विश्लेषण : आलेख

युद्धमोह : अमेरिकी पूँजीवादको असफलता

काठमाडौं, १० कात्तिक — अमेरिका नराम्रो कुलतमा फसेको छ । पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुशले केही वर्षअघि अमेरिकाको ‘तेल कुलत’ का बारेमा चेतावनी दिएका थिए । अहिलेका राष्ट्रपति डोनल्ड ट्रम्पले यही हप्ता देश लागूऔषधको कुलतमा फसेको र ‘संकटकालीन’ स्थिति नै आएको बताए । उनका पूर्ववर्ती बाराक ओबामाले लगातार आमहत्याहरू भएपछि ‘बन्दुकको कुलत’ ले चिन्ताको स्थिति ल्याएको बताएका थिए ।


तर अमेरिकाको सबभन्दा नराम्रो कुलतलाई खासै उल्लेख गरिँदैन : त्यो हो युद्धको कुलत । अमेरिकाको अस्तित्व नै युद्धमा अडिएको छ र त्यो समस्याका बारेमा अमेरिकीहरू मौन छन्, कम्तीमा राजनीतिकर्महरू चाहिँ यो कुलतका बारेमा बोल्नै चाहँदैनन् ।

ट्रम्पले करछुट र सार्वजनिक खर्च कटौती सहितको बजेट पारित गराउनका लागि रिपब्लिकन र डेमोक्रेट दुवैसँग संघर्ष गरिरहँदा एउटा कुरालाई बहसको विषय नै बनाइएको छैन । कंग्रेसले अर्को वर्षका लागि ७०० अर्ब डलर सैन्य गतिविधिमा खर्च गर्नका लागि स्वीकृति दिँदैछ । त्यो भनेको गत वर्ष सेनाका लागि छुट्ट्याइएको बजेटभन्दा ५० अर्ब डलर बढी हो र त्यो त्यतिखेरको नै पनि कीर्तिमान रकम थियो ।

अमेरिकामा रहेको नेसनल प्रायोरिटिज प्रोजेक्टले गरेको लेखापरीक्षणअनुसार, अमेरिकाले सेनामा गरेको खर्चले वार्षिक १.१ खर्ब डलर बजेटको आधीभन्दा बढी भाग कब्जा गर्छ । त्यो खर्च अमेरिकी संघीय सरकारले शिक्षा वा स्वास्थ्यसेवामा खर्च गरेभन्दा १० गुणा बढी खर्च हुन आउँछ ।

वैश्विक सन्दर्भमा त्यो ७०० अर्ब डलरको वार्षिक सैन्य खर्चलाई हेर्दा अमेरिकाले रुस, बेलायत वा फ्रान्सभन्दा १० गुणा बढी खर्च गरेको देखिन्छ । अर्को तरिकाले हेर्दा अमेरिका एक्लैले संसारमा सबभन्दा धेर सैन्य खर्च गर्ने देशहरूभन्दा बढी नै खर्च गर्छ ।


अझ अहिलेको अमेरिकी सैन्य बजेट शीतयुद्धका बेलामा गरिएको खर्चसँग तुलना गर्न मिल्ने खालको छ । आधिकारिक रूपमा सन् १९९१ मा सोभियत संघको पतन भएपछि शीतयुद्ध अन्त्य भयो । तर त्यसपछिको नाममात्रको शान्ति अवधिमा अमेरिकाले युद्ध अर्थतन्त्रलाई झनै चर्कायो ।

सेनाका लागि यसरी राष्ट्रिय ढुकुटी रित्याउनुलाई निन्दा गर्नुपर्ने धेरै कारण छन् ।

एउटा राम्रो कारण भनेको लाखौं अमेरिकीहरूको सामाजिक आवश्यकताप्रतिको लापरवाही हो । ट्रम्पले १.५ खर्ब डलरको करछुट योजनालाई पारित गराउन जोड दिइरहेका छन् । यसो गरिँदा कर नीति केन्द्रले महाधनी व्यक्ति र संस्थाहरूलाई ठूलो लाभ हुने आँकलन गरेको छ । जनसंख्याको सबभन्दा धनी १० प्रतिशतलाई फाइदा गराउनका लागि स्वास्थ्यसेवा, सामाजिक परोपकार, शिक्षा, आवास र मेडिकल तथा वैज्ञानिक अनुसन्धान लगायत सार्वजनिक खर्चमा कठोर कटौती गरिनेछ ।

यसको साटो अमेरिकी सरकारले सैन्य खर्च घटाएमा सबै अमेरिकीहरूले उच्चस्तरीय तथा सम्पूर्ण निःशुल्क स्वास्थ्य र शिक्षा प्रणालीको सुविधा प्राप्त गर्ने अनुमान गर्न सकिन्छ ।


अर्को दुःखद कारण भनेको अमेरिकाको राक्षसी सैन्य हतियार उद्योगले संसारभरि असुरक्षा र द्वन्द्व मच्चाएको छ । अनि अझ अमेरिकी राजनीतिकर्मीहरू चाहिँ अमेरिकाको सुरक्षा मजबूत बनाउन सैन्य खर्च जायज रहेको तर्क गर्छन् । तर वास्तविकता यसको ठीक उल्टो छ ।

तार्किक रूपमा हेर्ने हो भने पनि अमेरिकाले जति धेरै हतियार थुपार्छ, अरू देशले पनि सुरक्षा खर्च त्यति बढाउनुपर्ने हुन्छ । यस्तो अवस्थाले थप तनाव, अविश्वास र डरको स्थिति ल्याउँछ । सैन्य गतिविधिमा संसारमै सबभन्दा बढी खर्च गर्ने भएकाले अमेरिकाले नै खर्च घटाउनुपर्ने जिम्मेवारी बोक्छ । उसले यसो गर्दा अरू देशले पनि सैन्य खर्च घटाउँछन् ।

अमेरिकाको युद्ध अर्थतन्त्रका अन्य नकारात्मक असर छन् । त्यहाँको हतियार उद्योगले संसारको आधी हतियार व्यापारको हिस्सा ओगट्छ । संसार नै अमेरिकामा बनेका हतियारहरूले भरिएको छ जसकारण क्षेत्रीय द्वन्द्व र गैरराज्य आतंकवादी समूहहरूलाई दुरुत्साहन हुन्छ ।

अनि सेनामा यति धेरै खर्च गरेपछि अमेरिकी सरकारले युद्ध अर्थतन्त्रलाई कायम राख्न नयाँ नयाँ युद्धको खोजी गर्छ । अहिले अमेरिका यही नीतिअन्तर्गत अफ्रिकामा युद्धको शृंखला चर्काउने दाउमा छ ।


ऐतिहासिक दस्तावेज हेर्ने हो भने दोस्रो विश्वयुद्धपछि अमेरिकाबाहेक कुनै पनि देश यति धेरै युद्धमा संलग्न देखिँदैन । इतिहासकार विलियम ब्लुमले संसारभरि अमेरिकाले मच्चाएका युद्धहरूको अभिलेख राखेका छन् । प्रमुख युद्धमा कोरिया, भियतनाम, इराक, अफगानिस्तान पर्छन् भने छद्मयुद्धहरू एसिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकामा भइरहेका छन् । विगत सात दशकमा अमेरिकाले युद्ध गरेर दुई करोड ५० लाखजनाको ज्यान लिइसकेको छ ।

अमेरिकालाई युद्धको कुलत किन लागेको हो ? यसको प्रमुख कारण अमेरिकी पूँजीवादको असफलता हो । अमेरिकी अर्थतन्त्र नै त्यहाँको सैन्य हतियार उद्योगले चलेको छ । लकहीड मार्टिन, बोइङ र रेथियोन जस्ता विशाल हतियार उत्पादकहरू यस उद्योगका हस्ती हुन् । यी कम्पनीहरूले सरकार, थिंक ट्यांक र कर्पोरेट मिडियामा गहन प्रभाव पारेका छन् जसबाट युद्धको माहौल कायम रहिरहन्छ ।

तर यो युद्ध अर्थतन्त्र दिगो नरहने विज्ञहरूले बताएका छन् । यसले अमेरिकालाई ऋण र सामाजिक पतनतर्फ डो–याइरहेको छ । यसले अन्तर्राष्ट्रिय तनाव तथा द्वन्द्व निम्त्याएर संसारलाई नै अस्थिर बनाएको छ । वाशिङटनले चीन, रुस, इरान र उत्तर कोरियाप्रति शत्रुता देखाउनु नै आवश्यकताभन्दा बढी सैन्यबलका कारणले गर्दा हो ।


सन् १९६१ मा तत्कालीन राष्ट्रपति आइक आइजनहावरले राष्ट्रको नाममा अन्तिम सम्बोधन गर्दा यो खतरनाक स्थितिका बारेमा चेतावनी दिएका थिए । आइजनहावरले सर्वव्यापी सैन्य हतियार उद्योगको उदयले अमेरिका र संसारलाई जोखिममा पार्ने बताएका थिए ।

उनका उत्तराधिकारी जोन एफ केनेडी सेनालाई लगाम कस्न प्रतिबद्ध थिए । उनी सोभियत संघसँग आणविक हतियारको दौडविरुद्ध थिए र भियतनामबाट अमेरिकी सेना फिर्ता बोलाउन चाहन्थे । (शायद त्यसैले गर्दा उनको हत्या गरियो ।)

अमेरिकाको युद्ध कुलतका कारण बाँकी संसारले मात्र दुःख पाएको नभई अमेरिकी समाज र लोकतन्त्र पनि यसको शिकार भएका छन् । वर्षैपिच्छे ७०० अर्ब डलर खर्च गर्ने युद्धलती अर्थतन्त्रमा योगदान गर्नु नपरेको भए अमेरिकी नागरिकहरू थप स्वस्थ, शिक्षित, समृद्ध र सुसंस्कृत हुने थिए ।

अनि अमेरिकाका अन्य कुलतहरू पनि उसको युद्धलतसँग अन्तर्निहित छन् । तेलको कुलत, लागूऔषधको कुलत (अफगानिस्तानमा युद्ध गर्दा त्यहाँको अवैध लागूऔषध व्यापारलाई पुगेको फाइदा) अनि समाजमा सैन्य हतियारको वृद्धि (जसले गर्दा समयसमयमा भइरहने आमहत्या) सबै एक वा अर्को तरिकाले अमेरिकाको युद्ध कुलतसँग जोडिएका छन् ।

भावानुवाद : विन्देश दहाल

कात्तिक ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस