संगीत

गीत कण्ठ गर्न धेरैपटक हलमा गएर एउटै फिल्म हेर्थे : प्रेमध्वज

घुम्तीमा नआऊ है, यो नेपाली शीर उचाली, गोरेटी त्यो गाउँको, यो नानीको शीरैमा लगायतका चर्चित गीत गाएका प्रेमध्वज प्रधानलाई नसुन्ने संगीत श्रोता कमै होलान् । राणाकालीन समयको नेपाललाई अहिले राजनीतिले अर्कै मोडमा ल्याइसकेको छ । त्यसरी नै प्रेमध्वज प्रधानलाई पनि उमेरले पनि एउटा सिङ्गो युग पार गराइसकेको छ ।
उनै गायक प्रधानको शुरुवाती गीति यात्रा बुझ्न हामी उनको घरमा पुग्यौं । बागबजारस्थित उनको निवास पुग्दा मुस्कानले स्वागत गरिरहेका थिए हामीलाई ।

घरको पहिलो तलामा राजा वीरेन्द्र परिवारको तस्वीरले क्यानभास सजाइएको थियो । हामी त्यहींनेर मिलाइएका टेबुलमा बसेर कुराको शुरुवात ग–यौं ।

उनले बिस्तारै आफ्ना शुरुवाती समय सुनाए ।

जतिबेला उनी गीत बुझ्ने भएका थिए, त्योताका कुनै पनि नेपाली गीत रेकर्ड भएका थिएनन् । बरु कहींकतै गुञ्जिने र सुन्न पाइने हिन्दी गीतले संगीतको मजा दिइरहेको हुन्थ्यो नेपालीलाई ।

त्यो समय अहिले फेरिएको छ । अर्थात, हिजोका प्रेमध्वज प्रधानको जस्तो समय आज छैन ।

सिन्धुपाल्चोकको चौताराबाट सानैमा काठमाडौं झरेका प्रधान सानैदेखि गीत भनेपछि लोभिन्थे । बुबाले भारतबाट किनेर ल्याएको ‘मर्फी’ रेडियो थियो उनको घरमा । त्यही रेडियोमा लुकीलुकी हिन्दी गीत सुन्ने र गाउने गर्थे प्रधान । ‘त्यतिबेला रेडियो भएको थाहा पाए राणाहरुले लगिदिन्थे ।’, प्रधानले सुनाए ।

‘उसोभए त राणाकालीन समय पनि राम्रै भोग्नुभएछ है?’, हामीले सोध्यौं ।

‘मोहनसमशेरको हातबाट पैसा पाएको छु नि’, उनले फेरि थपे, ‘राज्याभिषेक हुँदा बाटोभरी पैसा छर्दै हिँडेका थिए, त्यही बेला मैले पनि केही रुपैयाँ पाएको सम्झना छ ।’

त्यतिबेलाका फुच्चे प्रधान उभिएको ठाउँमा केही पैसा परेको थियो । एक रुपैयाँको ढ्याक अझै पनि सम्झना छ उनलाई ।

बुबाले ल्याइदिएको रेडियोमा थुप्रै हिन्दी गीत सुन्न पाएका प्रधान बुबासँग भने त्यति नजिक हुन पाएनन् । आमाले बुबासँग पहिले नै पारपाचुके गरेकी थिइन् । बुबाले कमाएको पैसा आमा छोरालाई खासै काम लाग्दैनथ्यो । त्यसैले पनि प्रधानलाई सानैदेखि पैसा कमाउन र आमाको ख्याल राख्नुपर्छ भन्ने बोध भइसकेको थियो । ‘आमाका लागि केही गर्नुपर्छ भन्ने लागेको हो मलाई ।’, उनले थपे ।

प्रधानमा सानैदेखि थियो गीत गाउने हुटहुटी । त्यही तिर्खा मेट्न रेडियो नेपाल पुगे नौ सालमा स्वर परीक्षणका लागि । ‘मैले मात्र होइन, त्यतिबेला सबै नेपाली गायकले हिन्दी गीत गाएरै स्वर परीक्षण गर्नुपर्ने बाध्यता थियो’, उनले त्यतिबेलाको समय नियाल्दै फेरि थपे, ‘हिन्दी गीत गाएर स्वर परीक्षण गराएको थिएँ ।’
प्र्रत्येक आइतवार स्वर परीक्षण हुन्थ्यो रेडियोमा ।

अझ त्यतिबेला एउटै नेपाली सिनेमा चार पाँचपटक हेर्नुपर्ने बाध्यता । किनभने त्यतिबेला फिल्मको गीतमात्रै सुन्नका लागि पनि हल जानुपर्ने अवस्था थियो । ‘एकैपटकमा गीत गाउन नसकिने, हामी भने गीत भनेपछि मरिहत्ते गर्ने ।’, उनले सुनाए ।

स्वर परीक्षणमा पास त भए तर गीत गाएर जीवन चलाउने अवस्था बनिसकेको थिएन । उनलाई पैसा कमाउनु बाध्यताजस्तै बनिसकेको थियो त्यतिबेला । अर्कोतिर गीत गाउने शोख पनि यत्रतत्र थियो उनीभित्र । स्वर परीक्षणमा पास भएपछि रेडियो नेपाल उनका लागि पानी पँधेरो त भएको थियो तर जागिरको मेसो मिलेको थिएन उनलाई ।

‘रेडियो नेपालमा पचास रुपैयाँ मासिक तलबमा जागिर दिनुस् भन्दा पनि जागिर पाइन, मलाई पचास भए पुग्थ्यो’, उनले सन् १९५९ ताकाको समय सम्झिँदै सुनाए, ‘काठमाडौंमा जागिर नपाउने छनक देखेर भारतको दिल्लीसमेत जाने निर्णयमा पुगेको थिएँ म ।’

त्यो समय । अर्थात, सन् १९५९ को डिसेम्बरको कुनै बुधवार ।

शुक्रवार दिल्ली जाने भनेर बसको टिकट बुझ्न गए । तर, उनको दिल्ली जाने योजना एकाएक फेरियो, जतिखेर उनलाई जागिरको प्रस्ताव आयो । ‘२२ दिन मैले अमेरिकन लाइब्रेरीमा इन्टर्नशीप गरेको थिएँ’, त्यहींबाट जागिरको प्रस्ताव आएछ ।’, उनले खुशी व्यक्त गर्दै सुनाए ।

त्यही जागिरले उनले जीवनको ‘लय’ समाए । काम गर्न भारत जाने योजना फेरियो ।

त्यसपछि उनी काम गर्न भारत जानु परेन । भारतीय संगीतकर्मी जयदेव, आशा भोस्ले, मनोहरि सिंह लगायतका संगीतकर्मीसँग उनको सामीप्यता थियो । ‘जयदेवले त छोराजस्तै गरी राख्छु, भारत आऊ भन्थे... मैले मानिन ।’, उनले थपे, ‘आशा भोस्लेसग त मैले गीत गाएको छु नि ।’

पुस्तकालयमा खासै काम गर्नु नपर्ने । समय मिलाएर गीत रेकर्ड गराउन मुम्बई (तत्कालीन बम्बई) पुगे । दश घण्टामा दशवटा गीत रेकर्ड गराएर उनी फर्के । तिनै गीतमध्ये २२ प्रति गीत रेडियो नेपालले विक्री गरिदिएको प्रधान बताउँछन् । ‘धेरैसँग चिनजान भएकाले जम्मा ३२ सय भारुमा मेरा गीत रेकर्ड भएका थिए, मैले त्यो एल्बमबाट चालीस हजारजति रोयल्टी लिएँ होला ।’, उनले त्यतिबेला रेकर्ड गराएको ठूलो क्यासेट देखाउँदै भने, ‘यी त्यतिबेला यस्तो क्यासेट हुन्थ्यो, अहिले त पेन ड्राइभमा एकैछिनमा फाइल पठाउन सकिने जमाना आयो ।’
पछि रेडियो नेपालबाट जागिरको प्रस्ताव आए पनि उनले जागिर गरेनन् । किनकि यता अमेरिकन लाइब्रेरीमा काम थालिसकेका थिए । धेरै तलबमा ।

जागिर नगरे पनि रेडियो नेपालका संगीतकर्मीसँग राम्रो चिनाजानी बनाइदिएको थियो उनको गीति वृत्तिले । ‘झलकमान गन्धर्वसँग सिकेर लोकगीत गाएको हुँ, गायकले सबै खाले गीत गाउन सक्नुपर्छ भनेर लोकगीत गाउने रहर लागेको थियो ।’, उनले सुनाए ।

उनका लोकगीत पनि उत्तिकै रुचाएका छन् श्रोताले ।

आधुनिक गीतमा उनका केही गीत ‘हिट’ थिए । ४७ वर्षअघिको उनको गीत घुम्तीमा नआऊ है अहिले पनि उत्तिकै सुनिन्छ । तिनै गीतलाई अहिले उनले आफ्नो हार्ड ड्राइभमा संकलन गरेर राखेका छन् । गीतमा भेटिन्छन् – थुप्रै नेपाली गीत, नेपाल भाषाका गीत र केही भजन पनि ।

हामीलाई हार्ड डिस्कमा संकलन गरेर राखिएका गीत सुनाउँदै प्रधानले भने – ‘जमाना फेरियो, अमेरिका गएको छोरोले यी सबै गीत एकै ठाउँमा जम्मा गरिदिएको हो ।’

उनले थपे, ‘भर्खरै मेरो नयाँ गीत पनि सार्वजनिक भएको छ ।’ असोज २८, २०७४ मा प्रकाशित

अर्घेलो थापा

अर्घेलो लोकान्तरका कला संवाददाता हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस