खोज/विशेष : टिप्पणी

तीन नम्बर प्रदेशको यस्तो छ गणित– वामपन्थी हाबी, कांग्रेस निरीह

काठमाडौं, ९ कात्तिक– पहिलो चरण अन्तर्गत मंसिर १० मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रको चुनावी सरगर्मी बढेको छ । प्रमुख दलहरुसहित उम्मेदवारी दिएका दल र उम्मेदवारहरु चुनाव जित्ने योजना बनाउँदै मतदातासामु आफ्ना प्रतिवद्धता राख्न व्यस्त हुने थालेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच वाम गठवन्धन भएसँगै ती दलहरु संयुक्त रुपमा चुनावी प्रचारमा उत्रिएका छन् ।

नेपाली कांग्रेस दुई जिल्लाबाहेकमा एक्लै मैदानमा छ जसका कारण उसलाई वाम गठवन्धनलाई पराजित गर्दै दोस्रो संविधानसभा निर्वाचनमा पहिलो दल बनेको विरासत जोगाउनु पनि छ । त्यसका लागि कांग्रेसले पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिएका जिल्लामा जितको खाकासहित मतदाता भेटघाट शुरु गरेको छ ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर तीनमा सवैको विशेष चासो छ । प्रदेश नम्बर तीनमा रहेको काठमाडौं उपत्यकासहितका क्षेत्रमा दोस्रो चरणमा चुनाव हुँदैछ । तर मंसिर १० मा नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा मतदान हुने छ ।

आज हामी पहिलो चरणमा तीन नम्बर प्रदेशमा हुने चुनाव र यी क्षेत्रमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनको अवस्थालाई केलाउने प्रयास गर्ने छौं । त्यसका लागि हामीले दोस्रो संविधानसभा निर्वाचन र ७ महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार बनाएका छौंं ।

प्रदेश नम्बर तीनमा ‘हेभी वेट’ नेताहरुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ जसका कारण तीन नम्बर प्रदेशको निर्वाचनलाई चर्चा र चासोका साथ हेरिएको छ ।

देउवा सरकारमा गृहमन्त्रालयसमेत सम्हालेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, पूर्व सञ्चारमन्त्री अग्नी सापकोटा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा, नेपाली कांग्रेसका नेता रामशरण महत र अर्जुन नरसिंह केसी जस्ता हस्तीहरु चुनावी मैदानमा भएका कारण पनि तीन नम्बर प्रदेशको निर्वाचन निकै रोमाञ्चक हुने निश्चित छ ।

कांग्रेसलाई गढ मै तनाव

सबै जसो मन्त्रिमण्डलमा मन्त्री पर्ने जिल्लाको उपमा पाएको नुवाकोटबाट देउवा मन्त्री मण्डलमा भने कुनै मन्त्री समावेश छैनन् । तर, मंसिर १० को चुनावमा भने नुवाकोटमा दुई पूर्व मन्त्री चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेको गढ क्षेत्रको रुपमा लिइने नुवाकोटमा स्थानीय तहको चुनावको नतिजा भने वाम गठवन्धनको पक्षमा आएको थियो ।

प्रतिनिधिसभाका लागि दुई सदस्य निर्वाचित हुने नुवाकोटमा डा. रामशरण महत निर्वाचन क्षेत्र नम्बर एकबाट चुनावी मैदानमा छन् । उनलाई वाम गठवन्धनका तर्फबाट हितबहादुर तमाङले चुनौती दिएका छन् ।

कुल ११ स्थानीय तह रहेको नुवाकोटमा प्रदेश नम्बर १ मा ७ स्थानीय तह रहेका छन् । जसमध्ये पाँच स्थानीय तहमा नेपाली कांग्रेसले जीत निकालेको छ भने दुई स्थानीय तहमा माओवादी केन्द्रले जीत निकालेको छ ।

नेपाली कांग्रेसले २२ हजार ६ सय मत ल्याएको उक्त क्षेत्रमा वाम गठवन्धनले ३६ हजार ९ सय ६२ मत ल्याएको थियो । यस आधारमा नेपाली कांग्रेसभन्दा वाम गठवन्धनले १४ हजार ३ सय बढी मत पाएको छ । जसका कारण रामशरण महतलाई चुनाव जित्न त्यति सहज देखिँदैन ।

त्यस्तै दुई नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले पूर्वमन्त्री अर्जुननरसिंहवीच केसी र वाम गठवन्धनका तर्फबाट नारायणप्रसाद खतिवडा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

दुई नगरपालिकासहित ५ स्थानीय तह रहेको क्षेत्र नम्बर दुईमा पनि स्थानीय तहको चुनावी मतपरिणम कांग्रेसको पक्षमा देखिएको छैन ।

वाम गठवन्धनका दलले ३९ हजार ३ सय मत पाएका थिए भने नेपाली कांग्रेसले २१ हजार मत पाएका थिए । यस हिसावमा त्यहाँ गठवन्धनको १७ हजार मत नेपाली कांग्रेसले पाएको खण्डमा मात्र जित निकाल्न सक्ने देखिएको छ ।

वाम गठवन्धलाई संकट

पाँचवटा स्थानीय तह रहेको रसुवा जिल्लामा एक जना प्रतिनिधिसभा सदस्य र दुई प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिका नेपाली कांग्रेस र दुई गाउँपालिका नेकपा एमालेले जितेका थिए भने एउटा गाउँपालिका नयाँ शक्तिले जितेको थियो ।

वाम गठन्धका तर्फबाट जनार्दन ढकाल उम्मेदवार रहेका छन् जो दोस्रो संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट विजयी भएका थिए । उनलाई नेपाली कांग्रेसका तर्फबाट मोहन आचार्यले चुनौती दिएका छन् । आचार्यलाई नयाँ शक्ति र राप्रपासमेत साथ छ ।

यस हिसावमा स्थानीय तहमा पाएको मतलाई आधार मान्दा रसुवामा लोकतान्त्रिक गठवन्धन बलियो देखिएको छ । उसले ११ हजार २ सय मत पाएको छ भने वाम गठवन्धनले ९ हजार ६ सय मत पाएको थियो । यस हिसावमा वाम गठवन्धन रसुवामा १६ मतले पछाडि छ ।

धादिङ– हेभिवेट प्रदेशमा

२ लाख ३३ हजार ४ सय ७५ मतदाता रहेको धादिङमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । धादिङ –१ मा वाम गठवन्धनका भूमी त्रिपाठी र कांगेसका विश्व अर्याल चुनावी मैदानमा छन् । स्थानीय तहको चुनावमा १ नम्बर निर्वाचन क्षेत्रका ६ मध्ये पाँच मा नेकपा एमालेले जित निकालेको थियो भने एक स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको थियो । यस आधारमा पनि एक नम्बर क्षेत्रमा वाम गठवन्धन निकै शक्तिशाली देखिएको छ ।

धादिङको दुई नम्बर निर्वाचन क्षेत्रमा वाम गठवन्धनका तर्फबाट खेम प्रसाद लोहनी र लोकतान्त्रिक गठवन्धनका तर्फबाट दिलमान पाख्रिन उम्मेदवार बनेका छन् ।

७ स्थानीय तह रहेको दुई नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले तीन, एमालेले तीन र राप्रपाले एक स्थानीय तहमा जित निकालेको थियो ।

वाम गठवन्धनका तर्फबाट ४६ हजार मत आएको दुई नम्बरमा नेपाली कांग्रेसले ३० हजार मत पाएको थियो । केन्द्रीय स्तरमै हैसियत बनाएका नेताहरु प्रदेश सभामा उम्मेदवार बनेपछि धादिङको चुनाव रोचक बनेको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका माओवादी केन्द्रका शालिकराम जमकट्टेल र २०७० सालको चुनावमा विजयी भएका राजेन्द्र पाण्डे दुवै प्रदेश सभाको उम्मेदवार बनेका छन् ।

पहिलो संविधानसभा चुनावमा जमकट्टेलले पाण्डेलाई पराजित गरेका थिए भने दोस्रोमा पाण्डेले जमकट्टेललाई पराजित गरेका थिए । एमाले पोलिटव्युरो सदस्य समेत रहेका पाण्डे पूर्वमन्त्री हुन् । 

८० वर्षे राणाको परीक्षा, गृहमन्त्रीले के गर्लान् ?

तीन नम्बर प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको निर्वाचन सवैभन्दा चर्चामा रहने भएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकको एक नम्बर निर्वाचन क्षेत्रमा वर्तमान गृहमन्त्री मोहनबहादुर बस्नेत र पूर्व सञ्चारमन्त्री अग्नीप्रसाद सापकोटा चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै दुई नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा र वाम गठवन्धनका तर्फवाट निवर्तमान सांसद शेरबहादुर तमाङबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
कुल १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा नेकपा एमालेले ७ स्थानीय तहमा जित निकालेको थियो भने नेपाली कांग्रेसले तीन स्थानीय तहमा जित निकालेको थियो । माओवादी केन्द्रले दुई स्थानीय तहमा जीत निकालेको थियो ।

एक नम्बर निर्वाचन क्षेत्रमा राप्रपाले कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतलाई समर्थन गरेको छ भने दुई नम्बरमा नेपाली कांग्रेसले राप्रपाका उम्मेदवार पशुपतिलाई समर्थन गरेको छ ।

स्थानीय तहमा क्षेत्र नम्बर एकमा वाम गठवन्धनले ४३ हजार २ सय मत पाएको थियो भने नेपाली कांग्रेसले २२ हजार मत पाएको थियो त्यस्तै राप्रपाले तीन हजार मत पाएको थियो ।

लोकतान्त्रिक गठवन्धनको कुल मत २६ हजार ३ सय रहेको छ । यहाँ वाम गठवन्धन १६ हजार ९ सय मतले अघि छ ।

क्षेत्र नम्बर २ मा गत स्थानीय तहको चुनावमा वाम गठवन्धनका दलले ४० हजार ७ सय ९० मत पाएका थिए । नेपाली कांग्रेसले २१ हजार ९ सय मत ल्याउँदा राप्रपाले ८ हजार मत पाएको थियो । यस आधारमा हिसाव गर्दा लोकतान्त्रिक गठवन्धनको ३० हजार ७ सय ३७ मत रहेको छ जुन वाम गठबन्धनको भन्दा १० हजार ३ सय ५३ कम मत हो । पशुपति शम्शेरलाई चुनाव जित्नका लागि वाम गठवन्धनमा रहेको ती मतलाई आफ्नो पक्षमा ल्याउने चुनौती छ ।

दोलखाः २२ हजारको मत अन्तर

९ स्थानीय तह रहेको दोलखामा दुई स्थानीय तहबाहेक सवै तहमा नेकपा एमाले विजयी भएको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा वाम गठवन्धनका तर्फबाट एमालेका पार्वत गुरुङ र नेपाली कांग्रेसका तर्फबाट रुद्रबहादुर खड्का चुनावी मैदानमा छन् ।

वाम गठवन्धनका एमाले र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा ५१ हजार ६ सय ४८ मत ल्याउदा नेपाली कांग्रेसले २९ हजार १ सय ८२ मत पाएको थियो । यस हिसावमा दोलखामा नेपाली कांग्रेस वाम गठवन्धन भन्दा २२ हजार ४ सय ६६ मतले पछाडि छ ।

रामेछापमा को बलियो ?

१ लाख ५२ हजार ५ सय ६१ मतदाता रहेको रामेछापमा एक निर्वाचन क्षेत्र रहेको छ ।
८ स्थानीय तह मध्ये पाँच तहमा एमाले, दुईमा माओवादी केन्द्र र एकमा नेपाली कांग्रेसले जीत निकालेका थिए ।
वाम गठवन्धनले ५६ हजार ६ सय ६४ मत पाउँदा कांग्रेसले २७ हजार ३ सय मत पाएको थियो । जस अनुसार वाम गठवन्धन नेपाली कांग्रेस भन्दा २९ हजार ३ सय मतले अगाडि देखिन्छ ।

स्थानीय तहका अाधारमा समग्र मत

तीन नम्बर प्रदेशका ६ जिल्लामा कात्तिक १० मा हुने प्रतिनिधिसभा मा क–कसले बाजी मार्लान् त्यो त अन्तिम परिणाम आएपछि नै थाहा हुने छ । तर, स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार मान्दा तीन नम्बर प्रदेश यी जिल्लाहरुमा वाम गठवन्धनले ३ लाख ७ हजार ९ सय ५८ मत पाएका थिए भने कांग्रेसले सिन्धुपाल्चोकमा तालमेल गरेको राप्रपा र रसुवामा नयाँ शक्तिसमेतको मतलाई जोड्दा १ लाख ८१ हजार २ सय ७१ मत रहेको छ । यस आधारमा नेपाली कांग्रेस तीन नम्बर प्रदेशमा वाम गठवन्धन भन्दा १ लाख २६ हजार ६ सय ८७ मतले पछाडि छ । कात्तिक ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस