खोज/विशेष : टिप्पणी

रेणुलाई जिताएको चितवनले प्रचण्डलाई के गर्ला ? यस्तो छ गणित


चितवन, ८ कार्तिक– स्थानीय चुनावको ‘हट केक’ चितवन प्रतिनिधिसभा निर्वाचनमा पनि ‘हट केक’ हुने निश्चितप्राय छ ।

स्थानीय चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन नेपाली कांग्रेसका मतदाताले भोट दिएका थिए । तर स्थानीय चुनाव सकिएको ७ महिनापछि कांग्रेस कार्यकर्ताले रेणु दाहालका बुवा प्रचण्डलाई हराउन राप्रपा प्रजातान्त्रिकको चुनाव चिह्नमा भोट हाल्नुपर्ने अवस्था आउने सम्भावना बढेको छ ।

कांग्रेससँगको ‘सहयात्रा’ छोडेर माओवादी केन्द्र नेकपा एमालेसँग वाम गठवन्धनमा गएसँगै चितवनको मात्र होइन देशभरकै मतको हिसाबकिताब परिवर्तन भएको छ ।

दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसँग तालमेल गरेर चितवन ३ बाट चुनाव लड्दै छन् ।

चितवन ३ मा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच चुनावी तालमेल हुने भएको छ । त्यहाँ राप्रपाका नेता तथा वनमन्त्री बिक्रम पाण्डेले प्रचण्डलाई चुनौती दिने लगभग निश्चित छ ।

यस्तै विवेकशील साझा पार्टीका शरदराज पाठक पनि चुनावी मैदानमा छन् । प्रचण्डका स्कुले साथीका छोरा शरदले प्रचण्ड र पाण्डेको मत काट्ने देखिन्छ ।

मतका आधारमा वाम गठवन्धन अगाडि

चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खसेको मतका आधारमा चितवन ३ नम्बर क्षेत्र अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका १९ वडामा कांग्रेस सबैभन्दा अगाडि छ । १९ वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार २३ हजार ४ सय ८७ प्राप्त गरेका थिए । ती वडामा राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले ५ हजार २ सय ३८ मत प्राप्त गरेका थिए ।

तीन नम्बर क्षेत्र अन्र्गत पर्ने माडी नगरपालिकाका सबै वडामा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारहरुले कुल ३ हजार ४ सय ३६ मत प्राप्त गरेका थिए भने राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार १ सय १४ मत प्राप्त गरेका थिए । राप्रपा र कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा चितवन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठवन्धनको जम्मा मत ३५ हजार २ सय ७५ पुग्छ ।

भरतपुर महानगरपालिकाका १९ वडामा नेकपा एमालेका उम्मेदवारले २१ हजार ५३९ मत प्राप्त गरेका थिए । यस्तै माडी नगरपालिकाका ९ वटा वडामा एमाले उम्मेदवारले कूल ४ हजार २ सय ३८ मत प्राप्त गरेका थिए । यसरी हेर्दा भरतपुरका १९ र माडीका ९ वडामा एमालेले प्राप्त गरेको मत संख्या २५ हजार ७ सय ७७ हुन आउँछ ।

भरतपुर महानगरपालिकाका १९ वडामा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवारले कूल १४ हजार ३ सय ६४ मत प्राप्त गरेका थिए । यस्तै माडी नगरपालिकाका ९ वटा वडामा माओवादीका उम्मेदवार ३ हजार ७ सय ६६ मत प्राप्त गरेका थिए । यसरी हेर्दा चितवन ३ नम्बर क्षेत्रमा माओवादीको कूल मत १८ हजार १ सय ३० हुन आउँछ ।
एमालेले प्राप्त गरेको २५ हजार ७ सय ७७ र माओवादीले प्राप्त गरेको १८ हजार १ सय ३० मत जोड्दा चितवन ३ मा वाम गठवन्धनको कूल मत ४३ हजार ९ सय ७ हुन आउँछ । जो नेपाली कांग्रेस र राप्रपासहितको लोकतान्त्रिक गठवन्धनभन्दा ८ हजार ६ सय ३२ मतले बढी हुन आउँछ ।

चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ र माडी नगरपालिकाका ९ गरी कूल २८ वडा पर्छन् । जसमध्ये १२ वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए भने माओवादी केन्द्रले ६ वडा जीत हासिल गरेको थियो ।

नेपाली कांग्रेसले १० वडाको अध्यक्षमा जीत हासिल गर्दा राप्रपाका उम्मेदवार भने कुनै पनि वडामा विजयी हुन सकेनन् ।

कांग्रेसले भरतपुर महानगरगमा ९ र माडीमा १ गरी १० जितेको हो । एमालेले भरतपुर महानगरमा ७ र माडीमा ५ गरी एमालेले १२ वडामा जीत हासिल गरेको हो । माओवादी केन्द्रले भरतपुर महानगरमा ३ र माडीमा ३ गरी ६ वडामा जीत हारिले गरेको थियो ।

२०७० सालमा सम्पन्न संविधान सभा निर्वाचनमा राप्रपा नेता पाण्डे चितवन क्षेत्र ५ बाट विजयी भएका थिए । उनले त्यतिबेला १० हजार ७ सय ८८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दानबहादुर तामाङले ८ हजार ४ सय ७ मत प्राप्त गरेका थिए भने माओवादीका अमिक शेरचनले ६ हजार ५ सय ५५ मत प्राप्त गरेका थिए ।

त्यतिबेलाको निर्वाचन क्षेत्रलाई समायोजन गरी अहिले चितवनमा ३ वटा मात्रै निर्वाचन क्षेत्र कायम गरिएको छ । त्यतिबेला ५ नम्बर निर्वाचन क्षेत्रमा रहेको धेरै क्षेत्र अहिले चितवको २ नम्बर निर्वाचन क्षेत्रमा पर्छ । कात्तिक ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस