खोज/विशेष : टिप्पणी

प्रदेश नम्बर १ को हिसाबकिताब, कांग्रेसलार्इ गठबन्धनको डर !

काठमाडौं, ८ असोज– मंसिर १० मा पहिलो चरण अन्तर्गत ३२ जिल्लाका ३७ प्रतिनिधि र प्रदेशसभामा निर्वाचन हुँदैछ ।

त्यसका लागि उम्मेदवारी दर्ता भइसकेको छ भने उम्मेदवारहरु आफ्नो जीतको रणनीतिमा केन्द्रीत भइसकेका छन् ।

चुनावमा नेकपा एमाले र माओवादी केन्द्र गठवन्धन गरेर अगाडि बढेका छन् । उनीहरुले साझा उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेस अधिकांश जिल्लामा एक्लै लडेको छ । सिन्धुपाल्चोकमा राप्रपासँग र गोरखामा कांग्रेसले नयाँ शक्तिसँग चुनावी तालमेल गरेको छ ।

चुनावी तालमेलसँगै दलहरुका शक्ति शन्तुलन समेत फरक भएको छ ।

यसअघि भएको स्थानीय तहमा दलहरुले प्राप्त गरेको मतका आधारमा वाम गठवन्धन र नेपाली कांग्रेसको अवस्था र मत कस्तो छ भन्ने हिसावकिताव गर्ने प्रयास हामीले गरेका छौं ।

प्रदेश नम्बर एक अन्तर्गत पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचचर र खोटाङ मा निर्वाचन हुँदै छ ।

‘हेभी वेट’ उम्मेदवारहरु योगेश भट्टराई, बलबहादुर केसी, रामहरि खतिवडा, यज्ञराज सुनुवार लगातको प्रतिस्पर्धाका कारण १ नम्बर प्रदेश सवैको चासोमा रहेको छ ।

बलबहादुरको बल

नेपाली कांग्रेसका पुराना नेता तथा केन्द्रीय सदस्य समेत रहेका बलबहादुर केसीलाई वाम गठवन्धनको तफबाट माओवादी केन्द्रका हेमकुमार राईले चुनौती पेश गरेका छन् । ६९ हजार ४ सय २२ मतदाता रहेको सोलुखुम्बुमा नेपाली कांग्रेसका बलबहादुरलाई जित्नका लागि निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।

८ वटा स्थानीय तह रहेको सोलुखुम्बुमा ४ वटा स्थानीय तहमा जित निकाल्दै नेकपा एमाले पहिलो शक्ति बनेको थियो भने माओवादीले तीन स्थानीय तहमा जीत निकालेको थियो । नेपाली कांग्रेसले भने एक मात्र स्थानीय तहमा जीत निकालेको थियो ।

२०४८ सालदेखि लगातार सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसी २०६४ बाहेकका सवै चुनावमा विजयी भएका छन् । यो सहित केसी सोलुखुम्बुमा उम्मेदवार बनेको छैंटौ पटक हो । तर यसपटक उनको जीत त्यति सहज देखिदैन ।

नेकपा एमाले र माओवादीले साझा उम्मेदवार खडा गरेका छन् । स्थानीय तहमा यी दुई दलले २१ हजार ६ सय ९९ मत पाएका थिए । नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा नेपाली कांग्रेसले वाम गठवन्धन भन्दा करिब ९ हजार मत कम पाएको छ । यद्दपी स्थानीय तहमा आएको मत तलमाथि पर्न सक्छ ।

युवा नेताबीचको लडाइ

पहिलो चरणको चिर्वाचमा ओखलढुंगाबाट एक युवा नेता प्रतिनिधिसभा सदस्य हुनबाट बञ्चित हुने भएका छन् ।
नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा र वाम गठवन्धनका तर्फबाट एमालेका युवा नेता यज्ञराज सुनुवारबीचको प्रतिस्पर्धामा कसले बाजी मार्ला सवैको चासो रहेको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा दुई क्षेत्र रहेको ओललढुंगामा खतिवडा र सुनुवार दुवै विजयी भएका थिए । तर जिल्ला एक क्षेत्र भएसँगै दुवै आमनेसामने भएका हुन् ।

गत संविधानसभा चुनावमा सुनुवारले १ र खतिवडाले क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका थिए । निर्वाचन क्षेत्र निर्धारण हुँदा क्षेत्र गाभिएका थिए । दोस्रो संविधानसभा चुनावमा खतिवडाले १३ हजार ९ सय ४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका नानीबाबु बुढाथोकी ८ हजार ५ सय १० मत पाएको थियो ।

माओवादीका पेशल खतिवडाले ३ हजार ६ सय ३६ मत पाएको थियो ।

त्यस्तै यज्ञराज सुनुवारले १२ हजार ९ सय ४३ मत पाएका थिए भने कांग्रेसका बालकृष्ण दाहालले ९ हजार ४३ मत पाएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ हजार ९ सय ९३ मत पाएका थिए ।

स्थानीय तहलाई आधार मान्दा पनि नेपाली कांग्रेस र एमालेबीच ठूलो प्रतिस्पर्धा देखिएको छ ।

आठ स्थानीय तह रहेको ओखलढुंगामा वाम गठवन्धनले ४ वटा गाउँपालिकामा जित निकालेको छ । नेकपा एमालेले १ नगरपालिका र दुई गाउँपालिका जित्दा माओवादी केन्द्रले एक गाउँ पालिकामा जितेको छ । जसलाई आधार मान्द वाम गठवन्धन र नेपाली कांग्रेसले चारचार स्थानीय तहमा जीत निकालेका छन् ।

मतलाई हेर्ने हो भने वाम गठवन्धनले ३३ हजार ५ सय मत पाएको छ भने कांग्रेसले २६ हजार मत पाएको छ ।

काठमाडौंमा असफल भएपछि ताप्लेजुङ

दुईवटा संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा पराजित भएका एमाले सचिव योगेश भट्टराई यसपटक गृह जिल्ला ताप्लेजुङबाट उम्मेदवार बनेका छन् ।

वाम गठवन्धनबाट उम्मेदवार बनेका योगेशलाई नेपाली कांग्रेसका केशव दाहालले टक्कर दिएका छन् ।
८ वटा स्थानीय तह रहेको ताप्लेजुङमा नेकपा एमालेले पाँचवटा स्थानीय तह जितेको थियो भने नेपाली कांग्रेसले तीनवटा स्थानीय तहमा जीत निकालेको थियो ।

स्थानीय तहमा वाम गठवन्धनले २४ हजार ९ सय १७ मत पाएका थिए भने कांग्रेसले १९ हजार ५ सय मत पाएको थियो । स्थानीय तहको मत परिणामको आधारमा वाम गठवन्धन ताप्लेजुङमा बलियो देखिन्छ ।

पूर्व मन्त्रीलाई चुनौती

एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा वाम गठवन्धनले राजेन्द्र गौतमलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले पूर्व मन्त्री दीपक खड्कालाई उम्मेदवार बनाएको छ ।

१० स्थानीय तह रहेको संखुवासभामा नेकपा एमाले र नेपाली कांग्रेसले समान ५/५ स्थानीय तहमा जीत निकालेका थिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालबीच वाम तालमेल भएसँगै दुई दलले पाएको मतका कारण नेपाली कांग्रेस ६ हजार मत अन्तरले पछाडि देखिएको छ ।

वाम गठवन्धनले ३३ हजार ६ सय मत पाउँदा कांग्रेसले २७ हजार ४ सय मत पाएको छ ।

नेकपा एमाले ५ नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानीय तह जितको खोटाङमा वाम गठवन्धनका तर्फबाट विशाल भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् भने उनलाई नेपाली कांग्रेसका सरस्वती वजिमयले चुनौति दिएकी छिन् । स्थानीय तहमा दलहरुले पाएको मतलाई हिसाव गर्दा वाम गठवन्धन नेपाली कांग्रेसभन्दा अगाडि छ ।

वाम गठवन्धनका एमाले र माओवादीको मत जोड्दा ३३ हजार ५ सय हुन्छ भने नेपाली कांग्रेसले २६ हजार मत पाएको छ । यस हिसावमा नेपाली कांग्रेस ७ हजार मतले पछाडि छ ।

पाँचथरमा कसले मार्ला बाजी

स्थानीय तहको चुनावमा पाँचथरमा नेपाली कांग्रेस पहिलो दल बनेको थियो । उसले ४ स्थानीय तहमा जीत निकाल्दा नेकपा एमाले तीन र माओवादी केन्द्रले १ स्थानीय तहमा जीत निकालेको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका भीष्माज आङदाम्बे र एमाले वसन्त नेम्वाङ् चुनावी मैदानमा छन् ।
वाम गठवन्धनले ४० हजार ४ सय मत ल्याएको थियो भने नेपाली कांग्रेसले २७ हजार मत पाएको थियो । यो हिसावमा पाँचथरमा वाम गठवन्धन १२ मतले अगाडि छ ।

भोजपुरमा को बलियो ?

प्रतिनिधिसभा निर्वाचनमा भोजपुरका १ लाख १३ हजार ८ सय ९६ मतदाताले मतअधिकार पाएका छन् ।
वाम गठवन्धनका तर्फबाट माओवादीका सुदन किराती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझी उम्मेदवार रहेको भोजपुरमा स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले नेकपा एमालेले ४/४ स्थानीय तहमा जीत निकालेका थिए भने माओवादी केन्द्रले एक स्थानीय तहमा जीत निकालेको थियो ।

भोजपुरमा वाम गठवन्धनले३८ हजार ४ सयम मत पाएको थियो भने नेपाली कांग्रेृसले २० हजार मत पाएको थियो जस अनुसार भोजपुरमा वाम गठवन्धन नेपाली कांग्रेस भन्दा निकै अगाडि छ । कात्तिक ८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस