विश्लेषण : आलेख

एनआरएनको नाममा नेपाली कामदारमाथि भइरहेको राजनीतिलाई कसरी बुझ्ने?

दुई जनालाई भिजिट भिसामा युएई ल्याई काम लगाइदिन्छु भनेर एकजनाको करिब तीन लाख असुली गरेको तर युएई आईसकेपछि पासपोर्ट लिएर अपहरणको शैलीमा बाँकी २५ सय दिराम नदिए यतै सडाइदिने धम्की दिएको भनेर पीडित सम्पर्कमा आएपछि दलालको नम्बर मागेर सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

उक्त दलालको अर्को सहयोगीको नम्बर भने लाग्यो । उसले मानवीय हिसाबले पीडित दुईलाई आश्रय दिनुपरेको भन्दै कुनै पनि हिसाबले आफू उत्तरदायी नभएको बतायो । पीडितहरूको पासपोर्ट उनीहरू बसेको घरबेटीलाई बुझाइएको र घरबेटीले घरभाडा २५ सय दिराम नदिएसम्म पासपोर्ट नदिने बताएपछि पीडितहरू बिचल्ली परेका थिए ।

लोकान्तर लगायत अन्य अनलाइनहरूबाट सो समाचार प्रकाशित भएपछि दलालको सहयोगी भनिने व्यक्तिले पंक्तिकारलाई फोन गरेर यो कुरालाई अझ अगाडि नबढाउन अनुरोध गर्दै पिडितहरूको पासपोर्ट दुईदिन भित्र निकाल्दिन राजी भएको कुरा बतायो । तर निकाल्दिने भनेको दिन पनि उसले पैसा माग्न थालेपछि पंक्तिकारले पुनः एकपटक फोन गरेर बुझ्न खोज्दा ‘एनआरएनए’ को युएईको वर्तमान निर्वाचित अध्यक्ष आफ्नो साथी भएकाले कसैले केही गर्न नसक्ने भनेर धम्कीको शैलीमा प्रस्तुत भयो ।

यद्यपि पूरै पैसा पीडितहरूले निकाल्न सक्ने कुरै भएन, उनीहरूलाई केही पैसा घरबाट मगाएर दिए र बाँकी मुख्य दलालको सहयोगी भनिएकाले दिने सहमति भएर पीडितहरूले बल्ल आफ्नो पासपोर्ट पाए । काम लगाइदिन्छु भनेकैले पासपोर्ट अपहरण गरेर फिरौती माग्न थालेपछि उनीहरू पासपोर्ट पाउनासाथ काम खोज्नतर्फ लागे । उनीहरूले काम पाए गर्ने र नपाए घरबाट टिकटको पैसा मगाएर नेपाल फर्कनुको कुनै विकल्प बचेको छैन ।

अझ खोज्दै जाँदा दलालहरूको त्यही समूहले रस अल खेमा भन्ने ठाउँमा अन्य दुई नेपालीलाई सेल्स भिजामा लगेर कार वास कम्पनीमा लगाइदिएको रहेछ र मोटो रकम असुलेर भागेको रहेछ । उनीहरूले पाउने १२ सय दिराम तलबमा हरेक महिना पाँचसय दिराम आफू बेचिएको रकम चुक्ता गर्दैछन् ।
अठारदेखि बीस घन्टा काम गरेर आफू आएको ऋण तिर्ने कुनै उपाय नदेखेपछि उनीहरूलाई जि
न्दगीभर त्यहीँ सड्नुपर्ने डरले सताएको छ । अचम्म त के छ भन्दा पंक्तिकारले त्यहाँ फसेका नेपालीहरूलाई दिनको एकपटक सम्पर्क गरेर उनीहरूको अवस्था बुझ्दै गर्दा दलालको साथी भनिएको एनआरएनए युएईको अध्यक्ष लगायत धेरै प्रतिनिधिहरू नेपालको पाँचतारे होटलमा रक्सी खाएपछि कुटाकुट गर्दै थिए ।

यहाँ सिधै एनआरएनएलाई दोष देखाइएको होइन तर तस्करका त्यस्ता धेरै साथीहरू छन्, जसले आफ्नो श्रम स्टिकरमा टाँसिएको तलब भन्दा धेरै पैसा खर्च गरेर एनआरएनएको पदीय भागबन्डामा बाजी मारेका छन् । नेपाली युवाहरूलाई तस्करी गरेर विदेशमा बेचेको पैसाको भाग एनआएएनएको निर्वाचनको समग्र प्रक्रियामा लगभग आधा प्रतिशत छ भन्यो भने पंक्तिकार कदापी गलत हुने छैन ।

लेखक अर्याल

 

सिधै राजनीतिक पहुँचमा पुगिने र सरकारको नीति निर्माण कार्यलाई प्रभावित पार्न सकिने लोभमा हरेक दुई वर्ष काठमाडौंमै पैसाको खोलो बगाएर चर्तिकला देखाइन्छ निर्वाचनको नाममा । अनि प्रत्येक दिन हुने मानव तस्करीलाई साथीत्वको नाममा विशेष छुट र सुविधा प्रदान गर्ने गरिन्छ । विदेशमा बस्ने केही व्यवसायी पनि छन् जसले शुद्ध मनले देशको सेवा गर्न चाहिरहेका होलान् ।

तर नेपालको पाँचतारे होटेलमा शाही शैलीमा बगेको पैसाले शुद्धताको मापन गर्न सकिँदैन । अझ आफूले जित्न भनेर रातारात विदेशका प्रतिनिधिलाई हवाईजहाजको टिकट काटेर नेपाल बोलाउने प्रवृत्तिमा सेतो धन त लागेकै छैन । आँकडा फरक पर्न सक्ला तर यो पंक्तिकारको ठोकुवा हो ।

पहिलो कुरा त एनआरएनएको सदस्य को हुने विषय नै विवादित छ । युरोप, अमेरिकातिर त्यहाँको सरकारले स्थायी बसोबासको परिचय पत्र उपलब्ध गराउने भएपनि खाडीमा काम गर्ने कुनै पनि नेपालीलाई त्यहाँको सरकारले स्थायी बसोबासको लागि योग्य ठह–याउँदैन । श्रम भिसामा बाहिरिएकाहरूले हरेक वर्ष या दुई वर्षमा श्रम सम्झौता नवीकरण गरेर काम गर्दै बस्ने हो ।

भिसा सकिएको एक महिनाभित्र नेपाल नगए ‘ओभरस्टे’को आरोपमा गैरकानुनी घोषित गरेर प्रशासनले जेल हालिदिन्छ । तर विधानमै विवादित रहेको यो विषयको आधारमा म एनआरएनए हुँ भन्दै आफ्ना दलाल साथीहरूलाई मानव तस्करी गर्ने काममा संरक्षण प्रदान गरिँदै आइएको छ ।

भूकम्पपीडितलाई गोरखामा आवास निर्माण गरिदिने भनेर एकताका ठूलै वाहवाही बटुलेको यो संस्थाले तीन बर्ष लाग्न थालिसक्दा दुई चारवटा बाँसका टहरा बनाएर नेपालीहरूको अन्य अन्तराष्ट्रिय संस्थाहरूको बेइज्जत गरेको छ । तर काठमाडौंमा अनि चितवनमा खोल्ने भनिएका पाँचतारे होटेलहरूको काम भने द्रुत गतिमा भैरहनुले एनआएएनएन भनेको ‘एनि हाउ नाफा कमाऊ’ भन्ने झुण्डको रुपमा रुपान्तरित भएको कुरा बुझ्न गाह्रो छैन ।

देशमा द्वन्द्वको कारणले केही व्यवसायीहरू विस्थापित भएपछि उनीहरूलाई विदेशमा बसेर नेपालको सत्तामा पहुँच राख्ने उद्देश्यले २००३ तिर स्थापना गरिएको यो संस्था पछिल्लो समय अनियमिततामा फसेको छ । उदाहरणहरू धेरै दिनुपर्दैन । केही उदाहरणहरू मानव तस्करीसँग जोडिएका छन र ती संगीन छन् । सरकार यिनीहरूकै अगाडि झुक्छ ।

देशमा लगानी गरेर आएको मुनाफा अमेरिकी डलरमा बाहिर लैजान पाउनुपर्ने यिनीहरूको माग सान्दर्भिक त यसै देखिँदैन तर सरकार झुक्ने क्रममा छ । त्यसले नेपाली मुद्रा डलरमा रुपान्तरण गर्ने मात्र होइन, देश सेवाको भावना भन्दै त्यसको आडमा राष्ट्र चुस्ने ठूलो कुचेष्टामा बल पु–याइरहेको छ ।

सदस्यताको नाउँमा डलरमा उठ्ने गरेको रकमको हिनामिना अर्को पक्ष हो । मोजमस्तीमा खर्च गर्दै हिँड्ने, हिसाबकिताब पारदर्शी नगराउने जस्ता कर्तुत एनआरएनएको अमेरिकाको कोषाध्यक्षबाट भएको कुरा बाहिरिसकेको छ । अमेरिकामात्र होइन, एनआरएनएको संगठन रहेको ७७ वटै देशमा यस्ता प्रकारका घटनाहरू भैरहेका छन् ।

अन्तर्राष्ट्रिय पदमा पुग्न चाहने अधिकांश आकांक्षीले यो संस्थामा सुशासन, पारदर्शिता र विशेषतः वैदेशिक रोजगारीमा जोडिएर जीवन बिमादेखि महिला कामदारको सुरक्षा–हकहितमा ठूलै प्रतिबद्धतासमेत बाहिर ल्याइरहेका छन् ।

अझ वैदेशिक रोजगारी आपतकालीन कोषको नामलाई ‘सो–केस’मा राखेर सार्वजनिक सञ्जालमार्फत चुनावी प्रचार–प्रसार गर्ने होडसमेत चलेको थियो । तर हायात होटेलमा देखिएको कर्तुतले सबै दुई नम्बरी धन्दा हो भनेर प्रमाणित भइसकेको छ ।

धनाड्यहरूले आफ्नो राजनीतिक पहुँचलाई कायम राखिराख्न दुई छाक टार्नको लागि विदेशिएका नेपालीहरूलाई एनआरएनएको नाउँमा चरम दोहन गरिरहेका छन् भन्ने कुरा बुझ्न ढिला भैरहेको छ । नेपालको नागरिकता त्याग्नेहरू विदेशी हुन्छन् । नत्यागिकन विदेशमा श्रम पसिना गर्नेहरू नेपाली नै हुन्छन् ।

यसको बीचमा गैरआवासीय भन्दै नेपालीको अगाडि अवैधानिक ट्याग् लगाएर राष्ट्रभक्तिको नाउँमा लाखौं मध्यमवर्गीय नेपालीहरूलाई लुट्ने कामको कदापी सराहना गर्न सकिँदैन । समय छँदै विदेशिएका सबै नेपालीहरूले आँखा खोल्नु जरुरी भइसकेको छ । असोज ३१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस