खेलकुद

एसिया कपका लागि यू–१९ क्रिकेट टोलीको घोषणा, को को परे टीममा ?

काठमाडौँ, १२ कात्तिक - मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि आज नेपाली टोलीको घोषणा गरिएको छ ।acc

नोभेम्बर दोस्रो साताबाट सुरु हुने उक्त प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि बेन्काटापति राजुुको छनोट समितिले खेलाडी छनोट गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये अन्तिम टोलीको घोषणा गरिएको हो । छनोट गरिएका अन्य खेलाडीमा रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापा मगर, अनिलकुमार शाह, पवन शर्राफ, आसिफ शेख, किशोर महतो, शाहब आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की, राशिद खान र जितेन्द्र सिंह रहेका छन् । यस्तै सन्दिप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी र विजय चौधरीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।

नेपाली युवा टिम सोमबार बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको यू–१९ टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ । एसिया कप मलेसियामा नोभेम्बर ११ देखि १९ सम्म हुनेछ । सो प्रतियोगितामा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठवटा देशको सहभागिता रहने छ । कात्तिक १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस