मिलेन । त्यसै सिलसिलामा अस्वस्थ प्रतिस्पर्धा र सेनामा रहेको कृपावादले आफूमाथि परेका असरबारे शिकायतहरू आउनु अस्वाभाविक भएन । अन्यायमा परेको कुरा राजामा जाहेर गर्दा पनि सम्बोधन भएन भन्ने गुनासोबारे उल्लेख हुनु अनुचित होइन ।

आफ्नै देशमा खुलेको आधारभूत तालीममा सरिक हुँदा सर्वप्रथम भै सैनिक सेवामा प्रवेश गरेको युवक नेपालको पहिलो छाताधारी सैनिक (प्याराजम्पर) समेत हुन पुगेको जानकारी जनसाधारणको रुचिको विषय हो नै । बस्न्यात नेतृत्वको टोलीले इजरायलमा पाएको प्रशिक्षणपश्चात् नेपालमा छाताधारी सैनिकको एकाइ स्थापना भएको ऐतिहासिक सन्दर्भ किताबका पठनीय केही अंशमा पर्दछ ।

 

खम्पा विद्रोह दबाउँदाका प्रसङ्ग, चीनबाट हतियार झिकाउँदाको परिस्थिति, माओवादी विद्रोहबारे राजालाई ब्रिफिङ्‌ गर्दाको अवस्था समेतका विषयमा आजअघि जानकारीमा नआएका कतिपय सूचना यस पुस्तकमा परेका छन् ।    

 

हाँसो ठट्टाका क्षणहरू समावेश गरेर बस्न्यातले पुस्तकलाई रसिलो पनि बनाएका छन् । २०२८ सालमा इलाममा कमाण्डो कोर्स सञ्चालन गर्न गएका बखत ‘चिनीया मेजर’ले तालीम गर्दैछ भन्ने चर्चा सुनेर दार्जिलिङतिरबाट भारतीय गुप्तचरले चियोचर्चो गरेको घटना उनको नामले गर्दा भएको रहेछ !

 

सेनाका चुनौती तथा सेनाभित्रका समस्या बाहिर अर्थात् जनसाधारणका बीच ल्याउनु हुँदैन भन्ने मान्यता राख्नेहरू पनि छन् । तर जनताले तिरो, कर तिरेर आफ्नै सुरक्षा खातिर पालेको सेनाबारे जानकारी पाउनु हुन्न भन्ने सोच कहिल्यै समयसापेक्ष थिएनन् । सैनिक कारवाहीका बेला तय गरिने कार्यतालिका एवं रणनीतिबाहेक सेनाका संस्थागत मामीला नागरिकको सूचनाको हक अन्तर्गतकै कुरा हुन् ।

 

खुसीको कुरो हो, सेनामै काम गरी अनुभव हासिल गरेका अधिकृतहरू नै यसबारे कलम चलाउन थालेका छन् । राजदरबारका प्रमुख सैनिक सचिव रहेका जर्नेल विवेक शाहको पुस्तकले दरबार र सेनाका केही पक्ष उद्‌घाटित गरेको थियो भने महारथी रुक्माङ्द कटवालको संस्मरणात्मक कृतिले सेनामै केन्द्रित घटना, दुर्घटनाहरूको चिरफार गर्नपुग्यो । कटवालपछिका सेनाप्रमुख छत्रमान सिंह गुरुङका कतिपय संस्मरण पनि सम-सामयिक चर्चामा आए ।

 

राजाका पार्श्ववर्ती रहेका टीका धमलाले बेला-बेलामा अखवारमा सेनासम्बन्धमा सामयिक लेख टिप्पणी छपाएका छन् । प्राज्ञिक / रणनीतिक पक्षमा केशरबहादुर भण्डारीको कलम निरन्तर चलिरहेको देखिन्छ । विद्यावारिधि गरेका प्रेमसिंह बस्न्यातको कलम र वकृत्वकला दुबै जोशिला रहेका छन् ।

 

बस्न्यातको पुस्तकमा ठाउँ-ठाउँमा भाषागत त्रुटि भेटिन्छन् यद्यपि लेखकले कृति तयार पार्दा साहित्यकार युवराज ‘नयाँघरे’को सहयोग लिएको देखिन्छ । आवश्यक नपरेका ठाउँमा अंग्रेजी लवजको प्रयोग नगर्ने, गर्नुपरेकै ठाउँमा पनि नेपालीमा राम्ररी अर्थ खुलाएर गर्ने र हिज्जेमा एकरुपता अपनाउने सम्बन्धमा ‘नयाँघरे’ ले यथोचित सहयोग दिनुपर्ने हो । ‘कर्णेल’ वा ‘कर्नेल’ जे गरेपनि एकथोक गरेर एकरुपता कायम राखेको भए बेश हुन्थ्यो ।

 

–ध्रुवहरि अधिकारी 

 

असोज २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस