विश्लेषण : आलेख

सी चिनफिङको दोस्रो कार्यकालसँगै चीन गर्दैछ नयाँ युगमा प्रवेश !

काठमाडौं, ७ कात्तिक — आधुनिक चीनको स्थापना भएयता संसारमा धेरै परिवर्तन आइसकेको छ र चीन पनि संसारसँगै परिवर्तित भइरहेको छ । माओत्से तुङले सन् १९४९ मा गणतन्त्र स्थापना गर्नुअघि गृहयुद्ध लड्नुपरेको थियो अनि त्यतिखेर चीन गरीब र अस्थिर थियो ।


स्थिरता ल्याउनका लागि माओले निरंकुश शासन चलाए । राज्यका सबै संरचनामा उनको सरकारले हस्तक्षेप ग–यो । निजी सम्पत्तिलाई गैरकानूनी बनाइयो र कृषिप्रधान समाजमा औद्योगिकीकरणलाई माथिबाट तलसम्म सबै तहमा अनिवार्य बनाइयो ।

जमिन्दारलाई धनी बनाउने तर देशका अन्य जनतालाई गरीबै राख्ने सामन्ती आर्थिक प्रणालीलाई ध्वस्त गर्ने लक्ष्यका साथ यसो गरिएको थियो । माओले अपनाएका तरिकाहरूले सरकारी नीतिको अनुपालन सुनिश्चित गरे तर तिनले देशको अल्पविकसित अर्थतन्त्रलाई खासै सुधार्न सकेनन् । यसलाई कम्युनिस्ट शासनको पहिलो युग भनी चिनिन्छ ।

सन् १९७६ मा माओको मृत्यु भएपछि उनका उत्तराधिकारी देङ स्याओपिङले आर्थिक विकासलाई आफ्नो सर्वोच्च प्राथमिकता बनाए । उनले माओका केही नीतिलाई उदारीकरण गर्दै केही क्षेत्रमा वैदेशिक व्यापार र केही अन्यमा निजी स्वामित्वको अनुमति दिए । यसरी उनले चीनको जादूमयी आर्थिक विकासको ढोका खोले ।

देश समृद्ध हुँदै गयो तर समतामूलक रूपमा भएन । तटीय इलाकाहरू धनी भए भने गरीब भित्री इलाकाहरू झन् भासिए । उदारीकरणले सरकारको नियन्त्रण घटायो तर कम नियन्त्रणको फाइदा उठाउँदै सम्भ्रान्तहरूले आफ्नो स्वार्थ सिद्ध गर्न थाले जुन कहिलेकाहीँ पार्टीको नीतिविपरीत हुन गयो । केन्द्रीय नेताहरू तुलनात्मक रूपमा कम महत्त्वका हुन थाले । यसलाई हामी कम्युनिस्ट शासनको दोस्रो युग मान्छौं ।


आधुनिक चीनको तेस्रो युग चाहिँ शायद कात्तिक १ गतेबाट शुरु भयो । कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनको पहिलो दिनबाट तेस्रो युग शुरु भएको हो ।

राष्ट्रपति सी चिनफिङले उद्घाटन भाषणमा आफ्नो देशको प्रभाव बाहिर बढाउने र घरमा गरीबी दर घटाउने उल्लेख गरे । त्यसो गर्नका लागि सीले देङ र माओका नीतिहरूको सम्मिश्रण गर्नुपर्ने विश्वास राखेका छन् । अर्को शब्दमा भन्नुपर्दा उनले सरकारी नियन्त्रणसहितको उदारीकरण नीति अपनाउनुपर्छ ।

त्यसैले विगत पाँच वर्षमा उनले बिस्तारै अरू नेताभन्दा बढी शक्ति सञ्चय गर्दै लगेका छन् अनि आफ्ना राजनीतिक शत्रुहरूलाई सफाया गर्नका लागि भ्रष्टाचारविरोधी अभियानको बहाना बनाएका छन् । उनले पार्टीका धेरै नेतालाई अनुशासनात्मक कारबाही गरेका छन् र उनीहरूको ठाउँमा आफूप्रति बफादार अधिकारीहरू नियुक्त गरेका छन् ।

उनले विविध किसिमका सैन्य सुधार पनि कार्यान्वयन गरेका छन् । अनि उनले पहिलेभन्दा बढी आर्थिक व्यवस्थापनलाई केन्द्रीकृत गरेका छन् । चीनको वृद्धि र स्थिरताका सबभन्दा ठूला बाधाहरू हटाउन यो आवश्यक रहेको उनको धारणा छ । ती बाधाहरू भनेका अनियन्त्रित सामुद्रिक क्षेत्र तथा असन्तुलित अर्थतन्त्र हुन् ।

अधिकार संरक्षण
चिनियाँ अर्थतन्त्र निर्यातमा बढी निर्भर छ तर देशको भूगोल जमीनमा आधारित व्यापारका लागि अनुकूल छैन । त्यसैले चीन आफ्नो बजारमा सामान भित्र्याउनका लागि संसारका समुद्री मार्गहरूमा बढी नै निर्भर छ ।

चीनको एक भूराजनीतिक आवश्यकता भनेको उसले पूर्वी चीन सागर र दक्षिण चीन सागरको बाटो भएर व्यापार गर्नु नै हो । चीनको लागि यो प्राणवायु जस्तै हो । (सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडीजका अनुसार, सन् २०१६ मा चीनको कुल व्यापारको लगभग ४० प्रतिशत भाग दक्षिण चीन सागरबाटै भएको थियो ।)

सरल शब्दमा भन्नुपर्दा यी जलमार्गहरू चिनियाँ अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण भएकाले बेइजिङ तिनलाई गुमाउन सक्ने स्थितिमा छैन । यो निर्भरताले देशलाई जोखिममा पारेको छ अनि संसारको सबभन्दा बलियो जलसेना भएको अमेरिकाले चीनसँग युद्ध भएमा यसलाई दुरुपयोग गर्न सक्छ भन्ने विषयमा सरकार सचेत छ ।

यो कमजोरीबाट पार पाउनका लागि चीनको जल र वायुसेनालाई सुधार गर्नुपर्ने हुन्छ । त्यसैले कात्तिक १ गतेको भाषणमा सीले चीन आफ्नो सेनालाई पूर्ण आधुनिक बनाउन तथा सन् २०३५ सम्ममा राष्ट्रको प्रतिरक्षात्मक क्षमता अभिवृद्धि गर्न लागिपर्ने बताए । सामुद्रिक अधिकारको संरक्षण र प्रतिआतंकवाद, विपद् व्यवस्थापन, शान्ति र मानवीय राहतमा संलग्न हुने भनी सैन्य अभिवृद्धिको कारण दिइएको छ । तर वास्तविक कारण भनेको सामुद्रिक अधिकारको संरक्षण नै हो ।


केही सुधारहरू शुरु गरिसकिएका छन् । उदाहरणका लागि, सन् २०१४ मा सीले सैन्य कमान्ड क्षेत्रको संख्या सातबाट घटाएर पाँच पु–याए अनि सबै सैन्यबललाई संयुक्त समूह बनाए ताकि उनीहरूको कारबाहीमा राम्रो संयोजन हुन सकोस् । यसै वर्षको शुरुवातमा जनमुक्ति सेनाले आफ्ना तीन लाख सैनिक कटौती गर्ने घोषणा ग–यो किनकि आधुनिकीकरणका लागि मानवस्रोतभन्दा पनि प्राविधिक विकास आवश्यक हुन्छ । केन्द्र सरकारले जनमुक्ति सेनामाथिको नियन्त्रणलाई बढाएको छ र वैकल्पिक शक्तिकेन्द्रलाई उदय हुनबाट रोकेको छ । यसका साथै प्राविधिक उन्नतिमा बढी जोड दिएको रक्षा बजेटले सशस्त्र बललाई बढी प्रभावकारी र आधुनिक लडाकू बल बनाउनेछ ।

भित्री प्रान्तलाई पैसा
चीनमा इतिहास दोहोरिने गर्छ । बेइजिङले अर्थतन्त्र खुला गरेयता सम्पत्ति त बेस्सरी जोड्यो तर त्यो भित्री प्रान्तका ग्रामीण क्षेत्रमा पुग्न सकेन । धनी तटीय इलाका र गरीब भित्री प्रान्तबीचको आर्थिक असन्तुलनले ल्याएको विभेदका कारण देशलाई एकताबद्ध गर्नका लागि सरकारले अन्त भन्दा पनि देशभित्रै ध्यान दिनुप–यो ।

चीनका लागि त्यो क्षण फेरि आइपुगेको छ । देङ युगले चीनलाई धनी बनाउन मद्दत ग–यो तर तटीय प्रान्तहरूले केन्द्रीय प्रान्तभन्दा बढी फाइदा लिए । चिनियाँ नेताहरूका लागि समृद्धिका समयमा यो स्वीकार्य रहन्छ तर आर्थिक वृद्धि सुस्त हुँदा यसले कम्युनिस्ट पार्टीका लागि समस्या खडा गर्छ । पार्टीको वैधता मानिसलाई धनी राख्दा वा कम्तीमा भोको नराख्दा सुरक्षित रहन्छ । त्यसो नगरे पार्टीविरुद्ध विद्रोह हुने खतरा रहन्छ ।

आखिर, पार्टी पनि त सम्भ्रान्तको नभई जनताको क्रान्तिबाटै सत्तामा आएको हो । सीलाई यो जोखिमको बारेमा थाहा छ र के कुरा दाउमा छ भन्ने पनि थाहा छ । अहिलेसम्म उनले जोखिम घटाउनका लागि प्रान्तहरूबाट शक्ति खिचेर त्यसलाई केन्द्रीकरण गरेका छन् अनि राजनीतिक तथा सामाजिक असहमतिलाई दमन गरेका छन् ।

अर्थतन्त्रलाई सुधार गर्नका लागि शक्तिलाई केन्द्रीकृत गर्नु सीको योजनाको पहिलो कदम मात्र हो । अर्को कदम भनेको आर्थिक असमानता कम गर्नका लागि वास्तविक उपाय अपनाउनु नै हो । (सीको सरकारले सन् २०२० सम्ममा ग्रामीण गरीबी निर्मूल पार्ने लक्ष्य लिएको छ ।) त्यसका लागि बेइजिङले विपन्न क्षेत्रमा विकास निर्माण गर्न निर्देशन दिएको छ ।


विदेशी पूँजीप्रवाहलाई प्रेरित गर्नका लागि चीनले थप एकीकृत राष्ट्रिय लगानी वातावरण बनाउनेछ । विदेशी लगानीकर्ताले कुन ठाउँमा लगानी गर्न पाउँछन् अनि कुन ठाउँमा पाउँदैनन् भनी नकारात्मक सूची बनाउनुभन्दा पनि सी एक राष्ट्रिय सूची बनाउन चाहन्छन् जसले केन्द्र सरकारलाई प्रान्तीय र नगरीय व्यवस्थापकमाथि थप नियन्त्रण दिलाउँछ र केन्द्रलाई तटीय प्रान्तभन्दा बाहिर लगानी गराउनका लागि वातावरण बनाउँछ ।

यसको लक्ष्य चाहिँ भित्री प्रान्तहरूमा पैसा पु–याउनु नै हो । विगत दुई वर्षयता बेइजिङले राष्ट्रिय स्रोतबाट पूँजी बहिर्गमनमा लगाम कसेको छ । देशका भित्री प्रान्तमा लगानीलाई उत्प्रेरित गर्न अनि पूँजी बाहिरिनबाट रोक्नका लागि यसो गरिएको हो । अहिलेसम्म तटीय इलाकाका संस्था र धनी लगानीकर्ताहरूले आफ्नो पैसा खेलकुदका टोली र होटेलजस्ता विदेशी सम्पत्तिमा खन्याउने गरेका छन् जसका कारण पूँजीको अभाव चुलिँदै गयो र पिपुल्स बैंक अफ चाइनालाई युआन स्थिर बनाउनका लागि विदेशी सम्पत्ति बेच्न बाध्य बनायो ।

विदेशमा लगानीका लागि अब कम्पनीहरूले अनुमति लिनुपर्ने हुन्छ । कि त हातहतियार उद्योगमा प्रविधि हासिल गर्न कि त एक पेटी, एक सडक परियोजनामा लगानी गर्न उनीहरूको सुनिश्चितताका लागि यस्तो पूर्वअनुमति जरूरी बनाइएको हो ।


सामान्यतया राजनीतिक भाषणहरूको महत्त्वलाई बढी जोड दिनु गल्ती हुन जान्छ । तर सीको भाषण सामान्य भाषण होइन । विगत पाँच वर्षयता उनले परिवर्तनलाई आत्मसात नगर्ने देशमा बृहत् परिवर्तनहरू ल्याएका छन् र अर्कालाई दाउमा राखेर आफ्नो शक्ति बढाएका छन् । जनता उनलाई मन पराउँछन् । अधिकारीहरू उनीसँग डराउँछन् । सेना पनि उनको नेतृत्वमा पुनर्गठन भइरहेको छ । अनि उनको शासनमा आर्थिक वृद्धि ह्वात्तै नभई बिस्तारै मात्र घटेको छ । अर्को शब्दमा भन्नुपर्दा उनको शक्ति र नीतिलाई औपचारिकता दिइएको अवसरमा उनले दिएको भाषण उल्लेख्य छ ।

भावानुवाद : विन्देश दहाल

कात्तिक ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस