साहित्य

जनयुद्धका छापामार दिदी–भाईको त्यो तिहार


जब अतितका तरेलीहरुबाट ब्युँझिन्छन् मेरा स्मृतिका भावहरु । जब तिनै स्मृतिका कहालिलाग्दा क्षण समयका हुरीले पल्टाउँदै जान्छ, तब आफ्नै त्यो विगत अनौठो रुपमा, आफ्नै दिलको कुन्दराहरुमा छरपस्ट हुन्छ । र देखिन्छन् कतै उडिरहेका दृश्यहरु, कतै दौडिरहेका पलहरु ।

हतास हतास यो जिन्दगीको यात्रामा कतै भागिरहेको ती पलहरुलाई मेरो मन मस्तिष्कमा कल्पन बाध्य हुन्छु । जीवनले बनाएको नागबेली बाटोहरु गुल्टिँदै, लट्पटिँदै, छट्पटिँदै आज यो बिरानो मुलुक यूएईको दुबई शहरस्थित बन्द कोठा भित्र केही शब्द लेखिरहेको छु ।

जीवनको डरलाग्दो पलहरुलाई सम्झिदै जाँदा आज दीपवालीको दिन अतितलाई सम्झेर बेस्सरी रोएको छु । खुकुरीको धार माथि टेक्दै यहाँ सम्मको यो हाम्रो लामो यात्रा कति कठिन थियो, त्यो भोग्नेहरुले बाहेक सायद मेरा यी शब्दहरु पढ्दैमा महशुष गर्न सकिँदैन होला ।

हामी पाँच जना दाजुभाईमध्ये एक्लो चेली मेरी दिदी हुनुहुन्छ । म उमेरले सानै थिए, देश वेदनाले छट्पटिरहेको थियो । लाग्थ्यो एउटा महिलाले बच्चा जन्माउन जति कष्ट सहनु पर्छ त्यस्तै पीडा नेपाली माटोले भोगिरहेको छ ।

निरंकुश राज्य व्यवस्थाविरुद्ध छापामारहरुले भिषण लडाइँ चलाइरहेका थिए । राज्यले प्रयोग गर्ने युवाहरू पनि नेपाली नै थिए, यता माओवादीले पनि गाउँका सोझा नेपाली युवाहरूलाई नै प्रयोग गरेका थिए । युद्धमा दुवै पक्षको आ–आफ्नै उदेश्य थियो । राज्य पक्षको उदेश्य निरंकुश राज्य व्यवस्था टिकाउनु थियो भने क्रान्तिकारीहरुको उदेश्य निरंकुश राज्य व्यवस्था ध्वस्त पार्नु थियो । उदेश्य जसको जे भए पनि त्यहाँ हिंसा थियो । जो मरे पनि नेपाल आमाको काख रित्तिरहेको थियो ।

बुवा ४६ साल देखि नै कम्युनिस्ट विचारधारा बोक्ने प्रगतिशील व्यक्तित्व हुनुहुन्थ्यो । मदन भण्डारीको भाषण घन्टौसम्म सुन्नुहुन्थ्यो रे । ४६ सालमा बुवा आन्दोलनमा सहभागी हुँदै गर्दा पुलिसले प्रहार गरेको लाठीले खल्तिको रोटी धुलोपिठो भएका कथाहरु धेरै पटक सुनेको थिए । पछि माओवादीले २०५२ मा जनयुद्ध सुरु गरेपछि बुवा क्रान्तिकारी योद्धा हुनुभयो । काठमाडौंमा कराँते खेल्दै गर्दा दाई पनि पनि गाउँमा आएर छापामार युद्धमा सामेल हुनुभयो । पहिला लडाइँ प्रहरीसँग मात्रै थियो, बिस्तारै सेनाको ब्यारेकहरुमाथि आक्रमण भए । पछि लडाइँ एकदमै चर्को रुपमा अगाडि बढ्यो ।

राज्यले देशव्यापी रुपमा सेनाहरु परिचालन गर्योे, माओवादी भन्दै कयौंको घरहरुलाई जलाइए, बस्तीहरु उजाड बनाइए, भोका–नाङ्गा जनतालाई माओवादी कहाँ छ ? भन्दै संगीनहरू छातीमा बर्साइए, माछा मार्ने माझी ‘केटा’हरुलाई गोली प्रहार गरेर मारियो, पाँधेरामा पानी थाप्न गएका चेलीहरुलाई बलात्कार गरेर मारियो । पछि सेना र माओवादीको दोहोरो भिडन्तमा माओवादीको छापामारहरुको मृत्यु भएको भन्दै माओवादीका सेनाको ड्रेस पहिराएर हेलिकप्टरमा राखेर शवलाई सदरमुकाम लगियो ।

बुवा र दाई युद्धमा हुँदा राज्यले दिएको पीडा घर परिवारले व्यहोर्नु पर्यो । तिहार आउन केही दिन मात्रै बाँकी थियो । बुबा र दाई युद्धमा हुनुहुन्थ्यो । बम बिस्फोट हुँदा सुनिने प्रत्येक आवाजले हामी तरंगित हुन्थ्यौं, कतै बुबा र दाईलाई केही भयो कि भनेर । आमा रुँदै भगवानलाई प्रार्थना गर्नुहुन्थ्यो । आँगनमा सयपत्री र मखमली फूलहरु फुलिसकेका थिए । हामी सेनाको डरले घरमा बस्दैन थियौं ।

घर भन्दा पारी जंगल छेउमा सानो गाई राख्ने गोठ थियो । हामी सबै त्यहीँ बस्थ्यौं । वर्षातको झरीले पानी चुहिँदा भाँडा थाप्दै रात बित्थे । एक दिन दिदीले आमालाई भन्नुभयो, ‘आमा आज त सेना आउँदैन होला परीक्षा नजिक आइसक्यो घर गएर पढ्छु ल ।’ आमाले स्वीकृति दिँदै सबेरै उठेर गोठमा आउन भन्नुभयो । दिदी त्यो रात घरमा बस्न जानु भयो । त्यतिबेला दिदी भर्खरै ८ कक्षामा पढ्नुहुन्थ्यो । तर विहान दिदी आउनुभएन । हामी एकदमै चिन्तित भयौं । पछि गाउँकै एकजना हजुरबुबा आएर आमालाई ‘तपाईंको छोरीलाई आर्मीले गिरफ्तार गरेको छ’ भनेर सुनाउनुभयो । घरमा रुवावासी चल्यो । आमा बेहोस भइसक्नु भएको थियो । गाउँकै एकजना भूतपूर्व आर्मी काका हुनुहुन्थ्यो । उहाँले यो सानी नानी माओवादी हैन छोडदिनुस् भनेर हात जोडेर बिन्ती गर्नु भयो रे । तर पनि आर्मीले छोडेनन् । हामी गोठमा समेत डर लागेर जंगलको बीचमा बसिरहेका थियौं । टाउको माथिबाट हेलिकप्टर उड्यो । बेलाबेला बम विस्फोट भएका अवाज सुनिन्थ्यो ।

भाई–टिकाको लागि भनेर रोपिएका मखमली, सयपत्री फूलहरु बोटमै ओइलिए । दिदी कहाँ कस्तो अवस्थमा छिन्, हामीलाई केही पनि थाहा थिएन । पहिला–पहिला दिपावलीको रातमा देउसी–भैलो खेलेको, कमेरो र रातो माटोले पातेर घर सजाएको, लक्ष्मी पूजा गरेको देख्थे । तर त्यो रात स्याल कराएको आवाज सुनिन्थ्यो । बम पड्किेको आवाजले कानको जाली फुटाउला जस्तै हुन्थ्यो ।

पछि दिदीलाई पाँचखाल ब्यारेकमा बन्दी बनाएर राखिएको छ भन्ने खबर मिल्यो । बुवा गाउँको विद्यालयका हेडमास्टर हजुरबुवासँग पाँचखाल जानुभयो । त्यहाँ गएर आफ्नो छोरीबारे सोध्ने अवस्था समेत थिएन उहाका लागि । बुवा आर्मी ब्यारेक नजिकैको चौतारीमा बसेर बेस्सरी रुनु भयो रे । हजुरबुवाले ब्यारेकमा गएर सोध्नुभएछ । ‘त्यस्ता माओवादीलाई दिनमा एकजनाका दरले जंगल लगेर गाड्छ हामीलाई के थाहा ?’ गेटमा तैनाथ आर्मी जवानले जवाफ फर्काएछ । पछि गाउँकै भुपु आर्मी अंकल गएर दिदीलाई जेलमा भेट्नु भएको रहेछ । दिदी सकुशल नै रहेको खबर पाएपछि मनमा हल्का महसुस भयो ।

दिनहरु यसरी नै बित्दै थिए, दिदी गिरफ्तार भएको पनि दुई महिना भइसकेको थियो । आँध्यारो रात थियो झ्यालबाट चन्द्रमाको चमक हेरिरहेको थिए, सधैंको जस्तै कुकुर भुकिरहेको थियो, बेलाबेला लाटोकोसेरोले हु... हु... हु... गरेको अवाज आइरहन्थ्यो । बाहिरबाट कसैले ढोका ढक्ढक्याएको आवाज अयो । कसैले ‘आमा’ भनेको सुने ।

आमाले हतार हतार गएर ढोका खोल्नुभयो । ढोका ढकढक्याउने व्यक्ति अरु कोही नभएर दिदी हुनुहुन्थ्यो । खुसी भनौ वा वियोगले हामी त्यो दिन पनि बेस्सरी रायौं । कहिल्यै घाममा निस्किन नपाएर होला दिदीको अनुहार पहेँलो भएको थियो । शरीर एकदमै दुब्लाएको । त्यो दिन दिदीले जेलमा बिताएका कहाली लाग्दा रातको वर्णन सुन्दै बित्यो ।

आर्मीको हिरासतबाट ज्यान जोगाएर फर्किएकी दिदीले पार्टीमा भूमिगत हुने अडान लिनुभयो । आमाले लाख मनाही गर्दा पनि दिदीले आफ्नो निर्णय बदल्नुभएन । अन्ततः उहाँ भूमिगत हुनुभयो ।

धेरै पछि दाई र दिदीको भेट भएको रहेछ, महाभारतको लेकमा । दुवैजना बेस्सरी रुनुभयो रे ।

पार्टीमै भूमिगत भए पनि दाई, दिदी र बुवाको कार्यक्षेत्र फरक थियो । पछि बुबा दम रोगले ग्रस्त हुँदै गएपछि घर फर्किनुभयो । दिदी युद्धमा होमिएको ५,६ महिना पछि दाई शहीद भएको खबर सुनियो । त्यो बेलाको हाम्रो स्थिति कस्तो थियो म शब्दमा वर्णन गर्न सक्दिँन । मैले जीवनमै पहिलोपल्ट बुवा रुनुभएको देखेको थिएँ त्यो दिन । आमा त आसुँ कै सागरमा डुबिसक्नुभएको थियो ।

म पनि पार्टीको विभिन्न काममा बुबाको सट्टा यताउता हिँड्ने भइसकेको थियो । कहिले छापामारको सिआईडी भएर त कहिले सदरमुकामबाट हतियार पास गर्दा, गाउँ–गाउँमा मसाल जुलुस निकाल्नेदेखि बम विस्फोट गराउने कार्यक्रममा संलग्न हुन थालिसकेको थिएँ । राति–राति विद्यालयहरुमा पार्टीको पोस्टरहरु टाँस्दै हिँड्थे ।

फेरि अर्को वर्षको तिहार नजिकै आइसकेको थियो । दिदीको हातबाट टिका नथापेको पनि वर्षौं भइसकेको थियो । अरुबेला भन्दा पनि तिहार नजिकिँदै गर्दा दिदीको धेरै याद आउँदो रहेछ ।

एकदिन नाराणस्थानमा आयोजित पार्टीको आमसभामा सहभागी भए । दिदी साँस्कृतिक समूहको संयोजक रहिछन् । दिदीले जनवादी गीत गाइन्, साह्रै सुरिलो श्वरमा । कार्यक्रम नसकिँदै ठाउँ खाली गर्नुपर्ने उर्जी जारी भयो । सेनाले आक्रमण गर्नसक्ने भय थियो । दिदीलाई देख्न मात्रै पाए । बोल्न सकेन ।

केही दिन पछि एकजना छापामारले मेरो हातमा एक पत्र थमाइदिए । पत्रमा ‘पाउने’ भनेर मेरो नाम उल्लेख गरिएको थियो । खोलेर हेर्दा दिदीले पठाएको पत्र हो भन्ने थाहा पाए । जुन पत्र यस्तो थियो,

प्यारो भाई
युद्ध मैदानबाट तिम्रो अभागी दिदीको तर्फबाट रातो सलाम !
यहाँ मलाई सञ्चै छ । त्यहाँ तिमीलगायत आमाबुवा सबैलाई सञ्चै होला भनी आशा राखेकी छु । भाई लेख्ने कुराहरु त धेरै थियो । तर समयको अभावको कारणले हतारहतार यो छोटो चिठ्ठि तिम्रो नाममा लेखेर छाड्दैछु । तिमीलाई कार्यक्रममा देखेको थिए, कार्यक्रम सकेर भेट्छु भन्दाभन्दै अचानक लोकेसन मुभ हुने कासन (निर्देशन) कमाण्डरबाट आएपछि तिमीलाई भेट्न पाइन । यसका लागि सरि ल !

दाई शहीद भएको कुराले आमाबुवा धेरै दुखी हुनुहुन्छ होला । तिमी त धेरै बुझ्ने भइसकेका छौ । आमा बुवालाई सम्झाउनु । थाहा छैन दुश्मनको गोली कतिखेर लागेर ढल्ने हो । युद्ध झनझन् चर्किरहेको छ । धेरैपटक मृत्युुको मुखबाट जोगिँदै आएकी छु । एउटै थालमा खाएर हिँडेका धेरै साथीहरू सहिद भइसकेको छन् । कहिलेकाँही लाग्छ सायद आमाले गर्ने गरेको दिनरातको प्रार्थनाले आजसम्म बाँचेकी छु ।

भाई तिमी संगै बसेर तिहार मनाउने रहर नभएको कहाँ हो र ? हाम्रा खुसीहरु लुटिएको छ, सपनाहरु बिथोलिएका छन् । दाईको रगतले यो धर्ति लतपतिएको छ । एक दिन विजयको झन्डा फराउने छु, युद्ध मैदानमा ढलिन भने । अब त मलाई मृत्युदेखि अलिकति नि डर छैन । म ढले भने तिमी छौ नि हैन ? मैले बजाउने गितार, मैले बोक्ने राइफल भोली म नरहेको खण्डामा तिमी बोक्ने छौ । जसरी दाईको ठाउँमा आज म उभिएकी छु !

आमा, बुवा, भाई सबैलाई तिहारको शुभकामना सुनाइदिनु ल ! के थाहा यो नै अन्तिम पत्र पो हुने हो कि ? बाँचेछु भने अर्को वर्ष सँगै दिपावली मनाउने बाचा सहित अहिलेलाई बिदा माग्छु ल । उही तिमीलाई धेरै माया गर्ने दिदी ।
लाल सलाम !!

दिदीले मरो लागि यो पत्र लेखेको धेरै वर्ष भइसक्यो । समय बद्लियो, हिँड्ने गोरेटोहरु बद्लिए, देशको परिवेश बद्लियो । मनको चहना र गन्तव्यहरु पनि बद्लिए । तर हामी बद्लिएका छैनौं । हिजोको क्रान्तिकारी विचार, सिद्धान्त आज पनि जस्ताको त्यस्तै छ । क्रान्ति पुरा नहुँदै १० वर्षमै जनयुद्ध टुंगिए पछि दिदी हाल काठमाडौंमा सानोतिनो जागिर गर्दै आउनु भएकोछ ।

सबै खुसी नै हुनुहुन्छ । म खाडीमा पसिना बेच्दै छु । युद्धमा होमिए, राष्ट्रलाई दिनसक्ने सबै दिए । आज एक छाकको लागि खाडीमा पाखुरा बजारिरहेको छु ।

पार्टीको नामबाट एक टुक्रा फलामको नि आस राखेन । कहिल्यै राख्दिन पनि । हिजो प्रत्येक भाईटिकामा म मेरो दिदीको बाटो हेर्थे, आज म परदेशमा हुँदा मेरी दिदी मेरो बाटो हेर्नुहुन्छ । आसा छ देशमा राजनीतिक स्थिरता हुनेछ । सबैजना घर फर्किने वातावरण बन्नेछ । म जस्तै लाखौं दाजु भाईहरुको निधार खाली नहोस् । यस वर्षको तिहारको यही छ सबैलाई शुभकामना ।

(लेखक तामाङ माओवादी केन्द्र सम्बद्ध पत्रकार संगठन प्रेस सेन्टर नेपाल युएई शाखाका अध्यक्ष समेत हुन् ।) कात्तिक २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस