संगीत

‘पैयुँ फुल्दा त्यो लेक लेक..’ गीत गाउँदा अहिले पनि आँसु झर्छः निलीमा

तिहारको बेला पैयुँ फुलेर गाउँको पाखो अझै आकर्षक देखिन्थ्यो । घरैपिच्छे फूलेका मखमली, हजारी र सयपत्री फूलले घरको आँगनीमा बसेर तिहारलाई अझै उमंगको चाड बनाइदिएका थिए । यतै कतै भैलोका गीतहरू गाइएका सुनिन्थे । त्यो गाउँ थियो – बाग्लुङको भकुण्डे ।

गीतमार्फत समाज परिवर्तनमा कुनै न कुनै भूमिका निभाउन सकिन्छ भन्ने रक्तिम परिवार त्यही गाउँ पुगेको थियो त्यतिबेला । तिहारको अवसरमा गाउँ डुल्नु र प्रगतिशील गीत गाउनु रक्तिम परिवारको उदेश्य नै भइसकेको थियो । त्यही समूहले भैलो गाउँदै हिँड्दा जन्मिएको थियो – पैयुँ फुल्दा त्यो लेक लेक ।

छपन्न, सत्ताउन्न सालतिरको समय । त्यति खुलेर सार्वजनिक रुपमा बोल्न नपाइने । परिवर्तन र गरीबका र निमुखाका गीत गाउनेलाई सामन्त वर्गले दुःख दिने गथ्र्यो । त्यो बेलामा रक्तिम परिवार गाउँ गाउँ पुगेको हुन्थ्यो क्रान्तिका गीत गाउँदै । त्यस्ता गीतहरु गाइने र सुनिने परम्पराको विकास हुने क्रममा थियो ।

त्यसरी गाउँ डुल्दै गाउँकै गीत खोज्नु रक्तिम परिवारका लागि गतिलो माध्यम पनि थियो तिहारको भैलो । संगठनकी नीलिमा पुन त्यतिबेला भैलो खेल्दै गर्दा नै पैयुँ फुल्दा गीतको रचना भएको बताउँछिन् । ‘पाखाभरी पैयुँ फुलेका थिए, मखमली फुल पनि थिए, त्यही वातावरणलाई हेरेर हामीले गीतको रचना ग–यौं,’ नीलिमा त्यतिबेलाको समय स्मरण गर्दै लोकान्तरलाई सुनाइन्, ‘यो गीत यसरी रुचाइएला भन्ने लागेको थिएन, गीत धेरैले सुन्नुहुँदो रहेछ भन्ने पनि धेरै पछि थाहा पायौं ।’
गीतका शब्द लेखेको थियो पूरै भैलो टिमले ।

परदेशीको पीडालाई शब्द चयनमा राखिएको गीतले त्यतिबेलाको जनयुद्धलाई पनि कतै न कतै छोएको थियो । जनयुद्धताका कति दाजुभाइले आफ्ना दिदीबहिनीको हातबाट टीका लगाउन पाएका हुँदैनथे । त्यो गीतले पनि त्यही भाव झल्काउँथ्यो । ‘कहिलेकाहीं माओवादीका साथीहरू पक्राउ पर्दा हाम्रा गीतहरू भेटिने रहेछन्, धेरैले त हामीलाई समेत जनयुद्धसँग जोडेर हेर्नुभयो,’ नीलिमा मुस्कुराउँदै सुनाउँछिन्, ‘तर, हामी त रक्तिम परिवारका थियौं, यो छुट्टै कलाकारको संगठन हो नि ।’ कतिपटक त आफू यिनै प्रगतिशील गीत गाएर सोधपुछमा परेको पनि उनी सुनाउँछिन् ।

सामन्तीलाई गाली गरिएका गीत गाउन पाउने अवस्था बनिसकेको थिएन त्यतिबेला । तर, यस्ता गीतले रक्तिम परिवारलाई मात्र होइन, नीलिमालाई पनि भित्रैसम्म छुन्थ्यो । कुनै घरमा गीत गाउँदा गला अवरुद्ध भए पनि अर्को घरमा गएर फेरि उही गीत गाउनुपर्ने अवस्था थियो नीलिमालाई । ‘दाइ परदेशमा हुनुहुन्थ्यो, यो गीत गाउँदा वर्षैपिच्छे मेरो आँसु आउँछ ।’ उनी भावुक हुँदै सुनाउँछिन्, ‘तर, गीतकै माध्यमबाट सन्देश दिन पाउँदा भने खुशी लाग्थ्यो ।’

गुल्मी, खड्गकोटकी नीलिमा स्कूले बेलादेखि नै प्रगतिशील गीत गाउँदै हिँड्थिन् । परिवार नै समाज परिवर्तनको प्रभावमा हुर्किएको थियो उनको । त्यसैको प्रभाव हुनुपर्छ, उनलाई दाइले सानैदेखि गीत गाउन लैजान्थे । ‘हामी त विद्यालय पोशाकमै पनि कहिलेकाहीं कार्यक्रममा पुग्थ्यौं,’ उनी आफ्नो स्मरण सुनाउँछिन्, ‘बाग्लुङ, पर्वत, गुल्मी लगायतका जिल्लाका धेरै गाउँमा गीत गाउँदै हिँडेका छौं हामी ।’

उनलाई लाग्छ – त्यसरी गीत गाउँदै हिँड्नुले पनि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

त्यही प्रभाव अझैसम्म पनि जीवित छ । वर्षौं वर्षदेखि अझै पनि प्रगतिशील गीत गाउँदै छिन् नीलिमा । तर एउटा फरक के छ भने पहिले उनीहरू गाउँ गाउँमा गीत गाउँदै हिँड्थे । अहिले भने काठमाडौं, बुटवल लगायतका शहरमा पनि गीत गाउँदै डुल्छिन् । ‘हामीलाई संगठनले नै यहाँ जाने भनी तोक्छ, अहिले मलाई काठमाडौंको जिम्मा परेको छ ।’, उनी सुनाउँछिन्, ‘त्यो गीत अहिले पनि समाजअनुसार सुहाउँदो लाग्छ, हामीले सन्ताउन्न सालमा जीवन जी (शर्मा) को संगीतमा रेकर्ड गराएका थियौं ।’

गीत गाएर देश तथा विदेशका विभिन्न स्थानमा पुगेकी नीलिमा भन्छिन्, यस्तै गीत गाएर विदेशमा पनि पुगेको नीलिमा सुनाउँछिन् । ‘त्यतिबेला प्रगतीवादी गीत सुन्ने जनता कमै हुनुहुन्थ्यो, अहिले धेरै हुनुहुन्छ,’ नीलिमा भन्छिन्, ‘यो पनि परिवर्तन हो ।’

भैलोका लागि तयार गरिएको ‘पैयुँ फुल्दा’ लाई नीलिमाले कतिपटक गाइसकिन्, उनलाई याद छैन तर हरेक वर्ष तिहारमा हुने कार्यक्रममा यो गीत नगाइ धरै छैन उनलाई । ‘अहिले पनि भैलो खेल्दा मैले यो गीत गाउनैपर्छ ।’ उनी थप्छिन्, ‘हुन त मेरा अरु गीत पनि छन् तर यो गीतले मलाई हरेक तिहारमा जीवन्त बनाउँछ ।’ कात्तिक ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस