विश्लेषण : अन्तर्वार्ता

वामपन्थी गठबन्धनबाट भारत आश्चर्यमा परेको पाइनँ : दीपकुमार उपाध्याय [अन्तर्वार्ता]

भारतका लागि नेपाली राजदूतको पदवाट राजीनामा दिएर दीपकुमार उपाध्याय फेरि राजनीतिमा सक्रिय भएका छन् । राजदूतको राजीनामा स्वीकृत भएपछि उनी चुनावको तयारीमा लागेका छन् । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, वामपन्थी गठबनन्धनपछि कांग्रेसको रणनीति लगायत समसामयिक विषयमा लोकान्तरका लागि बिमल गौतमसुशील पन्तले उपाध्यायसंग कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

राजदूतको जागिर छोडेर किन फेरि राजनीतिमा आउनुभयो ?

राजदूत पद भनेको विशेष अवस्थाको विशेष जिम्मेवारी हो । सुशील दा (तत्कालिन प्रधामनन्त्री एवं कांग्रेस सभापति) र राष्ट्रपति रामवरण यादवबीचको पहल र अभिप्रेरणामा म राजदूत भएर भारत गएको थिएँ । फर्कने भन्ने कुरा पहिले नै भएको थियो । त्यो बीचमा विभिन्न घटनाक्रमले गर्दा रिकल पनि भयो । कपिलवस्तुप्रतिको मेरो दायित्व भएकोले म राजनीतिमा फर्किएको हो । मैले दिल्लीमा पनि भन्ने गरेको थिएँ ।

राजदूतको अवसर छोडेर किन जाने भनेर धेरै मान्छेले सोध्ने गरेका थिए । आफ्नो दायित्व आफैंले सिर्जना गर्नुपर्ने भएकोले गर्दा म यहाँ आएको हुँ । नेताहरुले चाहिँ उतै बस्दा पनि हुन्छ भनेका थिए । तर मैले बडो विनयपूवर्क आफ्नो राजीनामा दिएको थिएँ । जनताको बीचमा रहनु आवश्यक छ जस्तो लागेरै हो म यहाँ आएको ।

दोस्रो पटक तपाईं जुन उदेश्य लिएर राजदूत बन्न जानुभएको थियो, त्यो उदेश्य पूरा भयो ?

त्यो चाहिँ अब कुटनैतिक सम्बन्ध भनेको निरन्तरतामा भरपर्ने हो । नेपाल भारत सम्बन्धको जग बनेको छ । असहज अवस्था सहज भएको छ । शंकाहरु निवारण भएका छन् । नेपालमा जसको सरकार भएपनि भूगोल संस्कृतिले हामी जसरी बाँधिएका छौं त्यसलाई हृदयंगम गरेर अघि बढ्नुपर्छ । मिलेर जानुपर्छ भन्ने बारे निकै उच्च तहदेखि लिएर प्रशासनीक तहसम्म पनि कुरा गरेको छु । परराष्ट्रका साथीहरुपनि निकै राम्रा हुनुहुन्छ । त्यसले गर्दा पनि केही समय खाली हुने भयो, तर निर्वाचित सरकार आएपछि त्यो पदपूर्ति हुन्छ नै ।

नेपाल भारतका बीचमा जुन तिक्ताता थियो, त्यो तिक्तता अहिले कुन स्तरमा आयो ?

अहिलेको अवस्थामा सम्बन्ध एकदम सुमधुर छ । सरकारहरुले रियलाइजेसन गरिसकेका छन् । जुन कुराको प्रमाण चाहिँ नेपाल र भारतका बीचमा पानीका प्रबन्धनका कुरा, खानेपानीका कुरा, सिंचाइका कुरामा, पावर जेनेरेट गर्ने कुरा, डुबानका कुरा लगायतका विषयमा छलफल भइसकेको छ । अन्तराष्टिय नियम अनुसार अघि बढ्न भारत तयार भएको छ । नेपालमा उत्पादन भएका कुरा भारत पठाउने कुरामा पनि भारतीय पक्ष अहिले सकारात्मक भएको छ ।

अब राजनीतिक प्रसंगतिर लागौं, कपिलवस्तुका जनताले तपाईंको अभिभावकत्व खोज्ने अवस्था कसरी आयो ?

दुईटा पाटो, एउटा पाटो ४५ वर्षसम्म मेरो अविरल यात्रामा मेरो स्पेशल असाइनमेन्टले विराम पायो । झण्डै झण्डै दुई अढाई वर्ष म राजदूत भएँ । जुन किसिमको मेरो लचिलो पन, निर्वाचन भनेको एउटा घटना हो । हामी सबैभन्दा पहिले मानिस हौं । त्यसपछि नेपाली हौं । त्यसपछि विचारको कुरा आउँछ । तर विकृतिले गर्दा विचारमा पनि कुन चाहिँ गुट भन्ने कुरा आउन थाल्यो । त्यसले गर्दाखेरी जताततै उकुसमुकुस भए । त्यहाँ पनि धेरै स्खलन भयो । हाम्रै कार्यकर्ताहरु पनि टिकट दिए ठिकै छ हैन भने अर्को पार्टीमा जान्छु भन्ने सम्मका साथीभाईले कुरा गरे । अब कम्तिमा म आएपछि मेरो क्षेत्रमा यस्ता गैह्र जिम्मेवारपूर्ण कुराहरुमा विराम लाग्नुपर्छ भन्ने मैले ठानेको छु ।

अर्को कुरा, नेपाल अनन्त संकटको चपेटामा नेपाल पर्यो । संविधान आएपछि दिगो शान्ति, राजनीतिक स्थिरता र विकास नै हाम्रो मुल एजेण्डा हो भनेर सबै पार्टीले भन्यौं पनि । दोस्रो फेससम्मको स्थानीय चुनावमा सबैको प्रतिनिधित्व हुन सकेन । तेस्रो चरणमा भयो ।

अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि जताततैबाट उत्साह भइरहेको छ । डेमेक्र्याटीक सिस्टम के कुराले बेटर भन्दा, यसको सेल्फ करेक्टींग नेचर छ । यो कुरा जनताले बुझेका छन् । अहिले जुन किसिमको पोलिटिकल स्क्रींग देखियो । तालमेलहरु गरेपछि हाम्रा निर्णयहरुमा भोटहरु घोप्टिन्छन् भनेर नेताहरुले सोच्छन् । तर यसमा मैले पटक्कै विश्वास गर्दिन् ।

मानिस भनेको मानिस हो । विवेकशील प्राणाी हो । जनता जनार्दन हो । परमेश्वरको स्वरुप हो । विवेकको स्वरुपले काम गरेको हुन्छ । परिवर्तन त भइरहेका छन्, जनता त तिनै हुन् नि । एउटा सिस्टमबाट, आवधिक निर्वाचनबाट व्यक्तिलाई उच्च मान्ने जु विषय छ, त्यसलाई आज विश्वले स्थान दिइसक्यो । हामीकहाँ त्यो स्खलित हुन खोजिरहेको छ । चुनाव भनेको व्यक्ति व्यक्तिका बीचमा हुने प्रतिस्पर्धा हो । अव यहाँ लोकतान्त्रिक पक्षधरले जितेभने आवधिक निर्वाचनको माध्यमबाट व्यक्तिको सम्प्रभुता रहने हो, त्यो कमजोर भयो भने शंका हुने हो ।

जुन कुरा नेताहरुले स्पष्ट भन्नुभएको छ । गठबन्धनका नेताहरुले आफूहरुको टू थर्ड मेजोरेटी –दुइतिहाइ बहुमत) आयो भने यसरी अघि बढ्छौं भनेर भनिरहेका छन् । अहिलेको संविधानमा त समस्या छैन, भोलि गएर संशोधनमा दुई तिहाइले जे पनि गर्न सक्छ । बामपन्थी सोंचमा व्यक्ति होइन पार्टीको सर्वोच्चता हो । त्यस्तो अवस्था भयो भने के होला ? हामी पछिको पुस्ताले के सोंच्ने ? यसलाई बहसकै रुपमा लिएर जाउँ ।

अहिले बनेको बामपन्थी गठबन्धनबाट कांग्रेस तर्सिएको भन्ने टिप्पणी भइरहेको छ । कांग्रेस बामपन्थी गठबन्धनबाट आत्तिएको चाहिँ किन हो ?

हैन, तर्सने भन्ने कुरा निर्वाचनको परिणामले हाम्रा मित्रहरु तर्सनुभयो । अव चाहिँ संविधानसभाबाट बनेको संबिधानबाट भएको चुनावले गर्दा शान्तिप्रक्रियाको कुरा निष्कर्शमा पुग्दै थियो । उहाँहरु पनि त तर्सनुभयो नि । को पहिले तर्सियो भन्ने कुरा बहसको कुरा होला । मलाई चाहिँ आज के लाग्छ भने, म त आदर्शमा विश्वास गर्ने मान्छे । अहिले म अलिअलि बोल्न थालेको छु । पहिले (राजदूतको राजीनामा स्वीकृत नहुन्जेल) त म बोल्नलाई पदिय बन्देज समेत थियो ।

किन यस्तो भयो भनेर मैले पनि सोचिरहेको छु । यो एकैचोटी किन यस्तो भयो भनेर मैले पनि हेरिरहेकैछु । डां बाबुराम भट्टराईकै कुरा गरौं, उहाँको शक्ति देशमा जस्तो भएपनि व्यक्तिगत रुपमा त उहाँ विश्वमै रिनोन मान्छे हो । उहाँ गठबन्धनमा अटाउनुभएन । तर कांग्रेसले उहाँलाई ठाउँ दियो । मैले नेताहरुलाई धन्यवाद समेत दिएँ ।
यो चाहिँ, आफ्ना आफ्ना स्वार्थको लागि स्वींग भयो भन्ने मलाई लाग्छ । दोस्रो फेजको दरखास्त पर्दासम्मको एउटा फेज हो । त्यसपछि पोष्ट इलेक्सन पनि कस्तो वातावरण हुन्छ त्यसरी विश्लेषण गर्नुपर्छ । यसले आकार ग्रहण पनि गर्दा । कांग्रेस आत्तिएको होइन । अवसर हो । कांग्रेसमा त घर भित्रको समसया हो । बाहिर त कांग्रेस अरु भन्दा राम्रो हो, बलियो हो ।

हामीले आउने पुस्ता लागि बाटो सजिलो बनाउने कि असजिलो बनाउने भनेर एक पटक सोच्ने बेला त आयो नि ।

जनताले कांग्रेसलाई पटक पटब बहुमत दिएकै हुन, तर कांग्रेसले जनताले अवसर दिएर पनि काम त गरेन नि ?

यसमा मानिसले इमान्दारीसँग विश्लेषण पनि गर्नुपर्छ । आफ्ना गल्तीलाई महशुश समेत गर्नुपर्छ । कांग्रेसले मिस त गरेकै हो । पाँच वर्षसम्म शासन गर्न पाउँदा के के न हुन्थ्यो, यो कुरा मिस भयो ।

हामीले विगतबाट पाठ सिकेका छौं । निहित स्वाथृमा लागेको, चुनाव खर्चिलो भएको अहिले कुराहरु भइरहेका छन् । हामीले पारदर्शीता र नागरिक सम्प्रभु हुने पद्दती थाँती रहने कि नरहने भन्ने कुरा आएको छ । नत्र त लोकतन्त्र टिक्दैन, चल्दैन ।

अहिलेको बाम गठबन्धनलेगर्दा कांग्रेस कुन चाहिँ एजेण्डा लिएर जनतामा जाने तयारी गरेको छ ?
आवधीक निर्वाचनको माध्यमबाट स्वतन्त्रताको ग्यारेन्टी हुन्छ भन्ने कुरा हाम्रो ज्ञापनपत्रमा हुन्छ नै । आज कांग्रेसकै कारणले गर्दा स्वास्थ्य, शिक्षामा, पूर्वाधारमा विकास भएको छ । उदार अर्थतन्त्र र कांग्रेसकै कारणले यस्तो भएको हो । अर्थतन्त्र बढेको छ । अहिलेको अवस्थामा बामपन्थी साथीहरुपनि यही बाटोमै आएको छ । अब कांग्रेसले विपीको विचार, समाजवादी धारहरुलाई पनि जोड दिएर अघि बढ्पर्छ ।

अहिले म गणेशमानजीलाई कोट नै गरेर भन्न चाहान्छु, उहाँले राजनीतिक परिवर्तन त भयो, तर यो परिवर्तनलाई टोपीमा घेरा मात्रै भएका, खुट्टामा चप्पल भएका मान्छेले पनि मेरो भन्ने बनाउ है भन्नुहुन्थ्यो ।

त्यसपछि माओवादी जनयुद्ध भयो । हामीले आश मात्रै देखाउने काम गर्ने वातावरण नै बनेन । आर्थिक सामाजिक रुपमान्तरणमा नेपालका युवाहरु प्रयोग गर्नुपर्छ । युवाहरु बाहिर जानुपर्ने अवस्था आएको छ । नेपालमा के के सम्भावना छन् भन्ने बारेमा राम्रा राम्रा डिस्कोर्स भएका छन् । म चाहिँ बडा आशावादी छु । त्यसलाई कांग्रेसले लिड गरेर अघि बढ्नुपर्ने अवस्था छ ।

मुल कुरो चाहिँ नागरिकको सर्वोच्चता र सम्प्रभुता रहनुपर्छ ।

कांग्रेसकै कतिपय नेताहरुले बाम गठबन्धनका कारण आगामी चुनावपछि कांग्रेस वर्षौंसम्म सरकारबाट बाहिर रहन्छ भनेर विश्लेषण पनिगरेका छन् ? त्यो सहि हो ?

म गिरीजाबाबुलाई कोट गर्न चाहान्छु, द्वन्द आवश्यक थियो थिएन भन्ने विषयमा विवाद नगरौं । तर त्यो बेला भयाबह अवस्था थियो । जो मरे पनि नेपाली नै मर्ने अवस्था थियो । त्यसलाई म्यानेज गर्दै गर्दै जाने अवस्थामा हामी यहाँ छौं । हामी आशावादी हुनुपर्ने अवस्था नै छ । हारे गिरीजाप्रसाद हार्छ, जिते देश र जनताले जित्छ भनेर गिरीजाबाबु अघि बढ्नुभएको हो । हामीले बैचारिक बहसलाई घर घरमा पुर्यौं भने, केही हुन्छ नै । कुन चाहिँ मान्छे स्वतन्त्र हुन चाहान्न ? यो हामीलाई अवसरको कुरा हो यसमा आत्तिनुपर्ने कुरै छैन ।

तपाईं त कांग्रेस भित्रैपनि चाह्यो भने समानुपातिकबाट सांसद बन्न सक्ने मान्छे, किन प्रत्यक्षमा चुनाव लड्ने जोखिम लिनुभयो ?

राजनीति भनेको सम्भावनाको खेल हो, असहमतिलाई सहमतिमा लैजाने बाटो पनि हो । यति नम्बरमा बसेपछि यहाँ पुगिन्छ भन्ने कुरा थाहा हुँदा हुँदै म जत्तिको मान्छे समानुपातीमा बस्न सुहाउँदैन । त्यो चाहिँ केभन्दा खेरी रिस्क लिन नचाहाने साथीलाई ठिकै पनि छ । तर म रिस्क नै लिन चाहान्छु । हामीले लिने रिस्कले पार्टीलाई पनि फाइदा गर्छ भन्ने मलाई लाग्छ । तर अहिले म यो क्षेत्रमा टिकट देउ भन्ने अवस्थामा छैन । यो पार्टीले मुल्यांकन गर्ने कुरा हो ।

मैले बल्ल बल्ल धेरै अनुरोध गरेर मेरो राजिनामा स्वीकृत गराएर यत्तिको बोल्ने मौका पाएको छु । हेरौं अब पार्टी कसरी अघि बढ्छ । तर म प्रत्यक्षमै चुनावव लड्न चाहान्छु । नेताहरुको विवेकले हेर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

तपाई दुई दुई पटक दिल्लीमा राजदूत भएर बस्नुभयो । चीनमा सी र भारतमा मोदी उदाइरहेको अवस्थामा नेपालले कसरी रणनीतिक फाइदा लिन सक्छ ?

इतिहासमै अनुपम अवसरमै हामी छौं । संयोगले भारतको पनि चिनको पनि नेपालका सम्बृद्धि र राजनीतिक स्थिरता उनीहरुको चाहाना हो । नेपालको अस्थीरताले भारत र चीन दुबैलाई फाइदा छैन । भरतको खुला सिमाना छ, । चिनलाई पनि अनेक किसमबाट असजिलो हुन्छ । यो त अवसर हो । दुबैको यति ठूलो सदासयता हुँदा हामी, सन्तुलित नीतबाट अघि बढ्नुपर्छ । नेपालको ठूलो अवसर छ अहिले । निर्वाचित सरकारले यो विषयका बडा राम्रोसँग विचार गर्नुपर्छ । स्पष्ट नीतिहरु ब्नाउनुपर्छ ।

नेपालमा बामपन्थी गठबन्धनको सरकार बन्यो भने लगानीका क्षेत्रमा केही फरक पर्छ ?

हिँजो चिनमा मान्छेहरु शसंकित हुन्थे । त्यहाँ कुनै किसिमको अनरेस्ट छैन । प्रोजेक्ट अनुसार प्रोफिट भएको छ । त्यो पक्षलाई हामीले पनि ध्यानमा राखेर अघि बढ्नुपर्छ । भारतमा पनि दुई हजार भन्दा बढी अन्तराष्टिय कम्पनीहरु छन् । चीनमा त्यो भन्दा धेरै कम्पनीहरु छन् । उनीहरु आउने भनेको नेपालमै हो । अब यसमा नेपालले काम गर्नुपर्छ । नेपालमा बन्ने सरकारले आफ्ना नीति नियमहरुलार्य असमयमा तलमाथि गर्दैन भन्ने वातावरण बनाउनुपर्छ । सेफ्टी सेक्युरीटीका कुराहरु छन् ।

नेपालमा आश्चर्यजनक रुपमा बाम गठबन्धन भयो नि, गठबन्धन प्रति भारतको दृष्टिकोण के पाउनुभयो ?

म त्यो बेला विदावारीकै चरणमा थिएँ । भारतका साथीहरुले नेपालमा बडा रमाइलो हुन्छ भनेर भन्नुहन्थ्यो । आ आफ्नो बर्चश्वकै लागि यस्तो भएको हो भन्ने उहाँहरुको ठम्याइ छ । उताबाट यसलाई कुनै पनि तरिकाले आश्चार्यजनक ठानिएको छैन । अहिले त चुनाव गर्नुपर्ने अवस्था छ । चुनाव सार्ने भन्ने कुरा त्यो सम्भव पनि छैन । अब भारतका साथीहरुले हामीलाई जहिल्यै पनि किन आरोप आउँछ भन्थे, मैले अव हामीले त्यस्तो बन्द गर्छौं भनेको थिएँ । हिनताबोध, लघुतावास राख्नुपर्ने अवस्थानै छैन । कात्तिक १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस